Successfully Copied

मेकअप टिप्स

लिपिस्टिक खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । पुरानो वा मिति गएको लिपिस्टिक प्रयोग गर्नुहुँदैन । यसले ओठलाई असर गर्नुका साथै एलर्जी हुन्छ । 

शारदा तामाङ, ब्युटिसियन

 

लिपिस्टिक लगाउनुअघि

- लिपिस्टिक लगाउनुअघि लिपबाम अनिवार्य लगाउनुपर्छ । यसले ओठ सुख्खा हुन दिँदैन ।

- लिपिस्टिक ओठको बीचबाट लगाउनु सुरु गर्नुपर्छ । कुनाबाट लगाउँदा लिपिस्टिक फैलने सम्भावना रहन्छ ।

- म्याट लिपिस्टिक ब्रसले लगाउनु हुँदैन । यस्तो लिपिस्टिक धेरै सुख्खा भए तातोपानीमा केहीबेर डुबाउन सकिन्छ वा ड्रायरले पगाल्न सकिन्छ ।

- पहिरनसँग संयोजन मिलाएर लिपिस्टिक लगाउँदा अझ आकर्षक देखिन्छ । 

- लिपिस्टिक लगाउनुअघि लाइनर प्रयोग गर्नुपर्छ । 

- लिपिस्टिक खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । पुरानो वा मिति गएको लिपिस्टिक प्रयोग गर्नुहुँदैन । यसले ओठलाई असर गर्नुका साथै एलर्जी हुन्छ । 

आँखाको बनावटअनुसार लाइनर

- आँखा ठूलो छ भने जुनसुकै स्टाइलको आइलाइनर सुहाउँछ । 

- सानो आँखामा बटम लाइनमा बाक्लो लाइनर लगाउनबाट बच्नुपर्छ । पातलो लाइनरबाट सुरु गरेर अन्त्यतिर हल्का मोटो गर्नुपर्छ । 

- बदाम जस्तो आकार भएको आँखामा विंग्ड आइलाइनर बढी सुहाउँछ । 

- लिक्विड लाइनरको छनोट गर्नुपर्छ यसले फिनिसिङ राम्रो देखिन्छ । 

- आइलाइनरले सही सेप दिन सकिएन भने टेपको मद्दतले लाइनर लगाउन सकिन्छ । 

- लाइनर लतपत हुन नदिनका लागि लगाउनुअघि प्राइमर प्रयोग गर्नुपर्छ । 

- अहिले बजारमा रंगीन आइलाइनर आएको छ, फरक लुकका लागि लगाउन सकिन्छ ।

 

शारदा थापा क्षेत्री, मेकअप आर्टिस्ट

फाउन्डेसनको सही छनोट

- फाउन्डेसनको सही छनोट भएन भने अनुहार भद्दा देखिन्छ । त्यसैले आफ्नो छाला सुहाउँदो हुनुपर्छ ।

- अनुहारमा फाउन्डेसन देखियो भने आफ्नो छाला र टोनअनुसारको फाउन्डेसन होइन भन्ने बुझ्नुपर्छ । फाउन्डेसनको काम दाग–धब्बारहित प्राकृतिक लुक दिनु हो । 

- फाउन्डेसनको छनोट गर्दा निधार र जलाइनमा चेक गर्नुपर्छ ।

- छालाअनुसारको फाउन्डेसन छनोट गर्नुपर्छ । चिल्लो छालालाई लाइटवेट आयल फ्रि वा पाउडर बेस्डको र सुख्खालाई मोस्चराइजर बेस्डको लगाउनुपर्छ । 

- त्यस्तै, मौसमले पनि फाउन्डेसनको छनोटमा प्रभाव पार्छ । जाडोमा ओयल बेस्ड र गर्मीमा म्याट फाउन्डेसन उपयुक्त मानिन्छ । 

- पहिलो पटक फाउन्डेसन प्रयोग गर्दै हुनुहुन्छ भने लिक्विड फाउन्डेसन छनोट गर्न सकिन्छ । यो लगाउन सजिलो र ब्लेन्ड पनि हुन्छ । 

- पूरै दिनका लागि कतै जाँदैहुनुहुन्छ भने क्रिम फाउन्डेसन उपयोगी हुन्छ । यो फाउन्डेसन छालामा १०–१२ घण्टासम्म रहन्छ ।

- फाउन्डेसन लगाउनुअघि अनुहारमा क्लिन्जिङ गर्नुपर्छ । रोमछिद्र बन्द गर्नका लागि टोनर प्रयोग गर्नुपर्छ । 

सौन्दर्य निखार्न ब्लसर

- मेकअपमा ब्लसर छुटाउनु हुँदैन । यसले मेकअपलाई खुलाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ । - छालाको वर्णअनुसार ब्लसरको छनोट गर्नुपर्छ । नत्र अनुहार भद्दा देखाउँछ ।

- गोरो छाला भएकाले सफ्ट पिंक, लाइट कोरल र पिच कलरको ब्लसर लगाउनुपर्छ । डार्क लुक दिनका लागि यही सेडमा डार्क लगाउनुपर्छ ।

- डार्क रंगको छाला भएकाले डिप फुसिया, वार्म ब्राउन र टेंगोराइन कलर प्रयोग गर्नुपर्छ । 

- मेकअप गरिसकेपछि ब्लसर लगाउनुपर्छ । भरसक लिपस्टिक र ब्लसरको रंग मिलाउने कोसिस गर्नुपर्छ । यसले मेकअप खुल्छ ।

 

दिनेश राई, मेकअप आर्टिस्ट

आँखाको सौन्दर्य बढाउने आइस्याडो

- आइस्याडो लगाउँदा ब्रसमा थोरै लिँदै लगाउनुपर्छ, एकैपटक धेरै लिँदा चाहिने भन्दा बढी रंग बस्छ र ब्लेन्ड गर्दा अझ फैलिएर मेकअप भद्दा देखिन्छ । 

- आइलिड चिल्लो हुने भएकाले प्राइमरको प्रयोग गर्नुपर्छ । यसले आइस्याडोलाई लतपत हुन दिँदैन । 

- प्राइमर लगाएर केही समय सुक्न दिएपछि मात्र आइस्याडो लगाउनुपर्छ । 

- कन्सिलरले मेकअप लामो समयसम्म टिकाउँछ । त्यसैले आइलिडमा कन्सिलर लगाउनुपर्छ । 

- कन्सिलर लगाएपछि लुज पाउडरले सेट गर्नुपर्छ । सेट गरेर मेकअप गर्दा क्रिज बस्ने कतै स्याडो हुने कतै नहुने डर हुँदैन । 

- आइस्याडो लगाउन सही ब्रसको छनोट गर्नुपर्छ । आइस्याडो लगाएपछि ब्लेन्डिङ ब्रसले ब्लेन्ड गर्दा क्रिज बस्दैन । 

- २–३ वटा सेडको आइस्याडो ब्लेन्ड गरेर लगाउँदा आईमेकअप राम्रो देखिन्छ ।

मेकअप कसरी हटाउने ?

- मेकअप लगाएर सुत्नुहुँदैन । यसले छाला बिग्रन्छ । मेकअप हटाउन धेरै रगड्नु हुँदैन । 

- सही तरिकाले मेकअप नपुछ्नाले छालामा नोक्सान पुग्छ । यस्तोमा सही र सुरक्षित तरिकाले मेकअप उतार्नुपर्छ । 

- मेकअप हटाउन बदामको तेल सबैभन्दा उत्तम हुन्छ । यसमा पाइने पोषक तत्वले छालालाई फाइदा पुर्‍याउँछ ।

- सबैभन्दा पहिले आईमेकअप हटाउनुपर्छ । त्यसका लागि कटनमा मेकअप रिमुभर लगाएर हल्का हातले निकाल्नुपर्छ ।

- वाटरप्रुफ मस्कारा हटाउन बेबी ओयल वा जैतुनको तेल प्रयोग गर्न सकिन्छ । 

- आँखा वरिपरिको भाग संवेदनशील हुने भएकाले मेअकप हटाउन टिस्यु वा पेपरको प्रयोग नगर्नु नै बेस हुन्छ । 

-अनुहारको मेकअप हटाउन क्लिन्जर प्रयोग गर्न सकिन्छ । 

 

अमृत मराठा, मेकअप आर्टिस्ट

 

मेकअप गर्दा 

- मोस्चराइजर लगाउने बित्तिकै फाउन्डेसन प्रयोग गर्नुहुँदैन । केही समय त्यसलाई सोस्न दिनुपर्छ । 

- फाउन्डेसनले छालाको रंग अझ राम्रो र उज्यालो देखाउँछ । धेरैले यसको प्रयोग छाला गोरो बनाउनका लागि प्रयोग गर्छन्, जुन गलत हो । 

- नियमित रूपमा एक्सफोलिएट गर्नुपर्छ । यसले छालाको मृतकोशिका निस्कन्छ । त्यसपछि मोस्चराइजर गर्नुपर्छ । छाला जति नरम हुन्छ त्यति नै मेकअपको फिनिसिङ राम्रो देखिन्छ । 

- ब्लसर लगाउँदा पिंक देखाउनका लागि धेरै लगाउने गर्छन् । जसले अप्राकृतिक देखाउँछ । 

- ब्लसर लगाउँदा गालाको एप्पलको उपल्लो भागबाट सुरु गरेर माथितिर लगाउने ।

- आँखाको मुनिको भागमा माथिल्लो आइलिडको तुलनामा लाइन पातलो राख्ने । माथि र मुनिको लानइनर्स आपसमा जोडिनुपर्छ । 

- पातलो आइब्रोजले अप्राकृतिक र ओल्ड लुक दिन्छ । त्यसैले बाक्लो आइब्रो बनाउनुपर्छ । आइब्रो हल्का रंगको छ भने गाढा कालो रंगको पेन्सिल कोर्नबाट बच्नुपर्छ । 

- डार्क सर्कल लुकाउन धेरै कन्सिलर प्रयोग गर्नुहुँदैन । 

मेकअप लामो समय टिकाउन

- मेकअप गर्नुअघि आइसक्युवले अनुहारमा मसाज गर्नुपर्छ । यसले तेल निस्कन नियन्त्रण गर्छ । 

- चिल्लो छालामा धेरै समय मेकअप टिक्न गाह्रो हुन्छ । त्यसैले यस्तो छाला भएकाले क्लिन्जिङ गरी प्राइमर लगाएर मेकअप गर्नु उपयुक्त हुन्छ । 

- चिल्लो छाला भएकाहरूले मेकअप गर्दा वाटरप्रुप म्याट मेकअप गर्नुपर्छ ।

- प्राइमरको साटो मलमल कपडामा स्प्रे गरेर लगाउन पनि सकिन्छ । यसले मेकअपलाई लामो समयसम्म टिकाउन सहयोग गर्छ ।

- सकेसम्म सिधै सूर्यको किरणबाट जोगिनुपर्छ जसले गर्दा मेकअप खराब हुँदैन । 

- अहिले गर्मीको समय भएकाले पसिना धेरै आउँछ । फेरि तीज भनेको त नाचगान गर्ने पर्व पनि हो । त्यसैले पसिनाले मेकअप बग्ने सम्भावना रहन्छ । यसका लागि वाटरप्रुफ मेकअप गर्नुपर्छ । 

- गर्मीमा फाउन्डेसनभन्दा पनि प्यानस्टिक प्रयोग गर्दा मेकअप लामो समय टिक्छ । 

- मेकअप गरिसकेपछि सेटिङ स्प्रे छर्कनुपर्छ । यसले मेकअप टिकाउन सहयोग गर्छ । 

 Image