Successfully Copied

समाजसेवामा आनन्द

म शब्दमा त्यसलाई कसरी भनूँ । कसैको जीवनमा केही सहयोग गर्दा प्राप्त हुने खुसी र आनन्द अरू के होला र ?

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कँडेल खनालको जन्म काभ्रेस्थित पनौतीमा भएको हो । सानै उमेरदेखि बुवा समाजसेवामा लागेको देखेकीले उनको झुकाव पनि यतै भएको हो । सरितालगायत १७ जनाको समूहले पछिल्लो समय विभिन्न ठाउँमा दुःखीहरुको सेवा र सहयोग गर्दै आएको छ ।

समाजसेवामा कसरी रुचि जाग्यो ?

बुवा पनि समाजसेवी भएकाले सानैदेखि त्यही वातावरणमा हुर्किएँ । धर्मकर्ममा पनि उत्तिकै रुचि थियो । समाजसेवा गर्दा मनमा एक किसिमको आनन्द प्राप्त हुन्छ । त्यसैले म यो क्षेत्रमा लागेकी हुँ ।

सशस्त्र प्रहरी परिवार महिला संघले के–कस्ता काम गरेको छ ?

हामीले बाग्मती सफाइ अभियान (महिनामा एकपटक), प्राकृतिक विपद् (बाढी–पहिरो, जाडो लगायत) मा खाद्यान्न र लत्ताकपडा वितरण तथा मानव सेवा आश्रम र स्नेहा काख घरलाई डोनेसन दिएका छौं । अघिल्लो वर्ष नारी दिवसमा संघ तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ क्लिनिक सेवासुचारु गरिएको छ । यस्तै धेरै सहयोगको काम गरेका छौं ।

समाजसेवा गर्दा कस्तो महसुस हुन्छ ?

म शब्दमा त्यसलाई कसरी भनूँ । कसैको जीवनमा केही सहयोग गर्दा प्राप्त हुने खुसी र आनन्द अरू के होला र ?

छिट्टै के कुराले आकर्षित गर्छ ?

दुःखीहरूको दुःख–पीडा मलाई असह्य लाग्छ, उनीहरूको माया लाग्छ । उनीहरूको पीडामा थोरै भएपनि कसरी सहयोग गर्न सकिन्छ भनेर सोच्छु ।

जीवन के हो ?

जीवन दुःख र सुखको संगम हो । जीवनमा उतारचढाव आइरहन्छन् । सुखमा मात्तिने र दुःखमा आत्तिने नगरी सहनशील भई अघि बढे वास्तविक जीवनको मज्जा लिन सकिन्छ ।

फुर्सदको समयमा के गर्न मन लाग्छ ?

श्रीमान्ले लेखेका गीत सुन्छु । म पनि कविता लेख्छु । टेलिभिजनमा समाचार हेर्छु । समाजसेवामा हात कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्छु ।

श्रीमान्सँग नाचेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ नि ?

कत्ति कामको मात्र तनाव लिनु भनेर कहिलेकाहीँ रमाइलो गरेको हो ।

महिलाको महान् पर्व तीज नजिकिएको छ ? यसबारे तपाईंको धारणा के छ ?

वर्षदिनमा आउने महिलाको चाड खुलेर रमाइलो गरी मनाउनुपर्छ । पहिले जस्तो धेरैजना जमघट भई रमाइलो गर्ने वातावरण भने अहिले छैन । तर, घरमै सीमित आफन्त जम्मा भई तडकभडकरहित साधारण तवरले मनाउँदै आफ्नो संस्कृति जोगाउनुपर्छ ।

पछिल्लो समय महिला असुरक्षाको घटना बढ्दो छ ? यसमा केही भन्नु छ कि ?

यो दुःखद् अवस्था हो । महिला असुरक्षाको घटना कम गर्न सरकारी तथा अन्य तवरबाट पहल गर्नुपर्छ जस्तो लाग्छ । महिलासम्बन्धी जनचेतना फैलाउनुपर्छ । यसैगरी, छोरीहरू पनि जसले जहाँ बोलायो त्यहाँ जानुहुँदैन । आफ्नो सुरक्षाका लागि आफैंले पनि ध्यान दिनुपर्छ ।

एक दिनका लागि पुरुष हुनुभयो भने के गर्नुहुन्छ ?

मलाई महिला हुनु ठीक छ । तर पनि पुरुष भएको भए महिला हकहितका लागि नै राम्रा काम गर्थें ।

भविष्यको योजना के छ ?

समाजसेवा गरिरहनेछु । यो क्षेत्रमा सदैव लागिपर्नेछु ।

 Image