Successfully Copied

‘फाउन्डेसन’ छनोट

‘दाग–धब्बा छोप्नुका साथै अनुहारमा ग्लो ल्याउन फाउन्डेसनको प्रयोग गरिन्छ’

फाउन्डेसन मेकअपको बेस हो । बेस नै सही भएन भने सौन्दर्य निखारिनुको सट्टा कुरूप देखिन्छ । त्यसैले फाउन्डेसनको उचित छनोट जरुरी हुन्छ । ‘दाग–धब्बा छोप्नुका साथै अनुहारमा ग्लो ल्याउन फाउन्डेसनको प्रयोग गरिन्छ’ मेकअप आर्टिस्ट शारदा थापा क्षत्री भन्छिन्, ‘तर, फाउन्डेसनको सही छनोट भएन भने अनुहारलाई भद्दा देखाउँछ । त्यसैले यो आफ्नो छाला सुहाउँदो हुनुपर्छ ।’ उनका अनुसार फाउन्डेसनको काम दाग–धब्बारहित प्राकृतिक लुक दिनु हो ।

फाउन्डेसनको छनोट गर्दा आफ्नो छालाको टोन कस्तो छ जान्न जरुरी हुन्छ । फाउन्डेसन आफ्नो छालाअनुरूप छ/छैन भनेर चेक गर्ने तरिका पनि सही हुनुपर्छ । धेरै जनाले हातको पछाडि लगाएर चेक गर्छन् । तर हात र अनुहारको रंग मिल्दैन, जसले गर्दा सही सेड मिल्दैन । निधार र ‘ज लाइन’ मा चेक गर्नुपर्छ ।

त्यस्तै, फाउन्डेसनको छनोट गर्दा छालाको टोनसँगै आफ्नो छालाको प्रकार पनि कस्तो छ जान्नुपर्छ । चिल्लो छाला हुनेहरूले लाइटवेट आयल फ्रि र सुख्खा हुनेहरूले मोस्चराइजर बेस्डको रोज्नुपर्छ । मौसमले पनि फाउन्डेसनको छनोटमा प्रभाव पार्छ । जाडोमा आयल बेस्ड र गर्मीमा म्याट फाउन्डेसन उपयुक्त मानिन्छ ।

फाउन्डेसनको प्रकार

लिक्विड : यो पहिलो पटक फाउन्डेसन प्रयोग गर्नेहरूका लागि उपयोगी हुन सक्छ । यो छालामा अप्लाई गर्न सजिलो हुन्छ र ब्लेन्ड पनि हुन्छ । यसले पोर्स र डार्क माक्सलाई छोप्नुका साथै छालालाई प्राकृतिक लुक दिन्छ । सुख्खा छाला हुनेहरूका लागि बढी उपयोगी भए पनि सबै प्रकारको छालामा लिक्विड फाउन्डेसन लगाउन सकिन्छ । यो फाउन्डेसन छालामा ४–५ घन्टा रहन्छ ।

पाउडर : चिल्लो छाला छ भने पाउडर फाउन्डेसन रोज्नुपर्छ । यो पिगमेन्ट्स र मिनरल्सबाट मिलेर बनेको हुन्छ । यसले छालामा आउने अतिरिक्त तेल सोस्ने काम गर्छ र प्राकृतिक लुक दिन्छ । यो फाउन्डेसन ब्रस, स्पोन्जको सहायताले सजिलै लगाउन सकिन्छ । सुख्खा छाला हुनेहरू यसको प्रयोगबाट बच्नु नै राम्रो हुन्छ किनभने यसले अनुहारको चाउरीपन, डार्क स्पोर्टस् छोप्दैन । यो फाउन्डेसन छालामा २–३ घन्टा रहन्छ ।

क्रिम : एकातिर सुख्खा छालाको समस्या अर्कोतिर पूरै दिन कुनै इभेन्टमा बस्नुपर्ने भए क्रिम फाउन्डेसन उपयोगी हुन्छ । यो फाउन्डेसन छालामा १०–१२ घन्टासम्म रहन्छ । यसले लामो समयसम्म अनुहार फ्रेस देखाउन सहयोग गर्छ । यसमा एसेन्सियल तेल भएका कारण छालालाई हाइड्रेट राख्छ । छाला धेरै सुख्खा छ भने यो फाउन्डेसन लगाउनुपूर्व मोस्चराइजर लगाउन बिर्सनु हुँदैन ।

सिरम : यो अहिले निकै चलेको फाउन्डेसन हो । यसले छालामा पोषण दिनुका साथै फ्रेस र ग्लसी लुक दिन्छ । सिलिकन बेस्ड भएकाले यो अलिक पातलो हुन्छ, जसकारण छालामा सजिलै सेट हुन्छ । पार्टी एवं विशेष अवसरमा यो फाउन्डेसन लगाउन सकिन्छ । खासगरी यो जुनसुकै छालामा मिल्ने भए पनि चिल्लो छाला हुनेहरूका लागि बढी उपयोगी मानिन्छ । यो फाउन्डेसन छालामा २–३ घन्टा रहे पनि रिजल्ट राम्रो हुन्छ ।

कसरी लगाउने ?

फाउन्डेसन लगाउनुअघि अनुहार क्लिन्जिङ गर्न बिर्सनु हुँदैन । रोमछिद्र बन्द गर्नका लागि टोनरको प्रयोग गर्नुपर्छ । अनुहारमा पोर्स धेरै ठूलो भए प्राइमरको प्रयोग गर्नुपर्छ । यसले मेकअपको बेस बनाउनुका साथै छालाको सुरक्षाको काम गर्छ । त्यसपछि मोस्चराइजर लगाउनुपर्छ । एकछिन छालामा सोस्न दिइसकेपछि सनस्क्रिन क्रिम लगाउनुपर्छ । अब फाउन्डेसन टिक–टिक बनाएर पूरै अनुहार एवं गर्दनमा लगाउने र ब्युटी ब्लेन्डरको सहायताले सबैतिर एकैनासले ब्लेन्ड गर्नुपर्छ । आवश्यकताभन्दा बढी फाउन्डेसन लगाउँदा पूरै लुक बिग्रन सक्छ ।

 Image