पवित्र साउन

प्रा.डा. वीणा पौड्याल

श्रावण ४, २०७८ साउनमा विभिन्न धार्मिक अनुष्ठान  गरी पूजा र व्रत बस्ने चलन छ । सनातन धर्मावलम्बी (हिन्दू), बौद्ध र प्रकृतिपूजक सबैको साउनसँग जोडिएका विभिन्न धार्मिक र सामाजिक प्रथा प्रचलनमा छन् । चन्द्रमासको गणना पद्धति र तीन/तीन वर्षमा पर्ने मलमासले भदौमा पर्ने केही पर्वहरू असार र साउनमा पनि पर्न सक्छन् । दिन गणनाको हिसाबले चार महिना हुने भएकाले यसलाई चतुर्मास भनिन्छ । चतुर्माससम्म खानपानमा विशेष ध्यान पुर्‍याई व्रत, पूजा गर्ने भक्तजनहरूलाई आध्यात्मिक र भौतिक लाभ हुने विश्वास गरिन्छ ।

असार शुक्ल पक्षको एकादशीदेखि कार्तिक शुक्ल पक्षको एकादशीसम्म विष्णु भगवान् शेषनागमाथि सुत्ने भएकाले वैष्णवहरूका लागि यी चार महिना विशेष  मानिन्छन् । यी महिनाहरूमध्ये पनि व्रत, होम, पूजा गर्न साउनलाई सर्वोत्तम मानिन्छ । विष्णु र शिव दुवैलाई प्रसन्न पार्न हिन्दू भक्तजनले विविध पूजा, व्रत, अनुष्ठान र दान–पुण्य गर्ने महिना हो साउन ।

 

साउने सोमबार र जनैपूर्णिमा

साउने सोमबारका दिन व्रत बसेर शिवलिङ्गमा जल चढाउँदा प्राप्त हुने पुण्यबारे शास्त्रमा विस्तृत वर्णन छ । वैदिक परम्परामा शाकाहारी भोजनलाई सर्वोत्तम मानिएको छ । पूर्ण शाकाहारी हुन नसके  साउनमा मात्रै माछा–मासु नखाँदा पनि पुण्य प्राप्त हुने कुरा हिन्दूशास्त्रमा उल्लेख छ ।

साउनमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा जाने भएकाले दान/पुण्य गर्न उत्तम मानिन्छ । आशुतोष शिवलाई छिटो प्रसन्न पार्ने महिना पनि हो साउन । यो महिनाको सोमबारलाई विभिन्न धार्मिक कारणले विशेष मानिन्छ । परोपकारी शिव  भगवान्ले सम्पूर्ण प्राणीको कल्याणका लागि  कालकूट विष पान गरेपछि उनलाई  भएको छटपटीको वर्णन पुराणहरूमा पाइन्छ । समुद्र मन्थनबाट निस्केको विषलाई व्यवस्थापन गर्न शिवले जुन कदम चाले त्यो सर्वसाधारणले कल्पना गर्न सक्ने विषय होइन । हिमाली क्षेत्रमा शिवले त्रिशूल गाडेर निस्केको जलधाराबाट बनेको त्रिशूली नदीको जलको विशेष महत्व छ । त्यसैले त्रिशूलबाट निस्केको जल कुण्डमा जम्मा भएर बनेको गोसाईंकुण्डको धार्मिक महत्व साउनमा अधिक छ । गोसाईंकुण्डको चिसो जल बगेर पाटन कुम्भेश्वर मन्दिरको एउटा सानो कुण्डमा आउने विश्वासले जनैपूर्णिमामा कुम्भेश्वरमा ठूलो मेला लाग्दछ । जनैपूर्णिमाको अघिल्लो दिन शिवजी पनि गोसाईंकुण्ड जाने  विश्वासमा पशुपतिनाथको मन्दिरको ढोका बन्द रहन्छ ।

नागपञ्चमी

काठमाडौं उपत्यकाको पानी बाहिर निकालेर यहाँ बस्ती बनाउने क्रममा थुप्रै जलचर प्राणी  माछा, भ्यागुता, कछुवा र सर्प बाहिर गए । त्यही क्रममा केही सर्पहरू रिसाएको हुनसक्ने भनेर तिनीहरूलाई प्रसन्न राख्न टौदहसहित विभिन्न ठाउँमा नागस्थानको निर्माण गरिएको भनाइ छ । नागको विशेष पूजासँगै अष्ट नाग (वासुकी, तक्षक, कालीय, मणिभ, धृतराष्ट्र, ऐरावत, कर्कोटक र धनञ्जय) को चित्र  टाँस्ने कार्य साउनको पञ्चमीमा गरिन्छ । भविष्य पुराणमा उल्लेख भएका आठ नागका परिवारका सदस्यबाहेक कालीय नाग र अन्य नागको पूजा गर्ने परम्परा चलेको हो । मूर्ति, चित्र र वास्तुकलाका विविध स्वरूपमा नागका जोडीलाई रक्षकका रूपमा स्थान दिई प्रस्तुत गरिन्छ । नागका मूर्ति र चित्र बनाउँदा मानवी रूप र स्वाभाविक सर्प रूप दुवैमा बनाउने चलन छ । नागपञ्चमी साउनको प्रमुख पर्व नै हो । हिन्दू धर्मबाहेक बौद्ध धर्ममा पनि नागको सम्मान गरिन्छ । बौद्ध ग्रन्थहरूमा नागलाई रक्षकका रूपमा वर्णन गरिएको छ । नागार्जुनलाई नागको माध्यमबाट बुद्धले प्रदान गरेको शिक्षाको वर्णन बौद्ध साहित्यमा पाइन्छ ।

ऋषितर्पणी

सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) लाई स्मरण गरी पूजा–तर्पण गर्ने दिन हो–ऋषितर्पणी । साउने पूर्णिमामा गर्ने प्रमुख धार्मिक कार्यमा  ऋषितर्पणी पनि हो । यो दिन हातमा मन्त्रणा गरिएको डोरो  र जनै धारण गर्ने चलन छ ।  

बोलबम जात्रा

शिवले जटामा गंगालाई धारण गरेका छन् ।  शिव अग्नि तत्वका प्रतीक हुन्, सृष्टि सन्तुलित राख्न शिवलाई सबै प्रहर जलको वर्षा गरिन्छ । साउनमा विभिन्न तीर्थस्थलबाट ल्याएको जल प्रसिद्ध शिवलिङ्गहरूमा चढाउने प्रथाले तामझामका साथ प्रशय पाइरहेको छ । ‘बोल बम बोल’ भन्दै नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनले सुन्दरीजल, बाग्द्वार, बागमतीलगायतका स्थानको जल पशुपति वा गोकर्णेश्वरमा रहेको शिवलिङ्गमा अर्पण गर्छन् । यसैगरी, साउनको १५ गते खीर पकाएर शिव परिवार र कृष्ण परिवारलाई चढाउने चलन छ । घाँसपात बढी भएर चौपायाहरूले दूध प्रशस्त दिने भएकाले साउनमा खीर पकाएर प्रसादका रूपमा खाने चलन नेपाली समाजमा छ ।

गुरुपूर्णिमा

साउने पूर्णिमालाई गुरुपूर्णिमाका रूपमा पनि मनाइन्छ । हाम्रो समाजमा गुरुको ठूलो महत्व छ । हरेक दिन गुरुलाई सम्मान गर्नुपर्छ, त्यो सम्भव नभए साउन पूर्णिमामा गुरुलाई फलफूल, मिठाईं, वस्त्र, दक्षिणा अर्पण गरी ऋण चुक्ता गर्ने चलन छ । साउन पूर्णिमाकै दिन बुद्धले मारमाथि विजय प्राप्त गरेका थिए ।

हरियो रंग र मेहन्दी

साउनको महिमा श्रीकृष्णसँग पनि जोडिएको छ । नेपालको तराई क्षेत्रमा साउनमा श्रीकृष्ण र राधा रानीको झुला झुलाउने प्रचलन छ । प्रकृतिमा भएको हरियो रंगबाट मोहित भई मानिसले आफ्ना इष्टदेवतालाई हरियो वस्त्र चढाउने र आफूले पनि हरियो रंगकै वस्त्र लगाउने चलन चलाए । यसमै अन्य शृगांरका सामग्री चुरा, पोते, टीका पनि जोडिँदै गए । विभिन्न पद्धतिका चिकित्साशास्त्रमा हरियो रंगका सागपात र फलफूल हेर्दा मात्र पनि आँखालाई फाइदा  हुनेबारे वर्णन छ । सौन्दर्यप्रेमीले विभिन्न चरा र जनावरहरूका विविध रंग आफ्नो शरीरमा धारण गरी आफूलाई सुन्दर र आकर्षक बनाउने चलन धेरै पहिलादेखिकै हो । त्यसकै एउटा उदाहरण हो हरियो रंगले आफूलाई शृंगार गर्नु ।

त्यस्तै, पानीमा गाडिएर कृषि कार्य गर्दा  शरीरका अङ्ग बचाउन  मेहन्दी हात र गोडामा लगाएर सुरक्षित राख्ने कार्य पनि साउनमा गर्ने विधान छ । पछिल्लो समय कृषि पेसाबाहेक अन्य पेसा अपनाउँदा शृंगारको साधन मेहन्दी बनेको छ ।

लुतो फाल्ने प्रथा

साउनको पहिलो दिन अर्थात् संक्रान्तिमा गरिने विविध कार्यसँग स्वास्थ्यको ख्याल गरी लुतो अर्थात्  छालामा लाग्ने एक प्रकारको रोग नलागोस् भनेर गरिने विधान रोचक र सन्देशमूलक छ । कण्डारक असुरलाई स्मरण गरी आफ्नो घरको चारै दिशामा विशेष प्रकारका काठ (कुकुरडाइनो, काग भलायो) बालेर फाल्ने र नाङ्लो ठटाउने प्रथा कायम छ ।

क्वाँटी खाने चलन

साउनमा टुसा उमारेका गेडागुडीको क्वाँटी खाने  चलन  छ । काठमाडौंका नेवार समुदायको यो परम्परा देशका सबै जातजातिमा  प्रचलन भैसकेको छ । नौ प्रकारका गेडागुडी (मुग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्ला) खाएर चिसो भगाउने विश्वासमा यो दिन छोरी–चेली तथा ज्वाईं बोलाएर  रमाइलो गरिन्छ । यसैगरी, जनैपूर्णिमाका दिन काठमाडौंका कृषकहरूले यो पर्व भव्य रूपमा मनाउँछन् । यो एउटा नौलो संस्कृति हो । पर्यावरण र मनसुनको सम्मान गरी भ्यागुतालाई पूजा गरी क्वाँटी, भात खान दिइएको हो । वेदमा मण्डूक ऋचाको उल्लेख छ । त्यतिबेलादेखि वर्षाका लागि सम्झना गरिएका भ्यागुताको मल्लकालदेखि आजसम्म पनि पूजा भैराखेको छ ।

( लेखिका संस्कृतिविद् हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>