Successfully Copied

बहुप्रतिभाशाली विष्णु

पेसागत जिम्मेवारीमार्फत होस् वा लेखनीमार्फत, उनलाई सबैभन्दा खुसी लाग्ने भनेको आफ्नो आवाज आफै सुनाउन नसक्नेहरूका लागि आवाज बनिदिनु हो ।



स्याङ्जाको करेन्डाँडामा जन्मिएका विष्णुलाई सानो छँदा केही समयसम्म लाग्थ्यो, सबै मानिसका नाम हुँदैनन् । उनले आफ्ना बुवालाई बुवा भन्थे, बद्रीनारायण भन्ने नामको आवश्यकता नै परेन । आमाको दीपा नाम भएको कुरा धेरै पछि मात्रै थाहा पाए । स्कुलमा उनलाई कसैले विष्णु भनेर बोलाउँदा पनि खासै राम्रो लाग्दैनथ्यो । ‘आफू भने सानो एउटा बच्चा, नाम भने ठूलो भगवान्को’ उनलाई कताकता के–के नमिलेझैं लाग्थ्यो ।
छ जना छोरीपछि एक्लो भाइका रूपमा जन्मिएका विष्णुलाई बुवाआमा र दिदीहरूले सानामा धेरै पुल्पुल्याए । उतिबेलाको माया–ममता सम्झदै विष्णु भन्छन्–‘त्यतिबेला शिशु कक्षामा चार वर्षको बच्चा एक्लै बस्न नपरोस् भनेर बुवाआमाले स्कुललाई अनुरोध गरी मभन्दा तीन वर्ष जेठी दिदीसँगै मलाई एक कक्षामा राखिदिए ।’ उनी १४ वर्षको उमेरमा पोखरामा क्याम्पस पढ्न आएका थिए ।
कलेजमा प्रथम हुँदै कीर्तिपुरमा एम.ए. अंग्रेजी साहित्य पढ्न गएका उनले त्यहाँ गोल्ड मेडल हात पारे । २३ वर्षको उमेरमा मास्टर्सकै विद्यार्थीलाई पढाउन थाल्दा कक्षाका आधा विद्यार्थी भन्दा उनी कान्छा थिए, उनी ‘भाइ सर’ भएर क्लासमै पनि मायामा पुरिए । त्यसको दुई वर्ष नपुग्दै उनी संसारकै प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयमा एमफिल अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्तिमा छनोट भए । उनका कान्तिपुरमा लेखिने स्तम्भ र हालै प्रकाशित पहिलो उपन्यास ‘अडिएका पाइला’ लाई पाठकहरूले निकै माया गरिरहेका छन् ।
यो त भयो उनको कलिलो बाल्यकाल र मायाको कथा । तर त्यो कोमलतासँगै उनीभित्र एउटा राजनीतिक विश्लेषकको सार्वजनिक व्यक्तित्व छ जुन दृढ, निडर र अडिग छ । त्यसभित्र अन्यायकाविरुद्ध त्यस्तो ज्वाला छ जुन उनका सार्वजनिक टिप्पणीहरूमा दनदनी दन्किन्छ । भन्छन्–‘मलाई मानिसले मानिसलाई हेपेको देख्दा असह्य हुन्छ । राज्यले जनतालाईहेपेको सहनै सक्दिन। जनता–जनता मिलेर बनेको एउटा राजनीतिक संरचना न हो ।’ यो सामाजिक क्रोध उनमा बौद्धिक चेत विकसित भएस“गै आएको हो । उनले विश्वविद्यालयमा पढाएकाले सामाजिक विकृतिका विरुद्धमा सार्वजनिक रूपमा लेख्न र बोल्न थाले । समाजसँग संवाद गर्न थालेपछि उनको परिचय पनि सोहीअनुसार बन्दै गयो ।


उनले विश्वविद्यालयमा एम.ए. र एमफिललाईकरिब एकदशक पढाए । वि.सं. २०५८ सालमा आयोगको खुला प्रतिस्पर्धामा पनि एक नम्बरमै उनको नाम निस्केको थियो जुन बेला देशमा सशस्त्र द्वन्द्व थियो । उनले नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) अन्तर्गतको राष्ट्रिय मानव अधिकार कार्ययोजना परियोजना हेर्ने जिम्मा पाए । त्यसपछि सुरु भएको उनको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको आबद्धता अहिले दक्षिण–पूर्वी एसिया पुगेको छ । विगत चार वर्षदेखि उनी क्याम्बोडियामा युएसएआइडीको लोकतन्त्र र सुशासन कार्यक्रममा ‘चिफ अफ पार्टी’ का रूपमा कार्यरत छन् । प्राज्ञिक संस्थासँग जोडिइरहने उनको तलतलका कारण उनी इन्डियाना राज्यको एक अमेरिकी विश्वविद्यालयका ‘फेलो’ पनि छँदैछन् ।
पेसागत जिम्मेवारीमार्फत होस् वा आफ्नो लेखनीमार्फत, उनलाई सबैभन्दा खुसी लाग्ने भनेको आफ्नो आवाज आफै सुनाउन नसक्नेहरूका लागि आवाज बनिदिनु हो । उनी भन्छन्–‘संसार असमान छ यो सायद सधै असमान नै रहनेछ । तर असमानताकै बीच पनि सामाजिक न्याय कायम गर्न सकिन्छ र गर्नुपर्छ । राज्यलगायत अरु जति पनि सुपरस्ट्रक्चरहरू बनेका छन्, ती सबैको उद्देश्य मानवीय आत्मसम्मानलाई सम्मान गर्नेतर्फ अग्रसर हुनुपर्छ । समाजमा सबैले सम्मानजनक रूपमा बाँच्ने वातावरण पाउनुपर्छ ।’
सापकोटालाई पहिले मानिसले यो समाजमा असल हुनु भनेको के हो भनेर चिन्तन गर्नुपर्छ र आफू कहाँ उभिने भन्ने निक्र्याेल गर्ने हो भन्ने लाग्छ । यसरी सोच्दा उनले सधै सम्झने के हो भने, उनी जन्मेको नै नेपाली समाजमा महिला र पुरुषबीच हुने ऐतिहासिक असमानता र अचेतनाका कारणले हो । होइन भने, पहिले जन्मिएका उनका दिदीहरूलाई राम्रोसँग पढ्ने–लेख्ने बनाउन नसकेका उनका बुवाआमाले उनलाई जन्माउनुपर्ने अर्को कारण थिएन । बुझ्ने भएपछि उनलाई कहिल्यै भ्रम भएन । उनले पाएको महत्व उनले पाएको होइन, त्यो एउटा ‘फल्स’ वा लिंगले पाएको हो । उनको जन्मको आधार नै संरचनात्मक विभेद थियो । छोरा भएका कारण, त्यो विभेदकाउनी लाभग्राही हुन् । यो उनका बुवाआमाको दोष नभै संरचनाको थियो । त्यसैले उनी भन्छन्,–‘नेपाली समाजमा जब म एक पुरुष, बाहुन, पहाडी र नेपाली भाषी भएर जन्मिएको हुन्छु, मैले आफूलाई सामाजिक मुद्दामा कसको पक्षमा उभ्याउ“छु भन्ने मेरो लागि निर्णायक नैतिक प्रश्न हो । जन्मबाटै मैले पाएको जुन ‘प्रिभिलेज’ छ, त्यसले मलाई सँधै आफ्ना बारे होइन, सबैका पक्षमा बोल्न–लेख्न प्रेरित गर्छ ।’
विगत चार वर्षदेखि विष्णु र उनका पार्टनर रुचि क्याम्बोडियामा छन् । छोरा रातो बंगलाबाट एसएलसी गर्नेबित्तिकै आइबी गर्न अमेरिका गए । त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा पढेर अहिले न्यूयोर्कको एक कम्पनीमा काम सुरु गरिसकेका छन् । विष्णुले आफूलाई जतिसुकै ‘लिबरेटेड’ पुरुष ठानेपनि महिलाका मुद्दालाई हेर्ने दृष्टिकोणमा कति खोट छन् भन्ने उनले रुचिबाटै दिनदिनै सिकिरहेका छन् । ‘हो, मैले कहिल्यै–केही दाबी गर्दिन कि मेरा दृष्टिकोण सही छन् । शायद त्यहाँ सच्याउनुपर्ने पो छ कि अझै भनेर आफूलाई सधै खुला राख्नु महत्वपूर्ण हो जस्तो लाग्छ ।’
उनलाई सामाजिक मुद्दामा बोल्दा–लेख्दा कसैसँग डर लाग्दैन । समाज र देश उनको भन्दा बढ्ता कुनै नेता वा कर्मचारीको हो जस्तो उनलाई कहिल्यै लागेन ।


छुट्टिनुअघि उनले यो नछुटोस् है भन्दै ठट्यौलो स्वरमा सुनाए–‘तत्कालका लागि म मेरो उपन्यास ‘अडिएका पाइला’ माथि थरीथरीका, खासगरी अन्तर्मुखी स्वभावका पाठकहरूका जे–जस्ता गहिरा प्रतिक्रियाहरू आइरहेका छन्, तिनलाई सुन्दै सोचिरहेको छु, जिन्दगीमा गरेका अरु कामहरू के–कस्ता भए त आफ्नै ठाउँमा छन् । उपन्यास लेखेपछि मानिसहरूले मलाई जसरी हेर्न थालेका छन्, यो भने पक्कै राम्रै काम गरेको रहेछु भन्ने लागिरहेको छ ।’


हजुरआमा: दन्त्यकथा ।
आमा: इच्छाशक्ति ।
श्रीमती: सोचभन्दा बढी ।
छोरा:  रोल मोडेल ।
प्रभाव छाड्न सफल महिला: छुट्टिएर गएकाहरू ।
आकर्षक महिला: अरुन्धती रोय ।
मन छोएकी महिला पात्र: अनसूया (आफ्नै उपन्यासकी मूल पात्र)

नारी: अनन्तता

 Image