फेसनमा बुनेको स्वेटर

सुजाता मुखिया

मंसिर २२, २०७९ चिसो सुरु भइसकेको छ । यसबाट बच्नुका साथै आफ्नो लुक्समा फरकपन दिन यो मौसमलाई चुनौतीपूर्ण मानिन्छ । गर्मीमा हरेक ट्रेन्डसँगै चल्न सकिन्छ तर जाडोमा फेसनलाई पछ्याउन कठिन हुन्छ । यतिबेला बजारमा हात एवं मेसिनले बुनेका स्वेटरहरू देख्न सकिन्छ । ‘रेडिमेड वुलन’ का स्वेटर पछिल्लो समय ट्रेन्डमा छन् । धेरै अगाडि हाम्रा हजुरआमा र आमाले हातैले बुन्ने स्वेटर हामीले प्रयोग गर्थ्यौं । अहिले त्यसरी तयार पारिएका स्वेटर बजारमा छ्यापछ्याप्ती पाइन्छन् । 

काठमाडौंको ओटुमा ‘फोर प्लस फेसन वेयर’ सञ्चालन गर्दै आएकी रेश्मा श्रेष्ठ अहिले ‘ऊलन कार्डिगन’ चल्तीमा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘अहिलेका टिनएजर्सले यस्तो स्वेटर बढी रुचाउँछन् ।’ यस्तो ‘कार्डिगन’ जुनसुकै उमेर समूहलाई सुहाउँछ । उनी थप्छिन्, ‘टिनएजर्सले भने छोटो डिजाइनको कार्डिगन लगाउँछन् ।’ लामो ‘कार्डिगन’, ‘टु पिस’ निकै चलेको छ । यस्ता स्वेटरको रंगमा भने ‘न्युड’ नै चल्तीमा रहेको उनी बताउँछिन् । विभिन्न रंग र डिजाइनमा पाइने यस्ता स्वेटरको मूल्य नेपाली बजारमा सात सयदेखि चार हजार रुपैयाँसम्म पर्छ । 

जाडो सुरु हुनेबित्तिकै ऊनको व्यापार बढ्न थाल्छ । हुन त ऊन जाडोमा मात्र नभई गर्मीमा समेत फाट्टफुट्ट बिक्री हुन्छ । ऊन गर्मीमा बुनेर जाडोमा लगाउन तयार गरिन्छ । ऊनबाट सजावटी सामग्री पनि बनाइने भएकाले ऊन ‘अफ सिजन’ मा पनि राम्रोसँग बिक्री हुन्छ । नेपाली बजारमा स्वदेशी र भारतीय ऊन बिक्री हुन्छ ।

अपनत्व बोध 

हुनत बजारमा ‘रेडिमेड स्वेटर’ को कुनै कमी छैन । तैपनि हातले बुनेको स्वेटरको छुट्टै पहिचान छ । पहिले–पहिले महिलाहरू घरको कामधन्दा सकेर स्वेटर, मफलर, मोजा, टोपी आदि बुन्थे । एक–अर्कासँग नयाँ डिजाइन सिक्थे । पछि गएर हातले बुनेको स्वेटरको चलन हराउँदै जान थाल्यो । कामको व्यस्तताले हो वा बजारमा मेसिनले बुनेका स्वेटर पाइन थालेपछि पछिल्लो पुस्तासम्म आइपुग्दा यो कला हराउँदै जान थालेको थियो । यद्यपि बुन्ने सौखिन भएकाहरू बुन्न भने छाडेका छैनन् । अझैपनि धेरैले बजारमा पाइने ‘रेडिमेड स्वेटर’को तुलनामा हातले बुनेको स्वेटर नै मनपराउँछन् । यसरी हातले बुनेको स्वेटरले भावनात्मक सम्बन्ध गाढा बनाउँछ र एक–अर्काको महत्व बुझाउँछ । फिनल्यान्डमा भएको एक सर्वेक्षणमा बुनाइले तनाव कम गराउने समेत उल्लेख छ । 

कोरोनामा मौलायो

सिलाई–बुनाई कोरोना महामारीको बेला थप मौलायो । खाली समयलाई सदुपयोग गर्न आफूले जानेको सीप अरूलाई सिकाउने र नयाँ–नयाँ डिजाइनका स्वेटर बुन्नेहरू धेरै निस्किए ।तीमध्ये झापा बिर्तामोडकी शान्ता भुजेल पनि एक हुन् । उनले कोरोनाको समयमा काँटा र कुरुसले बुन्न सिकिन् । उनी भन्छिन्, ‘बुनेको स्वेटर एकदमै मन पर्ने भएकाले सबैले बुनेको देखेर मलाई पनि बुन्न रहर लाग्यो ।’ युट्युबमा भिडियो हेर्दै उनले ‘क्रप टप’, टोपी, ‘इन्फिनिटी स्कार्फ’, ‘स्वेटर’ बुनिन् । शान्ताजस्तै पाँचथरकी सिर्जना बुढाथोकीले पनि फुर्सदमा आफ्नो छोरा र छोरीका लागि दर्जनौं स्वेटर बुनिन् । उनी भन्छिन्, ‘फुर्सदको समयमा त्यसै बस्नुभन्दा आफूले जानेको सीपलाई सदुपयोग गर्नु राम्रो लाग्यो ।’ त्यस्तै, वर्षौंअघि बुन्न सिकेकी सरला थापाले पछिल्लो समय स्वेटर, मोजा, वानपिस बुन्छिन् । उनी भन्छिन्, ‘पहिले आमाले बुन्दा बुन्न सिकेकी हुँ, अहिले काम लाग्यो ।’

कतिपयले हातले बुनेका स्वेटर ‘अनलाइन’मार्फत बेच्न थालेका छन् । कतिपयले यो व्यावसायिक रूपमै सुरु गरेका छन् । काठमाडौं साँखुकी विमला केसीले लकडाउनको समयमा बुनेको सामग्रीलाई ‘बेन्जो कोर्चेट’ नामको ‘अनलाइन पेज’ मार्फत बिक्री गर्छिन् । उनी भन्छिन्, ‘साँखुकै होस्टलमा बस्दा एक संस्थाले बुन्न सिकाएको थियो ।’ लकडाउनको समयमा सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाएको बताउँछिन् । विमलाले ग्राहकले ‘अर्डर’ गरेअनुसार पनि बुन्छिन् । उनले बुनेको स्वेटर ३५ सयदेखि ४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । ऊनबाट स्वेटरमात्र नभइ ‘फेसनेबल मफलर’, ‘स्कार्फ’, मोजा, जुत्ता, पञ्जा, ‘वार्मर’ का साथै घरका सजावटी सामग्री समेत बनाइन थालेको छ ।

विदेशमा माग बढी 

ऊनबाट बनेका कपडा, बुनेका स्वेटर नेपाली बजारमा भन्दा विदेशमा बढी माग हुने गरेको छ । जाडोमा न्यानो हुने भएकाले ऊनबाट बनेका सामग्री धेरै बिक्री हुन्छन् । ठमेलको ज्याँठामा विगत २५ वर्षदेखि हातले बुनेका पञ्जा, टोपी, स्वेटर बेच्दै आएको ‘शान्ति वुल हाउस’का सञ्चालक विकास श्रेष्ठले नेपालमा भन्दा विदेशमा बढी माग हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीले बुनेको सामान अमेरिका र युरोपमा निर्यात हुन्छ ।’ पछिल्लो समय भने नेपालीहरूले पनि हातले बुनेको कपडा किन्ने गरेको छन् । नेपाली दिदीबहिनीहरूले बुन्ने गरेको स्वेटर विदेशीहरूले मनपराउने उनको भनाइ छ । 

भक्तपुर गठ्ठाघरकी सीता मगर होटल व्ययसाय गर्छिन् । त्यसबाहेक खाली भएको समयमा अर्डरको टोपी, पञ्जा, स्वेटर बुन्छिन् । उनी भन्छिन्, ‘हामीले बुनेका सामग्री विदेशमा जान्छन् ।’ उनले बुनेबापत गोटाको हिसाबले पारिश्रमिक पाउँछिन् । ‘डिजाइन उनीहरूले नै पठाउँछन् । हामी हेर्दै हुबहु उतार्छौं’ उनी थप्छिन्, ‘यसले घरमा बस्ने दिदीबहिनीलाई रोजगार दिएको छ । खाली समय त्यत्तिकै बस्नु पनि परेन ।’ 

ऊनको यात्रा

ऊन आजभन्दा दश हजार वर्ष पहिले विश्वका विभिन्न देश र त्यहाँ बस्ने मानिसहरूले प्रयोगमा ल्याएका हुन् । वेदमा धार्मिक कार्यको समयमा ऊनी वस्त्रको वर्णन गरेको पाइन्छ, जसको मतलब त्यो समयमा पनि ऊनको प्रयोग गरिन्थ्यो भन्ने बुझिन्छ । ऊन विश्वको जुनसुकै कुनामा पनि प्रयोग गरिन्छ । प्राचीनकालमा ‘मेरिनो’ नामक भेंडाको प्रजातिलाई स्पेनमा लगिएको थियो । त्यतिबेला उच्च गुणस्तरको ऊन उत्पादनका लागि यो प्रजाति योग्य मानिन्थ्यो । ब्रिटेनमा स्वस्थ भेंडाको प्रजातिसँग ‘क्रस ब्रिड’ गराएर राम्रो ऊनवाला भेंडा तयार गरियो । त्यसैकारण विश्वमै ब्रिटेन ऊन उद्योगमा अग्रणी स्थान बनाउन सफल भएको हो । ऊनले विश्वको ‘फाइबर’ बजारमा ०.९ प्रतिशत हिस्सा ओगटेको छ । अर्जेटिना, न्युजिल्यान्ड, भारत, चीन, दक्षिण अफ्रिका, ब्रिटेन ऊन उत्पादन गर्ने प्रमुख देश हुन् ।

छिमेकी भारत विश्वको ऊन उत्पादन गर्नेमा नवौं स्थानमा छ । ‘इन्डिया ब्रान्ड इक्विटी फाउन्डेसन’ को रिपोर्टअनुसार वार्षिक लगभग तीन करोड ७० लाख किलोग्राम ऊन भारतले उत्पादन गर्छ । नेपालको पहाडी र हिमाली क्षेत्रमा भेंडा पालिन्छ । भेंडाहरूबाट वार्षिक ७ सय २० टन ऊन उत्पादन हुन्छ । 

 

स्वेटर बुन्नुअघि

- ऊन खरिद गर्नुअघि कसका लागि र के बुन्नका लागि भनेर सुनिश्चित गर्नुपर्छ । किनभने बच्चा र ठूलाहरूका लागि अलग–अलग रंगको सुहाउँछ । पुरुषहरूलाई एउटै रंगको ऊन राम्रो देखिन्छ भने महिलाहरूलाई धेरै रंगको संयोजन मिलाएर बुनेको सुहाउँछ । 

- कस्तो डिजाइनको स्वेटर बुन्ने हो त्यही हिसाबले ऊनको छनोट गर्नुपर्छ । सबै रंग सबै डिजाइनमा सुहाउँदैन । 

- ऊन खरिद गर्दा जहिल्यै पनि अलिक बढी गर्नुपर्छ । किनभने ऊन पुगेन भने त्यही सेडको पाउन मुस्किल हुन्छ ।

- साना बच्चाहरूका लागि बेबी ऊन नै खरिद गर्नुपर्छ । यो ऊन नरम हुन्छ र शरीर चिलाउँदैन । 

- सधैं गुणस्तरीय ऊन प्रयोग गर्नुपर्छ । 

- ऊनको मोटाइअनुसारको काँटी एवं छनोट गर्नुपर्छ । नत्र बुनाई धेरै कसिलो वा लुज हुनसक्छ । 

- स्वेटर बुन्दा एकै जनाले मात्र बुन्नुपर्छ । धेरैजनाको हातले बुन्दा बुनाई फरक–फरक हुनसक्छ । 

- बोर्डर बुन्दा ११ नम्बरको काँटी प्रयोग गर्नुपर्छ । यसले बोर्डर राम्रो र फिनिसिङ भएको हुन्छ ।

ऊनीको हेरचाह

- ऊनी कपडा लामो समयसम्म टिकाउन सधैं हल्का मनतातो पानीले धुनुपर्छ ।

- धुँदा ‘माइल्ड डिटर्जेन्ट’को प्रयोग गर्नुपर्छ । यसले कपडा ‘ड्यामेज’ हुने खतरा हुँदैन । 

- स्वेटरलाई तारमा झुन्डाएर सुकाउनु हुँदैन । यसले स्वेटर तन्किन्छ र आकार बिग्रन्छ । त्यसैले समतल ठाउँमा सुकाउनुपर्छ । 

- स्वेटर हल्का निचोरेर सुकाउनुपर्छ । बेस्सरी निचोर्नु हुँदैन । 

- हातले धुन मिल्ने ऊनीका कपडामात्र हातले धुने । ‘ड्राइक्लिन’को प्रयोग गर्नुपर्ने कपडा हातले नधुने । 

- ऊनीका कपडा उल्टै धोएर उल्टै बनाएर सुकाउनुपर्छ ।

- पखाल्दा अन्तिमको पानीमा केही थोपा ‘ग्लिसिरिन’ मिसाएर पखाल्ने यसले कपडा चमक उस्तै राख्न सघाउँछ । 

- ऊनीको कपडा आइरन गर्दा ‘स्टिम आइरन’ को प्रयोग गर्ने । आइरनको सहायताले पूरै स्वेटर सुकाउने प्रयास गर्नुहुँदैन । साथै आइरन गर्दा स्वेटर उल्टो बनाउन बिर्सनुहुँदैन । 

- स्वेटरसुख्खा ठाउँमा राख्नुपर्छ । 

- समय–समयमा ऊनीका कपडालाई घाममा राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>