Successfully Copied

तिहारका परिकार

सेल रोटी तिहारको विशेष परिकार हो । चामलको पिठोबाट तयार पारिने सेल रोटी हरेक शुभ कार्यमा बनाइन्छ । 

नेपालमा बसोबास गर्ने हरेक समुदायका चाडपर्व मनाउने आ–आफ्नै मौलिक शैली छन् । ती चाडपर्वमा बनाइने परिकार होस् वा पूजाआजा गर्ने शैलीले सम्बन्धित समुदायको संस्कृति, मौलिक पहिचान झल्काउँछ । चाडपर्वसँग खानाको प्रत्यक्ष सम्बन्ध हुन्छ । तिहार दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध सुमधर बनाउने चाड मात्रै होइन पशुपंक्षीलाई समेत पूजाआजा गरेर मनाइने पर्व पनि हो । पाँच दिनसम्म मनाइने तिहारको अन्तिम दिन भाइटीका मनाइन्छ । यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर विभिन्न परिकार खुवाउने चलन छ । यो दिन चामलको परिकार बनाएर खुवाउनु शुभ मानिन्छ । सेलरोटी, फिनी, अनरसा, खुर्मा रोटी, सिन्कामारी आदि परिकार बनाइने चलन छ । यी परिकारहरू घरमै तयार गर्न सकिन्छ । 

बिके तामाङ

 सेफ, राम भण्डार, थापाथली

सेल रोटी

सेल रोटी तिहारको विशेष परिकार हो । चामलको पिठोबाट तयार पारिने सेल रोटी हरेक शुभ कार्यमा बनाइन्छ । 

सामग्री : पिठो, चिनी, ल्वाङ, सुकमेलको धूलो, घिउ ।

विधि : आवश्यकतानुसार चामलको पिठोमा घिउ मिसाएर केहीबेर मुछ्ने । त्यसमा ल्वाङ, सुकमेलको धूलो मिसाउने । थोरै–थोरै पानी राखेर पिठो गिलो गरी मुछ्ने । सेल रोटी बनाउनका लागि तावामा तेल तताउने । तेल तातेपछि सोलीको प्रयोग गरी वा हातले भिजाइएको गिलो पिठोलाई कराहीमा घुमाएर सेल रोटी बनाइन्छ । रातो रंगको भएपछि झिकेर अचार, तरकारी वा चियासँग खान सकिन्छ । 

 

लाखमरी

लाखमरी विशेषगरी नेवारी परिकार हो । पछिल्लो समय सबै समुदायमा यो परिकार बनाइन्छ । चामल वा आटाको पिठो दुवैको बनाउन सकिन्छ । यसको स्वाद गुलियो र क्रन्ची हुन्छ । यो इच्छाअनुसार विभिन्न आकारमा बनाउन सकिन्छ । धेरै दिनसम्म पनि भण्डारण गरेर खान मिल्छ । 

सामग्री : डेढ कप चामलको पिठो, एक चिया चम्चा तिलको तेल, एक चिया चम्चा बेकिङ पाउडर, आधा कप पानी, ४० मिलिलिटर घिउ, एक कप चिनी, तीन कप तेल, एक चिम्टी नुन ।

विधि : एउटा भाँडामा पिठो राख्ने त्यसमा बेकिङ पाउडर र तिलका दाना राखेर राम्रोसँग मिक्स गर्ने । त्यसमा थोरै–थोरै पानी राख्दै पिठो मुछ्ने । त्यसलाई १५–२० मिनेटसम्म कभर गरेर राख्ने । अर्को भाँडामा पानी र चिनी राखेर १५–२० मिनेटसम्म उमालेर चास्नी तयार गरिराख्ने । औंलामा राखेर हेर्ने, चिपचिप भएपछि आगो सानो बनाएर छोडिदिने । त्यसपछि अघि तयार पारेको पिठोलाई केहीबेर निकालेर मुछ्ने । त्यसलाई सानो–सानो आकारमा निकालेर डल्लो बनाउने । रोल गर्दै बेलनाकार दिने र चक्कुले ठिक्कको आकारमा काट्ने र लाखमरीको सेप दिने । अब प्यानमा तेल तताएर यसलाई डिप फ्राई गर्ने । जब हल्का फ्राई हुन्छ अनि मध्यम तापमा फ्राई गर्ने । जब खैरो रंगको हुन्छ त्यसलाई निकालेर अघि बनाएको चास्नीमा डुबाउने । त्यसपछि निकालेर एक घण्टा जति राखिसकेपछि खानका लागि तयार हुन्छ । 

अनरसा

तिहारमा पकाइने अर्को महत्वपूर्ण परिकार अनरसा हो । यो लक्ष्मीलाई प्रसादका रूपमा पनि चढाइन्छ । अनरसा बनाउनका लागि चामलको पिठो मसिनो हुनेगरी पिस्नुपर्छ । पिठो मोटो भयो भने अनरसा दह्रो हुन्छ । अनरसा धेरै दिनसम्म राखेर नखानु नै बेस हुन्छ । 

सामग्री : आधा किलो चामलको पिठो (सेल पकाउने भन्दा थोरै मसिनो गरी पिसेको), आधा किलो चिनी (पिठो र चिनी बराबरी मात्रामा), एक चम्चा घिउ, पकाउनका लागि छुट्टै घिउ ।

विधि : सबैभन्दा पहिले चामललाई भिजाउने र पिस्ने । सबै सामग्री राखेर मज्जाले पिठो मुछ्ने र डल्लो बनाउने । हातमा सानो डल्लो लिएर हातको सहायताले गोलो आकार दिने । कराहीमा घिउ तताएर अघि तयार पारेको रोटी हाल्ने र डाडुले माथिबाट घिउ राख्ने । नफर्काईकन एकापट्टिबाट सानो आगो बनाएर पकाउने । नपाकुन्जेलसम्म घिउ माथिबाट हाल्दै पकाइरहने ।

फिनी 

मैदाको पिठो र घिउको मिश्रणबाट तयार पारिएको फिनी रोटी तिहारको नछुट्ने परिकार हो । यसलाई विशेषगरी तिहारमा मात्र पकाएर खाने चलन छ । 

सामग्री : आवश्यकतानुसार मैदा, घिउ, चामलको मसिनो पिठो, तोरीको तेल ।

विधि : सबैभन्दा पहिले मैदाको पिठोलाई मज्जाले मुछ्नुपर्छ । नरम भएपछि फिनी बनाउन तयार हुन्छ । तयार भएको पिठोलाई एकछिन छोपेर राख्ने । चामललाई एक घन्टा पानीमा भिजाएर राख्ने । भिजेको चामललाई मसिनो पारेर पिस्ने । त्यसमा आवश्यकतानुसार घिउ राखेर मुछ्ने । यसरी मुछिएको मिश्रणलाई मौलिक भाषामा ‘साँठो’ भनिन्छ । अघि मुछेर तयार पारिएको मैदाको पिठोलाई बेल्ने । उक्त रोटीमा घिउ र चामलको पिठोबाट तयार पारिएको ‘साँठो’ लाई राम्रोसँग माथिबाट लगाउने र रोल गर्ने । त्यसपछि स–साना डल्ला पारेर काट्ने । काटिएको पिठोको डल्लालाई बेल्ने र तेलमा तार्ने । त्यसपछि रोटी पत्र–पत्र भएर छुट्टिन्छ । 

 

 Image