जाडो मौसममा सुक्खा वातावरणका कारण छाला र टाउकोको छाला (स्काल्प) सुक्खा हुने, तर घामको कम प्रभावले केश चिपचिपे हुने समस्या देखिन्छ । जाडोमा चिपचिपे केश हुनु प्राकृतिक प्रक्रिया हो, उचित हेरचाह, सफाइ र खानपानले यसलाई नियन्त्रण गर्न सकिन्छ । सही स्याम्पु प्रयोग, नियमित सफाइ र चिसो वा मनतातो पानीले केश धुने बानीले समस्या घटाउन मद्दत पुर्याउँछ ।
केश चिपचिपे किन हुन्छ ?
जाडो मौसममा चिपचिपे केश हुने मुख्य कारण वातावरणीय परिवर्तन, हावाको सुक्खापन र शरीरको स्वाभाविक प्रतिक्रिया हुन् । चिसो मौसममा छाला र स्काल्प सुक्खा हुन्छ, जसले गर्दा प्राकृतिक तेल बढी उत्पादन गर्छ । त्यही तेल टाउकाको छालामा जमेर केशलाई चिपचिपे बनाउँछ । जाडोको कारण धेरैले क्याप, टोपी वा स्कार्फ लगाउँछन् । जसले गर्दा स्काल्पमा पर्याप्त हावा नपुग्दा पसिना र तेल थुप्रिने कारण चिपचिपे हुन्छ । जाडोमा केश कम नुहाउने हुँदा स्काल्पमा तेल, धूलो र फोहोर जम्मा हुन्छ । समयमै नधुने बानीले चिपचिपे देखिन सक्छ । कसैको स्काल्पले प्राकृतिक रूपमा तेल धेरै उत्पादन गर्ने हुन्छ । यो समस्या जाडोमा चिसो हावासँग मिलेर अझ बढ्न सक्छ । जाडोमा धेरैजसोले तातोपानी प्रयोग गर्दा स्काल्प बढी सुक्खा भएर तेल उत्पादन गर्छ । चिल्लो र प्रोसेस्ड खाना बढी सेवन गर्दा शरीरको तेल उत्पादनमा वृद्धि हुन्छ, जसले स्काल्प र केश चिपचिपे बनाउँछ ।
नियमित सफाइ
हल्का स्याम्पु प्रयोग गर्नुपर्छ । कडा रसायन भएका स्याम्पु प्रयोग नगरी माइल्ड वा सल्फेट–फ्री स्याम्पु प्रयोग गर्दा केश चिपचिपे हुनबाट बचाउन सकिन्छ । हप्तामा २–३ पटक स्याम्पु प्रयोग गर्दा स्काल्प सुक्खा हुन्छ । जसले तेल उत्पादन बढाउँछ ।
टाउकाको छाला स्वस्थ राख्ने
जाडोमा केशका लागि तेल आवश्यक हुन्छ तर बढी तेल लगाउँदा चिपचिपे हुने सम्भावना बढी हुन्छ । जाडोमा नरिवल, जोजोबा वा बदामको तेल प्रयोग गर्न सकिन्छ । तेलले मसाज गरिसकेपछि केही घण्टा राखेर नुहाइहाल्नुपर्छ । रातभर राख्दा केश चिपचिपे हुन सक्छ ।
चिसो पानीले टाउको धुने
तातोपानीले टाउको धुने बानीले स्काल्पको प्राकृतिक तेल उत्पादन बढाउँछ । चिसो वा मनतातो पानी प्रयोग गर्दा केश स्वस्थ रहन्छ ।
सही खानपान
जिंक र भिटामिन–बीयुक्त आहार स्वस्थ केशका लागि आवश्यक हुन्छ । जंकफुड, तारेको, भुटेको, खाना भरसक खानुहुँदैन । प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जाडोमा शरीर सुक्खा हुन सक्छ ।
सही कन्डिसनरको प्रयोग
कन्डिसनर जरामा नलगाई मात्र केशको टुप्पामा लगाउनुपर्छ । तेलयुक्त कन्डिसनरको सट्टा लाइट–वेट कन्डिसनर रोज्न सकिन्छ ।
केश नछुने, स्टाइल प्रोडक्ट्स कम गर्ने
बारम्बार केश छुनु वा अत्यधिक स्टाइल प्रोडक्ट्सको प्रयोगले चिपचिपे समस्या बढ्न सक्छ । त्यसैले केशलाई धेरै हातले छोइरहनु हुँदैन ।
घरेलु उपाय
कागतीको रस टाउकोमा लगाउँदा तेल नियन्त्रण गर्न मद्दत गर्छ । नियमित घिउकुमारीको प्रयोगले केश चिपचिपे हुनबाट जोगाउँछ । एप्पल साइडर भिनेगर र पानीको प्रयोग गर्दा फाइदा हुन्छ ।
नरिवल तेल, बदाम तेल वा जोजोबा तेलले स्काल्प र केशलाई चिस्यान दिन मद्दत गर्छ । हप्तामा दुई पटक हल्का तातो तेलले मालिस गर्दा स्काल्प स्वस्थ हुन्छ ।
माइल्ड वा मोइस्चराइजिङ स्याम्पुको प्रयोगले केश स्वस्थ हुन्छ । जाडोमा स्काल्प सुक्खा हुन सक्ने भएकाले माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ ।
-केशलाई नरम र चम्किलो बनाउन कन्डिसनरको प्रयोग गर्नुपर्छ ।
-तातोपानीको प्रयोगबाट बच्नुपर्छ । मनतातो र चिसो पानीको प्रयोग गर्नुपर्छ । तातोपानीले स्काल्पको प्राकृतिक तेल नष्ट गर्न सक्छ, जसले केशलाई सुक्खा र कमजोर बनाउँछ ।
-हप्तामा एक पटक प्राकृतिक हेयर मास्क (जस्तैः अण्डा, मह, र नरिवल तेल प्रयोग गरिएको) प्रयोग गर्नुपर्छ ।
-चिस्यान कायम राख्न हेयर सिरमको कन्डिसनर प्रयोग गर्न सकिन्छ ।
-घरबाहिर निस्कँदा टोपी, स्कार्फ वा ह्याटको प्रयोगले चिसो हावाबाट केशलाई जोगाउन सकिन्छ ।
-केशलाई कस्सिने गरी बाँध्नु हुँदैन । किनभने यसले कमजोर केश झर्न सक्छ ।
-केशको हाँगा फाट्नबाट रोक्न र स्वस्थ बनाउन नियमित ट्रिम गराउनुपर्छ ।
-प्रोटिन, भिटामिन र ओमेगा–३ फ्याटी एसिडयुक्त खाना खानुपर्छ ।
-पानीको मात्रा पर्याप्त लिने बानी बसाल्नुपर्छ ।
-हेयर ड्रायर, स्ट्रेटनर वा कर्लरको प्रयोग एकदमै न्यूनतम गर्नुपर्छ । केशलाई प्राकृतिक रूपमा सुक्न दिनु उत्तम हुन्छ ।
-केशमा बढी केमिकल प्रयोग गर्नुहुँदैन । हेयर कलर वा ब्लिचजस्ता केमिकल ट्रिटमेन्ट जाडोमा कम प्रयोग गरेकै राम्रो हुन्छ । आवश्यक परेमा डिप कन्डिसनिङ ट्रिटमेन्ट अपनाउन सकिन्छ ।
-केशको फोहोर हटाउन हल्का ब्रस गर्नुपर्छ, जसले स्काल्पमा तेलको उत्पादन समान रूपमा हुन्छ ।