Successfully Copied

आत्मविश्वासले मोडियो जीवन

सगरमाथाको आधार शिविर पुगेकी सोलुखुम्बुकी फुरादिकी शेर्पासँग दुःख–सास्तीको चाङ थियो । त्यहाँ पुग्दा आफ्नै अघिल्तिर उभिएको कठोर हिम टाकुरालाई उनी निकैबेर नियालिरहिन् । मनभित्र उब्जिएका अनेकौं प्रश्नको उत्तर खोज्दै थिइन् । त्यसैबीच उनको मनमा ‘हिउँहरूको साम्राज्य’ मा आफ्नो कर्म खोज्नुपर्छ भनेर ।

सगरमाथाको आधार शिविर पुगेकी सोलुखुम्बुकी फुरादिकी शेर्पासँग दुःख–सास्तीको चाङ थियो । त्यहाँ पुग्दा आफ्नै अघिल्तिर उभिएको कठोर हिम टाकुरालाई उनी निकैबेर नियालिरहिन् । मनभित्र उब्जिएका अनेकौं प्रश्नको उत्तर खोज्दै थिइन् । त्यसैबीच उनको मनमा ‘हिउँहरूको साम्राज्य’ मा आफ्नो कर्म खोज्नुपर्छ भनेर । यसअघि उनको कल्पनामा टाढा–टाढासम्म यसप्रकारको सोच आएको थिएन । उनी चाहेर वा नचाहेर हिमाली कठोरतासँग जुध्न पुगिन् । 

कुरा ०७६ जेठतिरको हो । उनका लागि आरोहण गर्दा चाहिने सबै सामग्रीको बन्दोबस्त थियो । आरोहण सामग्री बोकी फुरादिकी र उनको टिम सगरमाथा बेसक्याम्पतिर उक्लिन थाल्यो । उनको बर्षौदेखिको सपना पुरा हुन लागिरहेको थियो । आफूसँगै रहेको टिममा सहभागी साथी सपना पूरा हुने भन्दै रोमाञ्चित थिए । उनी भने क्याम्पतिर उक्लिने क्रममा बुवा र श्रीमान्लाई सम्झिरहिन् । यो त्यही टाकुराको यात्रा थियो, जहाँ आरोहण गर्ने हजारौंलाई उनका बुवाले बाटो पहिल्याइदिएका थिए अनि त्यही क्रममा उनका श्रीमान्ले ज्यान गुमाएका थिए ।

उक्लिने क्रममा रात पर्दा टिमका सबै मस्त निदाउँथे । उनको रात भने रोएरै बित्थ्यो । विश्वको सर्वोच्च शिखरमा पुग्दा कस्तो महसुस हुँदोरहेछ ? भन्ने प्रश्नमा उनको उत्तर 

अनपेक्षित थियो, ‘म उत्साहित थिइन, मेरो मनमा रोमाञ्चकता पनि थिएन’ उनले त्यो क्षण सम्झिदै भनिन्, ‘मैले शून्य महसुस गरिरहेकी थिएँ । टोली सदस्यहरूले ‘ऊ त्यो तिब्बत हो’ भनिरहेका थिए, मैले भने केही देखिन ।’ उनले नेपालपट्टिका केही हिमाल भने चिनिन् । उनका आँखा रसाइरहे ।सँगै रहेकाआङ दाइलाई अंगालो हालेर उनी धेरैबेरसम्म रोइरहिन् । त्यतिबेला दाइले भनेको सम्झन्छिन्, ‘हिमाल चढ्नु मात्र सफलता होइन, सकुशल झर्नु पनि त्यत्तिकै जरुरी हुन्छ ।’ फुरादिकी खुसी नहुनुको कारण थाहा पाउन चार वर्षपछाडि फर्कनुपर्छ । जतिबेला उनका बुवा आङ निमा शेर्पा र श्रीमान् मिङमर शेर्पा ‘आइसफल डाक्टर’ को काम गर्थे, जसको काम सगरमाथा आरोहीका लागि बाटो बनाइदिने हो । 

खुम्बुमा फुरादिकीले सानो चियापसल चलाउँथिन् । सिजनमा चौंरीलाई भारी बोकाएर बेसक्याम्प उक्लन्थिन् । उनीसँग छ वटा चौंरी थिए । यसरी नै उनीहरूको परिवारमा दुःख–सुख चलिरहेको थियो । नौ वर्षअघि उनका बुवा अचानक बिरामी भई यो धर्तीबाट बिदा भए । त्यसको महिना नबित्दै श्रीमान्लेपनि हिउँको खोंचमा पसेर ज्यान गुमाए । त्यसपछि उनको जीवन तहसनहस भयो । उनी सहनै नसक्ने पीडामा परिन् । उनलाई श्रीमान्को साथ र सहयोग पूर्णरूपमा मिलेको थियो । घरकी जेठी छोरी भएकीले उनी सधै बुवाकी प्रिय थिइन् । त्यसपछि उनी आर्थिक र मानसिक रूपमा नराम्रोसँग टुट्न पुगिन् । श्रीमान्को ज्यान गएको ठाउँ कस्तो होला भन्ने उनको मनमा थियो । उनी नोस्टाल्जिक हुँदै सम्झिन्छिन्, ‘त्यतिबेला त्यो ठाउँ जसरी पनि पुग्छु भनेर कसम खाएकी थिएँ ।’ 

उनलाई यो पीडाबाट उम्कन लामो समय कुर्नुपर्‍यो । तीन छोरीमध्ये जेठी छोरीलाई अमेरिकी ‘स्पोन्सर’ ले काठमाडौंमा पढाइरहेका थिए । यत्तिकैमा ती ‘स्पोन्सर’ले उनको व्यथा सुनेपछि तीन वटै छोरीलाई पढाइदिने वाचा गरे । त्यसपछि फुरादिकीको मनबाट छोरीहरूको पढाइको बोझ त हट्यो । तर, उनी मानसिक रूपमा विक्षिप्त थिइन् । के गर्ने, के नगर्ने–कुनै कुराको मेसो पाउँदिनथिन् । यत्तिकैमा उनी काठमाडैंमा दिदी पर्नेकोमा बस्न पुगिन् । एकपटक त उनलाई आत्महत्या गर्ने सोच आयो । उनले भनिन्, ‘म गाउँमै भएको भए मरिसक्थें होला ।’ 

०७१ मा बेसक्याम्पमा हिमपहिरोमा परी १५ जनाले ज्यान गुमाए । यसमा उनकी साथी नीमा डोल्मा शेर्पाकाश्रीमान् पनि परे । त्यसपछि उनलाई यो पीडाबाट गुज्रने आफू मात्र रहेनछु भन्ने महसुस भयो । उनले भनिन््, ‘त्यसपछि मलाई बाँच्ने हिम्मत आयो ।’यसमा उनलाई नीमा र आङ छिरिङ शेर्पाको साथ र सहयोग प्राप्त भयो । पछिल्लो समय उनी व्यावसायिक पर्वतारोही हुन् । उनले सुरुमा ३५ हजार रुपैयाँ खर्च गरेर १५ दिने प्रशिक्षण लिइन् । त्यसलगत्तै ४५ दिने प्रशिक्षणमा समावेश भइन् । यसले उनको आत्मविश्वास बढ्यो । 

अन्ततः ‘टू विडोज एभरेस्ट एक्सपिडिसन’ नाम दिँदै ०७६ मा फुरादिकीले सर्वोच्च शिखरको चुचुरो चुमिन् । त्यतिबेला उनी ४३ वर्षकी थिइन् । उनले यहाँसम्मको यात्रा तय गर्दा अनेकौं दुःख–पीडा भोगिन् । पहिलो पटक आफ्नै वेशभूषामा सगरमाथा चढ्ने दुई एकल महिलामध्ये उनी पनि हुन्, अर्की नीमा हुन् । 

हाल फुरादिकी व्यावसायिक पर्वतारोही बन्न सफल भएकोमा खुसी छिन् । उनले गर्वका साथ भनिन्, ‘सगरमाथा चढ्नु र व्यावसायिक पर्वतारोही बन्न म सफल हुनु भनेको मेरो मात्रै सफलता होइन । ती सबै महिलाहरूको हो जो एकल छन् ।’ महिला त्यसमाथि पनि श्रीमान् नभएका, उनीहरूले पनि चाहे भने जे पनि गर्न सक्छन् भन्ने सन्देश पनि हो यो। उनले सगरमाथा चढ्नुअघि ‘आइसल्यान्ड पिक’, ‘चुइस्ट पिक’ र ‘लोबुचे पिक’को सफल आरोहरण गरिसकेका थिए । सगरमाथापछि उनले प्राविधिक रूपमा गाह्रो मानिने ‘आमादब्लम’ हिमाल पनि चढिन् । 

दुःखमै बित्यो बाल्यकाल 

हिमालसँग फुरादिकीको साइनो बाल्यकालदेखि नै जोडिएको हो । सोलुखुम्बुको दिङबोचेमा ०३३ मा उनको जन्म भएको हो । दिङबोचे सगरमाथा आधार शिविर जाने बाटोमा पर्छ । फुरादिकीले १४ वर्षको कलिलो उमेरदेखि नै पर्यटकहरूलाई बाटो देखाइदिने काम सुरु गरिसकेकी थिइन् । घरकी जेठी छोरी भएकीले आमा–बुवा नभएको बेला घरको जिम्मेवारी उनकै हुन्थ्यो । चौंरीलाई डुलाउनु उनको दैनिकी थियो । उनी विद्यालय कहिल्यै जान पाइनन् । १९ वर्षको उमेरमै उनको विवाह भयो । श्रीमान्को गाउँ दिङबोचेभन्दा माथि पर्थ्यो, छुदुम गाउँ । यो गाउँ सगरमाथा जानेहरूको बिसौनी हो । फुरादिकी चौंरी लिएर बेसक्याम्प पुग्थिन्, उनकाश्रीमान् बाटो बनाएर आराम गर्न बेसक्याम्प आइपुग्थे । यहीँ उनीहरूको भेट हुन्थ्यो । तर,सन् २०१३ अप्रिल ६ मा उनी चौंरी लिएर बेसक्याम्प पुगिन्,श्रीमान्सँग भेट भएन । ‘दोस्रो क्याम्पमा छु, भोलिमात्र फर्कन्छु’ श्रीमान्ले फोनमा भनेको उनी सम्झन्छिन् । उनीहरूको पर्सिपल्ट भेट्ने तय भयो । तर, त्यसको भोलिपल्ट अर्थात् अप्रिल सातमै फुरादिकीलाई दिङबोचे हेलिप्याडमा आउनू भनेर एक्कासि फोन आयो । उनी अलमल्ल परिन् र फेरि कल ब्याक गरिन् । फोनमा श्रीमान् खर्पस (हिम खाल्डो) मा परेर घाइते भएको खबर पाइन् । उनका नौनाडी गले, मनमा अनेकौं शंका उब्जन थाले । उनलाई लाग्यो, ‘घाइते भएको भए अस्पताल लगिन्थ्यो न कि यहाँ दिङबोचेमा’ । उनी दौडिँदै हेलिप्याड भएको ठाउँमा पुगिन् । उनकाश्रीमान् कहिल्यै नआउने गरी बिदा भइसकेका थिए । 

अबको यात्रा

पछिल्लो समय उनी पथप्रदर्शकको काम गर्छिन् । उनको काम भनेको पयर्टकलाई डोर्‍याउँदै कहिले हिमाल त कहिले पहाडका उकाली–ओराली गर्नु हो । त्यसका साथै उनी हिमाल चढाउने पनि काम गर्छिन् । उनले सुनाइन्, ‘यो निकै जोखिमपूर्ण काम पनि हो । मौसम क्षणक्षणमै बदलिइरहने हुँदा २४ घण्टा सतर्क रहनुपर्छ ।’ त्यसका साथै प्राथमिक उपचार, केही समस्या भए कसरी उद्धार गर्ने, ‘हाइ अल्टिच्युड’मा जाँदा के–के समस्या हुन सक्छन् भन्ने कुराको जानकारी हुनुपर्छ । आरोहीलाई हिमाल चढाउने र ओराल्ने उनकै जिम्मा हुन्छ । 

हाल उनी तीन छोरीको फन्डिङमा चल्ने छिरिङ फाउन्डेसनमार्फत गरिब एवं दुःखीहरूलाई सहयोग गर्दै आएकी छन् । उनलाई लाग्छ, ‘शिक्षा भनेको सबैको आवश्यकता हो ।’ उनले पढ्न पाइनन् । त्यसैले उनले जस्तो दुःख अरु छोरीहरूले नपाऊन् भनेर उनीहरूलाई पढ्न सहयोग गर्दै आएकी छन् । त्यससँगै आरोहीहरूलाई आवश्यक पर्ने कपडाको सहयोग गर्छिन् । ‘यी कपडा निकै महँगा हुन्छन्’ उनले भनिन्, ‘आवश्यक परेकालाई सक्दो सहयोग गर्छु ।’

उनलाई अब ‘केटु’ हिमाल चढ्ने इच्छा छ । यो सगरमाथापछि दोस्रो अग्लो हिमाल हो र निकै अप्ठ्यारो पनि । कुराकानीलाई बिट मार्दै उनले भनिन्, ‘हामी महिलाहरूले रोएर होइन गरेर देखाउनुपर्छ । सबैभन्दा पहिले आफैंलाई विश्वास गर्न सिक्नुपर्छ ।’

 

 Image