Successfully Copied

‘आफूलाई आलोचनाका लागि तयार नगरेसम्म लेख्न सकिन्न’

अर्चना थापा लेखक तथा प्रकाशक


अर्चना थापा स्वतन्त्र अध्येता, लेखक तथा प्रकाशक हुन् । उनको सम्पादनमा नेपाली महिलाहरूको आत्मपरक अनुभूतिको पहिलो संग्रह ‘टेलिङ अ टेल’ (सन् २०१०), स्वअस्तित्वको खोज’ (सन् २०१२), ‘स्मृतिकथामा सत्व’ (सन् २०२०) प्रकाशित छन् । पहिलो कथासंग्रह ‘कठपुतला’ (सन् २०१७) प्रकाशन गरिसकेकी उनको पहिलो उपन्यास ‘अग्निगर्भा’ भरखरै बजारमा आएको छ ।

आत्मपरक अनुभूतिका पुस्तकमा तपाईंको रुचि किन ?
अमेरिकामा धेरै पुस्तक पढ्ने क्रममा नेपाली साहित्यमा कति कुरा छुटेका छन् भन्ने महसुस भयो । महिला लेखकले लेखिरहेका छन् तर आफूलाई केन्द्रमा राखेर आफ्नो भावना, निजी अनुभव प्रस्फुटन गर्न अझै हिच्किचाइरहेका थिए । आफ्ना कुरामा लंैगिक विभेददेखि छोरी भएर जन्मेका पीडाका कुरा आउँछन ्। जबसम्म सार्वजनिक ठाउँमा बसेर छलफल नगरेसम्म बुझाउन सक्दैनांै । सामान्य लागेका कुरा पनि कसैको जीवनमा कति महत्वपूर्ण हुन्छन् भनेर यस किसिमको पुस्तक प्रकाशित गर्नुपर्छ भन्ने लाग्यो । ‘हर स्टोरी’ को दोस्रो शृंखला नेपालीमा पनि निकालें ।
सबैभन्दा पहिले सन् २०१० मा आत्मपरक अनुभूतिको संग्रह ‘टेलिङ अ टेल’ निकालें । म पात्र खडा गरेर कुनै घटना, कुनै भावना, विगतमा भएको अनुभव लेखेर महिलाहरूले पठाउनुभएको थियो । कतिको पीडा, कतिको हर्षको अनुभव मिश्रित अनुभूति थियो । १४ वर्षका युवतीदेखि विश्वविद्यालयका प्रोफेसरले आफ्ना अनुभूति लेख्नुभयो ।
हालै प्रकाशित ‘अग्निगर्भा’ कस्तो पुस्तक हो ?
अग्निगर्भाले नेपाली समाजमा महिलाको स्वाभिमान, अस्तित्व र आर्थिक योगदानको महत्वलाई उजागर गरेको छ । उपन्यासले लंैगिक भेदभाव, यौनिक अल्पसंख्यकको कथा र गाउँघरका पुराना चलनलाई समेटेर समाजको यथार्थ प्रस्तुत गरेको छ ।
बाल्यकालमा पढेका तर नबिर्सने कथा, उपन्यासको सम्झना छ ?
‘लर्ड अफ फ्लाइज’ भन्ने स्टोरी बुकले धेरै समयसम्म डिस्टर्ब गरेको थियो । साना बालबालिकाहरू प्लेनमा गइरहेको बेला प्लेन क्र्यास हुन्छ । सानो आइल्यान्डमा बालबालिकाहरू बस्छन् । उनीहरू समाज, नीति र कानुन नभएपछि खेल्दाखेल्दै एक–अर्काप्रति हिंस्रक हुन्छन् । जो बलिया छन् उनीहरूले कमजोरलाई कुट्छन् । बालबालिकाहरू पनि यति निर्मम हुन सक्छन् र भन्ने लाग्यो, कथाले एकदम मन छोएको थियो ।
प्रारम्भिक शिक्षा भारतमा लिनुभयो । यहाँ र उता शिक्षामा के अन्तर छ ?
यहीँ जन्मिए पनि बुवा कामको सिलसिलामा भारतमा भएकाले मेरो प्रारम्भिक शिक्षा उतै पूरा भयो । बुवाको रिटायर्डमेन्टपछि नेपाल आयौं । ब्याचलर र मास्टर्स नेपालमै पढें । मास्टर्स पूरा गरेको केही समयपछि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट अंग्रेजी साहित्यमा पिएचडी पूरा गरें ।
भारतको पढाइ एडभान्स लेवलको थियो । उता पढेर नेपाल आएपछि पढ्न धेरै सजिलो भयो । त्यसो त मेरा बुवाले घरमै साहित्यका पुस्तक ल्याइदिनुहुन्थ्यो । घर र पुस्तकालयमा धेरै राम्रा पुस्तक पढ्ने अवसर पाएँ ।
कस्ता पुस्तक बढी पढ्नुहुन्छ ?
समयानुसार रुचि परिवर्तन हुँदै जान्छ । बाल्यावस्थामा बाल उपन्यास, ठूलो भएपछि ठूलो उपन्यास पढ्दै आएको हुनाले उपन्यासको संसार रमाइलो लाग्थ्यो । यो संसारमा दु:ख, बन्देज, परिबन्द सबै छ । उपन्यासको संसारमा सबै कुरा राम्रा मात्र हुन्थे । नायक, नायिका, खलनायक हुने राम्रोले सधै जित्छ । त्यसमा न्याय हुन्थ्यो ।
पिएचडी गर्ने क्रममा रिसर्च राइटिङ गर्न थालेपछि गैरआख्यान पढ्न थालें । पढ्दै जाँदा यसैमा रस बस्यो । गैरआख्यान तार्किक हुन्छ र कुनै पनि विचारलाई प्रमाणित गर्न तर्क चाहिन्छ । ६–७ वर्षसम्म आख्यान पढ्नै सकिन । कामको प्रकृतिअनुसार पुस्तक पढाइमा पनि परिवर्तन हुँदै जान्छ ।
लेख्नका लागि कुनै घटना वा व्यक्तिले प्रभाव पार्छ ? लेखनमा महिला मुद्दा कसरी प्रतिबिम्बित हुन्छन् ?
कुनै न कुनै घटनाले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव त पार्छ । कुनै घटना बिर्सन सकिँदैन, मनमा चिमोटिरहन्छ, लेख्न मन लाग्छ । समय चहिन्छ, एकपटक आउँदैन, समय, रुचि, परिवेश, साथीभाइ मिल्दै गएपछि झुकाव लिँदै जान्छ । घरको परिवेश, वातावरण, समय सबै मिल्नुपर्छ । एकैपटक समाजमा देखेका कुरा, चित्त नबुझेका कुरा कथामार्फत लेखिन्छ ।
पब्लिकेसन्स हाउस खोलेर महिला लेखकलाई बढी प्राथमिकता दिनुको कारण के होला ?
सन् २०१० मा अक्षर क्रियसन्स स्थापना भयो । महिला पात्र राखेर उपन्यास लेखिरहेका छन् तर त्यो महिला पात्रमा म आफू भेट्दिनथें । महिलालाई कमजोर, रोनाधोना बचाउ गर्न नायक आउनुपर्ने पात्रका रूपमा प्रस्तुत गरेको पाएँ । मेरो उद्धार म आफैं गर्छु, अवसर देऊ भन्ने लाग्यो । र पब्लिकेसन्स हाउस खोलें ।
अक्षर क्रियसन्समा पुरुषका पुस्तक पनि प्रकाशित भएका छन् । पछिल्लो समय भने महिलाको मात्र धेरै आएको छ । ठूलो स्केलमा गर्न आर्थिक अभाव, खर्चिलो, रिटर्नको सम्भावना कम छ । कतिपय पब्लिकेसन्स खुल्ने र बन्द हुने कारणले लामो समय टिकिराख्न महिलामा मात्र केन्द्रित भएकी हुँ । समग्रमा अक्षर क्रियसन्सबाट आत्मकथा, कथा, यात्रा संस्मरण, उपन्यास, निबन्ध, कविता गरी ३० वटा पुस्तक प्रकाशन भइसके ।
पुरुषका तुलनामा महिला लेखक किन कम आएका होलान् ?
संख्यात्मकभन्दा पनि गुणात्मकमा जोड दिनुपर्छ । अहिले भइरहेका महिला लेखक (सीमा आभाष, उमा सुवेदी, ज्योति जंगल, नीलम कार्की आदि) ले जसरी सशक्त रूपले लेखिरहेका छन् । त्यो निकै प्रशंसनीय छ । गुणात्मक लेख्ने महिलाहरू छन् । साहित्यिक छलफलले पनि हौसला प्रदान गरेको छ । महिलाले नयाँ शैली, विषयवस्तुमा, प्रस्तुतिमा लेखिरहेका छन्, त्यही पढेमा आगामी पुस्ताले त्यहीँबाट नयाँ बाटो निकाल्छन् । महिलालाई दोहोरो–तेहोरो दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । यसका बाबजुद पनि आफ्ना लागि समय कम खर्चेर लेखिरहेका छन्, त्यो राम्रो काम हो ।
राम्रो लेखकमा हुनुपर्ने गुण के होला ?
लेखकले सबै थरीका पुस्तक पढ्नुपर्छ । नेपालको मात्र नभएर साउथ एसिया, विश्वभरिका पुस्तक पढ्नुपर्छ । यसले सोचको दायरा फराकिलो बनाउँछ । साहित्यलाई बुझ्ने दृष्टिकोण फरक बनाउँछ । विचार जति फरक र विस्तृत हुँदै जान्छ, लेखनीमा त्यसको प्रभाव देखिन्छ । आफूले लेखेका कुरा पाठकसम्म पुर्‍याउँदा चित्त दुखाउन पनि सक्छन्, असहमति पनि हुन सक्छ । डायरी लेखन आफ्नो लागि लेखिन्छ, अन्य कृति पाठकका लागि ।
कविता, कथा, उपन्यास, लेख्न कुन सजिलो ?


कुनै पनि विधा लेख्न सजिलो हँुदैन । जसलाई जेमा रुचि हुन्छ, त्यही लेख्दा हुन्छ । कहिले केही लेख्नै सकिँदैन । तर कुनै घटना कहिलेकाहीँ यसरी आइराख्छ दिमागमा त्यसलाई नलेखेसम्म मन शान्त नै हुँदैन । कतिपय घटनाले प्रेरित गरेर कविता लेख्छन् । सबै लेखकका फरक–फरक अनुभव हुन्छन् ।
सामाजिक मुद्दाहरूमा पनि आवाज उठाउनुपर्छ भन्ने कहिलेदेखि लाग्यो ?
पहिलदेखि नै समाजमा रहेको अन्याय मेरो आँखामा परिहाल्थ्यो, बोल्न मन लागिहाल्थ्यो । घर, परिवेश, साथीभाइमा असहमति हुँदा पनि बोलिहाल्थें । पहिलेदेखि नै पत्रपत्रिकामा फ्रि कोलम लेख्थें । त्यतिबेला पनि तीजका बारेमा, समसामयिक विषय समाजमा चलेका मान्यताका बारेमा अंग्रेजीमा लेख्थें । पछि मलाई महसुस भयो मैले भन्न खोजेका कुरा त नेपाली जनमानसमा जानुपर्ने हो किनभने परिवर्तन मैले त्यहाँबाट खोजिरहेकी छु । त्यसपछि नेपालीमा लेख्न थालें । ५ वर्षअघिबाट परिवर्तनका लागि बृहत् नागरिक आन्दोलनमा समावेश भएँ । सामाजिक मुद्दा र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालें । अहिले भने लेखनीमा व्यस्त भएकीले अलि कम समावेश भएकी छु । तर पनि जीवनका विभिन्न पक्ष विभेदपूर्ण लागेमा सामाजिक सञ्जालमार्फत आवाज उठाउँछु ।
पाठकबाट पाएको कुनै प्रतिक्रिया, जसले तपाईंलाई गहिरो असर गर्‍यो ?
अग्निगर्भा आइसकेपछि फोन, म्यासेजमार्फत सकारात्मक प्रतिक्रिया आए । कठपुतलामा पनि धेरैजसो सकारात्मक प्रतिक्रिया आएका थिए । जे होस् प्रत्येक पटक पुस्तक लेखेर सकाउँदा पाठकमाझ जान्छ । त्यसपछि आलोचना आउँछ भनेर डर लाग्छ । जबसम्म आफूलाई आलोचनाका लागि तयार गरिँदैन, तबसम्म लेख्न सकिँदैन । आलोचनाले सिक्ने ठाउँ पक्कै बनाउँछ । आख्यान लेख्नुभन्दा पहिले गैरआख्यान र रिसर्च पेपर लेखेकी हुनाले मलाई कुन–कुन कमजोर पाटो हुन्छ, थाहा हुन थाल्यो । यसले लेखनीमा सहज हुन्छ ।
अझै पनि सार्वजनिक भूमिका, संस्थागत नेतृत्व तथा सम्मान र पुरस्कारमा पुरुषहरूकै बाहुल्य देखिन्छ । यस्तो अवस्थाको अन्त्य कसरी होला ?
म मेरा कुनै पनि पुस्तक फाराम भरेर पुरस्कारका लागि दर्ता गर्दिन । पुरस्कारमा महिलाका पुस्तक परेकै छन् । पुरस्कार प्रक्रिया थाहा भएन । कृति राम्रो छ भने पुरस्कार दिने संस्थाले आफैं पनि विभिन्न कृति पढेर, निष्पक्ष भएर निर्णय लिनुपर्छ । पुरस्कार आफैं पनि लेखकहरूका लागि प्रोत्साहन गर्ने एउटा बाटो हो । तर कहिलेकाहीँ आफ्नै समूहका, गुटलाई दिने गरिन्छ । त्यसले पुरस्कारको महत्व कम हुन्छ । पुरस्कार दिने कमिटीमा को–को छन् प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्छ । पुरस्कार निष्पक्ष हुँदैन, यसमा राजनीति हुन्छ, यसलाई बुझ्न जरुरी छ । पुरस्कार पाएमा पुस्तकको बिक्री बढ्नुका साथै लेखक बढी चर्चित हुने रहेछ ।
भविष्यमा के–कस्ता विषयमा लेख्ने योजना छ ?
लेखनलाई निरन्तरता दिनेछु । अहिले अंग्रेजीमा समसामयिक विषयहरूमा लेखिरहेकी छु । जेनजी विद्रोहमा आफूले देखेको र त्यसका केही सकारात्मक र अरु के बाटा हुन्छन् त्यसका बारेमा लेखिरहेकी छु । सामाजिक सञ्जालमा महिलालाई जुन प्रकारले लखेट्ने गरिन्छ त्यसले उनको जीवनमा कस्तो प्रत्यक्ष असर पार्छ र पछि त्यसले कति मानसिक पीडा दिन्छ भन्ने कुरा बिर्सेका छौं । यसलाई रुचाएर हेर्ने एक प्रकारको भाइरल संस्कृति आएको छ । अल्गोरिदमले भाइरल बनाउन सजिलो छ । भाइरलले हाम्रो जीवनमा कति असर पारेको र दुष्परिणाम के हुन सक्छ भनेर यसको बारेमा लेखिरहेकी छु ।


अंग्रेजीमै लेख्नुपर्छ भन्ने किन लाग्यो ?
पहिले धेरैजसो अंग्रेजीमै लेख्थें । अहिले अंग्रेजीमा नलेखेको धेरै भयो । नेपालमा कति राम्रा पुस्तक छन् तर साउथ एसिया पुगेका छैनन् । रिडरसीप चाहिन्छ भने कहिलेकाहीँ अंग्रेजीमा पनि लेख्नुपर्छ भन्ने महसुस भयो । नेपालका कुरा बाहिरका पाठकले पनि पढ्न पाउनुपर्छ भन्ने लाग्यो । भारत र श्रीलंकाका कति कुरा आउँछन्, नेपालका महिलाका विषयका कुरा त्यति आएका छैनन्, त्यसको आवश्यकता छ जस्तो लाग्यो । त्यसैले यसमा पनि काम गरिरहेकी छु ।
लेखेर बाँच्न सक्ने स्थिति छ ?
छैन, आजभन्दा १६ वर्षअघिदेखि भन्दै आइरहेकी छु । धेरै कुराले फरक पार्दो रहेछ । अहिलेको समसामयिक समयमा पठन संस्कृति अलिकति खस्किँदै गएजस्तो लाग्छ, यद्यपि म गलत हुन सक्छु । म गलत हुन चाहन्छु । मानिससँग समय अपर्याप्त छ, दैनिकी व्यस्त छ । काममा कुँदिरहेका सामाजिक सञ्जालको प्रभाव, भिजुअल मिडियाको प्रभाव परेको छ । सबैको हात–हातमा फोनर र इन्टरनेट छ , विभिन्न साइटमा स्क्रोल, पढ्ने धैर्य छैन । हामी स–साना टुक्रे रिल हेरेर रमाउन थालेका छौं । भाइरल हुने भोक बढेको छ । साक्षरता बढेको छ तर साहित्य पढ्ने रुचि बढ्न सकेको छैन ।
प्रकाशक बढी छन्, पुस्तक बढी तर पढ्ने मानिस पढ्ने समय सीमित छ । पुस्तक पढ्ने माध्यम फरक भएका छन् । पहिले हामीले पढ्थ्यौं भने अहिले कथा हेरिन्छ । काम गर्दै पडकास्ट सुन्छौं । मोटो, बाक्लो पुस्तक पढ्ने मान्छेसँग धैर्य छैन ।


नयाँ पुस्ताका लेखकलाई के सुझाव छ ?
आफ्नो मनमा जे लाग्छ त्यही लेख्नुस् । आउने पुस्ताले जे कुरा सम्बोधन भएको छैन, त्यसका बारेमा लेखौं, जुन शैली लेखिएको छैन त्यो शैली अपनाएर लेखांैं । रुचि हुनेले जेमा पनि खोजीखोजी पढ्छन् । जस्तो मेरी छोरीले किन्डलमा पढ्छिन् । अभिभावकले बाल्यावस्थादेखि नै पढ्ने वातावरण बनाइदिनुपर्छ । खाना खाएन भने मोबाइल दिने होइन पुस्तक किन्ने र पढ्ने परिपाटी बनाउनुपर्छ । सरकारले पनि पठन संस्कृतिलाई महत्व दिँदैन । अरु देशमा जस्तो कोरियामा लेखकलाई सहयोग फन्डिङ सरकारले दिन्छ । क्यानाडामा राम्रो साहित्यका लागि फन्ड आउँछ । साहित्यको उत्थान हुनुपर्छ ।
यसका लागि कसले पहल गर्ने ?
हाम्रोमा प्रज्ञा प्रतिष्ठान छ । के काम गर्छ, थाहा छैन । नेपालीमा छापिएका पुस्तक अहिलेसम्म भारतमा बस्ने नेपाली भाषीसम्म पुर्‍याउन सकेको छैन । साझा, साहित्य प्रतिष्ठानले पनि पहल गरेको छैन । साउथ एसियासम्म लिंक बनाउन सकेको छैन । अहिले भइरहेका साहित्य महोत्सवहरू पनि केही व्यक्तिहरूको खटनले भइरहेका छन् । राम्रो पुस्तकालय हुनु आवश्यक छ । डिजिटललाई मात्र दोष दिएर हुँदैन, विभिन्न तवरमा काम गर्न अझै बाँकी छ । सबैभन्दा ठूलो काम त सरकारले गर्न बाँकी छ । 

तस्बिरहरु : महेशमान प्रधान

 Image