उर्वशीको रेडियो यात्रा

प्रकृति दाहाल

भाद्र २, २०७९ दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ की प्रथम महिला स्टेशन म्यानेजर हुन्, उर्वशी बस्न्यात । ०५७ मा सामान्य कर्मचारीका रूपमा उक्त रेडियोमा प्रवेश गरेकी उनी प्रशासन, रेडियो, लाइब्रेरी सम्हाल्दै गत साउन १ बाट स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी छन् । राजाले ‘कु’ गर्दा, नेपालबन्द, नाकाबन्दीदेखि भूकम्पमा चुनौती झेल्दै उनी रेडियोमा निरन्तर सक्रिय छिन् । उनै उर्वशीलाई‘नारी’ मासिकले पत्रकार महिलाको संघर्ष स्तम्भमा समेटेको छ । 

बाल्यकाल 

उर्वशीको बाल्यकाल काठमाडौंको बालाजु धर्मस्थलीमा बित्यो । त्यसताका काजीसाब भनिने बस्न्यात परिवारमा उनी जन्मिन्, हुर्किन् । ‘म जन्मदै मैसाव भएर जन्मिएँ’ उनले भनिन् । काजीको परिवारमा जन्मेकी उनलाई कुनै दुःख थिएन । पढ्न–लेख्न मात्र नभई अन्य सबै सुविधा थियो । चार जना छोराछोरीमा उनी दोस्रो हुन् । त्यसताका छोरी–बुहारी बाहिर निस्कन हुँदैन भन्ने मान्यता थियो । त्यसैले नौ जना हजुरबुवाको परिवारभित्र उनी रमाउँथिन् । दाजुभाइ, दिदीबहिनी आफू समान भएकाले पनि साथी उनीहरू नै हुन्थे । बाहिर त्यति घुलमिल नहुने भएकाले उनको स्वभाव शान्त थियो । पढाइमा अब्बल थिइन् । उनी घरमै पढेर घरमै रमाउँदैहुर्किन् । 

रेडियोमा प्रवेश 

काठमाडौंस्थित पद्मकन्या कलेजमा १२ कक्षाको परीक्षा दिएर बसेका बेला उनलाई समयको सदुपयोग र केही गर्ने हुटहुटी जाग्यो । त्यसबेला रेडियो सगरमाथाको क्रेज छुट्टै थियो । रेडियो एउटा उचाइमा पुगेको थियो । ‘त्यतिबेला मेरो एकजना दाइको सल्लाहबाट रेडियोमा सामान्य कर्मचारीका रूपमा जागिर खान थालें ।’ उनले भनिन्, ‘सुरुमा म प्रशासनिक कर्मचारीका रूपमा केही समय फ्रण्ट अफिसमा समेत काम गरें ।’ रेडियो सगरमाथाको सुरु विन्दुदेखि रेडियोको लगभग हरेक विभागमा काम गरेको अनुभवले नै मलाइ अहिले स्टेशन म्यानेजरको जिम्मेवारी प्राप्त गरि अघि बढ्न सहयोग पु¥यायो । ’ उनको परिवारको इच्छा भने उर्वशी सरकारी अधिकृत बनुन् भन्ने थियो । ‘धेरैको आकर्षणको केन्द्रबिन्दु रेडियो सगरमाथा भएकाले पनि म त्यहीँ रमाउन थालें । प्रशासनिक कामबाट रेडियो लाइब्रेरीतिर प्रवेश गरें’ उनले विगत सम्झदै भनिन्, ‘लाइब्रेरीमा मैले भाषा, गीत–संगीत आदि विषयमा जानकारी पाएँ । त्यसबेला रेडियोमा बोल्न निकै कठिन थियो । गुणस्तरीय कुरा आउनुपर्छ भन्ने विषयवस्तुदेखि लिएर प्रस्तोताको बोली स्पष्ट हुनुपर्छ भन्ने थियो । भाषा र उच्चारण स्पष्ट हुनुपर्थ्यो । म भने बोल्नमा उत्साहित थिएँ । स्टुडियोमै बोल्ने रहर दिनप्रतिदिन बढ्न थाल्यो । रेडियोमा बोल्नका लागि मैले दुई वर्षसम्म डमी तयार गरिरहें । त्यसबीचमा मैले थुप्रै रेडियोमा तालिम पनि लिएँ । त्यसले पनि मेरो आत्मबल बढ्दै गयो ।’ उनी हरेक दिन कार्यक्रम बनाएर म्यानेजरलाई देखाउँथिन् । उनले संचालन गरेको पहिलो प्रस्तुति ‘सांगीतिक कार्यक्रम’ हो । ‘अन एयरमा जाँदैछु , श्रोताहरूमा पुग्दैछु भनेर मलाई एकदमै खुसी लागेको थियो । त्यसबेला म नर्भस भएकी थिएँ । रेडियोमा एक्लै बोले पनि धेरै श्रोताहरूसम्म पुग्छ भनेर मलाई भनिएको थियो’ उनले भनिन्, ‘कार्यक्रम सुनेपछि कमी–कमजोरी पत्ता लगाएर सुधार गर्दै गएँ । सांगीतिक कार्यक्रम, सफलताको गोरेटो, महिलाहरूको सफलताको कार्यक्रम, लोकदोहोरी कार्यक्रम, संघीय संवाद, अर्थ डबलीलगायतका कार्यक्रमहरू सञ्चालन गरें । मैले रेडियोमा सामाजिक विषयवस्तु प्रस्तुत गरिरहें । सामाजिक विषयवस्तु तथा जनजीवनसँग जोडिएका मुद्दा नै मेरो प्राथमिकतामा परे । रेडियोमा बीमा सञ्चय कोषको सबै कुराको सुविधा रहेकाले पनि लामो समय टिकिरहन मद्दत गर्‍यो ।’

पहिलो श्रोता बुवा 

रेडियोमा प्रवेश गर्दा परिवारको विमति थियो । छोरीमान्छे रातबिरात काममा हिँड्ने भनेर उनका बुवाले असहमति जनाइराख्थे । केही हुँदैन भनेर उनी सम्झाइरहन्थिन् । उनको बुवाको इच्छा सरकारी जागिर वा बैंकमा काम गरोस् भन्ने थियो । तर, उर्वशी आफ्नो चाहनामा दृढ भई लागिरहिन् । बिस्तारै उनका बुवाले पनि बुझ्न थाले । ‘मैले प्रोग्राम सक्नासाथ बुवाको फोन आउँथ्यो र भन्नुहुन्थ्यो ‘छोरी तिम्रो कार्यक्रम मैले सुनें नि’ त्यसबेला म एकदमै खुसी हुन्थें’ उनले भनिन्, ‘बुवाले आफूले मात्र मेरो कार्यक्रम सुन्नुभएन, गाउँभरि छोरीको कार्यक्रम आउँदैछ भनेर सुनाउनु हुन्थ्यो । यो क्षेत्रमा टिकिरहन बुवाले हौसला र प्रेरणा दिइरहनु भयो । अहिले यो स्थानमा हुनलाई बुवाको प्रेरणा र योगदान ठूलो छ ।’

भूकम्पमा माइती बिर्सदा 

भूकम्पताका बुवा बित्नुभएको १४ दिन भएको थियो । ‘बुवाको वियोगले मलाई छोडेको थिएन । भुइँचालोको समयमा कार्यालयमै थिएँ’ उनले भनिन्, ‘सबै जना भाग्न सफल भए म भने भुइँमा लडें । म केही समय बेहोस भए पनि तत्काल सम्हालिएँ । लाइभ कार्यक्रम सञ्चालन भइरह्यो । भूकम्पको लाइभ अपडेट दिइराख्यौं ।’ थुप्रै स्थानको अवस्था उनले अनएयर दिइरहिन् । उनको माइती गाउँमा पनि धेरै जनधनको क्षति भइसकेको रहेछ । ‘त्यसबारे मलाई थाहा थिएन । माइती गाउँबाटै फोन गरेर सबै समाचार भनिरह्यौं तर आफ्नो माइती गाउँको चासो छैन भन्ने फोन आयो’ उनले भनिन्, ‘मैले आफूलाई र आफ्नालाई बिर्सेर निरन्तर भूकम्पको समयमा पनि काम गरिरहें ।’

परिवारको सहयोग 

उर्वशीले रेडियोमा काम गर्न थालेको दुई दशक भइसक्यो । उनी अझै यो क्षेत्रमा सक्रिय छिन् । ‘मलाई मेरो परिवारबाट साथ भएकाले पनि यो क्षेत्रमा छु भन्ने लाग्छ । दसैं–तिहार होस् कि नेपालबन्द र नाकाबन्दीमा पनि निरन्तर काम गरिरहें’ उनले भनिन्, ‘भनिन्, ‘मेरा श्रीमान् हिमाल न्यौपाने केही समय अघिसम्म यही क्षेत्रमा भएकाले पनि मलाई सहज भयो। पछिल्लो समय महिलाहरू टिक्न सक्ने अवस्था मिडियामा छैन । विवाहपछि पलायन हुने अवस्था छ ।’ उनका अनुसार परिवारको साथ/सहयोग नहुनु, महिलामैत्री वातावरण नहुनु र सेवा–सुविधा पर्याप्त नहुनुले पनि महिलाहरू यस क्षेत्रबाट पलायन हुँदै गएका छन् । महिला नेतृत्व कम भएकाले पनि महिला लक्षित नीति–नियम बन्न नसकेको उनको भनाइ छ । 

आगामी योजना

 स्टेशन म्यानेजरको जिम्मेवारीले उनलाई अवसर र जिम्मेवारी दुवै थपिदिएको छ । उनका लागि अबको बाटो सहज पक्कै छैन । समुदायमा रेडियोको पहुँच सबैतिर पुगे पनि गुणस्तरीय सामग्री, विषयवस्तु उत्पादन हुन नसक्नु ठूलो चुनौती रहेको उनको भनाइ छ । ‘श्रोताको आवश्यकता रेडियोले बुझ्न नसकेका कारण रेडियोहरू संकटको संघारमा छन्’ उर्वशीले भनिन्, ‘आगामी मेरो योजना रेडियो कार्यक्रम उत्पादनलाई डिजिटल फर्ममा लाने लक्षित श्रोताहरूलाई पहिचान गरेर उत्पादन गर्नेछ । निश्चित उद्देश्य लिएर अगाडि बढ्नु र भुइँमान्छेको कथा बोकेर समाजसम्म पुग्नु छ ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>