Successfully Copied

‘दसैं मातृशक्ति आराधनाको पर्व हो’ 

ललितपुरस्थित कुपण्डोलमा ६६ वर्षअघि वीणा पौड्यालको जन्म भएको हो । पुल्चोकस्थित एउटा स्कुलबाट एसएलसी पूरा गरेकी उनले प्रवीणता प्रमाण तह, पद्मकन्या क्याम्पसबाट स्नातक र त्रिविबाट संस्कृति विषयमा स्नातकोत्तर गरेकी छन् ।

ललितपुरस्थित कुपण्डोलमा ६६ वर्षअघि वीणा पौड्यालको जन्म भएको हो । पुल्चोकस्थित एउटा स्कुलबाट एसएलसी पूरा गरेकी उनले प्रवीणता प्रमाण तह, पद्मकन्या क्याम्पसबाट स्नातक र त्रिविबाट संस्कृति विषयमा स्नातकोत्तर गरेकी छन् । प्राध्यापन, लेखनमा आबद्ध उनी ०४९ मा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट शैव मूर्तिकलामा विद्यावारिधि गरिन् । उनका हालसम्म नेपाली संस्कृति, समाज र पौराणिक गहन अध्ययन समावेश गरिएका पुस्तक प्रकाशित भइसकेका छन् । वीणाले धेरै जनाको शोध निर्देशन, शोध प्रबन्ध समितिको विज्ञ सदस्य, विभागीय प्रमुख भई काम गरिसकेकी छन् । झन्डै ४० वर्ष पाटन क्याम्पस र त्रिविमा नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व विषय अध्यापन गरेकी उनी अवकाश प्राप्त जीवन बिताइरहेकी छन् । उनले पछिल्लो समय भने कीर्तिपुर ललितकला क्याम्पसमा पीएचडीका विद्यार्थीलाई पढाउँछिन् । दसैंको सेरोफेरो र उनको जीवनमा केन्द्रित रही वीणासँग गरिएको संवादको सम्पादित अंश :

हाल के गर्दै हुनुहुन्छ ?

४० वर्ष अध्यापन गरी अहिले अवकाश प्राप्त जीवन बिताइरहेकी छु । तर, जीवनमा अवकाश भन्नका लागि मात्रै रहेछ । वर्षौंसम्म मैले संगालेको आफ्नो अनुभव साट्न भने हाल कीर्तिपुरस्थित ललितकला क्याम्पसका पीएचडीका विद्यार्थीलाई अध्यापन गराइरहेकी छु । त्यस्तै, ०३६ मा लिएको पर्यटक पथप्रदर्शक तालिमको सदुपयोग गर्न बेला–बेलामा टुरिस्ट गाइडसमेत गर्छु । टुरिस्ट गाइडहरूलाई मूर्तिकला, वास्तुकला र नेपाली संस्कृतिको कक्षा पनि लिने गरेकी छु । पुस्तक लेखनमा पनि उत्तिकै व्यस्त छु । 

तपाईका कतिवटा पुस्तक प्रकाशित भए ? पुस्तक लेखनका लागि उपयुक्त समय कुन हो ?

हालसम्म ‘हिन्दू डेथ राइट्स’ देखि ‘जात्रैजात्राको काठमाण्डू उपत्यका’ सहित १५ वटा पुस्तक प्रकाशित भइसकेका छन् । दुई–तीन वटा पुस्तक लेख्दैछु । प्रकाशनको प्रतीक्षामा छन् । बिहान ४ः४५ बजेबाट ७ बजेसम्म लेखपढ गर्ने समय छुट्याएकी छु । 

पुस्तक लेखन सजिलो कि अध्यापन ?

दुवै कामका आ–आफ्नै महत्व छन् । अध्यापन गराउँदा विद्यार्थीसँग प्रश्न–उत्तर गर्दा रमाइलो महसुस हुनुका साथै ऊर्जा प्राप्त हुन्छ । पुस्तक लेख्दा वा पढ्दा भने सन्तोष लाग्छ । नयाँ विषयबारे जान्न पाइने भएकाले आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ । 

दसैं कस्तो पर्व हो ? दसैं किन सर्वाधिक महत्वको चाड बनेको होला ?

दसैं मातृशक्ति आराधनाको ठूलो पर्व हो । सनातन धर्मावलम्बीहरू सबैले दसैं मनाउँछन् । दुर्गा माताको उपासना एवं भजन गर्छन् । जनबोलीमा दसैंलाई नौरथा, विजयादशमी, बडादसैं एवं शारदीय दसैं पनि भनिन्छ । नेपालमा दसैंले धार्मिक कर्मकाण्डसँगै सांस्कृतिक र पारिवारिक घेरालाई अझ बढी समेटेको देखिन्छ । अग्रजको आशीर्वाद र पारिवारिक भेटघाटको सुनौलो अवसरका रूपमा यो चाडले व्यापकता पाउँदैछ ।

घटस्थापनाबाट सुरु भएर नवमी अर्थात् नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वतीलाई विभिन्न ढंगले, वैदिक एवं तान्त्रिक विधिले पूजा गरिन्छ । दसौं दिन देवीको प्रसाद मान्यजनको हातबाट लगाइन्छ । दसमीदेखि पूर्णिमासम्म पाँच दिनै टीका लगाउन जानेको संख्या पनि बढ्दो छ । नेपालका केही भागमा बसोबास गर्ने समुदायमा दशमीको दिन मात्रै टीका लगाउने प्रचलन छ । 

दसैंका धार्मिक पक्षबारे केही बताइदिनुहोस् न । 

सनातन धर्मावलम्बीहरूमा चैत, असार, असोज र माघ शुक्ल गरी वर्षमा चारवटा नवरात्र दसैं मनाउने चलन छ । तीमध्ये चैते दसैं र शारदीय दसैं प्रसिद्ध छन् । कालिकापुराण, देवी पुराण, मार्कण्डेय पुराण, देवी भागवत, ब्रह्माण्ड पुराणमा दुर्गाको महिमा र पूजा विधि उल्लेख छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको नौ दिनसम्म पूजा गर्ने चलन छ । मार्कण्डेय पुराणअन्तर्गत देवी माहात्म्यमा भएको ७ सय श्लोकको सप्तशती, चण्डी नौ दिनसम्म पाठ गर्ने चलन छ । 

दसैंका बेला महिलाले पूजाआजा गर्न र चण्डी पाठ गर्न हुँदैन भनिन्छ नि ?

महिला–पुरुष दुवैले देवीको पूजा, पाठ गर्न पाउने विधान भए पनि बली चढाउने परिवारमा महिलालाई पूजा कोठामा निषेध गरिएको पाइन्छ । शक्तिको प्रतीक अधोमुख त्रिकोण बनाएर देवीहरूको पूजा गर्ने विधान छ । शाक्त धर्मको समाचीन शाखाअन्तर्गत चक्र र देवीपूजा गर्ने प्रचलन हो । कौलशाखा, कौलाचार विधानअनुसार कन्या–केटीहरूका विभिन्न अंग, योनिको समेत पूजा गर्ने चलन छ । नेपालमा विभिन्न समुदायका कन्याहरूलाई समावेश गरेर जीवित रूपमै पूजा गरी उपहार दिने चलन छ । मल्ल राजा जयप्रकाशले कुमारी छनोट गरेपछि बस्ने बेग्लै घरको व्यवस्था गरेका थिए । जुन कुमारी प्रथा आजसम्म पनि चलिरहेकै छ । 

कतिपयले शरीरमा जमरा राख्ने गरेका छन् ? यसबारे बताइदिनुहोस् न । 

तन्त्र सार नामक ग्रन्थमा सुन, चाँदी, तामा आदि धातुबाट निर्मित कलशमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई आह्वान गर्ने विधान बताइएको छ । तर सबैभन्दा उत्तम कलश माटोको मानिएको छ । त्यही कलशको बाहिरी भागमा र भुइँमा शास्त्रीय परम्पराअनुसार जौ छरी जमरा राख्ने विधान छ । पछिल्लो समय केही माता र गुरुले आफ्नै शरीरमा, छातीमा बालुवा, माटो राखेर जमरा उमार्ने गरेका छन् । यसले धेरैको ध्यानाकर्षण गरे पनि शरीरलाई अनावश्यक रूपमा दुःख दिने भएकाले विचारणीय मानेका छन् । धेरैले यस्तो चलनले पर्वप्रति नकारात्मक सोच बढ्ने चिन्ता गरेका छन् । 

दसैंमा लगाइने टीका, जमरा र दिइने दक्षिणाको महत्व के रहेको छ ?

दसैंमा टीका–जमरा देवीको प्रसादस्वरूप लगाइन्छ । आशीर्वाद र हात खाली नहोस् भनेर नगद दिने चलन हो ।

चाडपर्वलाई महिलामैत्री कसरी बनाउन सकिन्छ?

चाडपर्वलाई महिलामैत्री बनाउन घरका पुरुष सदस्य र स्वयं महिलाले पनि प्रयत्न गर्नुपर्छ । हुन त पहिलेको तुलनामा महिलाको भूमिका परिवर्तन हुँदैछ । घरपरिवारका सदस्यलाई छोरा–बुहारी, छोरी–ज्वाईंले बुझाउनुपर्छ । यतिबेला कतिपयका घरमा मद्दत गर्न आउने सहयोगीहरू पनि आ–आफ्नो घर जाने भएकाले खानपान घरमै बनाउँदा सहज र सरल परिकार सल्लाह गरेर बनाउनुपर्छ । खाने भाँडा प्लास्टिक तथा पेपरको प्रयोग गरेमा पनि घरका महिलालाई कामको बोझ केही कम हुन्छ । यसैगरी घरका सबै सदस्यले काममा सहयोग गर्न सकिन्छ । चाडपर्वको महिमा, चुरो बुझेर पाखण्डरहित भएर मितव्ययी ढंगले मनाउनुपर्छ । अनावश्यक तडकभडक होइन साधारण तर स्वस्थकर खाना र मनोरञ्जन 

गरेर चाडपर्वको मज्जा लिनुपर्छ । 

आगामी योजना के छ ?

लेख्दै गरेको पुस्तक समाप्त गर्ने योजना छ । यसैगरी स्वदेश तथा विदेशका केही ठाउँ घुम्ने योजना छ । 

 

 Image