‘सामाजिक सवालमा जोड’

 लक्ष्मी भण्डारी

कार्तिक २, २०७८ ‘नारी’ मासिक २० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा पत्रिका थप परिपक्व र परिस्कृत हुँदै गएको प्रतिक्रिया समेत हाम्रा शुभचिन्तक र प्रबुद्ध पाठकवर्गबाट हामीले प्राप्त गरेका छौं । महिलाका विविध आयाममा समेतहामीले परिवर्तन ल्याउन सफल भएको प्रतिक्रिया पनि हामीलाई प्राप्त भएको छ । ‘नारी’ले विगतमा नेपाली महिलाका लागि अग्रणी भूमिका खेलेकै हो । आगामी दिनमा पनि हामी त्यो भूमिका निर्वाह गर्न टसमस हुँदैनौं भन्ने प्रतिबद्धता तपाईंहरूसमक्ष व्यक्त गर्न चाहन्छौं । ‘नारी’ का आगामी अंकहरूमा के–कस्ता विषय उठान गर्दा महिलाको चौतर्फी सवाललाई समेट्न सकिन्छ भन्नेबारे हामी विशेष सचेत र चनाखो पनि छौं । वार्षिकोत्सवको अवसर पारेर पत्रिकाबारे केही महत्वपूर्ण व्यक्तित्वका प्रतिक्रिया यहाँ प्रस्तुत् छन् :-

 

प्रा.डा.वीणा पौड्याल, लेखक : महिला शिक्षा, विकास र सशक्तीकरणका विषयसँगै पाककला, फेसन, साजसज्जालगायत अन्य समसामयिक विषय, स्वास्थ्य र संस्कृतिलाई समेट्न थालेकाले पत्रिकाको स्तर बढ्दै गएको छ । अझ केही स्तम्भहरू थप्न सके नारीको स्तर झनै बढ्नेछ । हरेक महिना प्रकाशित पुस्तकहरूको समीक्षा वा संक्षिप्त परिचय, वास्तुशास्त्र, सेयर मार्केट, बीमा र वैदेशिक रोजगार, हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित पुस्तकबारे संक्षिप्त परिचयलगायत विविध विषयको एउटा मूल लेख राख्न सके अझै आकर्षक हुन्थ्यो । 

वसन्ती बाँस्तोला, सञ्चारकर्मी : महिलाका लागि मूलधारमा वकालत गरिरहेको पत्रिकाले महिलाको अंश र वंशमा समेत बहस गरोस् भन्ने चाहना हो । यस वर्ष ‘नारी’ मासिक महिलाको बौद्धिकतालाई सौन्दर्यले छोपिदिने चलनबाट माथि उठेको छ । यसले सबै वर्गका पाठक तान्न सुरु गरेको छ । विभिन्न पेसाकर्मी महिलामा ‘रोलमोडेल’ खोज्ने कार्य उदाहरणीय छ । महिलालाई रोलमोडेल बनाएर नलेखिएकै कारण सार्वजनिक छविमा उनीहरू उदाहरण बन्न सकेनन् । इतिहास लेखिनेहरूको हो । हामीले के लेख्यौं भन्ने कुराले इतिहास बन्न ठूलो भूमिका खेल्छ । पत्रिकाले इतिहास लेख्ने कामको सुरुवात गरेको छ । कोरोनाको समयमा काम गरेका सबै पेसाका महिलाको योगदान र सन्तानका लागि बुवाको भूमिकाको खोजी समाचार पनि पत्रिकाको सम्झन लायक सुरुवात हो ।

 

सरला गौतम, लेखक : पछिल्लो समय पत्रिकामा देखिने गरी परिवर्तन आएको छ । पहिले ग्ल्यामर बढी जोडिन्थ्यो भने अहिले महिलाको भ्यालु जोडिएको पाइएको छ । आफ्नै फर्म्याटभित्र बसेर पनि नारी हुनुको अर्थ र महत्वलाई यसले उठाएको छ । त्यसबाहेक अहिले पत्रिकाले महिलाका अन्य पाटालाई पनि कलात्मक हिसाबले प्रस्तुत गरेको प्रत्यक्ष देखिन्छ, जुन मानव जीवनसँग जोडिएका महत्वपूर्ण कुरा हुन् । आगामी दिनमा पत्रिकाले सामाजिक विषयलाई अझैं उठान गर्नुपर्छ । सामाजिक स्पेसको रेसियो बढाउन सकियो भने यसको दायरता अझ फराकिलो हुन्छ । आर्थिक क्षेत्रमा महिलाले गरेको प्रगतिलाई पनि पत्रिकामा समेटिनुपर्छ । 

 

 रामेश्वरी पन्त, लेखक तथा साहित्यकार : पछिल्लो समयमा पत्रिकामा धेरै सुधार भएको छ । विगतमा फेसन र शृंगारलाई मात्रै महत्व दिएको नारीले अहिले सबै क्षेत्र समेट्न सबल भएको छ । महिला भान्सामा मात्रै सीमित नभएको सामग्रीलाई अझ प्राथमिकताका साथ स्थान दिनुपर्छ । खानामा मात्रै महिलालाई नअल्झाइयोस्, बौद्धिक खुराक ल्याइनुपर्‍यो । अब सामाजिक, बौद्धिक सामग्री पत्रिकामा समावेश गर्नुपर्छ ।

 

कृष्णा पौडेल, सञ्चारकर्मी : पछिल्लो समय ‘नारी’ मासिकले उठान गरेका विषय उत्कृष्ट छन् । व्यावसायिक रूपमा माथि पुगेकालाई समेट्दा अन्य धेरै महिलालाई प्रेरणा मिल्छ, जसका लागि पत्रिकाले निरन्तर भूमिका खेलिरहेको छ । ब्याक स्टेजमा बसेका महिलालाई पनि अब पत्रिकाले समेट्नुपर्छ । हरेक क्षेत्रमा सह–अस्तित्वमा काम गरेका दम्पती छन् । यीमध्ये श्रीमान्को मात्रै गुणगान गाइन्छ तर महिलाका कमै कुरा आउँछन् । पत्रिकाले यसमा ध्यान दिनुपर्छ । आगामी दिनमा अझ परिस्कृत र कलात्मक पत्रिका देख्न पाइयोस् धेरै–धेरै शुभकामना ।

 

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञः विभिन्न कोणबाट महिलालाई मद्दत पुग्ने सन्दर्भ सामग्री पत्रिकाले प्रस्तुत गरेको छ । स्वास्थ्यलगायत खानपान, सौन्दर्य, अधिकार र सशक्तीकरणका कुरा पनि पर्याप्त छन् । आगामी दिनमा सामाजिक र अन्य विषय पनि समावेश गर्न सके पत्रिका अझै उत्कृष्ट बन्दै जानेछ । नारी मासिकको २० औं वार्षिकोत्सवको अवसरमा हार्दिक मङ्गलमय शुभकामना ।

 

प्रा.डा.कुसुम शाक्य, डीन, त्रिवि मानविकी तथा समाजशास्त्र संकाय : ‘नारी’ पत्रिकाले महिलाको चिनारीमा बल पुर्‍याएको छ । ३५ वर्ष भइसक्यो मैले शिक्षा क्षेत्रमा काम गरेको र पनि कतिपयले मेरो कामको मूल्य थाहा पाएका थिएनन् । मेरो अन्तर्वार्ता नारीमा प्रकाशित भएपछि धेरैले मलाई बधाई दिएर मेरो कामको मूल्यांकन गरे । मेरो कामका बारेमा सूक्ष्म रूपमा बुझे । त्यसले मलाई के महसुस गरायो भने नारी धेरैले पढ्दा रहेछन् । यसको प्रभाव क्षेत्र पनि विशाल छ । आगामी दिनमा पत्रिकाले लुकेका प्रतिभालाई खोजी–खोजी ल्याउन सक्नुपर्छ । विश्वविद्यालय मात्रै होइन विभिन्न मन्त्रालय, कर्पोरेट हाउस आदिमा ‘नारी’ पुर्‍याउने व्यवस्था प्रकाशकले नै गरिदिनुपर्छ । 

 

ब्रिन्दा हाडा, पूर्व सदस्य, लोकसेवा आयोगः म नारीको नियमित पाठक हुँ । मलाई पत्रिकाको पहिलो अंक पनि राम्ररी याद छ किनभने मैले त्यसलाई राम्रैसँग पढेकी थिएँ । त्यतिबेलादेखि आजसम्म आइपुग्दा पत्रिका धेरै परिस्कृत भइसकेको छ । यसलाई थप रोचक बनाउन विविध विषय समेटिनुपर्छ । हेर्दा सानो देखिने तर धेरै मान्छेलाई प्रभाव पार्ने पात्रहरू समेट्दा पत्रिका थप सबल बन्दै गएको छ । जनजीवनलाई नजिकबाट नियालिरहेका उत्प्रेरक पात्रहरू राख्दा पत्रिका अझ रोचक बन्दै जानेछ । यो पत्रिकालाई मैले कान्तिपुर ब्रान्ड भनेर कहिल्यै हेरिन, ‘नारी’ नै भनेर हेरें । पुरुषहरूलाई पनि अझ स्थान दिन सके महिलाको वकालतमा समानता थपिँदै जानेछ । कहिलेकाहीँ जीवनका संवेदना–संवेग बढाउने खालका सामग्रीहरू पनि राम्रै हुन्छन् । आजभन्दा करिब ४० वर्षअघि म मनोरमा पढ्थें त्यसबाट धेरै कुरा सिकेकी थिएँ । त्यसरी नै ‘नारी’ मासिकबाट पनि पाठकले धेरै ज्ञानबर्द्धक खुराक पाइरहेका छन् । पत्रिकाले हरेकको जीवनमा दिशा निर्देश गर्न सकोस्, शुभकामना ।

 

कल्पना कँडेल, फलफूल व्यवसायी : हामीजस्ता भुइँमान्छेका कथा पनि ‘नारी’ मासिकले समेट्दो रहेछ । पत्रिकाका पाठक पनि धेरै रहेछन् भन्ने कुरा मेरो बारे नारीमा छापिएपछि थाहा भयो । हामीजस्ता मान्छेका बारेमा पत्रिकाले लेखिदिँदा हौसला र प्रेरणा मिल्ने रहेछ । अझ काम गरौं भन्ने जाँगर थपिँदो रहेछ । आगामी दिनमा पनि पत्रिकाले हामीजस्ता संघर्षशीलहरूको कथा अझ धेरै समेटोस् । धेरै–धेरै शुभकामना । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>