‘बच्चैदेखिको गन्तव्य मिस नेपाल’

नारी संवाददाता

श्रावण ४, २०७९ ‘मिस नेपाल’लाई प्लेटफर्म बनाउनका लागि यो प्रतियोगितामा आउने धेरै छन् तर अमेरिका जान दूतावासले लिएको अन्तर्वार्तामा पनि ‘मलाई अमेरिकामा पढेर फर्किएपछि यहीँ आएर मिस नेपाल बन्नु छ’ भनेर उत्तर दिने र बाल्यकालदेखिको सपनालाई कर्तव्य र जिम्मेवारीका रूपमा लिने थोरै छन् । तीमध्ये विराटनगरकी न्यान्सी खड्का पनि हुन् । उनले ‘मिस नेपाल’ मा सहभागी हुने आशामा अर्काको देशमै झन्डै–झन्डै मरिसकेको शरीरलाई बिउँत्याएर मात्रै होइन तरोताजा बनाएर आज ‘मिस नेपाल इन्टरनेसनल २०२२’ को ताज जित्न सफल भएकी छन् । उनले ‘सेन्ट जोसेफ स्कुल’ विराटनगरबाट स्कुलिङ, ‘सेन्ट जेभियर्स’ काठमाडौंबाट ‘प्लस टु’ र ‘फुटिल डियान्जा कलेज’ क्यालिफोर्नियाबाट कम्युनिकेसन स्टडिज र साइक्लोजीमा स्नातक गरेकी छन् । उनी भन्छिन्, ‘सेन्ट जेभियर्स पढ्दा म ७५ किलोकी थिएँ । म बडी सेमिङलगायत विभिन्न हिंसाको शिकार भएकी छु । मसँग सुरुवातमा कोही साथी नबन्ने, कालान्तरमा मलाई बुझिसकेपछि भने सबै झ्याम्मिन्थे । मेरा कलेजका हरेक शिक्षक र फादरलाई आज पनि मेरो नाम याद छ बरु टपरको नाम याद नहोला । कारण के भने मैले सबैलाई उतिबेलै भनेकी थिएँ, म एकदिन ‘मिस नेपाल’ हुनेछु । यो कुरा सुनी मेरो मोटो शरीर देखेर सबैले खिसी गर्थे ।

’फिजिक्स शिक्षकले गुरुत्वाकर्षको विषयमा पढाउँदा थुप्रै विद्यार्थीको माझमा यो अझ गहिरिएर जान्नका लागि कि फिजिक्स किताब पूरै घोक्नुपर्छ कि न्यान्सीलाई सोध्नुपर्छ भनेको कुराले उनलाई बिझायो । उनले दुई महिनामा आफ्नो चौध किलो तौल घटाइन् । ‘प्लस टु’ पछि उच्च शिक्षाका लागि अमेरिका जाने क्रममा पनि उनले एम्बेसीमा ‘मिस नेपाल’ बन्नका लागि पढाइपछि नेपाल फर्किने अन्तर्वार्ता दिएकी थिइन् । अमेरिका पुगेपछि साथीलगायत सबैले उनलाई धोका दिए । पढाइ सकेपछि उनले ‘माइक्रोसफ्ट’ र ‘टेस्ला कम्पनी’ मा जागिर पाइन् । बिरानो ठाउँमा उनलाई रोगले समात्यो । उनलाई पक्षघात भयो । एकहर चलेन । उनी डिप्रेसनमा डुबिन् तर पनि उनीभित्रको ‘मिस नेपाल’ बन्ने हुटहुटीले बचाएर नेपाल ल्याइपुर्‍यायो । न्यान्सीले भनिन्, ‘मेरी बहिनी मानुषीको माया, साथ, सहयोग र परिवारको विश्वासले म आज यहाँ छु ।’ नेपाल फर्किएर ‘मिस युनिभर्स’ मा सहभागी भइन् । त्यसपछि उनको ‘मिस नेपाल’ यात्रा तय भयो । सानैदेखि अरुलाई खुसी पार्न भनेपछि मरिहत्ते गर्ने न्यान्सी अब जापानमा हुने ‘मिस इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दैछिन् । ‘पीआई नेपाल’, ‘लायन्स क्लब’ लगायतका सामाजिक संस्थामा रहेर समाजसेवा गरिरहेकी उनी मानसिक स्वास्थ्यलाई मूल मुद्दा बनाएर अगाडि बढिरहेकी छन् । उनले भनिन्, ‘म आफूभित्र भएका कमी–कमजोरीलाईं शक्तिमा परिणत गर्न सकें । जसको परिणाम आज मैले पाएँ । अब यो शक्ति म आफ्नो देश र जनताका लागि उपयोग गर्नेछु । यसलाई मैले आफ्नो कर्म र जिम्मेवारी ठानेकी छु ।’ 

 

‘मिस नेपाल इन्टरनेसल’को जित र ताजलाई कसरी सेलिब्रेट गर्नुभयो ?

ताज र जितलाई भन्दा पनि समस्त नेपाली, मेरा अभिभावक र मेरी बहिनीको माया र खुसीलाई सेलिब्रेट गरें ।

‘टाइटल’ जित्दा दिमागमा के कुरा आयो ?

मेरो ममी–ड्याडीको मेहनत, बहिनीको निरन्तर साथ, सहयोग र मायाका साथै मलाई म हुन सिकाउने मेरा गुरुहरू र सम्पूर्ण नेपाली जनताहरू मेरो दिमागमा झलझली घुमिरहे ।

नेपाललाई विश्वसामु चिनाउने प्रमुख तीन कुरा के हुन सक्लान् ? यसका लागि तपाईंका रणनीति के–कस्ता छन् ?

यहाँको प्राकृतिक सौन्दर्य, परम्परागत संस्कृति, नेपालीहरूको सद्भाव र मायालु व्यवहार, यहाँको खानपान नै मुख्य हुन् । ‘मिस इन्टरनेसनल’ जापानमा हुने भएकाले मैले नेपाली र जापानी संस्कृति झल्किने प्रोजेक्टमा काम गरिरहेकी छु । अन्य कुरा स्टेज प्रस्तुति, व्यक्तित्व विकास, बलियो प्रस्तुतीकरणका लागि पनि आफूलाई तयार पार्दैछु ।

‘मिस नेपाल इन्टरनेसल’को प्लेटफर्मलाई कसरी उपयोग गर्नुहुन्छ ?

मैले मेरो परिचय मै ‘मेन्टल हेल्थ’ विषय समेट्न खोजेकी छु । मानसिक रूपमा स्वस्थ हुनु नै सर्वत्र विकास र सशक्तीकरणको जग हो जस्तो लाग्छ । अर्को कुरा, पर्यटन प्रवर्द्धनका लागि ‘विविधतामा एकता’ को नारा लिएर जानेछु । नेपाललाई अब गरिब देश भनेर होइन, हामी के–के कुरामा धनी छौं त्यसरी चिनाउनुपर्छ विश्व जगत्लाई । म सकारात्मक कुरामा बढी केन्द्रित भएर नेपाललाई चिनाउन चाहन्छु ।

अन्तर्राष्ट्रिय स्पर्धाका लागि आफूलाई शारीरिक, मानसिक र बौद्धिक रूपमा तयार राख्न के गरिरहनुभएको छ ?

यो प्रतियोगिता मेरा लागि प्लेटफर्मभन्दा पनि पेसा र जिम्मेवारी हो । यो उमेरमै यति ठूलो जिम्मेवारी लिने क्षमता राखेकी छु । आफ्नो दक्षतामाथि विश्वास गर्ने र आफूमाथिको भरोसालाई बलियो बनाउन जोड दिइरहेकी छु । जुन बेला मैले यी कुरा महसुस गरें त्यही बेलादेखि मेरो तयारी सुरु भएको हो ।

समस्त नेपालीलाई के सन्देश छ ?

सपना ठूलै हेरौं, सोहीअनुसारको काम र परिश्रम गरौं । जीवनमा असफल हुनुपर्छ, एक न एकपटक लड्नैपर्छ । पछारिएर जब उभिन्छौं, तब गर्वले छाती फुलाएर हिँड्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>