टाकुरामा रोड्रिगुएज

दिनेश यादव

फाल्गुन ६, २०७८ पछिल्लो समय अमेरिकी नायिका एवं गायिका मिकैला एन्टोनिया जे रोड्रिगुएज (एमजे रोड्रिगुएज) चर्चाको चुचुरोमा छिन् । उनको चर्चा चुलिनुको कारण हो–झन्डै आठ दशकपछि पहिलो पटक कुनै ‘ट्रान्स–जेन्डर’ महिलाले अमेरिकाकै चर्चित ‘गोल्डेन ग्लोब अवार्ड’ पाउनु । 

 

एमजे रोड्रिगुएजको जन्म ३२ वर्षअघि अमेरिकास्थित न्यू जर्सीको नेवार्क सहरमा भएको हो । उनकी आमा अश्वेत र पिता प्युर्टो रिकान हुन् । उनको बाल्यकालमै अभिनयप्रति रुचि थियो । त्यसैले उनका अभिभावकले नजिकैको थिएटरमा नाम लेखाइदिएका थिए । ‘हुने बिरुवाको चिल्लो पात..’ भन्ने नेपाली उखान उनले आफ्नो जीवनमा चरितार्थ गर्न सफल भएकी छन् । 

जब एमजेले ‘एफएक्स’ टेलिभिजनको ‘पोज’ सिरिजबाट ख्याति कमाइन्, धेरैले उनलाई अभिनय संसारमा नवआगन्तुक पात्रका रूपमा परिभाषित गरेका थिए । तर, त्यो परिभाषालाई उनले आफ्नो परिश्रम, लगन र परिवारको सहयोगमा परिवर्तन गरिदिइन् । अपत्यारिलो रूपमा अभिनय क्षेत्रमा यसरी अगाडि बढिन् कि त्यसपछि उनलाई कहिल्यै पछाडि फर्कनु परेन । 

उनको यात्रामा बाल्यकालमा अभिनय शिल्प तिखार्न एमजेले गरेको श्रम र मेहनतले पनि सघायो । यसो त उनको अभिनयसँगै संगीतमा पनि उस्तै रुचि थियो । त्यसैले संगीतका लागि भने उनी बोस्टनस्थित बर्कली कलेज अफ म्युजिकलाई छनोट गरेकी थिइन् । 

विगत केही वर्षयता ‘नेटफ्लिक्स’ मा तपाईले आफ्नो समय बिताउनुभएको छ भने एमजेलाई पक्कै पनि पछ्याउनु भएकै हुनुपर्छ । हाल उनी अभिनय क्षेत्रमा एउटी स्थापित हस्ति बनेकी छन् । उनी ‘पोज’ मा बलन्काका रूपमा र टिक, टिक....बुममा राम्रो भूमिका निर्वाह गरेकी कलाकारका रूपमा चिनिन्छिन् । अब भने उनको परिचयमा ‘गोल्डेन ग्लोब अवार्ड’ विजेता समेत थपिएको छ । 

अघिल्लो वर्ष ‘एमी’ को प्रमुख भूमिकाका लागि नामांकित हुने पहिलो ‘ट्रान्सजेन्डर’ अभिनेतृ बनेपछि अभिनय क्षेत्रमा उनले निकै चर्चा पाएकी थिइन् । यो वर्षको जनवरी मध्यतिर ७९ औं ‘गोल्डेन ग्लोब अवार्ड’ पाएपछि विश्वजगत्मा एकपटक फेरि उनको खोजी हुन थालेको छ । 

पछिल्लो समय चर्चित अवार्ड पाएपछि उनले एलजीबीटीक्युएआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स, क्वीर, एसेक्सुअल, इन्टरसेक्स) समुदाय र आफ्ना शुभचिन्तकहरूलाई सामाजिक सञ्जालमार्फत खुसी साटिन् । भनिन्, ‘यो अवार्ड एलजीबीटीक्युएआई, अश्वेत, ल्याटिनो, एसियाली (समुदायहरू) लगायत सबैका लागि हो, यो मेरो लागि मात्रै होइन । यो एउटा ढोका हो, जुन सबैका लागि अब खुला भएको छ ।’ 

विश्व समुदाय अझै पनि तेस्रो लिङ्गीप्रति उदार बन्न सकेको छैन । धेरै मुलुकमा यो समुदायलाई हेला गरिन्छ । त्यसैले उनीहरू समाजमा खुल्न चाहेका हुँदैनन् । अझ घरपरिवारमा समेत आफ्नो फरक लैङ्गिकताबारे जानकारी दिन पनि लजाउने र डराउने गर्छन् । यस्तो अवस्थामा अभिनेतृ एमजे यसको अपबाद कसरी बन्न सक्थिन् ? सात सालकी छँदा उनले आफ्नो फरक लैङ्गिकताबारे पहिलो पटक महसुस गरेकी थिइन् । उनी १४ वर्षकी भएपछि बल्ल धेरै साहस जुटाएर आफू समलिङ्गी/तेस्रो लिङ्गी भएको जानकारी आफ्ना अभिभावकलाई गराएकी थिइन् । उनले अभिभावकलाई आफ्नो फरक लैङ्गिकताबारे जानकारी मात्रै गराएकी थिइनन्, आफू ‘ट्रान्स–वुमन’ बन्न चाहेको समेत बताएकी थिइन् । जहाँको समाजमा पनि धेरैलाई छोरा मान्छे बन्ने रहर हुन्छ । तर, एक अध्ययनले फरक लैङ्गिकता भएकाहरूमध्ये अधिकांश महिला बन्न रुचाउने गरेको देखाएको छ । अभिनेतृ एमजेमा पनि त्यही मनोविज्ञान रहेको प्रस्ट छ । अभिभावकले एमजेको कुरा सुने, बुझे र सहयोग पनि गरे । 

सन् २०१२ मा उनी महिला बन्ने निर्णय गरेकी थिइन् । यसका लागि उनले ‘मेन्टल ट्रान्जिसन’ सुरु गर्दै ‘हर्मोन रिप्लेसमेन्ट थेरापी’ लिइन् । यसरी २१ वर्ष उमेरमा उनी एउटी महिलाका रूपमा आफ्नो जीवन सुरुवात गरिन् । त्यसपछि उनले पुरुष भूमिकामा आडिसन लिन बन्द गर्दै महिलाकै भूमिकामा आफूलाई प्रस्तुत गर्न थालिन् । तर काम नपाउने त्रास भने उनीमा थियो । त्यो त्रास आफ्ना कालजयी कलाकारितामार्फत हटाउन सफल भइन् ।

एमजेको परिवार सकारात्मक विचारधाराका छन् । त्यसैले उनको रुचिमा विशेष ध्यान दिए । उनको कुनै पनि चाहना पूरा गर्न परिवारले कहिल्यै आनाकानी गरेन । बाल्यकालमा उनलाई ‘स्टेज परफर्मेन्स’ का लागि उत्प्रेरित गर्नुका साथ ‘ट्रान्स’ महिला बन्न पनि सघायो । अझ परिवारकै सल्लाह र सहयोगमा उनले न्यू जर्सीस्थित ‘परफर्मिङ आर्टस सेन्टर युथ परफर्मेन्स वर्कसप’ मा नाम लेखाएकी थिइन् । १८ वर्ष उमेर टेकेपछि ‘रेन्ट’ नामको एउटा थिएटर प्रोडक्सनमा सहभागी भइन् । त्यसपछि ब्रोडवे प्रोडक्सनमा सहभागी भइन् । यसमा उनले एन्जेल नामबाट आफ्नो भूमिका निर्वाह गरिन् । यो भूमिकाले उनको जीवनमै परिवर्तन ल्याइदियो । ‘एलजीबीटीक्युएआई’ समुदायको एक सदस्यका रूपमा रहेकी उनी यो समुदायको प्रतिनिधित्व गर्नु कति महत्वपूर्ण छ भन्ने कुरा उनलाई राम्ररी थाहा छ । उनी सिंगो समुदायका लागि सकारात्मक अवसर प्रदान गर्नेप्रति सधैं सचेत छिन् । साथै यसका लागि आफ्ना मञ्चहरूको उपयोग पनि गरिरहेकी छन् । उनी युवाहरूलाई आफ्नो शक्तिको उपयोग गर्न उत्प्रेरित गर्छिन् । 

पोज’ मा निर्वाह गरेको आफ्नो भूमिकाझै उनी आफ्नो वास्तविक जीवनमा पनि संगीतलाई रुचाउँछिन् । उनी फुर्सदको क्षणमा गायन र नृत्यबाट मनोरञ्जन लिन्छिन् । उनी सोसल मिडियामा आफूले प्रदर्शन गरेका क्लिपहरू साझा गर्छिन् । 

पछिल्ला वर्षहरूमा पाएको सफलताका लागि उनी सबैप्रति आभारी रहेको बताउँदै लोकप्रियताको शिखरमा कायम रहनु धेरै चुनौतिपूर्ण काम भएको स्वीकार गर्छिन् । सबैको ध्यान आफूमाथि केन्द्रित गर्न उनी कुनै कसर बाँकी राख्न चाहन्नन् । त्यसैले आफ्नो दिनचर्यालाई नियमित बनाउने प्रयासमा रहन्छिन् । 

एमजे रोड्रिगुएज अभिनीत अमेरिकी टिभी शृंखला ‘पोज’ वास्तवमै ‘पोज शैलीकृत’ नाटक हो । यो न्यूयोर्क सहरका अफ्रिकी–अमेरिकी र ल्याटिनो एलजीबीटीक्यु तथा १९८० को दशकको अस्वाभाविक लैङ्गिकता संस्कृतिसँग सम्बन्धित छ । यो नाटकले त्यसताका अस्वाभाविक मानिएका तेस्रो लिङ्गीहरूको भूमिगत संस्कृतिलाई सतहमा ल्याउने काम गरेको छ । एमजे ‘रेन्ट’ अफ ब्रोडवे र ‘पोज’ मा ब्लांकाको भूमिकाबाट ब्रेकथ्रु गर्ने नायिका र गायिका हुन् । 

टेलिभिजन सिरिज ड्रामा हलिउड फरेन प्रेस एसोसिएसन (एचएफपीए) द्वारा सर्वश्रेष्ट अभिनेतृका लागि वार्षिक रूपमा प्रदान गरिने पुरस्कार हो ‘गोल्डेन ग्लोब अवार्ड’ । अमेरिकी चर्चित यो अवार्ड टीभी सिरिजमा उत्कृष्ट अभिनय गर्ने अभिनेतृलाई प्रदान गरिन्छ । एमजेले ‘ट्रान्स–वुमन’ का रूपमा पहिलो पटक उक्त अवार्ड पाएकी छन् । पुरस्कार पाएपछि केहीले उनको आलोचना पनि गरेका छन् । तर, उनी निर्धक्क भई आचोलना गर्नेहरूलाई भन्ने गर्छिन्, ‘मलाई महिलाका रूपमा देख्न नचाहनेहरूले मेरो आलोचना गरिरहेका छन् ।’

(एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>