Successfully Copied

दीर्घरोगीका लागि खानपान

सबै मौसममा सबै प्रकारका फलफूल खानु उपयुक्त हुन्छ । जाडोमा कतिपयमा फलफूल खाँदा चिसो हुन्छ भन्ने छ । तर, यो सही होइन । फलफूलमा पर्याप्त मात्रामा विभिन्न भिटामिन, मिनरल्स, पोटासियम पाइने भएकाले संक्रमण हुनबाट जोगाउँछ ।

कोरोनाको कहर अझै जारी छ । हरेक दिन संक्रमित भएकाको संख्या तुलनात्मक रूपमा बढ्दो छ । अस्पतालहरूमा आइसीयु, जनरल बेड र भेन्टिलेटरमा बिरामीको चाप उस्तै छ । ज्येष्ठ नागरिक, मधुमेह, मिर्गौला, मुटु र दमका बिरामीहरू आइसीयुमा बढी भर्ना हुने गरेका छन् । समयमा अस्पताल नपुर्‍याउँदा, चिकित्सकको सल्लाहमा ढिलाइ हुँदा तीमध्ये कतिपयको मृत्युसमेत हुने गरेको छ । 

अर्को कुरा, कोरोना महामारीमा एन्टिबायोटिक औषधि प्रभावहीन देखिएको छ । विषाणु, जीवाणु र अन्य परजीवीहरू हरेक समय परिवर्तन भइरहने गरेकाले औषधि प्रभावहीन हुँदै गएको हो । यसले उपचारमा समेत गाह्रो हुन थालेको छ । अझ कोरोना भएको अवस्थामा जटिलता झनै निम्तिने गरेको छ । खासगरी मधुमेह, मुटु र मिर्गौलाका रोगीहरू धेरै जोखिममा छन् । त्यसैले स्वास्थ्यमा बढी ध्यान दिन जरुरी छ । कोरोना महामारीका कारण घरमै आइसोलेसनमा रहेका र सिकिस्त भई अस्पताल भर्ना भएकाहरूले निम्नलिखित स्वस्थकर र पोषिलो खाद्यपदार्थ खानुपर्छ ।

फलफूल

सबै मौसममा सबै प्रकारका फलफूल खानु उपयुक्त हुन्छ । जाडोमा कतिपयमा फलफूल खाँदा चिसो हुन्छ भन्ने छ । तर, यो सही होइन । फलफूलमा पर्याप्त मात्रामा विभिन्न भिटामिन, मिनरल्स, पोटासियम पाइने भएकाले संक्रमण हुनबाट जोगाउँछ । अहिले स्ट्रबेरी, ब्लुबेरिज र रासप्बेरिजमा भिटामिन, फाइबर, खनिज तत्वहरूको सम्मिश्रण पाइने भएकाले विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । यी फलफूलमा ‘एन्टिअक्सिडेन्ट’ प्रशस्त मात्रामा पाइन्छ । त्यसैले यिनको नियमित सेवन गर्नुपर्छ । 

ब्रोकाउली

ब्रोकाउलीको समूहमा काउली, काले, बरुसेल, स्प्राउट आदि पर्छन् । यिनीहरूको प्रयोगले मुटु रोग, क्यान्सर, मधुमेह, मोटोपनलगायतका रोग निको भएको विभिन्न अनुसन्धानले देखाएका छन् । ब्रोकाउलीमा ‘एन्टिअक्सिडेन्ट’ पाइने भएकाले संक्रमण हुनबाट बचाउँछ । हरियो सागपात, तरकारी आदिको मात्रा हरेक छाकमा बढाउनुपर्छ । 

एभोकाडो

यसमा पोटासियम, म्याग्नेसियम, फाइबर, मोनोअन्स्याचुराइड फ्याट पाइन्छ । यी तत्वहरू हाम्रो स्वास्थ्यका लागि उपयोगी हुन्छन् ।

ग्रीन टी

मुटु रोग, मोटोपन, क्यान्सर र अल्जाइमर्सका रोगीहरूले ग्रीन टीको प्रयोग गर्नुपर्छ । यसमा भएको ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टिइन्फ्लामेटरी’ को सम्मिश्रणले हाम्रो शरीरमा भएको नराम्रो तत्वलाई बाहिर निष्कासन गर्न सहयोग गर्छ । यसको दिनहुँ सेवन गर्नुपर्छ ।

मरिच

मरिचको प्रयोग सबैको भान्सामा हुन्छ । पछिल्लो समय धेरैले अदुवा, मरिच, सुकमेल, पिपरा, लसुन, बेसार आदि पानीमा पकाएर दिनहुँ सेवन गर्छन् । तर कति खाने भन्ने कुरा धेरैलाई थाहा छैन । अधिक मात्रामा यो झोल पिउनुहुँदैन । दिनहुँ एक वा दुई कप मात्र सेवन गर्न सकिन्छ । आफ्नो स्वास्थ्य अवस्था बुझेर मात्र मरिच हालेको झोल सेवन गर्दा राम्रो हुन्छ । 

गोलभेंडा

गोलभेंडामा भिटामिन ‘सी’, फोलिक एसिड तथा अन्य पोषक तत्व पाइन्छन् । कमजोरी भएका बेला दैनिक तीन वटा गोलभेंडाको सेवन गर्दा फाइदा हुन्छ । रक्तअल्पता हुनबाट पनि यसले बचाउँछ । पाचन प्रक्रियामा पनि यसले मद्दत गर्छ । 

ओट्स, फापर, कोदो

यिनीहरू कम्प्लेक्स कार्बोहाइड्रेट्स हुन् । यी वस्तुहरूको प्रयोग हरेक उमेर समूहले गर्न सक्छन् । यिनमा पाइने पोषक तत्वले स्वास्थ्यमा राम्रो प्रभाव पार्छन् । मधुमेह, मोटोपन, क्यान्सर, उच्च रक्तचाप भएकाहरूले यसको प्रयोग गर्न सक्छन् । 

क्वाँटी, चिकेन, भेज तथा दालको सुप

आफूलाई मन पर्ने सुपको प्रयोग गर्न सकिन्छ । शाकाहारीले क्वाँटी, भेज तथा ताजा तरकारीको सुप, दाल, मसरुम एवं कुरिलो सेवन गर्न सक्छन् । यी चिसो मौसमका लागि न्याना र तागतिला हुन्छन् ।

अंगुर

अंगुर सहजै पाउन सकिन्छ । यसमा पाइने ‘एन्थोक्यानिन्स’ पोषक तत्वले संक्रमण हुनबाट जोगाउनुका साथै मुटु रोग, मधुमेह, मोटोपन, अल्जाइमर्स एवं आँखाको समस्यामा सहयोग पुर्‍याउँछन् । अंगुरको प्रयोग हामीले दैनिक रूपमा गर्न सक्छौं । चेरिज पनि खान सकिन्छ ।

रोजमेरी चिया

हर्बल चियाहरूमा पछिल्लो समय रोजमेरी चिया प्रमुख रूपमा सेवन गरेको पाइन्छ । यसको प्रयोगले संक्रमण हुनबाट जोगिन सकिन्छ । यसमा अधिक मात्रामा पोलिफेनोल्स, रोजमरिनिक एसिड र कार्नोसिक एसिड भएकाले संक्रमण हुनबाट बचाउँछ । 

प्रोबायोटिक

दही, किम्ची, मोहीजस्ता खानेकुरा थोरै–थोरै खाइरहनुपर्छ । यी पदार्थहरू मनतातो पानीमा राखेर खान सकिन्छ ।

अन्त्यमा केही सुझावहरू

नियमित रूपमा दिनहुँ घरभित्र आफूसक्दो आफ्नो स्वास्थ्य अवस्था हेरी योगाभ्यास गर्नुपर्छ । न्याना तथा झोलिला खानेकुराको सेवन बढाउनुपर्छ । समय–समयमा मनतातो पानी पिइरहनुपर्छ ।

चिन्तामुक्त हुने र परिवारसँग बढीभन्दा बढी समय बिताउनुपर्छ । समूह, भीडभाड वा संक्रमण भएका व्यक्तिहरूसँग दूरी बनाइरहनुपर्छ । शरीरमा पानीको मात्रा कम भए अन्य संक्रमण हुन सक्ले भएकाले शरीर सुख्खा हुन दिनुहुँदैन ।

(मिरा कीर्तिपुर बर्न अस्पतालकी पोषणविद् हुन्)

 Image