प्रेममा समता

 लक्ष्मी भण्डारी

फाल्गुन २, २०७८ हरेक जोडीले एक–अर्काको कमजोरी र बलियो पक्षलाई स्वीकार गर्दै, सिक्दै र सिकाउँदै अगाडि बढ्दा सम्बन्ध सफल हुन्छ । फरक सोच, संस्कार र परिवेशबाट आएका दुई व्यक्ति जब एक हुन्छन् त्यसलाई वैवाहिक सम्बन्धको नाम दिइन्छ । नेपालमा महिला र पुरुषबीचको वैवाहिक सम्बन्धलाई मात्र कानुनी मान्यता छ । तर, फरक लैङ्गिक पहिचान र यौनिकता भएका बीचमा पनि वैवाहिक सम्बन्ध हुनसक्छ भन्ने विषयलाई यहाँ कानुनी मान्यता छैन । यसका बाबजुद आफ्नो आत्मा र भावनालाई आधार बनाई जीवनभर एक–अर्काको भएर बाँच्ने कसम खानेहरू पनि भेटिन्छन् । यो अंकमा त्यस्ता जोडीको विषयवस्तु पस्कने जमर्को गरेका छौं । 

शिला गुरुङ (५२ वर्ष)

सीता राना (४२ वर्ष)

कानुनी मान्यता नपाएको तर आत्मा अनि मनको सम्बन्धकै कारण २६ वर्षयता शिला गुरुङ र सीता रानामगर सँगै बस्छन् । नेपालगञ्जस्थित ‘नौलो सिर्जन नेपाल’ का शिला बागलुङमा जन्मिए, एउटी छोरीका रूपमा तर उनलाई बाल्यकालदेखि नै केटी साथी कहिल्यै मन परेन । सानैदेखि कबड्डी, फुटबलमा रुचि राख्ने उनी जहिले डोरी बाँधेको हाफ पाइन्टमा ठाँटिन रुचाउँथे । आमा खीरमती गुरुङले रातो रिबनले कपाल चिरिच्याट्ट पारेर बाँधिदिन्थिन्, हातभरि राता चुरा लगाएर स्कुल पठाउँथिन् तर फर्कने बेला शिलाको हातमा न चुरा हुन्थ्यो न रिबन । उनलाई उही बेलादेखि लैंगिक रूपमा फरक यौनिकता भएको व्यक्ति रहेछ भन्ने लाग्थ्यो । उता सीताको जन्म सुर्खेतमा भएको हो । उनी दुइ वर्षकी हुँदा आमा बितिन्, बुवाले अर्की ल्याए । उनलाई फुपूले हुर्काएकी हुन् ।

यी दुईको भेट ०५४ ताका सुर्खेतमा भयो । शिलाका साथी प्रहरीमा उतै कार्यरत थिए । घुमघामका क्रममा शिला सुर्खेत पुग्दा सीतासँग भेट हुने अवसर जुर्‍यो । पहिलो भेट स्मरण गर्दै शिला भन्छन्, ‘सीतालाई देखेर मख्ख परें । राम्री र सुशील लाग्यो । भावनाले तान्यो ।’ सीता भने पहिलो भेटमै मन पराउनुभन्दा पनि क्रमशः उठबस गर्दै जाँदा अझ निकट रूपमा एक–अर्कालाई चिन्ने मौका मिलेको र शिलाको व्यावहारिक पक्षले आफूलाई आकर्षित गरेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यो जमानामा राम तेरी गंगा मैली भन्ने फिल्म हेर्न सँगै हलसम्म पुगेका थियौं । नजिकिने क्रममा सुख–दुःख साटासाट भयो ।

यी दुईको जीवनमा धेरै उतारचढाव आए । पहिलो भेटपछि दुवै सम्पर्कविहीन बन्न पुगे । त्यसताका टेलिफोन, मोबाइल, सामाजिक सञ्जाल थिएन । एक–अर्काको ठेगाना पनि थाहा थिएन । पाँच वर्षपछि एउटा कार्यक्रममा शिलाले नेपालगञ्जमा सीताकी माइजूलाई भेटिन् । दुवैबीच कुराकानी हुँदै जाँदा आफ्नी भाञ्जीले कुरा गरेको र फोटो देखाएको व्यक्ति उनै हुन् भन्ने निर्क्यौल भयो । त्यसपछि मात्र उनीहरूबीच चिठीपत्र आदान–प्रदान हुन थाल्यो । उतिबेला शिला एक सभासदको स्वकीय सचिव भएर काम गरिरहेका थिए । ०५८ मा शिला र सीता बर्दिया झरे । बर्दियामा रहेका बेला माओवादीको बिगबिगीले त्यहाँ बस्न सक्ने अवस्था भएन र उनीहरू  नेपालगञ्ज फर्के । सीता भन्छिन्, ‘चिनेको माइजू पर्ने कहाँ १५ सय रुपैंयाँ कोठा भाडा तिर्ने गरी बस्न थाल्यौं । जीवनमा धेरै संघर्ष गर्‍यौं तर साथ छुटेन । उहाँले १५ सय मासिक तलब पाउने गरी जिफन्डमा काम सुरु गर्नुभयो । गुजाराका लागि फरक–फरक जागिरका साथै किराना पसलसम्म थाप्यौं । आत्मीय तथा भावनात्मक रूपमा सम्मानका साथ २६ वर्षदेखि सँगै बसेका छौं । तर यो सम्बन्धलाई कानुनी मान्यता नदिँदा कतिपय अप्ठ्याराहरू झेल्न परिरहेको छ । हाम्रो पहिचानको लडाइँ अझै सकिएको छैन । हामी आफ्नो पहिचान र अधिकारका लागि लडिरहेका योद्धा हौं । यो समुदायको जोडीलाई सरकारले कानुनी मान्यता दिए विकृति, आत्महत्या र मानसिक विचलन बढ्दैनथ्यो कि ?’

शिलाले झोलाभित्र अधिकार बोकेर हिँड्न थालेको ३५ वर्ष भन्दा बढी भइसक्यो तर अहिलेसम्म यो लडाइँबाट सास फेर्ने फुर्सदसम्म नपाएको उनको भनाइ छ । लैंगिक वा यौनिक रूपमा फरक हुनु प्राकृतिक कुरा भएको उनको प्रतिक्रिया छ । उनका अनुसार यो समुदायका कतिपय जोडी कानुनी मान्यताको अभावमा तनाव र डिप्रेसनको सिकार भइरहेका छन् जसले आत्महत्या गर्ने अवस्थासम्म पुर्‍याएको छ । 

जब शिला र सीतासँगै भए तब असाध्यै व्यावहारिक र परिपक्व हुँदै गएको यी दुईको अनुभवले बताउँछ । सुरुवाती दिनमा केही प्रतिक्रिया आए पनि अहिले उनीहरू दुवैको परिवारमा दुवैका लागि उच्च सम्मान मिलेको छ । सीताको इमान्दारीले शिलालाई नतमस्तक बनाउँछ भने शिलाको सहयोगी भावनाले सीतामा उनीप्रति झन् प्रेम र विश्वास झाँगिदै गएको छ । इमान्दारी, विश्वास र प्रेमले सम्बन्ध बलियो हुन्छ भन्नेमा विश्वास गर्ने उनीहरू यो जीवन एक–अर्कामा समर्पित गरिसकेको बताउँदै भन्छन्, ‘छुट्टिने त कल्पनै गर्न सकिँदैन । 

 

माया गुरुङ (३६ वर्ष)

सुरेन्द्र पाण्डे (२४ वर्ष)

पुरुषका रूपमा लमजुङमा जन्मिएका माया गुरुङलाई आठ–दश वर्षको उमेरदेखि 

आफ्नो पहिचान थाहा हुन थाल्यो । गाजल–टीका लगाएर, महिलाको पहिरनमा सजिएर नाचगानमा सरिक हुन पाउँदा उनलाई औधी खुसी लाग्थ्यो । उनको बाल्यकाल लमजुङको पाखापखेरामा घाँस–दाउरामै बित्यो । तर उनले आमाको दुःख देखेर आफू यस्तो हुँ भन्न सकेका थिएनन् । उनलाई लाग्थ्यो यो कुराले आमालाई अझ बढी दुःखी बनाउनेछ । उनी भन्छन्, ‘१० वर्ष हुँदा गुरुङहरूको चाडमा भाग लिन काठमाडौं पुगें । दुई दिन बसेर फर्किएँ । एक वर्ष बसेर फेरि भागेर काठमाडौं पुगें । गौशालाको धर्मशालामा रात बिताएँ । भोलिपल्ट गौशालाको होटलमा भाँडा माझ्ने काम पाएँ । अँध्यारो कोठामा गुम्सिएर भाँडा माझ्दा रातदिन थाहा हुँदैनथ्यो । त्यसरी चार वर्ष कटाएँ ।’

जब मायाको उमेर छिप्पिँदै गयो उनले भाँडा माझ्ने काम छाडी रेस्टुरेन्टमा काम गर्न थालिन् । त्यतिबेलासम्म उनको परिवार नवलपरासीको कावासोती बसाइ सरिसकेको थियो । उनी जाने–आउने गरिरहन्थिन् । त्यही क्रममा भेट भए सुरेन्द्र पाण्डे । मायाको दिदीको होटल नजिकैको अर्को होटलमा सुरेन्द्र काम गर्थे । उनीहरूको भेटघाट बाक्लिंदै जान थाल्यो । सुरेन्द्र भन्छन्, ‘म पनि दुःख पाएको मान्छे । छ वर्षको उमेरमा आमाबुवा बित्नुभयो । मामाघर बसेर पढेको । हाफ छुट्टीमा गोबर सोरेर, गाईवस्तुलाई घाँस–पराल गरेर स्कुल फर्किनुपर्थ्यो । साथीहरू गोबर गन्हायो भनेर हेप्थे, गिज्याउँथे । यस्तैमा मायासँग भेट भयो । उनी उता जाँदा पुरुषकै पहिरनमा हुन्थिन् । दाजुभाइ भएर खुब हिँडियो । सुख–दुःख साटासाट गरियो । उनैले मलाई काठमाडौं लिएर आएका हुन् । यहाँ आएपछि उनको पहिरन, हाउभाउ देखेर उनी यस्तो भन्ने थाहा भयो । सँगै बस्दै जाँदा मन मिल्यो । विवाह गर्‍यौं ।’

माया र सुरेन्द्रको विवाह विधिपूर्वक बाजागाजाका साथ सम्पन्न भएको थियो । हाल उनीहरू संसारकै खुसी र भाग्यमानी महसुस गरिरहेको बताउँछन् । मायालाई भेटेपछि मात्रै आफू फरक पहिचान बोकेको व्यक्ति रहेछु भन्ने कुरा थाहा भएको बताउने सुरेन्द्र आफ्नो जीवनमा मायाको आगमनले खुसी भरिदिएकोमा दंग छन् । मायालाई भने बच्चा जन्माउने ठूलो रहर छ तर एडप्ट गर्न भने मन छैन । ‘रहर त छ तर सम्भव छैन । अर्काको बच्चालाई आफ्नो बनाए पनि हाम्रो समुदायमा थुप्रै व्यवधान छन् । नागरिकताको सवाल छ, पछि सम्पत्तिको कुरा आउँछ तसर्थ हामीले यो सहज देखेनौं’ दुवैले एकस्वरमा भने । 

विवाहपछि जिम्मेवारी बढेको दुवैलाई बोध भइरहेको छ । माया, प्रेम र विश्वासले सम्बन्धलाई प्रगाढ बनाउँछ भन्ने बुझेका सुरेन्द्र आफूले चाहेको कुरा पाउँदा जीवन सुन्दर भएको बताउँछन् । सुरुमा उनीहरूले परिवार, आफन्त र समाजबाट नमीठो पीडा भोग्नुपरे पनि अहिले आएर सबै कुरा बिस्तारै ठीक हुँदैछ । मायालाई सुरेन्द्रको थोरै बोल्ने र संवेदनशील बानी तथा व्यवहारले तानेको छ । सुरेन्द्र भने मायाको परिपक्वता, व्यावहारिक पक्षले आफू आकर्षित भएको बताउँछन् । घरायसी कामदेखि पैसा कमाउने कुरासम्म दुवैको समान सहभागिता छ । तेस्रो लिंगी समुदायबाट प्रथम नायिका मायाको सौन्दर्यमा सुरेन्द्र मख्ख नहुने कुरै भएन । भन्छन्, ‘उनको रूपजस्तै छ मन पनि । संग्लो, निश्छल, निष्कपट । मायालाई तेस्रो लिंगी समुदायका जोडीलाई सर्वप्रथम परिवारबाटै माया, साथ र सहयोगको खाँचो छ भन्ने लाग्छ ।’ आफूहरूलाई हेरेर धेरैजना तेस्रो लिंगी जोडीले साहस र हिम्मत जुटाएर अगाडि बढेको सुरेन्द्रको भनाइ छ । यति हुँदाहुँदै पनि कानुनी मान्यता नपाउँदाको पीडा भोगिरहेको यो जोडी सरकारले हरेकलाई समान मानव ठानेर यस विषयमा पनि गम्भीर भई कानुनी अधिकार प्रदान गरिदिए सामाजिक विकृति घट्ने यी दुवैको तर्क छ ।

 

मनिला न्यौपाने (३१ वर्ष)

प्रकाश चौधरी (३१ वर्ष) 

 

दाङको तुल्सीपुरमा जन्मिएका मनिला न्यौपानेकी आमाले अझैं पनि उनलाई भेट्दा छेड हानिरहन्छिन्–मेरो भाग्यमा बुहारी व्यहोर्न लेखेको रहेनछ । छोराका रूपमा जन्मिएका मनिलालाई हुर्कदै जाने क्रममा आठ वर्षको उमेरमा आफू फरक लैंगिकता तथा यौनिकता भएको व्यक्ति भनेर पहिचान भयो । भन्छन्, ‘छोराको रूपमा जन्मिए पनि मभित्र महिलाको गुण रहेछ । ममीको साडी लगाएर, कपडाको कपाल बनाएर नाचेको ठूलोबुवाले देख्नुभयो । मर्द भएर यसो गर्ने हो भनेर गाली गर्नुभयो । पुरुषहरू अगाडि पर्दा लाज लाग्थ्यो । दिदीबहिनी केटी साथी मन पर्थे । २४ वर्ष पुगेपछि महिलाको भेषमा हिँड्न थालें ।’

मनिला दाङ छोडेर भैरहवा बस्न थालिन् । तर दाङ जाँदा भने उनी केटाकै भेषमा जाँदा कसैले केही भन्दैनथे । उता छोरीका रूपमा कैलालीमा जन्मिएका प्रकाशलाई कहिल्यै घाँघर–चोली मन परेन । पुरुषको पहिरन लगाउँथे । १५ वर्षमा माओवादी प्रवेश गरेका प्रकाशको तीन वर्ष पार्टीमै बित्यो । ‘ब्लु डायमण्ड सोसाइटी’ को धनगढीमा भएको एक कार्यक्रममा मनिला र प्रकाशको भेट भएको हो । देख्नेबित्तिकै मनिलालाई प्रकाश अत्यन्तै भद्र लागे । सोसाइटीकै क्षेत्रीय कार्यालयमा सिनियर पोस्टमा काम गर्ने मनिला सुदूरपश्चिमाञ्चलबाट मिस पिंक र प्रकाश मिस्टर पिंक छनोट भएर काठमाडौं आएका थिए । निकटता झाँगिदै गएको क्षण स्मरण गर्दै मनिलाको भनाइ छ, ‘त्यो क्रममा एकापसमा धेरै कुरा साटासाट भए । दुवैको अरु कसैसँग विवाह भए पनि त्यो दिगो हुँदैन र अरु दुईपरिवारको समेत जिन्दगी बर्बाद हुन्छ भन्ने हामी दुवैलाई महसुस भयो । तर समस्या कहाँनेर आइदियो भने सन् २००९ ताका समलिंगी, तेस्रो लिंगीबीच मात्र सम्बन्ध हुने र हामीजस्ता यौनिकता भएका मानिसलाई हाम्रै समुदायकाले पनि सहयोग नगरेको अवस्था थियो । त्यसैले हामी छुट्टिनुपर्‍यो ।’

त्यसपछि प्रकाश कामका लागि भारततर्फ लागे । मनिलाको सरुवा भैरहवा भयो । सन् २०१७ मा प्रकाश नेपाल फर्किएपछि उनीहरूको पुनः मिलन भयो । प्रकाश भन्छन्, ‘मैले नै प्रेम प्रस्ताव राखेको थिएँ । बीचमा छुट्टिनुपर्दा असाध्यै गाह्रो भयो । फेरि छुट्टिन नपरोस् भनेर हामीले दुई वर्षअघि विवाह गर्‍यौं । हाल माया, प्रेम, विश्वास एवं खुसीसाथ सम्बन्ध अगाडि बढिरहेको छ । तर हामीलाई वैवाहिक कानुनी मान्यता प्राप्त नहुँदा समस्या यथावत् छ ।

उनीहरूबीच यो काम महिलाले र यो पुरुषले गर्ने भन्ने छैन । दुवै मिलेर खाना पकाउने, लुगा धुने, घर सरसफाइ गर्नेलगायत कमाउने काम गर्छन् । दुईबीच बलियो विश्वास छ । विश्वास, आपसी समझदारी र प्रेमले सम्बन्ध प्रगाढ बनाउने उनीहरूको धारणा छ । प्रकाशको प्रेममा निथ्रुक्कै भएर रुझ्ने चाहना आफूमा कहिल्यै नघटेको बताउँदै मनिला भन्छिन्, ‘हामी बच्चैदेखि मायामा तड्पिरहेका हुन्छौं । हाम्रा लागि मायाभन्दा ठूलो अरु केही हुँदैन । त्यसैले होला मभित्र पनि आमा बन्ने, मातृत्वलाई नजिकबाट नियाल्ने रहर पनि छ । तर सबै रहर कहाँ पूरा हुन्छन् र ?

विवाहको दुई वर्ष हुँदा पनि उनीहरूले खुलेर परिवारलाई भन्न सकेका छैनन् । वैवाहिक सम्बन्धलाई पवित्र बन्धन, अनुशासनको परिधिभित्र बाँधिएर बस्ने कसीका रूपमा बुझेका उनीहरू अनन्तसम्म सँगै हुने कसम खाएको बताउँछन् । मनिलालाई प्रकाशको उचाइ, शान्त स्वभाव र भावना बुझ्ने बानी मन पर्छ भने प्रकाशलाई मनिलाको सुन्दर मुहारका साथै बानी–व्यवहार र मायाले तानेको छ । मनिला भन्छिन्, ‘वैवाहिक जीवनमा बाँधिएका र बाँधिन चाहने हाम्रो समुदायका मानिसले धेरै कानुनी बाधा झेल्नुपरेको छ । हाम्रो मन र आत्माको सम्बन्ध मात्रै हो भोलि केही परिहाल्यो भने कुनै कानुनी आधार छैन, यही कारणले पनि कतिपय हाम्रा साथीहरू ठगिने, हिंसामा पर्ने गरेका छन् । हामी अझैसम्म पहिचानका लागि लडिरहेका छौं वैवाहिक कानुनी मान्यता त परको कुरा । र पनि हामीले हिम्मत जुटाएर गरेरै छाड्यौं ताकि भोलि आउने हाम्रा भाइबहिनीहरूलाई बाटो खुलोस् ।’

 

धीरज बस्नेत (१८ वर्ष)

आर्थिक बस्नेत (१९ वर्ष)

 

वर्ष दिनअघि समलिंगी विवाहको एउटा भिडियो निक्कै भाइरल भयो । उक्त भिडियो टिकटक र फेसबुक स्टोरीमार्फत हरेकको हातहातमा पुग्यो, त्यो जोडी थियो धीरज र आर्थिक बस्नेतको । यही क्रममा परिवारले पनि सामाजिक सञ्जालमार्फत उनीहरूको विवाहबारे थाहा पाए । त्यो दिन आर्थिक फोन स्विच अफ गरेर बसिदिए । भोलिपल्ट बिहान हजारौं सन्देश र कल आइरहेका थिए । उनले घरकालाई मेरो जिन्दगी हो, म जसरी खुसी हुन्छु त्यही गर्छु भनेर फोन काटिदिए ।

रामेछापमा आर्थिक र मोरङ उर्लाबारीमा धीरजको जन्म भएको हो । उनीहरूको बाल्यकाल खासै सुखद् रहेन । बाल्यावस्थादेखि नै उनीहरू फरक हाउभाउमा हिँड्थें । धीरजको भन्छिन्–हाम्रो आर्थिक अवस्था कमजोर थियो । बुवाले स्कुलमा कुक र गार्डको काम पाउनुभयो । मलाई र भाइलाई पनि बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने मौका मिल्यो । बुवाको कमाइले आर्थिक अवस्थामा केही सुधार आउन थाल्यो । म ५ कक्षा पढ्दा भिन्न रहेछु भन्ने लाग्यो । कतिले छक्का, हिजडा भनेर जिस्क्याउँथे, हिंसा गर्थे । पुरुषका रूपमा जन्मिएको ममा युवती हुने रहर त्रीव्र हुँदै जान थाल्यो ।

उता आर्थिकको प्रारम्भिक शिक्षादीक्षा अंकल–आन्टीसँग बसेर काठमाडौंबाट पूरा भयो । घरायसी आर्थिक अवस्थाले विदेसिएका उनका बुवा जब गाउँ फर्केर बैंकमा काम गर्न थाले तब परिवारमा आर्थिक सहजता हुँदै गयो । आर्थिकको भन्छन्–म जन्मिएपछि घरको अवस्था फेरिँदै गएको भन्नुहुन्छ ममी । १० वर्षको उमेरपछि मलाई केटा नै मन पर्दोरहेछ भन्ने थाहा भयो । उनीहरूसँगै रातदिन घुम्ने, रमाउने गर्न थालें । केटासँगै जीवन बिताउँछु भन्ने लाग्न थाल्यो । अनि फेसबुकमा धीरजसँग भेट भयो मैले नै फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ उताबाट कुनै प्रतिक्रिया नआएपछि ब्लक गरिदिए ।’

छ महिना बितेपछि आर्थिकले फेरि फेसबुकमा अनब्लक गरेर धीरजलाई फ्रेन्ड रिक्वेस्ट पठाए । उताबाट एसेप्ट भएपछि कुराकानी अगाडि बढ्दै गयो । आर्थिकले प्रेम प्रस्ताव राखेपछि धीरजले स्वीकार गरेको दुवैले बताउँछन् । उनीहरूबीच घन्टौं भिडियो कल चल्न थाल्यो । आर्थिकले धीरजलाई काठमाडौं बोलाए । दिएको समयभन्दा १५ दिन अगाडि नै धीरज काठमाडौं पुगेको अनुभव दुवैले साटे । पहिलो पटक भेट्दाको अनुभव साट्दै आर्थिक भन्छन्, ‘मलाई अत्यन्तै मायालु र राम्री लाग्यो । एअरपोर्टमा खासै कुरा भएन । मेरो कोठामा पुगेपछि छतमा गएर टिकटक बनायौं ।’

धीरजलाई विवाहपछि जीवन खुसी र रमाइलो हुँदै गएझैं लाग्छ । विवाहलगत्तै नकारात्मक प्रतिक्रिया आए पनि अहिले दुवैको परिवारले स्वीकार गरिसकेका छन् । धीरजलाई पनि अन्य जोडीकै जस्तो बालबच्चा भइदिए हुन्थ्यो जस्तो लाग्छ । तर उनीहरू पनि नागरिकतालगायतका विषयमा अप्ठ्यारो पर्ने हुँदा बच्चा एडप्ट गर्ने सोचमा छन् । धीरज भन्छिन्, कानुनी प्रमाण नहुँदा गाह्रो त हुन्छ नै र पनि एक–अर्काको मन र भावना बाँधिएको छ । हामीलाई प्रेम नै संसारमा उत्कृष्ट कुरा हो भन्ने लाग्छ ।

धीरजलाई आर्थिकको सहयोगी भावना र मायालु व्यवहार असाध्यै मन पर्छ भने आर्थिकलाई धीरजको विश्वास र प्रेम । डेढ वर्षको प्रेम सम्बन्धमा यो जोडीले थुप्रै रमाइला पल बितायो । धीरज भन्छिन्, आर्थिकको दिदीको घर सिन्धुली जाँदा चार–पाँच घण्टा खुट्टाले हिँड्दै रमाइला कुरा गर्दै, पानीपुरी चटपटे खाँदै बाटो कटाउँथ्यौं, त्यो क्षण अहिले सम्झिदा खुसी लाग्छ ।

सम्बन्ध बलियो बनाउन विश्वास, एक–अर्काप्रतिको सम्मान र प्रेमले प्रमुख भूमिका खेल्ने बताउने उनीहरू उदाहरणीय बन्न सकेकोमा गौरवान्वित छन् । आफूहरू खुलेर बाहिर आएपछि अन्य थुप्रै जोडीलाई पनि प्रेरणा मिलेको उनीहरूको बुझाइ छ । उनीहरू दुवैले एकै स्वरमा भने– हामी मानव संसारकै उत्कृष्ट र सर्वश्रेष्ठ प्राणी हौं । हामीलाई परिवारले नस्वीकारे पनि आफैं त्यो वातावरण बनाउनुपर्छ । आत्तिनु हुँदैन, धैर्य गर्नुपर्छ । 

 

विनोद सुनार (३२ वर्ष)

पूजा थापा (३२ वर्ष)

 

यो जोडी सँगै बस्न थालेको १४ वर्ष भयो । उही प्रेम, उही अटल विश्वास र उही आकर्षण, कुनै कुरामा कमी आएको छैन । विनोद सुनार र पूजा थापाको जोडीमा समय घर्कंदै जाँदा यी कुरा झन् बढ्दै गएका छन् । उनीहरूको जीवनमा धेरै उतारचढाव आए तर प्रेममा कहिल्यै कमी आएन । सँगै मर्ने–बाँच्ने कसम खाएको यो जोडीले खुसीका साथमा जीवन बिताइरहेको छ ।

बाल्यकाल स्मरण गर्दै विनोद भन्छन्, ‘शैक्षिक क्षेत्रमा पहिरनको कारणले स्कुलले विभेद गर्‍यो । ममाथिको दाइ बितेको एक वर्षमा म जन्मेको मेरो बुवाको रहर मलाई छोरा बनाउने थियो । त्यसैले पनि म छोरी मान्छे हो भन्ने नै महसुस भएन । जन्मजात म छोरा नै हुँ भन्ने लाग्यो । १६ वर्षमा आफैंले पहिचान खुलाएँ । परिवारबाट मलाई कुनै विभेद भएन ।

गुल्मीकी पूजा थापाको कथा अलि फरक छ । घरकी जेठी छोरी, भाइबहिनीको विवाह भइसक्दा पनि आफू विवाह नगर्ने अड्डी कसेर बसिरहिन् । जब विनोदसँग भेट भयो तब मात्रै उनमा फरक यौन आकर्षण रहेछ भन्ने पत्ता लाग्यो । उनी भन्छिन्, सुरुमा त मैले स्वीकार गरेकै थिइन । उहाँले पछ्याएको, मलाई माया गरेको र म बिरामी पर्दा हेरविचार गरेको देखेर यो मान्छेसँग म जीवन बिताउन सक्छु भन्ने लाग्यो । भेटेको तीन महिनामै विवाह गर्‍यौं । अनि परिवारलाई मेरो जिन्दगी मलाई नै छोडिदिनू, बहिस्कृत हुन पनि तयार छु भनिदिएँ ।

विनोद २०६३ सालमा म काठमाडौंबाट फर्किदै थिए । पूजाले काम गर्ने ठाउँ र उनको केटी साथीले काम गर्ने ठाउँ एउटै थियो । त्यही बेला साथी भेट्न जाँदा पूजासँग उनको भेट भयो । त्यो दिन सामान्य कुराकानी भयो । तर विनोदको एकोहोरो माया केही दिन पछि नै सुरु भयो । बिस्तारै नजिकिँंदै गए । उनी भन्छन्, ‘म दुब्लो–पातलो थिएँ । पूजाले मलाई भाइ भन्थिन् । मसँग नजिक हुन उनलाई तीन महिना लाग्यो । नजिकिएको तीन दिनमै विवाह गर्‍यौं । सामान्य तरिकाले सिन्दूर हालियो । उनको साथ पाएँ, जिन्दगी पाएँ ।’

विनोद भन्छन्, ‘परिवारले स्वीकार गरे पनि भाडामा बस्दा कतिपय ठाउँमा साथी–साथी मात्रै हो भनेर बस्नुपर्ने बाध्यता छ । सबैले हाम्रो समुदाय र सम्बधलाई बुझ्दैनन् । अफेयरमा हुँदा कमाउने मतलब हुदैनथ्यो । विवाहपछि जिम्मेवारी थपिएको दुवैले महसुस गरेका छन् । उनीहरूले छोरी एडप्ट गरेको चार वर्ष भयो । कानुनले मान्यता नदिएकाले भोलि नागरिकतामा पनि अप्ठ्यारो हुन्छ कि भन्ने उनीहरूलाई त्रास भइरहन्छ । पूजा भन्छिन्, ‘कानुनी मान्यता नहुँदा धेरै कुरामा अप्ठ्यारो छ । उहाँले जति कमाए पनि भोलि मरेर गइहाले हकदावी गर्ने ठाउँ छैन ।’ राज्यले सहज तरिकाले जिउने वातावरण बनाइदिए हुन्थ्यो भन्ने उनीहरूलाई लाग्छ । नागरिकता, पासपोर्टलगायतका कुरामा अझै पनि बाधा छ । संविधानको धारा १२, १८, ४२ मा सामाजिक न्यायको हकमा लैंगिक, अल्पसंख्यकका कुरा उल्लेख छन् तर लागू भएको छैन ।

यो समुदाय आफ्ना हक, अधिकार र पहिचानका लागि सरकारसँग लडिरहेको छ । सरकारको धारणा भने यससम्बन्धी कतिपय कुराले समाजमा विकृति ल्याउँछ भन्ने बुझाइ रहेको विनोद बताउँछन् । उनका अनुसार कानुनी मान्यता नदिँदा अहिले विकृति भइरहेको छ । जबरजस्ती विवाह गरिदिँदा दुई परिवारको बिचल्ली भइरहेको छ । विनोदले भने, ‘अहिले कसैलाई जबरजस्ती हामी जस्तो बनाउन खोजेर बन्न सक्ने हो र ? कानुनले बाँधिदिए विकृति हट्छ । नकारात्मक काम नगराउनका लागि राज्यले केही न केही गर्न गर्नैपर्छ । अहिलेको जनगणनामा पनि हाम्रो संख्या उल्लेख नै छैन । र पनि हाम्रो समुदायलाई सरकारले पहिलाभन्दा माथि उठाएको छ । केही नभए पनि यिनीहरू छन् त भनिदिएको छ । पर्याप्त कानुन भने आएका छैनन् । हाम्रो विषयमा कक्षा ६, ७, ८ को स्वास्थ्य जनसंख्या विषयमा उल्लेख छ । एक कक्षादेखि नै लेखिनुपर्छ । सरकारले हामीजस्ता समुदायलाई विवाहको मान्यता दिनुपर्छ । समुदायका साथी एकजुट हुनुपर्छ, एकछिन लडेर अधिकार प्राप्त हुँदैन । हामी लड्यौं भने पछिल्लो पुस्तालाई सहज हुन्छ ।’

 

पिंकी गुरुङ

अध्यक्ष, ब्लु डायमण्ड सोसाइटी

हाम्रो समाजमा तेस्रो लिंगीहरू जोडीका रूपमा बसेका धेरै छन् । कानुनी मान्यता नपाउँदा कतिपयले सास्ती खेपिरहेका छन् । तिनीहरू सम्बन्धमा त बस्छन् तर मानसिक तनाव झेलिरहेका हुन्छन् । किनभने परिवार, समाज र राष्ट्रले नै यस्तो सम्बन्धलाई स्वीकार गर्दैन । यस्तो सम्बन्धलाई मान्यता प्रदान गर्न केहीले प्रयास भने जारी राखेका छन् । त्यसै क्रममा, सन् २००४ मा पहिचानको अधिकार, विवाह र समानताको अधिकार विषयमा अदालतमा रिट पर्‍यो । त्यसको तीन वर्षपछि समलिंगी विवाहका लागि सात दलीय समिति गठन र अध्ययन गरी प्रतिवेदन बुझाउने निर्देशन भयो । त्यही निर्देशनबमोजिम सन् २०१३ मा प्रधानमन्त्री कार्यालयलाई एउटा प्रतिवेदन बुझाइयो । प्रधानमन्त्री कार्यालयले त्यसलाई महिला मन्त्रालयलाई सुम्पिदियो । उक्त मन्त्रालयले कानुन बनाउने जिम्मा आफूहरूको नभएको जनाउँदै प्रधानमन्त्री कार्यालयमै प्रेषित गरिदियो । 

समान वैवाहिक अधिकारले विकृति ल्याउँछ कि भन्ने बुझाइ धेरैको छ । तर, त्यो भन्दा ठूलो विकृति र पीडा त हाम्रो समुदायभित्र छ । किनभने तेस्रो लिंगीबीच सम्बन्धलाई कानुनी मान्यता छैन, पहिचानको कुरै भएन । कानुन अभावमा यस्ता जोडीहरूले ठूलो पीडा बेहोरिरहेका छन् । सरकारले तेस्रो लिंगी विवाहलाई कानुनी मान्यता नदिँदा हामी हरेक दिन बलात्कृत भइरहेका छौं । यो बाध्यताले हामी मारमा परेका छौं । सरकारले कानुनी अधिकार प्रदान गर्न सके यी र यस्ता थुप्रै विकृति, विसंगतिहरू बन्द हुने हाम्रो ठहर छ । यसले समाजमा बढ्दो डिभोर्स र आत्महत्याका घटना कम हुँदै जानेछन् । सन् २०१३ मा उमेर पुगेका कुनै पनि वयस्कहरूसँगै बस्न पाउँछन् भनेर एउटा मुद्दामा सर्वोच्चले निर्णय गरिदियो तर त्यो व्यक्तिगत थियो जसले सम्पूर्ण समुदायलाई समेट्न सकेन ।

 

भरत शर्मा

उप–सचिव महिला मन्त्रालय

हामीकहाँ आएदेखि त्यसलाई हामीले निरन्तर अगाडि बढाइरहेका छौं । समितिमा भएकाहरू, सम्बन्धित व्यक्तिहरूसँग छलफल पनि भयो । कानुन बन्नुअघि कन्सेप्ट नोट (अवधारणापत्र) बनाएर मन्त्रिपरिषद्ले पास गर्नुपर्ने हुन्छ । त्यसपछि बल्ल कानुनको विधेयक बनेर संसद्मा जाने हो । यसो त कानुन मन्त्रालयले दुई/चारवटा प्रक्रिया अघि बढाएको पनि छ । सम्पत्तिको अधिकार, बालबच्चा, धर्मपुत्रपुत्रीका विषयमा स्पष्ट आउनुपर्ने राय सुझाव कानुन मन्त्रालयबाट प्राप्त भयो । त्यसपछि हामीले सम्बन्धित निकायसँग सुझाव माग्यौं । अहिलेसम्म त्यसबारे सुझाव आइसकेको छैन । जहाँसम्म तेस्रो लिंगी विवाहको कुरा छ, देवानी संहितामा विवाह भनेको महिला र पुरुषबीचको सम्बन्ध हो भनेर लेखिदिएको छ । त्यसरी नलेखिदिएको भए समस्या नै थिएन । तर, यहाँ केही जटिलता देखियो । सम्पत्तिको बाँडफाँड, बच्चाको थरको कुरा, नागरिकताको कुरालगायतका विषयमा सोच्नुपर्ने भयो । मन्त्रालय यस विषयमा गम्भीर र सकारात्मक छ । तर, हामीले मात्रै गरेर टुंगिने विषय देखिएन, यो त राज्यले नै हेर्नुपर्ने विषय हो । आयमूलक कार्यक्रम सञ्चालन गर्न अहिले हामीले हरेक लैंगिक अल्पसंख्यक संस्थालाई अनुदान दिएका छौं । मन्त्रालयमार्फत उनीहरूप्रतिको नकारात्मक सामाजिक धारणा हटाउने विषयमा हामी सजग छौं । भूमिकाजीको विषयमा हाम्रै पहलमा महिला देखेर नागरिकता दिएकै हो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>