Successfully Copied

गर्मी र घरपालुवा

घरपालुवाले आफ्नो शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न पनि बढी ऊर्जाको आवश्यक पर्छ ।

डा. शरद सिंह यादव, एडभान्स पेट हस्पिटल

गर्मी मौसमको सुरुवातसँगै घरपालुवाहरूलाई पनि विशेष स्याहारको आवश्यकता पर्छ । जाडो मौसमजस्तै गर्मीमा पनि घरपालुवालाई समस्याहरू आउने हुनाले घरपालुवाको खानपान तथा अन्य कुरामा विशेष ध्यान दिनुपर्छ ।

घामबाट बचाउने

घरपालुवाहरूको जिउ बाक्लो रौंले ढाकिएको हुन्छ । उनीहरूको शारीरिक तापक्रम मानिसको भन्दा बढी हुन्छ । तर, उनीहरूलाई पसिना आउँदैन । त्यसैले घरपालुवालाई चर्को घाममा राख्नुहुँदैन, बिहानको घाममा एक घण्टा राख्दा ठीक हुन्छ ।

गर्मीमा खानपान

घरपालुवाले गर्मी मौसममा जाडोको तुलनामा कम खानेकुरा खान्छन् । तर, गर्मी मौसममा उनीहरूलाई अझ बढी ऊर्जाको आवश्यकता पर्छ । घरपालुवाले आफ्नो शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न पनि बढी ऊर्जाको आवश्यक पर्छ । त्यसैले गर्मीमा पनि घरपालुवालाई कार्बोहाइड्रेट, प्रोटिन, मिनरल, भिटामिन, फाइबरयुक्त सन्तुलित भोजन हुनुपर्छ । घरायसी खानाबाट यी कुराहरू पूर्णरूपमा प्राप्त नहुने भएकाले घरपालुवाका लागि बनाइएका तयारी खाना दिन उपयुक्त मानिन्छ । सन्तुलित खानासँगै सफा पानीको व्यवस्था २४ सै घण्टा हुनुपर्छ ।

छालाको स्याहार

प्रायः घरपालुवालाई गर्मीमा छालासम्बन्धी समस्या देखापर्छ । यसको प्रमुख कारण भनेको असन्तुलित खाना तथा छाला र रौंको उचित स्याहार नहुनु हो । घरपालुवाको दिनहुँ रौं कोरिदिनुपर्छ । गर्मीमा नुहाउँदा राम्रो स्याम्पु प्रयोग गरी किर्ना–उपियाँको उचित व्यवस्थापन गर्नुपर्छ । छाला तथा रौंसम्बन्धी धेरैजसो समस्या किर्ना–उपियाँले नै निम्त्याउने हुँदा गर्मीमा किर्ना–उपियाँको व्यवस्थापन उचित ढंगले गर्नुपर्छ ।

शारीरिक व्यायाम

गर्मी मौसममा पनि घरपालुवाको व्यायाम अति आवश्यक भएको हुनाले यसलाई निरन्तरता दिनुपर्छ । तर गर्मीमा घरपालुवालाई सकेसम्म सूर्य उदाउनुअघि नै शारीरिक व्यायाम दिएको उचित हुन्छ । घरपालुवालाई स्वस्थ राख्न व्यायाम आवश्यक हुन्छ ।

गर्मीमा ‘हिट स्ट्रोक’

बढी गर्मीका कारणले कहिलेकाहीँ घरपालुवालाई ‘हिट स्ट्रोक’ हुनसक्छ । यो अवस्थामा घरपालुवा बेहोस हुने, शारीरिक तापक्रम १०८ डिग्रीसम्म पुग्ने, र्‍याल चुहाउने र श्वासप्रश्वास छिटो–छिटो चल्ने हुनसक्छ । यस्ता लक्षण देखिए छिटो पशु चिकित्सकको सल्लाहमा उपचार गराउनुपर्छ ।

घरपालुवाको वासस्थान

गर्मीमा घरपालुवाको वासस्थानको उचित व्यवस्थापन हुनुपर्छ । हावादार ठाउँ, धेरै गर्मी नहुने ठाउँ हुनुपर्छ ।

 Image