‘जीवनमा संघर्ष अनिवार्य’

उपासना घिमिरे

आश्विन १, २०७८ कपिलवस्तुस्थित तौलिहवामा ४५ वर्षअघि अलका आत्रेय चुडालको जन्म भएको हो । बुवा विष्णुराज आत्रेय काठमाडौंमा प्राध्यापन गर्ने भएकाले केही समय उनी राजधानीकै शिशु निकेतनमा पढिन् । पछि बुवा बनारस विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर भएर गएपछि उनी पनि त्यतै गइन् । बनारसमा १/२ वर्ष मात्र उनी विद्यालय गइन् । बुवाले घरमै स्वअध्ययन गर्न भनेपछि उनी त्यसपछि स्कुल गइनन् । बुवाले आफूजस्तै छोरी पनि संस्कृत पढोस् भनेर अलकालाई घरमै पढाएका थिए । अलका कम उमेरमै एसएलसी दिने विद्यार्थीमा पर्छिन् । त्यस्तै उनले कम उमेरमै तीनवटा विषयमा स्नातकोत्तर गरेकी छन् । अलकाका नेपाली भाषामा ‘बाल्यकालसँग लोभिँदै बाल्यकालमा’ (संस्मरण), ‘कुहिरोभित्र लुकेको घर’ खण्ड काव्य, अंग्रेजी भाषामा ‘अ फ्रिथिंिंकङ कल्चरल नेसनलिस्ट ः अ लाइफ हिस्ट्री अफ राहुल सांकृत्यायन’ (विद्यावारिधि अनुसन्धानमा आधारित) प्रकाशित छन् । हाल अस्ट्रियाको भियना विश्वविद्यालयमा दक्षिण एसिया अध्ययन विभाग, ‘तिब्बेतियन एन्ड बुद्धिस्ट स्टडिज’ मा सिनियर लेक्चररका रूपमा कार्यरत छिन् । बुवाको स्मृतिमा लेखिएको छन्द पुस्तक ‘निनाद बल्लरी’ र बुवाको स्मृति ग्रन्थ प्रकाशनका लागि नेपाल आएका बेला अलकासँग गरिएको कुराकानीको सम्पादित अंश :

कम उमेरमा एसएलसी र तीनवटा विषयमा स्नातकोत्तर गर्न कसरी सम्भव भयो ?

मानिसले चाहे र मेहनत गरे असम्भव भन्ने कुरा केही छैन जस्तो लाग्छ । बुवा कामको सिलसिलामा बनारस जानुभयो,  उतैको स्कुलमा म केही समय पढें । पछि बुवाले घरमै पढाउनुभयो । कम उमेरमा स्कुल भर्ना भएको र एसएलसी दिँदा सर्टिफिकेटमा उमेर नपुगेपछि दुई वर्ष बढाइएको थियो । मेरो जीवनमा धेरै समय स्कुल गएको अनुभव मसंग छैन । यसैगरी प्राइभेट पढेरै बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट प्राचीन व्याकरण र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट सर्वदर्शनमा आचार्य अनि त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर पूरा गरें ।

क्याम्पसमै गएर पढेको केही अनुभव बताइदिनुस् न ?

काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर गर्ने म पहिलो ब्याचको छात्रा हुँ । सबै तह घरमै बुवाबाट पढेको र स्वअध्ययन गरेकाले क्याम्पसमा अरु शिक्षक–शिक्षिकाले पढाएको नबुझेजस्तो लाग्थ्यो । त्यसो त अहिले पनि मलाई विश्वविद्यालय गएर पढ्न रमाइलो लाग्छ । त्यतिबेला मैले कलेज लाइफ धेरै इन्जोए गरें ।

एउटा लेखकका लागि लेख्ने उपयुक्त समय कुन हो ?

यही समय भन्ने हुँदैन । लेख्न थालें भने २४ घन्टा पनि लेख्छु । लेख्न सुरु गरेपछि रोक्न मन लाग्दैन । भोक, निद्रा, थकान सबै भाग्छ । एक किसिमको क्रेजी भइन्छ ।

केही समय मिडियामा पनि काम गर्नुभयो नि ?

०४३ मा रेडियो नेपालबाट संस्कृतमा समाचार (संस्कृतम्) बाचन गरें, जुन पाक्षिक रूपमा आउँथ्यो । केही इपिसोड पछि बन्द भयो । ०५१ मा रेडियो नेपालमै हिन्दीमा समाचार बाचन गरें, पछि नेपालीमा पनि गरें । नेपाल टेलिभिजनमा १० वर्षजति काम गरें ।

हाल कुन क्षेत्रमा व्यस्त हुनुहुन्छ ?

भियना विश्वविद्यालयअन्तर्गतको दक्षिण एसिया अध्ययन विभागमा वरिष्ठ लेक्चररका रूपमा कार्यरत छु । यसैगरी स्वस्थानी पुस्तकको अंग्रेजी अनुवाद गर्ने कार्यमा व्यस्त छु । यसमा अंग्रेजीका जानकार अमेरिकी नागरिक जेसिकाले साथ दिइरहेकी छन् ।

स्वस्थानीको चर्चा गर्नुभयो । के यसलाई परिमार्जन गर्नुपर्छ जस्तो लाग्दैन ?

किन परिमार्जन गर्ने ? स्वस्थानीको परिमार्जन गर्ने भनेको इतिहास मेट्नु भएन र ? इतिहासलाई परिमार्जन गर्नु हुँदैन ।

नेपाली भएर अस्ट्रियाको विश्वविद्यालयमा गएर पढाउँदा कस्तो महसुस हुन्छ ?

ममा कहिल्यै म नेपाली हुँ, आफूले यस्तो गरें भन्ने अहम् भावना पैदा हुँदैन । अरुले त भन्छन् तर मैले के–के न गरें भन्ने कहिल्यै लाग्दैन । जीवनमा मेहनत गर्ने हो, गरिरहनुपर्छ ।

तपाईंलाई कतिवटा भाषा आउँछ ? धेरै भाषा जान्दा कतिपय अवस्थामा द्विविधा भइन्छ ?

नेपाली, संस्कृत, हिन्दी, अंग्रेजी, जर्मन भाषा राम्ररी लेख्न र बोल्न आउँछ । एउटा भाषाले अर्को भाषालाई बिगार्छ जस्तो लाग्दैन ।

जीवन के हो ?

जीवन एउटा वरदान, उपहार हो । जीवनमा इच्छा लागेका कुराहरू गर्नुपर्छ । सकेसम्म रमाइलो र हाँसीखुसी जीवन जिउनुपर्छ । सधै खुसी हुन त पाइँदैन । तर, राम्रो काम गर्दै रमाइलोका साथ खुसी हुँदै जीवन बिताउनुपर्छ ।

समाज महिलामैत्री किन हुन सकेन ?

हेर्दा नदेखिए पनि विकसित देशमा पनि महिलाका भेदभावका कुरा सुन्न पाइन्छ भने हामी त यसमा धेरै पछाडि छौं । नयाँ जेनेरेसनमा नभए पनि हाम्रो जेनेरेसनमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्‍यो । हरेक घरका पुरुषले महिलालाई आदर गर्न सक्ने बनाए मात्र समाज महिलामैत्री हुन सक्छ जस्तो लाग्छ ।

महिला अघि बढ्नका लागि बाधक तत्व के–के हुन् ?

सामाजिक संरचना नै भिन्न छ । बाधक तत्व धेरै छन् । महिलालाई पनि कस्तो लाग्छ भने हामीलाई कसैले अधिकार दिनुपर्छ, घरबाट निस्कन कसैको आदेश, अनुमतिको पर्खाइमा बसिरहेका हुन्छौं । एक्लै गर्न सक्दिन भनेर बसिरहेका हुन्छौं, त्यो अनुमति कहिलेकाहीँ समाजले पनि दिँदैन । छोरीको हुर्काइमा परिवर्तन हुनुपर्छ । ठूलो भएपछि घर–व्यवहार मात्र गरेर बस्छु भन्ने होइन कि आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने हुनुपर्छ । साथै शारीरिक रूपमा मात्र नभै मानसिक तथा सामाजिक रूपमा पनि बलियो हुनुपर्छ ।

दसैंलाई कस्तो पर्वका रूपमा लिनुहुन्छ ? नारी शक्तिको पर्व दसैंमा नारी नै बढी व्यस्त हुन्छन्, यो कत्तिको जायज छ ?

दसैं प्रिय चाड हो । चाडपर्वमा महिलाको सक्रियता बढी हुन्छ । खाना पकाउने, योजना बनाउने र पाहुनाहरुको सत्कार महिलाहरूले मात्र गर्न सक्छन् । महिलालाई यो वरदान प्रकृति र ईश्वरले दिएका हुन् । महिलाको यो क्षमता र विशेषता नै हो ।

दसैंमा महिलाले जमरा राख्नुहुँदैन, चण्डी पाठ गर्नु हुँदैन भनिन्छ नि ?

हामीकहाँ त्यस्तो हुँदैन । बुवाले सानैदेखि जमरा राख, चण्डी पाठ गर भन्नुहुन्थ्यो । अहिले पनि घटस्थापनादेखि नै हरेक दिन चण्डी पाठ गर्छु र जमरा राख्छु । पूजापाठदेखि घरको काम महिलाको जिम्मामा हुन्छ, मेरो माइतीमा ।

बुवाबारे लेखेका पुस्तकका बारेमा केही बताइदिनुस् न ?

अघिल्लो वर्ष बुवा बित्नुभयो । उहाँ बिरामी भएका बखत उपचारका क्रममा सुरुदेखि अन्तिमसम्म उहाँकै नजिक रहें । त्यसले गर्दा भावनात्मक रूपमा अलि बढी गाह्रो भयो । धेरै छोरीले आमाका बारेमा लेखेका छन्, बुवाका बारेमा पनि लेख्नुपर्छ भन्ने लागेर लेख्न सुरु गरें । लेख्नु पनि एउटा थेरापी हो । छन्दमा लेख्न थालें । शोककाव्य भनेर सुरु गरें । चित्र पनि बनाएँ । गाउन पनि थालें । यसले पीडा कम भयो । कतिपय अवस्थामा गाउँदा–गाउँदै रुन्थें, चित्र बनाउँदा–बनाउँदै पनि रुन्थें, लेख्दा–लेख्दै पनि रोएँ । एक वर्षको अवधिमा लेखेको ५० पृष्ठको छन्द कविता ‘नेपालय’ले प्रकाशन गरिदियो ।

तपाईका आगामी योजना के छन् ?

अनुसन्धानको कार्यमा डुब्न मलाई असाध्यै रमाइलो लागिरहेको छ । म यसैलाई निरन्तरता दिन्छु । यसबाट कहिल्यै रिटायर्ड भइँदैन, काम गर्ने शक्ति भएसम्म यो काम गरिरहन्छु ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>