उबडखाबड जमिनमा असिनपसिन हुँदै बाइक र जिप हाँक्नु , मध्यरातमा चिया फ्याक्ट्री पुगेर चिया ओइलाउने प्रक्रिया निरीक्षण गर्नु उनका लागि सामान्यजस्तै भइसकेको थियो । सिक्न र आफूलाई प्रमाणित गर्नका लागि दैनिक १८ घण्टा खट्नुपथ्र्यो । लक्ष्मी लिम्बूको जीवन चुनौती र संघर्षले भरिएको एउटा मीठो कथा हो ।
साधारण कामदारदेखि आज सिलिगुढीकै प्रथम महिला टी प्लान्टर ९सन् १८५७ पछि यस क्षेत्रको चिया बगानको इतिहासमा कोशेढुंगा साबित भयो०, कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजमा उत्तर बंगाल र सिक्किमकी प्रमुख, सोही संस्थाकी पश्चिम बंगाल राज्य कार्यालय ९सिआइआई० की निर्देशक ९प्रमुख० तथा लक्ष्मी टाउनसीपकी प्रमुख कार्यकारी अधिकृत बन्न सफल लक्ष्मी धेरैका लागि उदाहरण बनेकी छिन् । लक्ष्मी टाउनसीपअन्तर्गत दुईवटा परियोजना छन् जसमा ‘उत्तरायन’ जो ४ सय एकडमा फैलिएको छ भने अर्को ‘उत्तरा’ १ सय ३८ एकडमा अवस्थित छ ।
उत्तरायन एक एकीकृत टाउनसीप हो, जहाँ स्वास्थ्य र शैक्षिक संस्थाहरू, आवासीय क्षेत्र, प्लान्ट गरिएका आवास, क्लब, कमर्सियल रिटेल स्पेस, मल तथा व्यवस्थित पार्क छन् । जहाँ आज १० हजारभन्दा बढी बासिन्दाका घर बनेका छन्, जसले एक फस्टाउँदो र आत्मनिर्भर सहरी इकोसिस्टमको प्रतिनिधित्व गर्छ । उत्तरा अत्याधुनिक सुविधा प्रदान गर्ने एक प्रिमियम आवासीय तथा व्यावसायिक परियोजना हो । सिआइआई उत्तरबंगाल रियलस्टेट एन्ड इन्फ्रास्ट्रक्चरकी अध्यक्ष, सिआइआई उत्तरबंगाल टी प्यानलकी कार्यकारी सदस्य, क्रेडाई उत्तर बंगालकी सदस्यका रूपमा समेत सक्रिय लक्ष्मी नर्थ बंगाल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजकी सल्लाहकार पनि हुन् ।
मेघालय र अरुणाचलबाट प्राथमिक शिक्षा हासिल गरेकी लक्ष्मीले दार्र्जीिलङको सेन्ट जोसेफबाट राजनीतिशास्त्रमा स्नातक र नेसनल इन्स्टिच्युट अफ टी म्यानेजमेन्टबाट गोल्ड मेडलिस्टका रूपमा स्नातकोत्तर गरेकी छिन् । पश्चिम बंगाल र सिक्किम राज्यहरूबाट प्रतिनिधित्व गर्दै सर्वोत्कृष्ट एनसीसी क्याडेट घोषित उनी गभर्नर्स एनसीसी अवार्ड प्राप्त गरी क्यानडाको युथ एक्सचेन्ज प्रोग्रामका लागि छनोट भइन् । सर्वाधिक उद्यमशील महिला स्टाचर अचिभर्स अवार्ड, कालेबुङ रत्न पुरस्कार, उत्तर बंगालको उत्कृष्ट महिला व्यवसायी अवार्डलगायत उत्तर बंगाल विश्वविद्यालय, इन्डियन इन्स्टिच्युट अफ लिगल स्टडिज, गोर्खा परिपार सिलिगुढी आदि विभिन्न सामाजिक संघसंस्थाबाट सम्मान एवं पदक प्राप्त गरेकी लक्ष्मी यी सबै सम्मान आफूजस्तै संघर्षबाट माथि उठ्न चाहने दिदीबहिनीहरूमा अर्पण गर्न चाहन्छिन् ।
चुनौती चिरेर अघि बढ्दै आज लाखौं महिलाको आशा र विश्वास बनेकी लक्ष्मीले विगतमा जे भोगिन्, त्यो धेरैका लागि अकल्पनीय छ । ‘मेरो करियर चिया बगानको कामदारका रूपमा सुरु भएको हो । महिला पनि प्लान्टर बन्न सक्छन् भनेर मैले हरेक क्षण आफूलाई प्रमाणित गर्नुपथ्र्यो । कतिपय क्षणहरू यस्ता थिए, जहाँ आफूलाई पुरुषसरह साबित गर्न थप मेहनत र समय खर्चिनुपथ्र्यो, दोब्बर तयारी गरी बढी नतिजा दिनुपथ्र्यो,’ उनी भन्छिन् ।
उनले सिकेको एउटा पाठले भन्छ–सफलता सुविधाबाट होइन साहसबाट प्राप्त हुन्छ । पटक–पटक तोडिएका अवरोध थुप्रैका लागि अघि बढ्ने बाटो बन्छन् । उनले चिया बगानको प्लान्टरका रूपमा त्यस्ता अनेकौं अवरोध सामना गरेकी छन् । लक्ष्मी गर्भवती हुँदा धेरै कष्टको सामना गर्नुपर्यो । जुन बेला उनलाई समझदारी र सहयोगको खाँचो थियो, त्यही बेला अप्रत्यक्ष रूपमा अब तिम्रो काम छैन भनियो । त्यो क्षणले उनलाई भावनात्मक रूपमा विक्षिप्त बनायो र पनि त्यसले उनलाई भाँच्न र हराउन भने सकेन ।
‘त्यो अस्वीकृति अत्यन्तै पीडादायी थियो तर त्यही मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो । समय र आत्मनिरीक्षणसँगै मैले यसलाई फरक दृष्टिकोणले हेर्न सिकें,’ प्रतिकूलतालाई अनुकूलतामा समाहित गर्ने उनको साहस यसैले पनि पुुष्टि गर्छ, ‘म आज ती व्यक्तिलाई धन्यवाद दिन्छु जसले मलाई कामबाट फिर्ता पठाए किनकि त्यो अनुभवले मलाई पहिलेभन्दा अझै बलियो र साहसी बनायो ।’ त्यही घटनाले नै उनलाई सहनशीलता, आत्मविश्वास र प्रतिकूल परिस्थितिको सामना गर्दै डटेर अभिने साहस सिकायो ।
लक्ष्मीको तीन दशकको यात्रा संघर्ष, त्याग र संकल्पले परिभाषित छ । साहसी भएर सोच्नु, निरन्तर काम गर्नु र आफ्नै बलमा अघि बढ्नु उनका जीवनका सूत्र हुन् ।
कहिलेकाहीँ नेतृत्वको भावनात्मक मूल्य चुकाएकी उनले ग्लानि, थकान, करिअर एवं परिवारलाई दिने समयबीचको निरन्तर सम्झौता पनि गरिरहेकै छिन् । तर समानुभूति र परिवारको सहयोगले यी पक्षलाई अझै बलियो बनाउन सहयोगी भएको उनको तर्क छ । यही कारणले नै आज आफू एक समावेशी नेतृत्वकर्ताका रूपमा उभिएको उनको धारणा छ ।आफूलाई सधै सिक्न जुझारु विद्यार्थी ठान्ने लक्ष्मी सफलता कहिल्यै पनि व्यक्तिगत प्रतिभा वा क्षमतामा मात्रै सीमित नहुने धारणा राख्छिन् । यो परिवार, टिम, शुभचिन्तकको सहयोग, मूल्य–मान्यता, लगनशीलता र उद्देश्यको उपज हो भन्ने उनको बुझाइ छ । उनी निरन्तर तयारी, इमान्दारिताका साथ काम गर्ने, कठिन संवादबाट कहिल्यै पछि नहट्ने कुरामा विश्वास राख्छिन् । ‘म चुनौती स्वीकार गर्ने कुरामा विश्वास गर्छु । जब अरुले यो आइडियाले काम गर्दैन भनेको सुन्छु, तब मलाई महसुस हुन्छ यो विचार सामान्य होइन त्यसैले यसलाई पूरा गर्नैपर्छ,’ उनी भन्छिन्, ‘जब मलाई महिला भएर टी प्लान्टर बन्न निकै गाह्रो र असम्भव भनियो तब मैले त्यसलाई चुनौतीका रूपमा लिएर गरेरै छाडें । जहाँ काम गरौं त्यहाँ बाधा, अवरोध, शक्ति, संघर्ष र असहयोग हुन्छन् नै तर परिस्थितिलाई बुद्धिमत्तापूर्वक सम्हाल्न सके अघि बढ्ने बाटो आफैं खुल्छ ।’ कुनै पद वा भूमिकामा फिट हुन आफ्नो पहिचान कहिल्यै नबदलेको उनी बताउँछिन् ।विगतमा लक्ष्मीले भत्काएका अमिल्दा पर्खाल र बलदेका संकीर्ण सोचका कारण आज लाखौं मानिसलाई अगाडि बढ्ने बाटो खुलेको छ । हजारौंले रोजगारी पाएर आत्मनिर्भर बनेका छन्, जसले स्वनिर्णयको शक्तिलाई थप मजबुत बनाइदिएको छ । उनलाई आज पनि लाग्छ, सफलता तब मात्रै अर्थपूर्ण हुन्छ जब यसले अरुका लागि अवसर सिर्जना गर्छ । जब नेतृत्वको जग बलियो उद्देश्यमा आधारित हुन्छ, सफलता स्वतः पछ्याउँदै आउँछ ।
उनको यात्राको मूल पक्ष नै आफूभन्दा जान्ने–बुझ्नेहरूको संगत गर्नु, गहिरिएर सुन्नु र विभिन्न दृष्टिकोणबाट तिनलाई सम्मान गर्नु हो । लक्ष्मीलाई आफू वरपरका मानिसहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने चाहनाले संधै प्रेरित गर्छ । जब उनी आफ्नो पहलमा ग्रामीण महिलाहरू साना उद्यमीका रूपमा उदाउँदै गरेको देख्छिन्, तब उनी अझै उनीहरूका पक्षमा वकालत गर्न र थप अवसर जुटाउन उत्साहित हुन्छिन् । उनी भन्छिन्, ‘धेरै छोरीले शिक्षा आर्जन गरेको देख्दा, पेसागत करियर, खेलकुद, उद्यम, सिर्जनात्मक क्षेत्र, राजनीति, कर्पोरेटका बोर्डरुममा महिलाले निर्भीक भएर उभिएको देख्दा म औधी खुसी हुन्छु, त्यसले मलाई छुट्टै ऊर्जा र प्रेरणा थप्छ । एक महिलाले अर्की महिलालाई सहयोग गर्नुपर्छ, एकसाथ माथि उठ्नुपर्छ र आत्मसम्मानका साथ बाँच्नका लागि प्रोत्साहित गर्नुपर्छ ।’
लक्ष्मी गु्रपमा सुरक्षित कार्यस्थल निर्माण गर्न, नेतृत्वदायी भूमिकामा धेरै महिला सहभागिता बढाउन, टाउनसीप बाहिर पनि शिक्षा तथा सामाजिक सशक्तीकरणका लागि अहोरात्र खटिरहेकी छन् । जब एउटी महिलाले प्रगति गर्छिन्, तब सिंगो समाज नै समृद्ध हुन्छ । जुन राष्ट्रनिर्माणको एक महत्वपूर्ण कदम साबित हुन्छ भन्नेमा उनी दृढ विश्वास राख्छिन् । उनको हिजोको साहसी कदमले आज हजारौं महिलाले आत्मनिर्भर बनेर समाज र देशको सेवा गर्ने आँट गरेका छन् । अहिले लक्ष्मीजस्तै समाजका लागि केही गरौं भन्ने महिलाको संख्या बढ्दो छ ।