बढ्दो मानसिक समस्या 

 लक्ष्मी भण्डारी

भाद्र १७, २०७९ कुनै पनि व्यक्तिको बानी–व्यवहार र सोचमा परिवर्तन भई दैनिक कृयाकलापमा खलल आउनु नै मानसिक समस्या हो । मानिसमा देखिने यस्तो अवस्थालाई मानसिक रोग पनि भनिन्छ । सन् २०१७ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक ५ मध्ये १ जनामा कुनै न कुनै मानसिक समस्या देखिने गरेको छ । ५० देखि ५५ लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पनि तथ्यांकमा छ । यसैगरी, आत्महत्या गर्नेहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा यही समस्या रहेको पाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्यांकले हाम्रो जस्तो कम आय भएको मुलुकमा मानसिक स्वास्थ्य समस्याको भार र सेवाको उपलब्धताको अन्तर ८५ देखि ९० प्रतिशतसम्म रहेको देखाएको छ । नेपालको सन्दर्भमा महिला, ज्येष्ठ नागरिक र बालबालिकामा यो समस्या बढ्दै गएको अस्पतालमा उपचार गर्न आउनेहरूको तथ्यांकले पुष्टि गर्छ । नेपालमा एक दिनमा कम्तीमा २० जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ । आत्महत्या गर्नुको पछाडिको प्रमुख कारणमध्ये मानसिक स्वास्थ्य समस्या पनि हो । 

नेपालको मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीतिमा ‘नेपालका साथै अन्य मुलुकमा समेत कुल जनसंख्याको २० प्रतिशत कुनै पनि उमेरमा मानसिक रोगबाट पीडित भएको कुरा सर्वस्वीकृत तथ्य रहेको’ उल्लेख छ । करिब दुई प्रतिशत कुनै पनि समयमा कडा वा उपचारयोग्य मनोरोगबाट पीडित हुनसक्ने तथ्यपनि नीतिमा उल्लेख छ । 

नेपालको पछिल्लो ट्रेन्ड हेर्ने हो भने मानिसहरू स्लिम हुन जिम जाने, छाला राम्रो बनाउन खानेकुरा र लाउने प्रसाधनमा लाखौं खर्च गर्ने तथा फिजिकल फिट राख्न भन्दै स्विमिङ र विभिन्न हेल्थ क्लब धाउने गरेको पाइन्छ । तर, मानसिक स्वास्थ्यका लागि धेरैले त्यति चासो दिँदैनन् । परामर्शका लागि परामर्शदाताकहाँ जानुपरे कसैले देख्ला, कति पैसा खर्च होला वा यस्तो कुरामा पनि के पैसा खर्च गर्नु ? जस्ता सोच दिमागमा आउँछन् । वास्तवमा पहिला मानसिक स्वास्थ्यलाई चुस्त–दुरुस्त र तन्दुरुस्त राख्नु नै जीवनको महत्वपूर्ण पाटो हो । 

मानसिक रोगको सिकार हुनेमा महिलाको संख्या बढी छ । पाटन अस्पतालकी स्वास्थ्य कानुनी चिकित्सक डा. सिर्जना कुँवरले स्वास्थ्य भन्नेबित्तिकै हामीकहाँ शारीरिक स्वास्थ्यमा मात्रै केन्द्रित हुने बानी र व्यवहार रहेको बताइन् । ‘यहाँ मानसिक स्वास्थ्यलाई स्वास्थ्यका रूपमा महत्व दिइएको छैन । महिला मानसिक रोगी भइहालिन् भने ‘पागल, दिमागको तार खुस्कियो, साइको भई’ भन्ने गरिन्छ’ सिर्जनाले भनिन्, ‘यस्ता कुराले अझ रोग लुकाउनुपर्ने बाध्यता आइदिन्छ र रोग विकराल बन्दै जान्छ । यस्ता खाले सोसल ट्याबु र स्टिग्माका कारण रोगलाई भित्रभित्रै दबाउनुपर्ने अवस्था आइपर्दा कालान्तरमा यो बढ्दै गएर मानिसको ज्यान पनि जान सक्छ ।’ 

परामर्शदाता जेनेलिया श्रेष्ठका अनुसार नेपालमा मानसिक समस्यालाई ‘डिप्रेसन’ भनिदिने चलन छ । ‘तर मानसिक समस्या भित्र थुप्रै चरण पार गरेपछि मात्रै मानिस डिप्रेसनसम्म पुग्छ’ उनले भनिन् । ‘केही चरणमा माया, स्नेह, प्रेम, हेरचाह, कुरा सुनिदिनेको आवश्यकता पर्छ । यस्तो चरणमा सहयोग पाए मानिस डिप्रेसनसम्म नपुग्न सक्छन् ।’ 

पितृसत्ता, निरक्षरता, गरिबी, करियर र जीवनशैलीमा होडबाजीलगायतका कारण महिलामा मानसिक समस्याको रूप विकराल बन्दै गएको प्रहरी अस्पतालका मनोविद् तथा साइकोथेरापिस्ट विपिन थापाले बताए । ‘अन्धविश्वास, सामाजिक हेय, दुर्व्यवहारले गर्दा महिलाहरू भित्रभित्रै रोग लुकाएर गुम्सिन बाध्य छन्’ उनले भने, ‘यसले समस्या झनै विकराल बन्दै गएको छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०१९–२०२०’ ले नेपालमा करिब ५० लाख मानिस कुनै न कुनै मानसिक समस्याबाट प्रभावित रहेको उल्लेख गरेको छ । आत्महत्या गर्नेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस मानसिक स्वास्थ्यका रोगी हुने गरेका छन् । 

‘हात–खुट्टा भाँचिएको सबैले देख्छन् तर मन भाँचिएको कसले देख्छ र ?’ मनोविद् विपिनले भने । अर्की मनोविद् सनम पौडेलले समाजमा मानसिक स्वास्थ्य समस्यालाई हेयको दृष्टिले हेरेसम्म समस्या बढ्दै जाने बताइन् । पाटन अस्पतालकी मनोचिकित्सक डा. सिर्जना कुँवरलाई महिलामा मानसिक रोग बढ्दै जानुको मुख्य कारण पितृसत्तात्मक सोच र व्यवहारका साथै पछिल्लो समय महिला पनि कामकाजी हुँदै जानु, करियर, पढाइ र परिवारलाई सँगसँगै अगाडि बढाउँदै लैजानुपर्ने बाध्यता पनि हो । त्यस्तै, बलात्कार, यौन तथा घरेलु हिंसाले पनि महिला मानसिक रोगी बढ्दै गएको उनको भनाइ छ । ‘परिवार र समाजले यो समस्यालाई साधारण रूपमा लिइदिने, मनोरोगीको कुरा सुनिदिने, उसलाई माया गरिदिने, उसको ख्याल गरिदिने हो भने यो निको हुँदै जान्छ’ उनले भनिन् । उनी यस्तो समस्या आएको थाहा पाउनेबित्तिकै कसैको डर, त्रास, प्रतिष्ठा गुम्ने भयले रोगलाई आफूभित्र दबाएर नराख्न सुझाउँछिन् । 

मानसिक रोगभित्र के–के पर्छन् :

- एन्जाइटी (चिन्ता)

- साइकोसिस (अनौठो सोच आउनु)

- सिजोफेनिया (कानमा अचम्मको आवाज आउने, मतिभ्रम हुने)

- बाइ पोलार डिसअर्डर (छिनमै अत्यन्तै खुसी हुने छिनमै सानो कुराले निराश भइहाल्ने)

- बोर्डरलाइन पर्सनालिटी डिसअर्डर (बाहिर हेर्दा खुसी देखिने तर भित्र अत्यन्तै दुःखी)

- डिप्रेसन (मनोविषाद)

मानसिक रोग दुई प्रकारका हुन्छन् 

- सामान्य वा नरम

- जटिल वा कडा

सामान्य वा नरम खालका मानसिक समस्याका लक्षणहरू

- डर लाग्नु, एकोहोरो हुनु

- भोक र निद्रा नलाग्नु

- छटपटी हुनु, नैराश्य हुनु

- खानामा अरुचि, हातखुट्टा झमझमाउनु 

- टाउको, छाती र पेट दुख्नु

- लामो लामो श्वास लिइराख्नु

- एउटै कुरा दोहोर्‍याइरहनु

- व्यवहार परिवर्तन हुनु

- कमजोर महसुस गर्नु

जटिल वा कडा खालका मानसिक समस्याका लक्षणहरू

- कानमा अनौठो–अनौठो आवाज आउनु

- असामान्य कुराहरू देख्नु

- गलत कुरामा सत्यता खोज्नु वा भन्नु

- भावना तलमाथि हुनु

- भ्रम पैदा हुनु

- मतिभ्रम हुनु

- आक्रामक हुनु 

मानसिक समस्याबारे केही भ्रम

- मानसिक रोग दीर्घकालसम्म हुन्छ, कहिल्यै निको हुँदैन ।

- मानसिक समस्या भएका मानिस पागल, दिमाग खुस्केका, साइको हुन् ।

- औषधि खायो भने बानी पर्छ । त्यसैले कहिल्यै नखानू ।

- यो रोग अन्य रोगजस्तै औषधिले मात्रै निको हुन्छ ।

- यो रोग लागेपछि काम गर्न सक्दैनन् ।

घटनाहरू : 

(१) 

१२ कक्षा पढिरहेकी एउटी किशोरीलाई १० वर्षको उमेरदेखि पोर्न मुभी हेर्ने लत बसेको थियो । आफ्नी केटी साथीलाई उनी नग्न तस्बिर पठाउने गर्दिरहिछिन् । क्रमशः उमेर बढ्दै जाँदा अंकल पर्नेले यौन हिंसा गर्न थालेछन् । पछिल्लो समय ती किशोरीलाई आफ्नो शरीरदेखि नै घिन लाग्न थालेको छ । ‘म खत्तम भएँ, बाँचेर के गर्ने, म बाँच्नुको केही अर्थ छैन’ भन्ने सोच उनमा आइरहेको छ । यस्तो हुनु डरलाग्दो मानसिक रोग हो । डिप्रेसन, ओसिडी, पिटिएसडी (पोस्ट ट्रम्याटिक सिन्ड्रोम डिसअर्डर) एकै पटक देखिएकाले उनको उचारमा निकै गाह्रो भइरहेको छ । प्रायः पुराना कुराले नै मानिसमा मनोरोग, मनोविषाद निम्त्याइरहेको हुन्छ । 

(२) 

एकजना उच्च पदस्थ सरकारी कर्मचारीकी श्रीमतीलाई जस्तोसुकै अवस्थामा पनि श्रीमान्को यौन सन्तुष्टिका लागि तयार भइदिनुपर्ने बाध्यता थियो । विवाहको २८ वर्ष बितिसक्दा पनि आफू कुनै दिन खुसीसाथ बाँच्न नसकेको गुनासो सुनाइन् । श्रीमान्ले जहिले ‘तेरो भजाइना लुज भयो’ भनेर दबाब दिइरहँदा, उनले ठूलो रकम खर्च गरेर भजाइना टाइट गराउन गइन् । अस्पतालमा नाम लेख्ने भाइले ‘दिदी तपाईंको राम्रो भयो भने भन्नुस् है म मेरो बूढीको पनि गराउँछु’ भनेको सुन्दा आफूमा हेय भावना उत्पन्न भएको उनले बताइन् । यी र यस्ता थुप्रै कारणहरूले आफूलाई मनोरोगले गाँज्दै लगेकाले आज यसको सिकार हुन परेको उनको भनाइ थियो । 

(३) 

पागल भई भनेर श्रीमतीलाई उपचार गराउन ल्याएका एक पुरुषले महिला मनोविद्सँग भने ‘ल बहिनी तपाईं पनि महिला हुनुहुँदो रहेछ, मेरीश्रीमतीलाई डिप्रेसन भएको छ । ममा तीव्र यौनेच्छा छ, उसलाई यौनेच्छा नै छैन, म कहाँ जाऊँ ?’ वास्तवमा तेरो माइतीले यस्तो गर्‍यो, यो दिएन, स्वयंवरमा औंठी दिएन भनेर श्रीमान्ले नै उल्टो मानसिक तनाव दिएर श्रीमतीलाई त्यो अवस्थासम्म पुर्‍याएका रहेछन् । श्रीमान्को दिनरातको कष्ट–यातनाले श्रीमती मनोविषादमा चुर्लुम्मै डुबेकी रहिछिन् । पछिल्लो समय यौनसँग सम्बन्धित धेरै विषय मानसिक रोगको कारण बनेको र यसले कालान्तरमा डिप्रेसन गराई आत्महत्याको अवस्थासम्म पुर्‍याउने गरेको छ । 

(४) 

हाँसीखुसी जीवनयापन गरिरहेकी ४१ वर्षीया महिलाले आफ्ना तीन सन्तानको अलिकतिसम्म ख्याल नराखी आत्महत्या गरिन् । बाहिर देखिएको उनको आवरण कृत्रिम थियो । भित्रभित्रै उनलाई ‘मास्क डिप्रेसन’ ले गाँजिसकेको थियो । आत्महत्या त्यसैको कारण बन्न पुग्यो । 

 

जेनेलिया श्रेष्ठ, परामर्शदाता

मानसिक स्वास्थ्य समस्या महिलामा बढी छ । यो प्रायः सामाजिक कारणले बढी देखिएको छ । घर–व्यवहार, करियर, पढाइ एवं गरिबीका कारण यो समस्या बढी देखिन्छ । समाजमा पुरुष बलियो हुनुपर्छ, रुनु हुँदैन भन्ने मान्यता छ तसर्थ पुरुष यो कुरामा खुलेर बोल्दैनन् । महिला अलि भावुक हुन्छन्, शारीरिक रूपमा महिला कमजोर हुन्छन्, समाजले पनि महिलाले यो गर्नहुँदैन त्यो गर्नुहुँदैन भन्ने छ । यिनै विविध कारणले यो महिलामा बढी देखिएको हुनसक्छ । 

‘मास्क डिप्रेसन’ प्रायः सेलिब्रेटी वा कलाकारहरूमा हुन्छ । उनीहरूलाई बाहिर खुसीले भरिएको जीवन देखाउनुपर्ने हुन्छ । तर भित्र उदासीनता–मनोविषादले गाँजेको हुन्छ । एन्जाइटी (दुश्चिन्ता) मा मर्नदेखि डर लाग्ने, अनिश्चितता, आत्तिने, डराउने, बढी सोच्ने, चिढचिढाहट, शंकालु आदि लक्षण हुन्छन् । ओसिडी (अब्सेसिभ कम्पल्सन डिसअर्डर) मा बारम्बार हात धुने, कतै छोयो भने म मरिहाल्छु कि, एउटै कामलाई पटक–पटक दोहोर्‍याउने, मर्ने डर हुने लक्षण हुन्छन् । कहिलेकाहीँ ओसिडी र डिप्रेसनसँगै मिसिएर आयो भने म किन बाँच्ने, बाँचेर काम छैन भनेर आत्महत्या पनि गर्न सक्छन् । 

नेपालमा कुरा काट्ने चलन व्याप्त छ । मलाई मानसिक समस्या छ भन्यो भने बहुलाहा भन्दिन्छन् । त्यसैले कतिपयले मानसिक समस्या दबाएरै राख्छन् । अमेरिकालगायतका पश्चिमा विकसित मुलुकहरूका मानिसहरू मोबाइल–टिभी वा बिजुलीको मासिक बिल तिरेझैं आफ्नो व्यक्तिगत थेरापिस्टलाई मासिक बिल तिर्छन् तर हामीकहाँ त्यो स्तरको चेतना र प्राक्टिस छैन । यहाँ पैसाकै कारणले समस्या छ । स्वास्थ्य मन्त्रालय र सरकारले यो विषयमा चेतनामूलक कार्यक्रम र बजेट छुट्याउने कुरामा पहल गर्नुपर्ने देखिन्छ । उपचारका लागि परामर्श र थेरापी मुख्य कुरा हुन् । ध्यान–योगले पनि यसमा सघाउँछन् । त्यसबाट पनि नभएपछि बल्ल औषधि सेवनतिर जानुपर्छ ।

 

विपिन थापा

मनोविद् तथा साइकोथेरापिस्ट, आसरा सुधार केन्द्र तथा आत्मन उपचार केन्द्र

मानसिक स्वास्थ्य समस्याका लक्षण के–कस्ता हुन्छन् ?

दैनिक रूपमा कुनै पनि खालका कृयाकलाप एकैनासको हुन नसक्नु, यसले गर्दा सोच, विचार, धारणामा परिवर्तन आउनु वा दैनिक कृयाकलापमा बाधा, दख्खल, खलल पर्नु, पारिवारिक तथा अन्य सम्बन्धमा मनमुटाव बढ्नु, दैनिक जीवन अव्यवस्थित हुनु जसलाई सन्तुलन गर्न असमर्थ हुनु मानसिक समस्याका मुख्य लक्षण हुन् । 

के कारणले यस्तो हुन्छ ?

वंशानुगत पनि हुन्छ । हाम्रो दिमागमा रहेका विविध किसिमका रासायनिक तत्वको कमी, सामाजिक, आर्थिक, पारिवारिक, घटना–दुर्घटना, आघात, दीर्घकालीन रोगहरू, दुर्व्यसनीलगायत अन्य थुप्रै मानसिक कारणले यस्ता समस्या उत्पन्न हुन्छन् । 

महिलामा यस्ता समस्या आउनुको पछाडि के कुराले भूमिका खेलेको हुन्छ ?

महिलाको सन्दर्भमा महिनावारी भएदेखि नै सुरु भएको पाइन्छ । यसो भन्दैमा त्यसअघि हुँदैन भन्ने होइन । १८ देखि २५ वर्ष उमेर समूहका महिलामा विवाहपछि घरभित्रको वातावरण, घरेलु तथा यौन हिंसा, बलात्कार, समाजले बनाइदिएको नियम, करियर, पढाइ, दोहोरो–तेहेरो जिम्मेवारी, कार्यस्थलमा हुने बुलिङलगायतले पनि यसमा भूमिका खेलेको हुन्छ । पर्वहरूमा अरूले यस्तो लुगा–गहना लगायो मैले लाउन पाइन वा सकिन भन्ने कुराले पनि बिस्तारै दिमागमा असर पार्दै लैजान्छ र क्रमशः मानसिक समस्यातर्फ धकेल्दै लान्छ । 

यो रोगलाई समाजमा सामान्य हो भन्ने बनाउन के गर्नुपर्छ?

व्यापक चेतना फैलाउनु जरुरी छ । यसलाई लाज, घृणा र प्रतिष्ठासँग जोडेर हेर्नु भएन । सरकार पनि यो रोगप्रति उत्तिकै गम्भीर हुनु जरुरी छ । सरकारी बजेटको हिस्सा यसका लागि पनि छुट्याउनुपर्छ । अर्को कुरा परिवार र समाजमा यससँग सम्बन्धित सचेतनामूलक कार्यक्रम, परामर्श, विमर्श तत्काल सुरु गर्नु आवश्यक छ । 

उपचारको विधि कस्तो हुन्छ ?

मानसिक स्वास्थ्यको उपचार विधि अन्य शारीरिक रोगको भन्दा फरक छ । औषधि सेवन गरेर मात्र यो रोग निको हुँदैन । सर्वप्रथम रोग पत्ता लगाउन स्क्रिनिङ गर्नुपर्छ । त्यसपछि स्वास्थ्य प्रोफेसनलद्वारा मनोपरामर्श, मनोविमर्श, विविध खाले थेरापी सिबिटी (कग्नेटिभ बिहेभियर थेरापी) बिएमटी ( बिहेभियर मोडिफिकेसन थेरापी), ध्यान, योग गरिन्छ । त्यसपछि मात्रै आवश्यक परेको खण्डमा औषधि सेवन गर्ने हो । यो समस्यालाई बढ्न नदिन विश्वासिलो व्यक्तिसँग आफ्ना कुरा सेयर गर्नु उत्तम उपाय हो जसले आधा रोग निको पार्न सहयोग गर्छ । त्यसबाहेक सकारात्मक कुरा सुन्ने–हेर्ने, सोच्ने गर्नुपर्छ । नकारात्मकतालाई पन्छाउने हरसम्भव प्रयास गर्नुपर्छ । 

 

सनम पौडेल, मनोविद्

 

मनोरोगका लक्षणहरू के–कस्ता हुन्छन् ?

अरूले सामान्यरूपमा हेर्दा मानिस मानसिक रूपमा पीडित भएको थाहै हुँदैन । सुरुवाती लक्षण भनेको अनिद्रा, खानामा अरुचि, एक्लै बस्न मन लाग्ने, बोल्न झर्को लाग्ने, समूहमा घुलमिल हुन दिक्क लाग्ने, अरू बोलेको सुन्दा रिस उठ्ने, सेल्फ केयर तथा पर्सनल हाइजिनमा ध्यान नदिने, मन दुःखी भइरहने आदि हुन् । ठोस कारण थाहा हुँदैन तर यस्ता कुरा भइरहन्छन् । 

के–कारणले मानसिक समस्या उत्पन्न हुन्छ ?

यसका धेरै कारण हुन्छन् । सामाजिक, मनोवैज्ञानिक र जैविक कारण हुन्छन् । शरीरमा रोग लाग्नु र मनमा रोग लाग्नुका कारण फरक हुन्छन् । तर कतिपय अवस्थामा शरीरमा रोग आएपछि, मनमा लाग्छ । फेरि कतिपय मनमा लागिसकेपछि शरीरमा देखिन थाल्छ । शरीरलाई स्वस्थ राख्न धेरै कुरा गरिरहेका हुन्छन् तर मानसिक स्वास्थ्य ठीक राख्न धेरै कुरा गर्दैनन् । त्यस्ता उपायहरू पनि नेपालमा खासै छैनन् । 

रोग लाग्नै नदिन के गर्ने ?

जैविक कारणले शरीरभित्र निस्किने रसायन तलमाथि भयो भने डाक्टरले उपचार गर्छन् । तर सामाजिक र मनोवैज्ञानिक कारणले हुने मनोरोग लाग्नै नदिन आफू कुन कुरामा खुसी भइन्छ त्यो गर्न सकिन्छ । साथीभाइसँग घुम्न जाने पो हो कि ? वातावरण परिवर्तन गर्ने हो कि त्यो आफैंले निर्क्यौल गर्नुपर्छ । दिक्क लाग्यो भने हावामा वाक गर्न जाने हो कि ? मनलाई आनन्द हुने कुरामा केन्द्रित हुनुपर्छ । आफूलाई के गर्दा सहज हुन्छ त्यही गर्नुपर्छ । पुरुषको तुलनामा महिलामा बढी डिप्रेसन हुन्छ । आफ्ना कुरा सेयर गर्ने गर्नुपर्छ । गोपनीयताका कारण असहज हुनसक्छ । तसर्थ प्रोफेसनल हेल्प लिनुपर्छ । 

नेपालमा महिला मनोरोगीको अवस्था कस्तो छ ?

नेपालको परिप्रेक्ष्यमा के महिला के पुरुष दुवैको अवस्था राम्रो छैन । फलानो बहुलाएछ, खुस्किएछ भन्ने सोच छ । पछिल्लो युवा पुस्तामा केही सचेतना आएको छ । प्रोफेसनलहरूसम्म उपचारका लागि पुगेकै पाइँदैन। यसो हुँदा हामीसँग कुनै पनि तथ्यांक छैन । 

यसको पछाडिका कारणहरू के–कस्ता छन् ?

महिलालाई घरपरिवारको बोझ, दोहोरो जिम्मेवारी, शारीरिक परिवर्तन, महिनावारी र मेनोपजका बेला हुने हर्मोनल परिवर्तनका कारण समस्या छ । घरको अवस्था श्रीमान्ले नबुझ्नु, सेयरिङ–केयरिङ नहुनु, संयुक्त परिवारका समस्याहरू, करियरको चिन्ता आदि थुप्रै कारण छन् । पुरुषले लकडाउनमा पनि बच्चा जन्माउन दबाब दिने, अस्थायी साधन प्रयोग नगरिदिनेआदि थप समस्या छन् । 

 

 

डा. सिर्जना कुँवर

स्वास्थ्य कानुनी चिकित्सक तथा ओसीएमसी प्रमुख पाटन अस्पताल

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत लैंगिक हिंसा प्रभावितलाई हेर्ने गरिएको छ, जसलाई नेपाल सरकारले सघाएको छ । तथ्यांक हेर्दा १ देखि १९ वर्षका युवतीमा शतप्रतिशत यौनजन्य हिंसा देखिएको छ । विवाहपछि शारीरिक, मानसिक र सामाजिक हिंसा बढी देखिएको छ । हिंसा भइरहेको र यसै कारणले मेरो मानसिक स्वास्थ्यमा असर परिरहेको छ भन्ने कुरासम्म बिरामीलाई अनुभूति भइरहेको छैन । थोरैलाई अनुभूति नै भएपनि फेरि फर्केर जाने त्यही ठाउँमा हो, हिंसा भयो भन्दै हिँडें भने म एक्लो हुन्छु भन्ने डर र त्रास छ । हिंसामा अभ्यस्त भएकाले उनीहरू मानसिक स्वास्थ्यलाई पनि बेवास्ता गरिरहेका छन् । ओसीएमसीले सबै प्रकारका उपचार निःशुल्क गरिरहेको छ । यसैमार्फत अदालतमा पनि निःशुल्क सेवाका लागि रिफर गरिदिने काम हुन्छ । यहाँ आकस्मिक आवास गृहको व्यवस्था पनि छ । यहाँ आइसकेपछि सुधार भएर परिवारमा फर्किएका धेरै उदाहरण छन् तर सँगसँगै थप ट्रमाटाइज्ड भएकाहरू पनि नभएका होइनन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>