Successfully Copied

आफूले आफैंलाई चिन्ने कला माइन्ड म्यानेजमेन्ट : निभा प्रधान

‘माइन्ड म्यानेजमेन्ट’ विधिबाट हाम्रो मनलाई भूत र भविष्यत्कालबाट वर्तमानमा ल्याउन सहयोग पुग्छ ।

महामारीका बेला तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ ?

सबै मानिसको मनमा धेरै मात्रामा तनाव हुन्छ । तर, ‘माइन्ड म्यानेजमेन्ट’ गरेर तनावलाई कम गर्न सकिन्छ । यसका लागि पहिलो कुरा हामीले घटनालाई स्वीकार गर्नुपर्छ । जुन कुरा हाम्रो नियन्त्रणमा छैन, त्यसको चिन्ता लिनु बेकार छ । यसमा सजगता हुनुपर्‍यो ।

के हो माइन्ड म्यानेजमेन्ट ?

मनको प्रवृत्ति बुझ्नु नै ‘माइन्ड म्यानेजमेन्ट’ हो । यसमा तीनवटा कुरा पर्छन् । एक त प्रायः हाम्रो मन नकारात्मक दिशातिर गइरहेको हुन्छ भने अर्को भूतकाल र भविष्यत्कालमा धेरै रुमलिरहेको हुन्छ । वर्तमानमा शतप्रतिशत नहुनुका कारण हामीले कुनै काम सिद्ध गर्न सक्दैनौं, पूर्ण रुपमा खुसी पनि हुन सक्दैनौ । जब हामी भूतकालमा जान्छौं, पछुतो र आफूलाई दोषी मान्छौं । भविष्यमा जाँदा डर, भय र चिन्ता हुन्छ । खुसी, आनन्द त वर्तमानमै पाइन्छ । मनले आफूलाई जताततै लैजान्छ । मनले हामीलाई वर्तमानमा बस्न दिँदैन । तेस्रो भनेको मनमा अनेकौं विचारधारा आइराख्नु हो । यसको अभ्यास नै ‘माइन्ड म्यानेजमेन्ट’ हो । छरिएको मनलाई समेट्ने विधि हो । हामीलाई विद्यालयमा धेरै कुरा सिकाइन्छ तर मनको प्रवृत्ति कसरी बुझ्ने भन्ने कुरा सिकाइँदैन । यो आफूले आफैंलाई चिन्ने कला हो ।

यो कसरी गराइन्छ ?

योग, ध्यान र श्वासप्रश्वासको माध्यमबाट यसको अभ्यास गराइन्छ । यसमध्ये पनि धेरै श्वासप्रश्वासको अभ्यासबाट हाम्रो मनको प्रवृत्तिलाई बुझ्ने प्रयास गरिन्छ ।

कसले गर्ने ?

यो हरेकका लागि उपयोगी हुन सक्छ । हामीले तनाव लिनु हुन्न, यसले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामीले मनलाई तनाव लिनबाट रोक्न सकिरहेका हुँदैनौं । ‘माइन्ड म्यानेजमेन्ट’ फ्रन्टलाइनर तथा कर्पोरेट क्षेत्रका कर्मचारीलाई अति आवश्यक छ । यो महामारीमा सबैभन्दा बढी तनाव स्वास्थ्यकर्मीलाई छ । नराम्रो खबर बिरामीका आफन्तलाई सुनाउन उनीहरूलाई गाह्रो हुनुका साथै आफ्नै परिवारलाई कोभिड सर्ला कि भन्ने तनाव हुन्छ । यो तनावलाई कसरी व्यवस्थापन गर्ने भनेर ‘माइन्ड म्यानेजमेन्ट’ का क्रममा अभ्यास गराइन्छ ।

फाइदा के पुर्‍याउँछ ?

‘माइन्ड म्यानेजमेन्ट’ विधिबाट हाम्रो मनलाई भूत र भविष्यत्कालबाट वर्तमानमा ल्याउन सहयोग पुग्छ । जब हाम्रो मन वर्तमान क्षणमा आउँछ तब हामी अझ उत्पादनशील हुन्छौं । हाम्रो दिमागको सोच्ने र काम गर्ने क्षमता  दोब्बर हुन्छ । सकारात्मक सोचको विकास हुने, सामाजिक कार्यमा मन जाने, कसैको कुभलो नसोच्ने यसका फाइदाहरू हुन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूले आफैलाई बुझ्नु र चिन्नु हो ।

(प्रधान दि आर्ट अफ लिभिङकी इन्टरनेसनल कर्पोरेट ट्रेनर हुन् ।)

 Image