Successfully Copied

थरिथरिका गमला

पछिल्लो समय छत वा कौसीमा बिरुवा लगाउने चलन बढ्दै गएको छ । शयन कक्षदेखि बाथरुमसम्म इन्डोर बिरुवाले सजिन थालेको छ । बिरुवाले घरलाई मात्र सुन्दर बनाउने होइन व्यक्तिको मुड फ्रेस र शीतलता प्रदान गर्छ ।

पछिल्लो समय छत वा कौसीमा बिरुवा लगाउने चलन बढ्दै गएको छ । शयन कक्षदेखि बाथरुमसम्म इन्डोर बिरुवाले सजिन थालेको छ । बिरुवाले घरलाई मात्र सुन्दर बनाउने होइन व्यक्तिको मुड फ्रेस र शीतलता प्रदान गर्छ । त्यसैले गमलामा बिरुवा हुर्काउनेहरू बढेका छन् । अहिले बजारमा विभिन्न डिजाइनका आकर्षक गमला पाइन्छन् । माटोका पराम्परागत गमलाभन्दा अहिले सेरामिकका गमला लोकप्रिय बन्दैछन् । 

पछिल्लो समय फूल–बिरुवा र गमलाको व्यापार बढ्दै गएको ‘गमला घर’ का दीपेन्द्र तुलाधरले बताए । माटोका गमला स्वदेशी उत्पादन हुन् । सेरामिक र प्लास्टिकका गमला पनि नेपालमा बन्छन् । तर ग्राहकको रोजाइमा भारतीय र चाइनिज गमला नै पर्ने गरेको उनको भनाइ छ । नेपालमा हातले बनाइने भएकाले केही महँगो हुन्छ । नेपाली बजारमा गमलाको मूल्य दुई सयदेखि १५ हजारसम्म पर्छ । 

गमलाको उचित छनोट

हेंगिङ, वालमा राख्न मिल्ने, बगैंचामा राख्ने, इन्डोर बिरुवाका लागि छुट्टाछुट्टै गमला पाइन्छन् । बजारमा माटो, प्लास्टिक, फाइबर, सेरामिकका गमला पाइन्छन् । घरको डिजाइन, आवश्यकता र आफ्नो रुचिलाई ध्यानमा राखेर गमलाको छनोट गर्न सकिन्छ । गमला खरिद गर्दा साइज, तौल, पानी निकासी आदिमा ध्यान दिनुपर्छ । पछिल्लो समय बजारमा स्वचालित पानी दिने गमला पाइन थालेका छन् । यसमा एउटा पानी राख्ने बोतल हुन्छ जुन बिरुवाको साइडमा राखिदिनुपर्छ । यसले बिस्तारै थोरै–थोरै पानीले माटो रसाइरहन्छ । बिरुवालाई नियमित पानी दिन सकिँदैन भने यो राम्रो विकल्प हुन सक्छ । धेरै दिनका लागि घरबाहिर जाँदा यो गमला सहयोगी हुन सक्छ । 

आउटडोरमा राख्नका लागि वर्षौंसम्म 

टिक्ने गमला राख्नु उपयुक्त हुन्छ । त्यसका लागि गमलाको गुणस्तरमा ध्यान दिनुपर्छ । सेरामिकका गमला घामपानीले नबिगार्ने र दशौं वर्षसम्म टिक्न सक्छन् । माटोको गमला धेरै चाँडो मक्किने, पानीले ढुसी पर्ने समस्या आउँछ । तर माटोको गमलाले तापक्रम व्यवस्थापन गर्ने भएकाले बिरुवाका लागि फाइदाजनक मानिन्छ । त्यस्तै आउटडोरका बिरुवाहरूका लागि प्लास्टिक र फाइबरका गमला राख्नु उपयुक्त मानिँदैन । यो घामले एकदमै तातिन्छ । त्यसकारण बिरुवाका जराहरू मर्न सक्छन् । बाहिरी बिरुवाहरूका लागि सम्भव भए प्लास्टिकका गमला कभरका रूपमा प्रयोग गर्न सकिन्छ । जसले हेर्दा आकर्षक देखाउँछ । गमलाको आयु पनि बढाउँछ । इन्डोरका लागि भने सेरामिकका गमला नै उपयुक्त हुन्छन् । 

हेंगिङ गमला

यी धेरै प्रकारका आकार र बनावटमा उपलब्ध छन् । यी गमलाले थोरै ठाउँ ओगट्छन् । झुन्डाउँदा राम्रो देखिने बिरुवाहरू यो गमलामा रोप्न सकिन्छ । यसलाई बाल्कोनी, कौसी वा झ्यालको साइडमा राख्दा राम्रो देखिन्छ ।

वालमा राख्ने गमला

वालहरूमा राख्नका लागि उपयुक्त यो गमलाले घरलाई एकदमै सुन्दर देखाउन मद्दत गर्छ । यसलाई घरको जुनसुकै वालमा राख्न सकिन्छ । भान्साको कुना वा लिभिङ रुमको 

झ्यालको साइडमा राख्दा अझ आकर्षक देखिन्छ । 

रेलिङमा राख्ने गमला

बाल्कोनी, भर्‍याङ, छत वा आँगनको रेलिङमा सजाउन यो गमला उपयुक्त हुन्छ । घरलाई आकर्षक देखाउन यो गमलामा मौसमी फूलहरू रोप्न सकिन्छ । यसलाई झ्यालमा अड्काएर राख्न पनि सकिन्छ । यसमा फूल फुल्ने बिरुवा रोप्दा अझ राम्रो देखिन्छ । 

ज्यामितीय आकार

बिरुवाहरूलाई आधुनिक शैलीमा सजाउन यो गमला उपयुक्त हुन्छ । हेर्दा आकर्षक देखिने यो गमलामा ज्यामितीय प्रिन्टको डिजाइन हुन्छ । 

रतन प्लास्टिकको गमला

यो गमला निकै आकर्षक देखिन्छ । घरलाई पराम्परागत शैलीमा सजाउन यो गमला उपयुक्त हुन्छ । 

आफै डिजाइन गर्ने

गमलालाई सुन्दर देखाउनका लागि आफै डिजाइन गर्न सकिन्छ । माटाका गमलामा फेब्रिक पेन्टले डिजाइन गरेर सजाउन सकिन्छ । कार्टुनका आकृति वा कुनै चित्रहरू कोर्न सकिन्छ । यसले गमला आकर्षक देखाउनुका साथै कोठालाई नयाँपन दिन सकिन्छ । 

 Image