Successfully Copied

मौसमअनुसार हेयर शैली

जाडोमा धेरैलाई सताउने चायाँले हो । केशमा हुने चायाँ दुई प्रकारको हुन्छ । एउटा जरामा हुने, अर्को केशमा टाँसिएर बस्ने ।

राजु कुँवर

जाडो मौसममा कस्तो हेयर डिजाइन बढी रुचाइन्छ ?

जाडो मौसममा अलिक लामो केश राख्ने गरिन्छ । केश छोटो बनाउँदा न्यानो हुँदैन भन्ने धारणा छ । त्यसैले जाडो सुरु भएसँगै धेरैले केश नै काट्दैनन् । तर कतिपयले भने जाडोमा पनि आफूलाई स्टाइलिस देखाउन छोटो हेयर कटजस्तो वफ कट (थाई कट) रुचाएको पाइन्छ । 

उमेरअनुसार फरक–फरक शैलीका हेयर डिजाइन रोज्ने गरिएको छ ?

हो, किशोरावस्थाकाले मन पराउने शैली वयस्कलाई सुहाउँदैन । केशमा नयाँ शैली प्रयोग गर्ने भनेकै किशोरावस्थामा हो । यतिबेला जस्तो कट पनि सुहाउँछ । किशोरहरूले ‘प्लान कट’, ‘लङ वफ’ रुचाउँछन् । वयस्क महिलाले ‘मल्टी लेयर’ र ‘बटम लेयर’ मन पराउँछन् । 

पछिल्लो समय कस्तो हेयर कलर बढी चल्तीमा छ ?

‘बालियाज’ चल्तीमा छ । यसमा ‘एक्स ब्लन्ड’, ‘ग्रे, सिल्भर’ र ‘ह्वाइट’ बढी रुचाइन्छ । 

कलर कति प्रकारको हुन्छ र कति खर्च लाग्छ ?

हामीकहाँ यस्ता कलरका २३ वटा सेड छन् । ‘सोल्जर लेन्थ’ को केशमा हेयर कलर गर्दा सात हजार रुपैयाँबाट सुरु हुन्छ । 

केशको हेरचाहमा धेरैले गर्ने गल्ती के–के हुन् ?

धेरैले केशलाई कसरी स्याहार गर्ने भन्ने कुरामा ढंग पुर्‍याइरहेका हुँदैनन् । कस्तो स्याम्पु प्रयोग गर्ने, बाहिर हिँडडुल गर्दा कसरी घाम र धूलोबाट जोगाउने, कति दिनमा नुहाउने, कहिले र कसरी मसाज गर्ने, कस्तो तेल प्रयोग गर्ने भन्ने कुरामा चासो भए पनि धेरैलाई उचित जानकारी हुँदैन । बजारमा अनेकथरी स्याम्पु पाइन्छन् । त्यसको प्रयोग मात्रा र तरिका पनि त्यहाँ उल्लेख गरिएको हुन्छ । कुन स्याम्पु उत्कृष्ट हो, आफ्नो केशअनुसार कस्तो स्याम्पु प्रयोग गर्ने, कसरी गर्ने भन्ने कुरा थाहा हुनुपर्छ । 

जाडोमा धेरैले टोपी, सल, मफलरले केश ढाक्छन् । यसले केशमा के–कस्ता समस्या हुनसक्छन् ?

हो, जाडोमा धेरैले नियमित टोपी लगाउँछन् । मफलर वा सलले केश ढाक्छन् । जाडोबाट जोगिनका लागि यी उपाय सही भए पनि केशका लागि भने त्यति राम्रो हुँदैन । यसरी नियमित वा एकोहोरो टोपी, सल आदिले केश ढाकिरहँदा टाउको बाफिएर पसिना आउँछ । साथै केशको जरा कमजोर हुन्छ । केश रुखो हुने वा चायाँ पर्ने समस्या पनि यही कारणले हुनसक्छ । त्यसैले टोपी वा सल आदिले केश ढाके पनि नियमित रूपमा भने लगाउनु हुँदैन । बेलाबखत केश खुला छाड्नुपर्छ । 

बाइक, स्कुटर चलाउनेहरूले अनिवार्य हेलमेट लगाउनैपर्छ । हेलमेटका कारण पनि केशमा समस्या हुनसक्छ । यसबाट केशलाई बचाउने कुनै उपाय छ ?

हेलमेट लगाउँदा केशलाई कस्तो असर गर्छ भन्ने त मोटरसाइकल, स्कुटर चलाउनेहरूलाई थाहै हुन्छ । हेलमेटकै कारण कतिपयको केश अत्यधिक मात्रामा झर्छ । टाउको बाफिएर केशको जरा एकदमै कमजोर पनि हुन्छ । तर, हेलमेट नलगाई स्कुटर वा मोटरसाइकल चलाउने कुरा पनि आउँदैन । त्यसैले हेलमेट लगाउनुअघि स्कार्फ लगाउनुपर्छ अर्थात् स्कार्फले हल्का टाउको ढाक्ने र त्यसपछि हेलमेट लगाउने गर्नुपर्छ । हेलमेट खोल्नासाथ टोपी लगाउनु हुँदैन । 

जाडोमा धेरैजसोलाई केशको चायाँले सताउँछ । यसबाट छुटकारा पाउने उपाय के होला ?

जाडोमा धेरैलाई सताउने चायाँले हो । केशमा हुने चायाँ दुई प्रकारको हुन्छ । एउटा जरामा हुने, अर्को केशमा टाँसिएर बस्ने । एक खालको केशको रुटमा हुन्छ अर्को फिजी । फिजी सजिलै हटाउन सकिन्छ । केश नियमित सफा गर्दा, नुहाउँदा यो सजिलै हट्छ । तर, जरामा हुने चायाँ भने त्यस्तो हुँदैन । यसले केशलाई कमजोर बनाउँछ । नुहाउँदा पनि सजिलै जाँदैन । यसका लागि हरेक पन्ध्र दिनमा एन्टी डेन्ड्रफ स्पा गर्नु उचित हुन्छ । फिगारो जैतुनको तेलको नियमित प्रयोगले पनि चायाँ हटाउन सकिन्छ । यो तेल नुहाउनुभन्दा आधा घण्टाअघि नै लगाउनुपर्छ । 

(राजु हेयर एन्ड शान्तिका हेयर स्टाइलिस हुन् ।)

 Image