Successfully Copied

नेवारी मिठाइका परिकारहरु

नेवारी मिठाइका परिकारहरु लाखमरी, रोट, अनरसा तथा ल्वाङफूल

राधाकृष्ण व्यञ्जनकार, मंगलबजार

लाखमरी

सामग्री

ताइचिन चामलको पिठो : एक किलो

घिउ : तीन पाउ

मास : आधा किलो

चास्नी : आवश्यकताअनुसार

विधि

चामललाई अघिल्लो दिन भिजाउने र भोलिपल्ट पिस्ने । मास पनि रातभरि भिजाएर बोक्रा निकाली बिहान पिस्ने । पिसेको मासमा अलिअलि पानी हालेर फिट्ने । घिउ, चामलको पिठो तथा मास मिसाएर राम्रोसँग फिट्ने । नरम भएपछि स–साना प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने । आकार बनेपछि कराहीमा घिउ तताएर खैरो हुने गरी पकाउने । खैरो भएपछि झिकेर सफा प्लेटमा हाल्ने र सेलाएपछि चिनीको बाक्लो उम्लिएको झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने ।  यसरी तयार भएको लाखमरी तिहारमा बढी प्रयोग हुन्छ । यसलाई धेरै महिनासम्म राखेर खान सकिन्छ ।

अनरसा

सामग्री

ताइचिनको चामल : एक किलो

चिनी : एक पाउ

तिल : एक पाउ

घिउ : २ किलो

विधि

रातभरि चामल भिजाएर भोलिपल्ट पिस्ने । चिनीलाई बाक्लो हुने गरी पकाउने । चिनी बाक्लो भएपछि त्यसमा पिठो मिसाएर घोट्ने । तयारी पिठो र चिनीको मिश्रणलाई २४ घन्टा त्यत्तिकै राख्ने । भोलिपल्ट पुन: नरम हुने गरी मुछ्ने । सानो गोलो बनाई त्यसमा तिल हालेर हातैले रोटीको आकार दिने । कराहीमा घिउ तताएपछि रोटी हालेर खैरो नहुन्जेल पकाउने ।

रोट

सामग्री

मैदा : एक किलो

घिउ : ३ पाउ

बेकन पाउडर : ३ पाउ

खाने सोडा : एक चम्चा

विधि

घिउ, चिनी, बेकन पाउडर र सोडालाई फिटेर त्यसमा पानी र मैदा हाल्दै मुछ्ने । नरम भएपछि कपडाले छोपेर दिनभरि राख्ने । भोलिपल्ट बेल्ने र साइजअनुरूप काटेर घिउमा फ्राई गर्ने ।  खैरो भएपछि रोट तयार हुन्छ ।

ल्वाङफूल

सामग्री

मैदा : एक किलो

घिउ : ३ पाउ

चास्नी : आवश्यकताअनुसार

नरिवल : आधा पाउ

केशर : आधा चम्चा

विधि

घिउ तताएर मनतातो पारी एक लिटर पानी हाल्ने । उक्त घिउ र पानीमा मैदा मुछ्ने । पिठो तयार भएपछि गोलो बनाएर तीनकुने आकारमा बेल्ने । बेल्दा अलिअलि पानी छ्याप्दै पट्याउँदै थिच्दै जाने । त्यसपछि घिउमा पकाउने । ५–६ मिनेट पकाएपछि निकाल्ने । सेलाएपछि चास्नीमा डुबाउने । चास्नीबाट निकालेपछि माथिबाट नरिवलका मसिना टुक्रा तथा केशर छर्कने ।

 Image