Successfully Copied

‘हैजाबाट बच्न सरसफाइमा ध्यान दिऔं’

पछिल्लो समय सहरभरि हैजा (कोलेरा)  फैलिएको छ । ‘भिब्रियो कलेरे’ नामक ब्याक्टेरियाका कारण हैजा रोग लाग्छ । यो झाडापखाला तथा बान्ता गराउने संक्रामक रोग हो । दिसा, खानेकुरा र पानीमार्फत यो रोग सर्छ ।

पछिल्लो समय सहरभरि हैजा (कोलेरा)  फैलिएको छ । ‘भिब्रियो कलेरे’ नामक ब्याक्टेरियाका कारण हैजा रोग लाग्छ । यो झाडापखाला तथा बान्ता गराउने संक्रामक रोग हो । दिसा, खानेकुरा र पानीमार्फत यो रोग सर्छ । हैजा लागेको व्यक्तिको नजिक हुँदा वा उसले छुनेबित्तिकै यो रोग सर्छ भन्ने होइन । हैजा लागेको व्यक्तिको दिसा कुनै माध्यमद्वारा पानी वा खानामा पर्न गयो भने रोग सर्ने हो । मुख्यतः यसबाट बच्न पिउने पानी, खानेकुरा र सरसफाइमा ध्यान दिनु जरुरी छ । सामान्यतया पिउने पानीको माध्यमबाट मात्रै यो रोग सर्छ भन्ने बुझाइ छ । तर, त्यति मात्र नभएर ब्याक्टेरिया संक्रमण भएको पानीले पखालेका काँचा फलफूल, तरकारी वा अन्य खानेकुरा खाँदा पनि हैजा लाग्न सक्छ । 

अचानक चौलानीजस्तो सेतो रंगको दिसा तारन्तार हुनु, बान्ता भइरहनु यसका मुख्य लक्षण हुन् । त्यसैगरी हैजा लागेको व्यक्तिको पेट र खुट्टाको मांसपेशी बाउँडिनु, कमजोर हुनु थप लक्षण हुन् । यसबाट बच्न सबैलाई मैले ‘थ्रि प्लस’ को सूत्र भन्ने गरेको छु । पिउने पानी शुद्ध र सफा हुनुपर्‍यो, घरमै राम्ररी पकाइएका खानेकुरा खानुपर्‍यो, शौचालय गइसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्‍यो । बजारमा बेच्ने पानीको गुणस्तरमा पनि पटक–पटक शंकाका खबरहरू आइरहेकाले उमालेर मात्रै पानी पिउनु उत्तम हुन्छ । विगतमा जार वा बोतलको पानी पिएर हैजा लागेको इतिहास हामीसँग छ । तसर्थ पानीलाई निर्जलीकरण गरेर मात्रै पिउनु यस्ता संक्रामक रोगबाट बच्ने राम्रो उपाय हो । पानी निर्जलीकरण गर्ने थुप्रै तरिका छन् । 

हैजा दुई किसिमका हुन्छन् । लक्षण देखिने र नदेखिने, जसलाई कडा किसिमको हैजा संक्रमण भएको छ उक्त व्यक्तिलाई तारन्तार चौलानीजस्तो पातलो दिसा गइरहने, लगातार बान्ता भइरहने, शरीर र हातखुट्टाका मांसपेशी गल्ने सा बाउँडिने हुन्छ । यस्तो अवस्थामा पखाला लागेको त हो नि भनेर घरैमा बस्न हुँदैन । तुरुन्त अस्पताल जानु एउटै मात्र उत्तम उपाय हो । यस्तो कडा हैजा संक्रमण भएको व्यक्तिले बेलैमा उपचार नपाएमा ५० प्रतिशत मृत्यु हुने सम्भावना रहन्छ । जुन किसिमको हैजा १० जनामा एक जनालाई हुने गरेको पाइएको छ । अर्को, केही घण्टाको अन्तरालमा पानीजस्तो पातलो दिसा जाने र बान्ता हुने हुन्छ भने कसै–कसैलाई लक्षण नै नदेखिन पनि सक्छ । यस्ता व्यक्तिले घरैमा बसेर सरसफाइ अपनाउँदै झोलिलो र नरम खानेकुरा खाने र जीवनजल (म त अमृतजल भन्छु) पानी पिउनाले समस्या कम हुँदै जान्छ । लक्षण नदेखिए पनि त्यस्ता व्यक्तिको दिसा पानी वा अन्य कुनै माध्यमबाट खाना र पिउने पानीमा मिसियो भने त्यो खानपान सेवन गर्ने व्यक्तिलाई पनि हैजा संक्रमण हुन्छ । यो अत्यन्तै विचार गर्नुपर्ने कुरा हो । तर कडा किसिमको हैजालाई भने पखाला त हो नि भनेर बेवास्ता गर्नु हुँदैन । अर्को कुरा पखाला लाग्यो भनेर नजँचाई औषधि खाने गरिन्छ त्यसो गर्नु गलत हो । परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । 

अपवादलाई छोडेर हाम्रो देशमा लगभग बर्सेनि वर्षायाममा हैजा फैलिइरहेको हुन्छ । गत वर्ष पनि नवलपरासीमा हैजाका कारण एकैपटकमा चार जनाको ज्यान गएको थियो । यो वर्ष अहिलेसम्म १७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । फेरि पनि मलाई यही कुरा दोहोर्‍याउन मन छ, तारन्तार चौलानीजस्तो सेतो पातलो दिसा र बान्ता भइरहे सामान्य ठानेर घरैमा नबसौं, तुरुन्त अस्पताल गइहालौं । लापरबाही गरेमा यसले ज्यानै पनि लिन सक्छ । 

(टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.पुनसँग गरेको कुराकानीमा आधारित) 

 

 Image