Successfully Copied

अनुभवको संगालो मणि

मेहनत, संघर्ष र परिश्रमसहितको इच्छाशक्तिले जीवनमा सफल भइन्छ ।


३२ वर्ष बीबीसी नेपाली सेवामा बिताएका मणि राणा (७४ वर्ष) दुई वर्षअघि बिरामी भए । त्यतिबेला उनलाई आफ्नी स्व.हजुरआमाको यादले साह्रै पिरोल्यो । ‘हुन त साथमा श्रीमती थिइन् हेरविचार गर्ने र पनि मलाई त्यसबेला मेरी हजुरआमा भएको भए यसो गर्नुहुन्थ्यो होला, उसो गर्नुहुन्थ्यो होला भन्ने सम्झनाले असाध्यै सतायो’, बाल्यकालतर्फ फर्किंदै मणि भन्छन्, ‘म १४–१५ वर्षसम्म हजुरआमासँग सुत्थें, म उहाँकै माया र ममताले सिञ्चित छु ।’ मणिका अनुुसार नारीभित्र आँट, धैर्य, माया र स्नेहको अथाह भण्डार छ, जसको शक्ति अपरम्पार छ ।
हरिहर शमशेर र सुशीला राणाका एकमात्र सन्तान मणि जावलाखेलको विक्रम भवन (हालको ब्रिटिस क्याम्पस) मा हुर्के–बढेका हुन् । दरबारभित्र काका ठूलाबा र फुपूहरूका सन्तानसँगै बितेको समयले उनलाई कहिल्यै एक्लो महसुस हुन दिएन । बच्चैदेखि उनी रेडियो सुन्थे तर पत्रिकातर्फ उनको रुचि जागेन । सेन्ट जेभियर्स स्कुलपछि उनले दुई वर्ष घरैमा पढेर एसएलसी दिए । अंग्रेजी र इतिहास मूल विषय बनाई पाटन क्याम्पस भर्ना भए । रेडियोको आवाजप्रति चाख र चासो र छँदै थियो । एकदिन रेडियो सुन्दै गर्दा नमीठो आवाजमा अंग्रेजी समाचार वाचन गरेको सुनेर यो भन्दा त मै राम्रो पढ्छु जस्तो लागेको क्षण अहिल्यै हो कि जस्तो लाग्छ उनलाई । बि.ए. पास भएपछि स्कुल पढाउन थाले । सोही बखत प्रचण्डमान सिंह रेडियो नेपालका डाइरेक्टर जनरल थिए । उसैबेला रेडियो नेपालमा जागिरको भ्याकेन्सी खुल्यो । अन्तर्वार्तामा गएपनि उनले जागिर पाएनन् । उनी भन्छन्, ‘त्यसको केही समयपछि प्रचण्डमानले जावलाखेल स्टेशनमा काम गर्ने भए आउनू भनेर बोलाए । म त बोलाएको समयभन्दा पहिल्यै सिंहदरबार पुगेछु, रेडियो नेपालमा कोही मान्छे छैनन्, फर्किएर पुलतीसडकतिर चिया पिएर टहलिएँ । पछि फर्केर आएपछि मासिक चार सय रुपैंयामा काम गर्ने सर्तमा जागिर पक्का गरेर घर फर्किएँ ।’ उनलाई अहिले पनि याद छ, सन् १९६८ डिसेम्बर २५ तारिखका दिन आफूले पहिलो पटक रेडियो नेपालमा अंग्रेजी समाचार वाचन गरेको, त्यसबेला निक्कै डर, उत्साह र कौतुहलता मिश्रित अनुभुत भएको उनी बताउँछन् ।
सन् १९७१ मा अर्थ मन्त्रालयले विदेश जाने कोटा आएको छ भन्ने खबर साथीमार्फत् थाहा पाएँ । उनले आवेदन भरे तर छनोटमा परेनन् । दोस्रो पटकमा भने उनलाई भाग्यले साथ दियो र बेलायत जाने भए । त्यसबेला घटेको एउटा रमाइलो घटना सुनाउँदा उनी पुलकित हुन्छन्, यहाँदेखि दिल्ली पुगियो । तर दिल्लीदेखि लण्डन जाने जहाज छुट्यो । अब जान नपाइने भयो, के मुख लिएर फर्किने भन्ने सोचमा डुबिरहदा एयरपोर्टमा एकजना मान्छे मेरो र अर्का एकजना नेपालीको नाम लिँदै आइपुगे । हामीलाई एअर इण्डियामा हालेर पठाइयो, कहा“ ब्रिटिस एअरवेजमा जाने भनेको मान्छे, एअर इण्डियाको जहाज चढ्नुपर्दा हाँसो उठ्नुका साथै अलि खल्लो पनि लाग्यो ।
ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा बेलायत पुगेकाले सम्पूर्ण व्यवस्था उनीहरूले नै गरे । उनलाई बेलायतको एअरपोर्टमा कुचो बढार्नेले पनि पत्रिका पढेको देखेर अचम्म लाग्यो । उनी भन्छन्, कुनै पनि देशको साक्षरता बढ्नुमा यस्ता स–साना कुराले पनि प्रभाव पार्ने रहेछन् । त्यहाँको बसाइले मलाई धेरै कुरा सिकायो ।


१० हप्ते तालिमका लागि बेलायत पुगेका उनले डेढ वर्ष बिताए । यता रेडियो नेपालको जागिर यथावतै थियो । बीबीसीले नै उनलाई वर्क परमिट र रिटर्न टिकटसहित पुनः फर्किने सर्तमा नेपाल पठायो । छ महिना नेपाल बसेर उनी फेरि बेलायत फर्किए । जनतालाई सु–सूचित तुल्याउने माध्यमका रूपमा पत्रकारितालाई बुझेका मणि त्यसपछि अनवरत रूपमा पत्रकारितामै दृढ भएर लागे । उनले रिपोर्टिङ गरेका विनाअक्सिजन सगरमाथा चढ्ने व्यक्ति, नेपालको दरबार हत्याकाण्ड, एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाको अन्तर्वार्ता, बकिंघम प्यालेसभित्रै गएर लिएको प्रिन्स चाल्र्सको अन्तर्वार्ता संसारभरका मानिसले हेरे । यीबाहेक उनका अन्य थुप्रै अन्तर्वार्ता र रिपोर्टिङ अहिले पनि मानिसहरू सम्झिन्छन् । तत्कालीन पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टो बीबीसी अफिस छिर्दा आफू उनको व्यक्तित्वसँग निक्कै प्रभावित भएको मणि बताउ“छन् । मणि भन्छन्–दरबार हत्याकाण्डका बेला त धेरै देशका पत्रकारले यससम्बन्धी मेरो अन्तर्वार्ता लिए । धेरै देशलाई मैले सूचना प्रवाह गर्न सफल भए“ ।’ अहिलेको पत्रकारिता देख्दा मणिलाई अनुशासन हराएजस्तो लाग्यो । अर्को कुरा भाषामा शुद्धता नभएको र शैली र प्रस्तुतीकरण पनि नमिलेझैं भान हुन्छ । पत्रकारिता विशुद्ध र अनुशासित हुनुपर्छ भन्ने उनको अनुभवले बताउ“छ ।
ठूलो परिवारमा हुर्किएका मणिले सन् १९६९ ताका आफू १९ वर्षको हुँदा नै उमा राणासँग लिभिङ टुगेदरमा बस्न थालेको बताए । ५४ वर्षअघि त्यो कदम उठाएका उनी हरेक कुरामा असाधारण लाग्थे । अहिलेसम्म उमासँगको सम्बन्ध सौहाद्र्र छ । यी दम्पतीका एक छोरा छन् । दाम्पत्यलाई बोझका रूपमा कहिल्यै नलिएका उनी श्रीमती, छोरा र परिवारप्रतिको कर्तव्यमा भने कुनैदिन विमुख भएनन् । त्यसैले उनलाई विवाहपछि र अघिको जीवन र भोगाइमा कुनै फरक महसुस हुँदैन । सन् २००२ मा बीबीसीबाट अवकाश लिएर नेपाल फर्किएपछि उनी पुस्तक पढेरै समय बिताउँथे तर अब उनलाई पत्रपत्रिका पढ्न, टिभी हेर्न, पुस्तक पढ्न मन लाग्दैन । बरु उहिल्यै देखिको बानी खाना पकाउने, सरसफाइ, गार्डेनिङलगायत घरका काम गर्नमा रमाइलो लाग्छ । मेहनत, संघर्ष र परिश्रमसहितको इच्छाशक्तिले जीवनमा सफल भइन्छ भन्ने अनुभवको संगालो हो, उनको जीवन । भन्छन्–‘यिनै रंगीन अनुभव संगाल्नका लागि जहाज छुटाएरै भएपनि सात समुद्रपारि पुगियो, कति समय, संघर्ष र दिमाग खर्च गरियो, अहिले त यी सबै कुरा मोबाइलमै छन्, एक क्लिक ग¥यो कि सबै यही“ आइहाल्छन्, त्यसैले अहिले त म पत्रपत्रिका, टिभी, रेडियो छोडेर यतातिर लागेको छु ।’
मणिको नजरमा
हजुरआमा ः मेरो सबथोक ।
दिदीबहिनी ः साथीहरू ।
श्रीमती ः बेस्ट फ्रेन्ड ।
बुहारी ः छोराको खुसी ।
महिला सहकर्मी ः प्रेरणा ।
आकर्षक महिला ः मेरी हजुरआमा, उतिबेलाकी भारतीय नायिका जीनत अमान, राजश्री ।
नारी ः नारीविना जीवन अपूर्ण छ ।

 Image