अनौठो सपना

अनिता कोइराला

भाद्र ९, २०७९ असिनपसिन भएर जुरुक्क उठें । खाटको छेउमा पानीको बोतल थियो । एक सासमा एक लिटर पानी स्वाट्टै पारें । कस्तो अचम्मको सपना ? भारतीलाई सुनाउन झ्याप्प हातमा मोबाइल उठाएँ ।

‘हेल्लो भारती  कस्तो डरलाग्दो सपना देखें, मुटुनै कामेको छ ।’

‘किन आत्तिएको,के देख्नुभयो त्यस्तो ? आजसम्म तपाईंले सपनाको कुरा गरेको त मलाई थाहा छैन । केही विशेष नै हुनुपर्छ, सुनाउनू न ।’

भारतीलाई सपना सुनाउन थालें ।

‘सपनामा सत्ता परिवर्तन भएको रहेछ ।’

घरघरमा डरलाग्दो मातृसत्ता हावी भएको, नारीहरू शक्तिशाली भएका, दम्भ र अहंकारले आँखा नदेख्ने भएका, सही–गलत छुट्याउन नसकेर घर–घरमा कलह र अशान्ति मडारिएको, सबै चिच्याइरहेका, कराइरहेका, चारैतिर अस्तव्यस्त ।

नारीहरू पुरुषको अस्तित्वमा धावा बोलिरहेका, घरघरमा पुरुषहरूलाई दमन एवं शोषण गर्दै अत्याचारको ताण्डव मच्चिएको, नारीहरूको अत्याचार सहन नसकेर कतिपय पुरुषहरू आत्महत्याको बाटो रोज्दै गरेका, कोही जिउँदै मरेसमान जिन्दगी बिताउँदै गरेका ।

कुनै समुदायमा श्रीमान्हरू अगाडि आएका रहेछन्। तर पनि श्रीमान्को नामले चिनिनुपर्दा नारीहरूको अहंकारमा ठेस पुगेर आकुलव्याकुल हुँदै पुरुषहरूमाथि घरेलु हिंसा र मानसिक यातना दिँदै गरेका । कतिपय नारीहरू पुरुषको नामले चिनिनुपर्दा साडीको सप्कोले नाक–मुख छोपेर लाज मान्दै हिँडेका थिए ।

पुरुषहरू पृथ्वीझैं शान्त, सहनशील, दया, माया र प्रेमजस्ता मानवीय गुणले ओतप्रोत भएर धराको सौन्दर्य बढाएका। परिवार र समाजको खुसीका लागि आफ्ना इच्छा र सपनाहरूलाई पैतालाले कुल्चिँदै मुसुक्क मुस्कुराएका।

कस्तो अचम्म नारीहरूको त्यस्तो भयंकर रूप देखेर पनि पुरुषहरू विचलित थिएनन् । पुरुषहरूमा त्यो डरलाग्दो शान्ति देखेर म डराएकी थिएँ ।

कतै विनाशअगाडिको शान्ति त होइन ? आफैलाई प्रश्न सोध्दै थिएँ ।

नारीहरूलाई पुरुषहरूले यदि त्यस्तो अत्याचार गरेको भए कत्रो हंगामा हुने थियो । तर पुरुषहरू नारीको इच्छाविपरीत केही नगर्ने ।

श्रीमतीको मुख हेरेर कुनै पनि कुराको निर्णय लिन्थे । लक्ष्मी र सरस्वतीका जम्मै गुणहरू पुरुषहरूमा सरेका थिए । नारीहरू महिषासुरजस्ता भएका थिए। निकै कठोर र संवेदनाहीन हेर्दै डरलाग्दा । दया, माया, प्रेम जम्मै हराएका पूरै यान्त्रिक ।

आर्थिक, सामाजिक, राजनीति आदि सबै क्षेत्रमा नारीहरू सक्षम, सबल र सशक्त ।

पुरुषलाई नारीहरूले घरमा बेहुला बनाएर ल्याउँदै दासलाई जस्तो व्यवहार गर्दै थिए । नारीहरू नै हर्ताकर्ता एवं घरमुली सबैतिर पूज्य भएका । पुरुषहरूलाई त मान्छे नै नगन्ने । हरेक दिन पुरुषको भावनासँग खेलवाड गर्ने । जति चोट र चिन्ता परेपनि महिलाका आँखामा आँसु सुकेको थियो । पुरुषहरू छिट्टै चित्त दुखाएर रूने । पुरुषहरू रुँदा नारीहरू भन्थे, ‘गोहीका आँसु यहाँ नझार ।’

पुरुषहरू त्यसरी डाँको छोडेर रोएको त सपनामा देखें । रोएपछि पो शान्त हुँदा रहेछन् ती आत्माहरू पनि ।

कुनै पनि ठाउँमा पुरुषहरू अगाडि आएको नारीहरूलाई मनै नपर्ने ।

पढेलेखेका पुरुषहरूले पनि आफ्ना इच्छाहरू परिवार र समाजका लागि मार्नुपर्थ्यो । नारीहरूको कृपाले मात्र कतिपय अगाडि बढेका थिए । तर, जुन परिवारमा पुरुषको मान–प्रतिष्ठा उच्च हुन्थ्यो त्यो घरका नारी बौलाउँथे ।

अझ लोग्नेको मानसम्मानका कार्यक्रममा श्रीमतीहरू जान असहज मान्थे । गए पनि घरमा आएपछि कुण्ठा र अभिमानले आक्रान्त मनको पीडा लोग्नेलाई पोख्थे । अपमान गर्थे, बाहिर जो नारीसँग बोलेको हुन्थ्यो उसैको बात गलाइदिन्थे। समाज पनि त्यस्तै थियो वातवातमा पुरुषहरूको चरित्र हत्या गरिदिन्थ्यो । पुरुषहरूमा के बालक, के युवा, के वृद्ध सबैले अन्याय र अत्याचार सहनुपरेको थियो। हुँदाहुँदै पुरुषहरू बलात्कारको शिकारमा पर्न थाले ।

स–साना बाबुहरू आफ्नै आँगनमा असुरक्षित थिए । तर पनि दोष पुरुषकै हुन्थ्यो । गर्मी भएर गन्जी लगाएकाले बलात्कृत हुनुपरेको रे । हिँड्ने, बोल्ने, लगाउने अनुशासन नभएर छाडा हुँदाको नतिजा हो रे भन्दै नारीहरूले कुरा काटेको पनि सुनें ।

रामजस्ता पुरुषहरू नारीको सम्मान र उपलब्धिमा हिमालझैं अग्लिएर मुस्कुराउँथे । श्रीमतीको जितमा गुलाफ झैं फुल्थे । श्रीमतीका साथमा आफू उभिन पाउनु सौभाग्य ठान्थे । सीताहरू जसरी हुन्छ श्रीमान्को आत्मबललाई कमजोर पार्न पछि पर्दैनथे । पलपल उपेक्षापूर्ण बोली बोल्थे ।

क्षमतावान् पुरुषहरू पनि बोल्न, हाँस्न र हिँड्न अनुमतिको भिख माग्थे । ती पुरुष कमजोर भएर होइन पारिवारिक एकता जोगाउन आफूलाई मार्थे । उनीहरू नारीको छत्रछायामा बाँचेका निरीह पशुजस्तै देखिन्थे। सबै कुरा थाहा हुँदाहुँदै चुपचाप सहन्थे।

म पनि त्यहाँ निकै रवाफ देखाउँदै रहेछु। म पनि त्यही नारीहरूको अग्रपंक्तिमा उभिएकी थिएँ ।

सीता, राधा, पार्वती जम्मैले आफ्ना पुरूषलाई दास बनाएका । सीता त झन् उग्र भएर श्रीमान्लाई सबैको अगाडि गाली गरिरहेकी । नारीहरूको बर्चस्वमा निकै ठूलो छलफल भएको थियो । पुरुषहरू शिर निहुर्‍याएर सभाको शोभा मात्र बढाएका, ओठ सबैका बन्द थिए ।

राधा अझ ठूलो स्वरमा बोल्दै थिइन्–

‘यी लोग्नेमान्छेको नियत नै ठीक छैन । घर बस्यो कमाएर ल्याइदिने छदैं छौं । कमाउनुपरेको छैन । भातका भकारीहरू । स्वास्नीहरू दिनरात पसिना बगाएर घर र परिवार भन्दै रगत सुकाएका छन् । यी डाम्नाहरूलाई भने दारी खौर्‍यो, जुङ्गा मिलायो, ऐना हेर्‍यो दिनभरि मोबाइलमा गफ चुट्यो बस् । त्यसको बाउले पनि केही सिकाएन छ । बाउ गतिलो भए पो छोरो गतिलो होस् । कस्ता कुलङ्गारको परिवारसँग नाता जोड्न पुगिएछ । धिक्कार होस्, मेरो त भाग्यै खोटो । यस्तो अलच्छिना पोइ पर्‍यो । न काम गर्ने ढङ्ग छ, न मान्छेको अगाडि बोल्न आउँछ । कतै लिएर हिँड्नुपर्दा लाजै लाग्छ । अनपढ गवाँर, स्वाँठलाई कस्तो दिनमा भित्र्याएँछु ?’

‘होइन, माइतीले पनि केही सिकाएका रहेनछन् ? स्वास्नीको घरमा गएपछि राम्रोसँग घर–व्यवहार सम्हाल्नुपर्छ, स्वास्नी र स्वास्नीका नातागोतालाई मान–सम्मान गर्नुपर्छ, पाखे त परे के जान्दथे यस्ता कुरा ।’ उपस्थित नारीहरू एकै स्वरमा चिर्बिराए ।

राधाकी आमा अझ च्याँठिदै कुर्लिइन् । ‘हामीले त हाम्रा छोरालाई बिदा गरेर पराइ घर पठाउँदा केहीको कमी गरेनौं, जम्मै थोक सिकाएर पठाएका थियौं ।

सदैव झुक्नुपर्छ है बाबु, जति दुःख परे पनि सहनुपर्छ । ओठ फिटिक्कै खोल्नु हुँदैन, इज्जत जान्छ माइतीको, छोरा मान्छे भएपछि सहेर बाँच्नुपर्छ । पुरुषको शरीर लिएर आएपछि अहं गर्न कहाँ पाइन्छ र बाबु ? पापी भएर नै पुरुषको जन्म भएको हो रे, धर्मले पनि यही भन्छ । त्यसैले घरकाले जे भन्छन् सबै कुरा मान्नू । मेरो छोराजस्तो कहाँ पाउनु ? ज्वाईं चैं कामै नलाग्ने परे के गर्नु ?’

राधा फेरि लोग्नेमाथि जाइलागिन्–‘चुपचाप लागेर बस्ने, होइन भने तेरो बाउको घर जा । बाटो खुल्ला छ । स्वास्नीले छोडेको पोइ भनेर समाजले तँलाई नै थु–थु गर्छन् । तेरै चरित्रमा प्रश्न उठ्छ । हामीलाई त के? दसवटा केटा फेर्दै हिँडे पनि हामी चोखा नै हुन्छौं क्यार । खुट्टा भएपछि जुत्ताको के कमी । तेरो पो इज्जत नङको टुप्पोमा छ त । आफ्नो इज्जत बचाउन मन छ भने चुपचाप म जे भन्छु त्यही मान्नुपर्छ, नत्र देख्लिस् तेरो बाउको बिहे ।’

राधाको बोलीमा सबैले ताली ठोके ।

अनि पार्वतीले रामलाई संकेत गर्दै ठूलो स्वरमा सभा नै हल्लने गरी बोल्न थालिन् ।

‘हुनत अर्काको घर जाने जात भएर होला, यिनीहरूलाई माइतीले पनि हेला गरेका, यिनीहरूलाई जन्मघरमा त इज्जत छैन भने हामीले अझ के दिनु मान, सम्मान र इज्जत । घरमा श्रीमती हुँदाहुँदै पुरुष अरू नारीसँग हाँसेर बोल्यो । अरूसँग बोल्ने पुरुष ठीक हुन्छ ? लु भन्नोस् ? अरू नारीलाई किन हेर्नू ? यो चरित्रहीन हो । यसलाई जिउँदै जलाउनुपर्छ । मलाई नसोधी आज यो माइत गएछ, त्यसरी जान हुन्छ, मेरो अनुमति नलिई?मलाई सोधी आफ्नो मुहार पुस्तिकामा किन पोस्ट गर्‍यो ?

नारीहरू पनि कमका हुन्छ्न् र भन्या अर्काको घर बिगार्न हात धोएर लागिपर्छन् । अर्काको लोग्ने भड्काउन, फकाउनलाई बुख्याँचा जस्तो फोटोमा पनि बाउ लेखेका हुन्छन् । घरमा लोग्ने हुँदाहुँदै अर्काको लोग्ने ताक्छन् । यी ठूला भनाउँदा नारीहरू त झन् पैसा र पदको उन्मादले बौलाएका हुन्छ्न् । कसको भर गर्नु, कोही अछूतो छैनन् । त्यसैले मैले भनेको मान्नुपर्छ होइन भने आफ्नो बाटो लागे हुन्छ। जे मन लाग्छ त्यो गर्न मेरो घरमा पाइँदैन । म तँलाई हाँस्ने, बोल्ने र हिँड्ने स्वतन्त्रता दिन सक्दिन । घरबाट बाहिर हिँडेको फिटिक्क मन पर्दैन मलाई । जुन लोग्नेमान्छे लखरलखर हिँड्छ त्यो ठीक हुँदैहुँदैन । घरमा चित्त नबुझेर हिँडेको जस्तो लाग्छ मलाई ।’

बिचरा राम रातोपिरो भयो। केही बोलिसक्नु भएपो बोल्नु । पार्वती राछेस्नीजस्तै चिच्याइरहेकी थिइन् ।

मलाई अलिकति दया लाग्यो अनि रामको मनभित्र सुटुक्क पसें।

राम सोच्दै थियो । आफ्नो जन्मघर मात्र छोडेर आएको त थिइन । सुखी वैवाहिक जीवनको सपना संगालेर सबै नैसर्गिक अधिकारहरूलाई दाउमा लगाएको थिएँ । खोइ केका लागि ढलक्क ढाका टोपी ढल्काएर मुसुक्क हाँसेर आएको थिएँ मलाई नै थाहा छैन ?बाआमाले बढेको छोरो माइत बस्न हुँदैन भनेर बिदा गरिदिए । कर्म गरेर खा भनेर पराईको हातमा सुम्पिदिए अब कता जाऊँ न माइती आफ्नो हुने न घर ।

केही गर्न खोज्यो खुट्टै भाँचिन्छ, अलि ठीक हुन्छ फेरि ठेस लाग्छ, कहिले मर्किन्छ । यी गोडाहरू बलिया भएर पनि किन परजीवी भएका होलान् ? यी हातहरू पनि कति फैलिन सकेका । कति विशाल कति कुरालाई अँगाल्नुपर्ने छिः ।

यी पखेटाहरू उड्न सक्ने भएर पनि किन कमजोर भएका ? कतिका पखेटाहरू काटेर खेलौनाबनाउँदै रमाएका ।

जन्मघरमा हुर्किएका सारा सपना लगनगाँठोमा पोको पारेर उनको पछि आएको थिएँ । माइतीको आँगन मात्र पोलिएको थिएन । मेरो थर र गोत्र समेत पोलिएको थियो । थर र गोत्र मात्र भए त के थियो र त्यहाँ त मेरो एउटा चिता नै जलाएको रहेछ । आज बल्ल बुझ्दैछु । श्रीमतीको आँगनमा सानो र सुखी संसारको कल्पना गर्दै आमाको न्यानो मायालाई छोडेर । नौलो संसार बसाउन विश्वासको सगरमाथामा ठड्याएको थिएँ । के थाहा मलाई श्रीमतीको दया र कृपाले मात्र मेरो अस्तित्वको रक्षा हुन्छ भनेर । एउटा जीवन समाप्त गरेर पो आएको रहेछु । मलाई के थाहा फेरि पनि पलपल जिउँदै कैयौं पटक मर्नुपर्छ भनेर । श्रीमतीलाई ईश्वरनै ठानेर, गोडैमा ढोगेको थिएँ । अग्निको सम्मुख जग्गेमा लिएका सातै फेरा र मन्त्रलाई साँच्चै ठानेको थिएँ, धिक्कार होस् ।

राम भित्रभित्र मडारिँदै आँसुको घुड्को निल्न विवश थियो । मेरो हृदय करुणाले भरियो ।

अनि फेरि सुटुक्क हरिको मनलाई नियाल्ने कोसिस गरें । हरि भन्दै थियो ।

बिचरा यो रामको जिन्दगी देखेर दिक्क लागिसक्यो । क्षमता हुदाहुँदै श्रीमतीको छाया भएर घरलाई स्वर्ग बनाएको थियो । श्रीमतीको विश्वासमा आफ्नो सम्भावनाको द्वार बन्द गरेको थियो । परिवारका लागि आफ्नो अस्तित्व नै दाउमा लगायो । के गर्नु हाम्रो समाज नै उस्तै छ । आइमाईले जे गरे पनि छुट हुन्छ तर लोग्नेमान्छेको जिन्दगी त तरवारको धारमा हिँड्नुपर्ने । अनिश्चित भविष्यको त्रासले हामीहरू जन्मघरबाट बिदा हुँदै धुरूधुरू रुँदै विश्वासको सागरमा आँसु मिलाउँदै हाँस्छौं । तर श्रीमतीहरू घोडा चडेर दुई चुल्ठो लर्काएर हाम्रो हुर्मत लिन्छन् । ढुङ्गाकै मुटु बनाएछन् कि क्या हो यी नारीहरूले ?

भित्र जति बडबडाए पनि हरि नीलो अनुहार लाउँदै बाहिरी ओठ बन्द गर्छ ।

म आत्तिएँ, दिउँसै सपना देखेकी रहिछु । तल गेटमा त नारी सशक्तीकरणको अभियानमा जान महिला समूहका दिदीबहिनीहरू बेजोडले डोर बेल बजाउँदै रहेछन् अनि पो झल्याँस्स भएँ ।

भारती हाँसेको आवाजले गाउँ नै थर्किन्छ ।

म पनि हाँस्न विवश हुन्छु । हे भगवान् ! कस्तो सपना !

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>