Successfully Copied

वर्षामा छाला समस्या

घरबाट बाहिर निस्कदा पानीले निथ्रुक्क भिजेमा मेकअप सबै पखालिन्छ, लतपत हुन्छ । वर्षामा हल्का मेकअप गर्नुपर्छ । सम्भव भएसम्म वाटरप्रुफ मेकअप गर्नु उचित हुन्छ ।

घरबाट बाहिर निस्कदा पानीले निथ्रुक्क भिजेमा मेकअप सबै पखालिन्छ, लतपत हुन्छ । वर्षामा हल्का मेकअप गर्नुपर्छ । सम्भव भएसम्म वाटरप्रुफ मेकअप गर्नु उचित हुन्छ ।

ब्युटिसियन सुनीता मैनालीका अनुसार वर्षामा अनुहारमा फाउन्डेसन र फेस पाउडर प्रयोग गर्नु हुँदैन । पानीले यसलाई सजिलै बगाउँछ । ‘तर, फाउन्डेसन लगाउनै परेमा भिजेको स्पन्ज प्रयोग गर्न सकिन्छ । मेकअपलाई यसले लामो समयसम्म टिकाउँछ’ उनले भनिन् ।

चिल्लो र गाढा फेस क्रिम प्रयोग नगर्न पनि उनको सुझाव छ । बरु, तरल फेस क्रिम उपयुक्त हुन्छ ।

वर्षामा सौन्दर्य जोगाउने चुनौती यति मात्रै होइन । यो मौसममा ओसिलोपन पनि बढी हुने भएकाले छालामा विभिन्न संक्रमणको जोखिम पनि हुन्छ । खासगरी चिल्लो छाला हुनेहरूलाई यसले सताउन सक्छ । अर्कातर्फ, मौसमी तापमान बढ्ने हुँदा शरीरमा पसिना आउँछ । यसले बाहिरी प्रदूषणलाई सोस्छ र छालाको रोमछिद्र बन्द गरिदिन्छ । यही कारण छालामा ‘फंगल इन्फेक्सन’ देखि ‘एलर्जी’ सम्मको समस्याले दुःख दिन सक्छ ।

यसैगरी वर्षामा संक्रमणको भय उच्च हुन्छ । पिउने पानी वा खानेकुराको माध्यमबाट पनि संक्रमण फैलन सक्छ । जब शरीरमा कुनै किसिमको संक्रमण हुन्छ, त्यसको सोझो असर हाम्रो छालामा पर्छ । त्यसैले छालाको सौन्दर्य जोगाउने पहिलो सर्त हो, शरीरको सरसफाइ । समग्र शरीर, हात, खुट्टा एवं अनुहारको सफाइ राम्ररी गर्न जरुरी छ । मनतातो पानीमा हात–खुट्टा डुबाएर राख्न सकिन्छ । अनुहारमा बेला–बेला तातोपानीको वाफ लिन सकिन्छ ।

वर्षामा देखिने छालाका समस्याहरू

एक्ने

अनुहारमा एक्ने आउनु आमसमस्या भइसकेको छ । यो मौसममा भने समस्या अझ बढी हुन्छ । वातावरण ओसिलो हुन्छ तर छाला रुखो हुन्छ । तसर्थ छालाको तैलीय स्तर सन्तुलनमा राख्न सिबासियस ग्रन्थिले अतिरिक्त सिबम उत्पादन गर्छ । कहिलेकाहीँ आवश्यकताभन्दा बढी सिबम उत्पादन गर्दा रोम/छिद्र बन्द हुन जान्छन् । यसले छालामा एक्ने तथा डन्डिफोरको समस्या निम्तिन्छ । यसबाट छुटकारा पाउन तातोपानीले नुहाउनुका साथै ‘आयल फ्रि’ सौन्दर्य प्रसाधन प्रयोग गर्दा राम्रो हुन्छ । चिल्लो छालामा सातामा दुई पटक स्क्रब गर्नुपर्छ । ‘वाटर प्रुफ’ मेकअपको प्रयोग गर्नु आवश्यक हुन्छ ।

एक्जिमा

छालासम्बन्धी रोग प्रायः बर्षाको समयमा धेरै देखिन्छ । तीमध्ये एक हो, एक्जिमा । यसले छाला रातो हुने, चिलाउने र सुन्निएको जस्तो देखिन्छ । संवेदनशील छालामा एक्जिमाको समस्याले धेरै सताउँछ भने पहिलेदेखि नै यो समस्याबाट गुज्रिरहेकालाई समस्या झनै बढेर जान्छ । यसबाट छुटकारा पाउन चिसो कपडाले सेक्न सकिन्छ । चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न सकिन्छ ।

स्काबिज

‘स्काबिज’ छालाको रोग हो, जुन सारकोपटेस स्काबिज नामको कीटाणुबाट हुन्छ । वातावरणको तापमान र आद्रताको उतारचढावका कारण यो कीटाणुको संक्रमण बढ्छ । स्काबिज हुँदा छाला चिलाउँछ । यतिबेला वर्षाको दूषित पानीको सम्पर्कबाट बच्नुपर्छ । यो सरुवा रोग भएकाले अरूलाई सर्नबाट जोगाउनुपर्छ ।

फंगल इन्फेक्सन

वर्षाको समयमा सबैभन्दा बढी खुट्टा प्रभावित हुन्छन् । तापक्रममा लगातार उतारचढाव आउनाले खुट्टामा पसिना आउनुका साथै वर्षाको पानीले भिज्दा ‘फंगल इन्फेक्सन’ र चिलाउन सक्छ । यो समस्यालाई ‘एथलिट फुट’ पनि भनिन्छ । यो समस्या खुट्टा ओसिलो भइरहँदा हुन्छ । यसबाट सजिलै छुटकारा पाउन सकिन्छ । यतिबेला खुट्टालाई भिज्नबाट भरसक बचाउनुपर्छ । खुट्टालाई सुख्खा बनाइराख्नुपर्छ । लामो समयसम्म चिसो मोजा लगाउनु हुँदैन । साथै घरमा बस्दा चप्पलको प्रयोग गरे यो समस्याबाट बच्न सकिन्छ ।

र्‍यासेज तथा एलर्जी

यो मौसममा शरीरमा धेरै पसिना आउने भएकाले र्‍यासेज तथा एलर्जी आउन सक्छ । त्यसैले खुकुलो एवं पसिना सोस्ने कपडा लगाउनुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । छालामा ‘आयल फ्रि मोस्चराइजर’ लगाउन बिर्सनुहुँदैन । त्यस्तै, शरीरमा गोलाकार रातो धब्बा देखिन्छ, जुन चिलाउँछ । यो फंगल इन्फेक्सन हो । यसलाई दाद पनि भनिन्छ । शरीरमा धेरै पसिना आउनाले यस्तो समस्या देखिन्छ । यस्तो बेला एन्टिब्याक्टेरियलयुक्त साबुन प्रयोग गर्नुपर्छ ।

फोलिक्युलिटिस

वर्षाको समयमा फोलिक्युलिटिसको समस्या देखिन सक्छ । यो केशको रोमछिद्रमा हुने ब्याक्टेरियल इन्फेक्सन हो । यसले केश टुक्रने केशको रोमछिद्र सुन्निने, चिलाउने हुन्छ । यसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

 Image