Successfully Copied

‘यौन चाहना र दुष्कर्म’

विपरीत लिङ्गीलाई आकर्षण गर्न हरेक प्रजातिमा कुनै न कुनै विशेष गुण हुन्छ । मनुष्य जातिमा भने प्राकृतिक सौन्दर्यसँगै शारीरिक शोभा बढाउन अनेक प्रकारका शृङ्गार र पहिरनले आकर्षण थपिदिन्छन् । यसलाई धेरैले व्यक्तित्व विकास तथा अरुलाई आकर्षित पार्न र छालाको हेरचारका रूपमा लिने गरेका

उषाकिरण रेग्मी

विकल्प अधिकारी

विपरीत लिङ्गीलाई आकर्षण गर्न हरेक प्रजातिमा कुनै न कुनै विशेष गुण हुन्छ । मनुष्य जातिमा भने प्राकृतिक सौन्दर्यसँगै शारीरिक शोभा बढाउन अनेक प्रकारका शृङ्गार र पहिरनले आकर्षण थपिदिन्छन् । यसलाई धेरैले व्यक्तित्व विकास तथा अरुलाई आकर्षित पार्न र छालाको हेरचारका रूपमा लिने गरेका छन् । तर, महिलाको कामुक पहिरन र हाउभाउ, भड्किलो शृङ्गार र सुन्दर रूपले पुरुषलाई आकर्षित गर्छ भन्ने तर्क गर्नेहरू पनि छन् । यदि त्यसो हो भने पुरुषको कामवासनालाई उद्दीप्त पार्ने, रतिराग जगाउने, सहवास इच्छामा उत्तेजना बढाउने, कामातुर कार्य गर्न पहिरनलगायतले उत्प्रेरकको भूमिका खेल्छन् । पाखुरा देखिने लुगा, स्तनको बीच भाग, नितम्बका आकार, नाभि र तिघ्राको भागले पुरुषलाई आकर्षित गर्ने गरेको ‘युनिभर्सिटी अफ साउथ व्यल्स’ को एक अध्ययनले देखाएको छ । ‘महिलाहरू अरुलाई आकर्षित गर्न यस्तो अंग प्रदर्शन गर्ने गरेको’ अध्ययनको निष्कर्ष छ । त्यस्तै, चलचित्र, टिभी र दृश्य सामग्रीहरूमा महिलाका शृङ्गार र पहिरन छनोटमा बढी ध्यान दिइन्छ । उदाहरणका लागि ‘गोपी’, ‘छक्का पन्जा–२’, ‘लुट–२ ’ लगायतका नेपाली चलचित्रमा महिलाको कामुक भाग देखाएर पुरुषलाई आकर्षित गर्न खोजेका दृश्यहरूलाई लिन सकिन्छ । २००५ मा बेलायतस्थित ‘एम्नेस्टी इन्टरनेसनल’ ले गरेको सर्वेक्षणमा उत्तरदाताहरूमध्ये एक तिहाइले ‘महिलाहरू पहिरन र व्यवहारका कारण हिंसाका लागि आंशिक जिम्मेवार छन्’ प्रतिक्रिया दिएका थिए । त्यस्तै, ‘कस्तो लुगा लगाएका थियौ तिमीले ?’ भन्ने प्रश्न आफन्त र प्रहरीले बलात्कारलगत्तै अनुसन्धानका क्रममा सोधिने गरिन्छ । केही महिनाअघि भारतस्थित एक पसलमा एउटी महिलाले छोटो लुगा लगाएकी केटीको सामुन्ने ‘तुम्हारे साथ तो रेप होना चाहिए’ भनेपछि सर्वत्र निन्दा भएको थियो । छोटो वा कामुकता झल्काउने पहिरनलाई बलात्कारसँग किन जोडेर हेरिन्छ ? विश्वभरि महिलाको पहिरनको मात्र किन आलोचना हुन्छ ? यी प्रश्नहरू जटिल छन् । आमजनको बुझाइमा पनि यस्ता पहिरन र शृङ्गारले पुरुषलाई आकर्षित गर्नुका साथै यौन उत्तेजना बढाउँदै बलात्कारका घटनासम्म पुग्न सक्ने भन्ने नै छ ।

तर, यथार्थ भने फरक छ । अपराध स्वीकार गरेकामध्ये धेरैले आफूले बलात्कार गर्दा पीडितले लगाएको पहिरन नहेरेको बताउँछन् । बलात्कार पीडितको लुगा हेर्दा अधिकांश साधारण पहिरनमा रहेको र भड्किलो लुगा नलाएको पाइएको छ । यसबाट पहिरनले बलात्कारलाई प्रोत्साहन गर्दैन भन्ने हो । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त पनि साधारण कुर्था/सुरुवालमा थिइन् । नेपालमा ५–१० वर्षका बालिका र ७० नाघेका वृद्धामाथिका बलात्कारका घटनाले पनि पहिरनले बलात्कारलाई बढावा दिन्छ वा लुगा र बलात्कारको सम्बन्ध छ भन्ने पुष्टि गर्दैन । प्रायः मुसलमान बाहुल्य देशहरू (पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया, बङ्गलादेश) मा पनि बलात्कारका घटना बारम्बार भएका छन् । यद्यपि ती देशमा प्रायः महिलाको शरीर शिरदेखि पाउसम्म छोपिएको हुन्छ । धेरै अध्ययनले बलात्कार र लुगाको सम्बन्ध नकारे पनि व्यवहार, सोच र बोलीचालीमा भने त्यसको छनक बारम्बार महसुस हुनु एउटा कुरा पेचिलो हो । त्यसैले यसलाई द्वन्द्वात्मक तरिकाले बुझ्न जरुरी छ ।

के सबै पुरुष सम्भावित बलात्कारी ?

भनिन्छ, महिला आफ्नै कारणले कहिल्यै बलात्कृत हुँदैनन् । चाहे जस्तो कपडा वा शृङ्गार वा सज्जा होस्, केवल बलात्कृत हुन्छन् त पुरुषकै कारण । प्रसिद्ध मनोविश्लेषक सिगमन्ड फ्राइडको विश्वविख्यात चित्र छ–‘ह्वाट्स अन म्यान्स माइन्ड’ (पुरुषको दिमागमा के छ ?) । त्यसमा एक नग्न महिलाको शरीरबाट पुरुषको अनुहार र दिमाग बनेको देखाइएको छ । यो चित्रले पुरुष हरपल ‘सेक्स’ चाहन्छ भन्ने देखाउँछ । नेपालमा बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेका छन् । ५५ प्रतिशत बलात्कारका घटना पीडितको आफ्नै घरमा वा घर नजिक हुने गरेका छन् । १२ प्रतिशत बलात्कार साथी वा आफन्त नातेदारका घरमा हुने गरेको तथ्याङ्कले पुष्टि गर्छ । आफ्नै छोरीलाई बलात्कार आरोपमा फिदिम पाँचथर च्याङथापुका एक व्यक्तिलाई प्रहरीले पक्रियो (अन्नपूर्ण पोस्ट, ३१ जेठ २०७४), गुल्मीको मालिका गााउँपालिकाका ७० वर्षीय वृद्धले १३ वर्षीया नातिनीलाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरीद्वारा पक्राउ (न्यूज २४, फागुन २७, २०७४) । हाल सुरक्षाको जिम्मा पाएका केही प्रहरी अधिकृत पनि बलात्कारमा संलग्न भएको आरोपमा सजाय भोग्दैछन् ।

यस्तो घृणित कार्य हुनुको कारण बुझ्न हाम्रा पाँचैवटा ज्ञानेन्द्रियको कार्य बुझ्न जरुरी छ । यी ज्ञानेन्द्रियले वस्तुको आकार वा रूपअनुसारको वेदना (‘सेन्सेसन’ वा ‘फिलिङ्स’) पैदा गराउँछ । जब केही देखिन्छ, छोइन्छ, सुनिन्छ र सोचिन्छ तब पहिले दिमागमा प्रतिक्रिया उत्पन्न हुन्छ । फ्राइडको चित्रमा जस्तै पुरुष हरपल यौनका कुराको कल्पना गरिरहन्छ । यस्तो कल्पना गरिरहेका बेला ‘टेस्टेस्टोरोन’ नामको हर्मोन निस्कन्छ । यसले शारीरिक र मानसिक रूपमा यौन सम्पर्क गराउन उत्तेजित पार्छ । यस्तो अवस्थामा इच्छा वा तृष्णा मेटाउन पुरुषले अनेक उपाय अपनाउँछ । त्यसका लागि उसले ‘जोखिम कम हुने’ सहज र निकट व्यक्ति रोज्छ । उसलाई ‘यो घटना दबाउन सक्छु वा नियन्त्रण गर्न सक्छु’ भन्ने लागेरै पुरुषहरूले चिनेजानेका मानिसप्रति आँखा गाड्छन् ।

विकास र सभ्यताको उचाइमा पुगेका भनिएको युरोप, अमेरिकादेखि भारत, नेपाललगायतका गरिब मुलुकमा पनि बलात्कारका घटना उस्तै छन् । शिक्षा, सचेतना र दण्डले मात्र बलात्कार नियन्त्रण गर्न सकिने भन्ने आममानिसको बुझाइ छ । तर बलात्कार यौन चाहनासँग सम्बन्धित हुन्छ । विश्वमा पुरुषको यौन आकांक्षा मेटाउन अनेकौं उपाय रचिएका छन् । थाइल्यान्डको ब्यांकक, भारतको मुम्बई, नेपालको ठमेल (अघोषित) र वसपार्कलगायतका ‘रेड लाइट’ ठाउँहरू यिनै पुरुषको तृष्णा मेटाउन खोलिएका अखडाहरू प्रयोग हुँदै आएका छन् । यौन चाहना मेटाउने बहानामा के सबै पुरुष सम्भावित बलात्कारी हुन सक्छन् त ? यो विवादित विषय भए पनि कुनै एउटा अपराधीमा झैं बलात्कारीको पनि कुनै हुलिया हुँदैन । त्यसैले यस्तै पुरुष बलात्कारी हुन्छन् भन्ने यकिनका साथ भन्ने अवस्था छैन । जोकोही पुरुष यो कार्यमा लिप्त हुन सक्छन् । चाहे बुवा हुन् वा प्राध्यापक, शिक्षक हुन् वा साथी, सहकर्मी हुन् वा आफन्त । त्यसैले हरेक महिला आफू सुरक्षित रहन हरेक पुरुषलाई केही हदसम्मको संशय राख्नैपर्ने हुन्छ ।

बलात्कारीको मानसिकता

तुलनात्मक र प्राकृतिक रूपमै पनि पुरुषहरू महिलाभन्दा बलिया हुन्छन् । त्यसैले पुरुषले चाहेमा महिलामाथि बल प्रयोग गर्ने क्षमता राख्छन् । ‘ठूलोले सानोलाई हेप्ने, बलियोले निर्धोलाई दबाउने’ त पुरानै मानसिकता हो । मानिस चेतनशील र सामाजिक प्राणी भएकाले दबाउने प्रक्रियालाई अपराध मानिन्छ । तर, कहिलेकाहीँ पुरुषको जैविक अधिकार र सामाजिक अधिकारमध्ये कुन पहिले भन्नेबारे द्वन्द्वको स्थिति पैदा हुन सक्छ । सामाजिक सीमा नाघेर पुरुषहरू अपराधका लागि तयार हुन्छन् । अपराध शक्तिमा भर पर्छ । बलात्कार पनि एक अपराध हो । यो अपराध सम्पूर्ण रूपमा पीडित र पीडकको शक्तिमा निर्भर गर्छ । एक्लो भएको बेला बलात्कृत हुने जोखिम बढ्छ । समूहमा त्यो जोखिम नगन्य हुन्छ । वरिपरि प्रतिरक्षा गरिदिने कोही नभएको अवस्थामा पनि यौन हिंसाको सिकार हुने जोखिम बढी हुन्छ । पटक–पटक बलात्कारका घटनामा संलग्न अपराधीलाई ‘पीडितको छनोट कसरी ?’ भन्ने प्रश्नमा धेरैले ‘सजिलै आक्रमण गर्न सक्ने केटी छान्ने वा रोज्ने गरेको’ प्रतिक्रिया दिएका छन् । यसको अर्थ–महिला बलिया भए बलात्कारको जोखिम ज्यादै कम हुनसक्छ । सामूहिक बलात्कार (ग्यााङ्ग रेप) वा एकान्तमा वा घरभित्र हुने बलात्कार बलसँग सम्बन्धित छ । त्यसैले अमेरिकाको फ्लोरिडा होस् वा नेपालको धनगढी, पुरुष आक्रमणबाट बच्न महिलालाई प्रतिरक्षा प्रशिक्षण दिइँदै आएको छ ।

‘द डार्क साइड अफ म्यान’ का लेखक घिग्लिरेका अनुसार आर्थिक र सामाजिक हैसियत कमजोर भएकाहरू बलात्कारी हुन्छन् । उनको तर्क छ–महिलालाई आकर्षण गर्न र सम्पत्ति एवं स्रोत जुटाउन नसक्ने पुरुषले अन्ततः यौन चाहना मेट्न बलात्कारतिर लाग्छन् । अपराध शक्ति हुनेले कमजोरमाथि यो कुकृत्य गर्ने हुँदा महिलाले आफ्नो शक्ति बढाउन जरुरी छ । यसो त, यहाँ यौन हिंसाबाट शतप्रतिशत सुरक्षित कुनै महिला छैनन् । त्यसैले आफ्नो बानी, व्यवहार, दैनिकी, रहनसहन र व्यक्तित्व परिवर्तन गरी आफूलाई मजबुत बनाउन लाग्नुपर्छ । हरेक शङ्कास्पद कुराको तत्कालै डटेर प्रतिवाद गर्नुपर्छ । के म कमजोर, डर र निराश त भएको छैन ? के म राति वा साँझ एक्लै त छैन ? के मेरो बसाइ खराब त छैन ? के मेरो शारीरिक प्रस्तुति भिन्न त छैन ? जस्ता भावले बलात्कारीलाई उत्प्रेरित गर्न सक्छ । दौडनु वा भाग्न सक्ने बन्नु वा प्रतिकारको क्षमता बढाउनु जोखिम कम गर्ने उपाय हुन सक्छन् ।

 Image