Successfully Copied

भिन्न परिवेशका जोडी

विवाहबारे एउटा भनाइ छ–भगवान्ले जोडी बनाएरै पठाउँछन् । कहाँको मान्छे, कोसँग, कसरी जोडिन पुग्छन् थाहै हुँदैन ।

विवाहबारे एउटा भनाइ छ–भगवान्ले जोडी बनाएरै पठाउँछन् । कहाँको मान्छे, कोसँग, कसरी जोडिन पुग्छन् थाहै हुँदैन । यसरी जोडी बन्नेमा डा.पारस श्रेष्ठ र डा.क्रिस्टिन पनि एक हुन् । फिलिपिनो मूलकी क्रिस्टाइनलाई श्रीमती बनाउँछु भनेर पारसले कहिल्यै सोचेका पनि थिएनन् । तर, जब पारस पोस्ट ग्राजुयटका लागि फिलिपिन्स पुगे, त्यस्तै साइत त्यता जुरेछ । क्रिस्टिनको भनाइमा उनी फिलिपिन्समा एउटा हराएको एक्लो व्यक्ति जस्ता देखिन्थे, यद्यपि उनमा केही गरौं भन्ने जोश, आँट र अदम्य साहस भने प्रस्टै देखिन्थ्यो । पारस भन्छन्, ‘पहिलो दृष्टिमै उनीसँग प्रेम बस्यो । मैले उनलाई अत्यन्तै निष्कपट र दयालु व्यक्ति पाएँ । उनीबाहेक अरू कसैले मलाई राम्रोसँग बुझ्न सक्दैनन् भन्ने लाग्यो । केही समयको भेटघाट र कुराकानीपछि हामीले विवाह गर्‍यौं । एउटै पेसामा भएर पनि हामीलाई यो सहज भएको हो ।’

क्रिस्टिनको भनाइ पनि पारसभन्दा फरक छैन । उनले भनिन्, ‘उहांँको दयालु र बहादुर हृदय तथा आत्मविश्वासले मलाई आकर्षित गर्‍यो । मानिससँग कसरी व्यवहार गर्ने र सहकार्यमा सँगै हिँड्ने भन्ने अनौठो शैली उहाँमा मैले पाएँ । उहाँ सधै आफ्नाहरूलाई भरोसा गर्नुहुन्छ साथै उहाँ स्मार्ट, रमाइलो, मायालु र अत्यन्त मेहनती हुनुहुन्छ । बाहिरबाट हेर्दा कडा देखिए पनि उहाँ स्वच्छ हृदय र सुन्दर आत्मा भएको मान्छे हो ।’

बाँकेको खजुरास्थित नेपाल क्यान्सर अस्पतालमा कार्यरत क्रिस्टिन क्यान्सर रोग विशेषज्ञ हुन् भने पारस नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक । एक–अर्काप्रतिको विश्वास र भावनालाई सम्मान गर्नु नै आफूहरूबीचको बलियो सम्बन्धको मूल मन्त्र भएको उनीहरूको भनाइ छ । क्रिस्टिनका अनुसार नेपाल आएपछि उनले यहाँको भाषा, संस्कार, रीतिरिवाज, करियरमा अघि बढ्नुपर्ने चुनौतीलगायतका धेरै संघर्ष झेल्नुपर्‍यो । तर उनले ती सबैलाई आफ्नो जीवनको अविस्मरणीय क्षणका रूपमा लिएकी छन् । त्यसमा आफू इज्जोय गरेको तर्क गर्छिन् । भन्छिन्, ‘जब हामी नेपाल आयौं, त्यो हाम्रा लागि सबैभन्दा कठिन र चुनौतीपूर्ण समय थियो, उहाँले भर्खरै एमडी पूरा गर्नुभएको थियो भने मेरा लागि नेपाल नौलो थियो । हामी बाहिरबाट पढेर आएकाले काम खोज्न र मेडिकल काउन्सिलको परीक्षा पास गर्न कठिनाइको सामना गर्नुपर्‍यो । हाम्रो सम्बन्ध बलियो भएरै ती सबै कठिनाइको सामना गर्दै अगाडि बढ्यौं र सफल भयौं । संघर्ष र अथक परिश्रमकै बलमा दुवैले लोकसेवा परीक्षा उत्तीर्ण गरी सरकारी अस्पतालमा काम थालेका हौं ।’

चिकित्सकहरूका लागि कोरोना महामारी धेरै चुनौतीपूर्ण भएको अनुभव यी दम्पतीसँग छ । यिनका तीन जना स–साना बालबच्चा छन् । विपद् र रोग भनेर चिकित्सकहरू घरभित्रै थुनिएर बस्नु पेसागत धर्मले नदिने बताउँदै पारस भन्छन्, ‘दैनिक सेवामा खटिनुपर्छ । घरमा उमेर पुगेका आमाबुवा र साना बच्चाहरू छन् । बेलुकी घर आउँदा पापा भनेर चिच्याउँदै बच्चाहरू अंगालो हाल्न आइपुग्छन्, आफू भाग्नुपर्ने अवस्था छ । यस्तो बेला भित्रैदेखि नरमाइलो महसुस हुन्छ । बच्चाहरू सानै छन् केही बुझ्दैनन् । हामीबाट अभिभावक र बच्चाहरूलाई सर्ने पो हो कि भन्ने चिन्ता सधै भइरहन्छ ।’

महामारीमा आमाबुवा सबैभन्दा ठूलो शक्ति भएको पारसको ठम्याइ छ । उनी भन्छन्, ‘उहाँहरूले नै असल मान्छे भएर सधै अरूको सेवा गर्न सिकाउनु भएको हो । हतास नहुन र कर्तव्यप्रति जिम्मेवार हुन सधै उत्प्रेरित गरिरहनु भएको हो । त्यही नै हाम्रा लागि महामारीमा डटिरहनका लागि उत्प्रेरणा हो ।’ पारसले जीवनको सबैभन्दा रोचक र महत्वपूर्ण पक्षका रूपमा श्रीमतीको मौनतालाई लिन्छन् । उनको भनाइमा क्रिस्टिन रिसाउँदा त झन् उनको मौन अवस्था हेर्न लायकको हुन्छ । साथै बलियो तर्कका साथ सबै कुराको व्याख्या गर्ने उनको शैली अलिक फरक छ ।

उनीहरू लकडाउनअघि बिदाका दिन सातामा एक पटक बच्चाहरूसँग पिज्जा वा पौडीका लागि बाहिर निस्किन्थे । अहिले त्यो पनि बन्द भएको बताउँछन् । अझ स्कुल बन्द रहेकाले बच्चाहरू सधै घरमै भए पनि हरेक दिन आफूहरू ड्युटीमा खट्नुपर्ने र संक्रमण फैलिने डरले समय दिन नसकेको उनीहरूको भनाइ छ । स्वास्थ्यकर्मी भएकाले जुनसुकै अवस्थामा पनि हामी र हाम्रो परिवारका सदस्य बिरामी हुने डर छ । विशेषगरी साना बच्चाहरू । कोरोनाको लहरमा यो जोडीका परिवार नपरेका पनि होइनन् । तर, कर्तव्यनिष्ठ भई बिरामीको सेवामा सधै दत्तचित्त भई लागिरहे । ‘जब हाम्रो अभिभावकमा कोरोना पोजिटिभ देखियो त्यस्तो अवस्थामा पनि हामीले घरपरिवारलाई बिर्सेर जनताको सेवा गरिरह्यौं । हाम्रै कारणले घरका सदस्यलाई कोरोना संक्रमण भयो’ एकै स्वरमा उनीहरूले भने । ड्युटीबाट घर आएपछि नुहाएर अर्को लुगा फेरेपछि मात्रै घरभित्र छिर्ने गरेको बताए ।

दाम्पत्य जीवनलाई मजबुत र उत्साहजनक बनाउन आपसी संवाद र सञ्चार महत्वपूर्ण भएको यी दुई चिकित्सकको निष्कर्ष छ । भन्छन्, ‘कहिलेकाहीँ हामी करियर र बच्चाहरूमै व्यस्त हुन सक्छौं । यसो मात्रै गरिरहँदा हामी एक–अर्कालाई बिर्सन पुग्छौं । तसर्थ एकापसमा मिलेर समय बिताउनुपर्छ । हाम्रा आवश्यकताहरू, हाम्रा डरहरू, राम्रा/नराम्रा पक्षहरूलगायत एक–अर्काका चाहनाबारे आपसमा कुराकानी गर्नुपर्छ । बच्चाहरू हुर्कदै जान्छन्, अन्त्यमा हुने त दुईजना नै हो । त्यसैले यसको महत्व आजैदेखि बुझ्नु जरुरी छ ।’

डा.पारस

उनको सबैभन्दा कमजोर पक्ष भनेको निर्दोषपन र मौनता हो । उनीसँगको अविस्मरणीय क्षण हाम्रो ‘पहिलो भ्यालेन्टाइन डे’ हो, जब हामी दुवै काममा व्यस्त थियौं । तर, त्यसै बीचमा पनि हामीले केही राम्रो बहस र छलफल गरेका थियौं । मैले उनलाई प्रस्ताव राखें, उनले मलाई जीवनसाथीका रूपमा स्वीकार गरिन् ।

डा. क्रिस्टिन

पारसमा मैले देखेको शक्ति भनेको कडा मेहनती, चतुर, उदार र बच्चाहरूको मायालु बुवाको भूमिका नै हो । अर्को कुरा मजस्तै खानाको उहाँ सौखिन हुनु । उहाँको कमजोरीबारे भन्नुपर्दा झनक्क रिसाइहाल्ने, स–साना कुरामा चिन्तित हुने र धेरै चिन्ता गर्ने बानी हो ।

 Image