बिनु शाक्य  बेली डान्सर तथा मोडल

नारी संवाददाता

भाद्र ९, २०७९ सिन्धुपाल्चोक जिल्लाको लामो साँघुमा जन्मिएकी बिनु शाक्य ६ वर्षको उमेरदेखि नै नृत्यमा सक्रिय छिन् । उनी १० वर्षयता भने ‘बेली डान्स’ को ‘स्टेज परफर्मेन्स’मा काम गरिरहेकी छन् । म्युजिक भिडियो र चलचित्रमा ‘आइटम डान्स’ समेत उनले गरिसकेकी छन् । पछिल्लो समय ‘बेली डान्स’ इन्स्टिच्युट खोल्ने तयारीमा रहेकी उनी यसका लागि आवश्यक पहिरनको आउटलेट पनि खोल्ने योजनामा छिन् । नेपालमा ‘बेली डान्स’ र ‘मोडलिङ’ बारे उनीसँग गरिएको कुराकानी :

‘बेली डान्स’ तर्फ कसरी रुचि बढ्यो ?

६ वर्षको उमेरदेखि नै स्कुलका कार्यक्रममा नाच्थें । ९–१० कक्षा पढ्दा साकिराको डान्सबाट प्रभावित भएँ । सिन्धुपाल्चोकबाट काठमाडौं आएपछि कुनै एउटा नृत्यलाई फलो गर्नुपर्छ भन्ने लागेर यता केन्द्रित भएकी हुँ ।

तपाईंका लागि ‘बेली डान्स’ के हो ?

जीवन जिउने आधार हो । नृत्यबिनाको जीवन कल्पना पनि गर्न सक्दिन । शरीरले नाच्न छाडे पनि मेरो दिमाग नाच्नेछ ।

कहाँबाट सिक्नुभयो ?

दिदीहरूबाट सिकें । काठमाडौं आएपछि राष्ट्रिय नाचघर र विभिन्न केन्द्रबाट प्रशिक्षण लिएर नृत्य सिकेकी हुँ ।

नेपालमा ‘बेली डान्स’को अवस्था कस्तो छ ?

‘बेली डान्सर’का रूपमा म स्थापित भएको पाँचवर्ष भयो । पहिले–पहिले ‘बेली डान्स’लाई पश्चिमा शैली भित्र्याएको आरोप लगाइन्थ्यो, विकृतिका रूपमा बुझिन्थ्यो । पछिल्लो समय यो नृत्यबारे सोचमा परिवर्तन भएको छ । यो नृत्यलाई थोरै भएपनि महत्व दिन थालिएको छ । युवाहरू यसतर्फ आकर्षित भएका छन् ।

तपाईं आफ्नो विगतमा फर्किन पाउनुभयो भने कुन समयमा फर्किनुहुन्थ्यो, किन ?

म मेरो बाल्यकालमा फर्किन्थें किनभने कुनै कुराको भार र जिम्मेवारी थिएन, आनन्द र रमाइलो जिन्दगी थियो । 

नृत्य र मोडलिङमध्ये एक रोज्नुपरे कुन रोज्नुहुन्छ, किन ?

नृत्य । किनभने म नृत्यबाटै आएकी हुँ । नृत्यमा म डुब्न सक्छु, यसमा मलाई बढी सन्तुष्टि मिल्छ । 

नृत्य गर्दाको कुनै अविस्मरणीय क्षण ?

केही दिनअघि मात्रै परफर्मेन्स गर्दै थिएँ । अचानक अर्को गीत बजिदियो । म स्टेज नै छोडेर हिँडें । त्यो मेरो नृत्य करियरकै पहिलो घटना थियो । 

एउटा यस्तो कुरा जुन तपाईं कहिल्यै कसैलाई सेयर गर्न चाहनुहुन्न ।

म अलि रिसाहा छु जुन कुरा म अरुलाई सेयर गर्न चाहँदिन । 

तपाईंसँग चलाख सुगा छ, उसलाई सबैभन्दा पहिले के बोल्न सिकाउनुहुन्छ ?

‘डान्स’ शब्द वा मेरो नाम ‘बिनु’ भन्न सिकाउँथें । 

तपाईंलाई कुन जनावरको चाल मनपर्छ ?

बिरालो चाल (क्याटवाक) मनपर्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>