Successfully Copied

उपयोगी तोफु

तोफुलाई शाकाहारीका लागि राम्रो प्रोटिन मानिन्छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने करिब नौवटा एमिनो एसिड पाइन्छ ।

मीरा शाह

पोषणविज्ञ, किर्तीपुर अस्पताल

तोफुलाई शाकाहारीका लागि राम्रो प्रोटिन मानिन्छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने करिब नौवटा एमिनो एसिड पाइन्छ । खराब (एलडीएल) कोलस्टेरोल हटाई राम्रो चिल्लो पदार्थ (एचडीएल) बढाउनमा पनि यसले सहयोग गर्छ । यसमा खनिज तत्व, म्याग्नेसियम, फस्फोरस, फलाम तत्व, कपर, जिंक, भिटामिन ‘बी १’, डाइटरी फाइबरलगायतका पोषण पाइन्छ । यी पोषण तत्वहरूले महिलाहरूमा हर्मोन उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । एस्टोरोजन हर्मोनको वृद्धिमा पनि यी तत्वहरूले सहयोग गर्छन् ।

पोषक तत्वको मात्रा

(प्रति १०० ग्राममा)

क्यालोरी : ७३ किलो क्यालोरी

प्रोटिन : ८.१ ग्राम

चिल्लो पदार्थ : ४.२ ग्राम

डाइटरी फाइबर : १ ग्राम

कार्बोहाइड्रेट : २.३ ग्राम

क्याल्सियम : ३१ प्रतिशत

फस्फोरस : १२ प्रतिशत

कपर : ११ प्रतिशत

फलाम तत्व : ९ प्रतिशत

जिंक : ६ प्रतिशत

सोडियम : ८.७ मिलिग्राम

स्याचुरेटेड र्‍याट : ०.९ ग्राम

तोफुका प्रकार

सिल्कन : यसलाई जापनिज स्टाइल तोफु भनिन्छ । यसमा पानीको मात्रा बढी हुन्छ । यो सस तथा स्मुदी बनाउन काम लाग्छ ।

रेगुलर टोफु : यो सामान्य प्रकारको तोफु हो, जुन हामी खानामा प्रयोग गर्छौं । यसलाई फ्राई, सुप, ग्रेभी तरकारी तथा गोलभेंडा मिसाई अचार बनाएर खान सकिन्छ ।

एक्स्ट्रा फर्म तोफु : यसमा पानीको मात्रा कम हुन्छ र यो कडा हुन्छ । यसको फ्राई वा डिप फ्राई र सेन्डविच बनाउने गरिन्छ ।

तोफुका फाइदा

- हर्मोन सन्तुलन राख्न मद्दत गर्छ ।

- आयु वृद्धि गराउँछ । यो सबै उमेरका लागि स्वस्थकर र उपयोगी छ ।

- सहज उपलब्ध हुने तोफु सस्तो पनि छ ।

- अमेरिकन हार्ट एसोसिएसनले गरेकोे अध्ययनअनुसार यसको नियमित सेवनले मुटु रोग, मिर्गौला रोग, स्तन क्यान्सर निको भएको देखाएको छ । महिनावारी सुकेका महिलालाई सोयाबिन वा तोफुको एक कप नियमित प्रयोगले हर्मोनको सन्तुलन राम्रो भएको पाइएको छ । ‘प्रि–मेनोपज’ तथा ‘पोस्ट–मेनोपज’ मा तोफु (सोयाबिन) समावेश गरे राम्रो परिणाम देखिएको छ । मेनोपजमा हुने समस्याका लागि तोफुको प्रयोगले फाइदा पुर्‍याएको विभिन्न अनुसन्धानले देखाएको छ ।

- मोटोपन कम गर्छ । एउटा अध्ययनले ८ देखि १२ सातासम्मको प्रयोगले तौल कम भएको देखाएको छ । शरीर सन्तुलन राख्छ ।

- करिब १२ प्रकारका क्यान्सर (स्तन क्यान्सर, वंशानुगत क्यान्सर समेत) निको भएको देखाएको छ । शरीरको अनावश्यक चिल्लो पदार्थ हटाउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सर ३२ देखि ५१ प्रतिशत कम भएको अध्ययनले देखाएको छ ।

- मधुमेहलाई कम्तीमा १५ प्रतिशत र इन्सुलिनलाई २५ प्रतिशतसम्म नियन्त्रण गर्छ्र ।

- तोफुको ८० ग्राम नियमित प्रयोगले हड्डी बलियो बनाउँछ ।

- स्मरण शक्ति बढाउने, राति तोफु खानाले निद्रा राम्रो लाग्छ ।

- पाचन क्रियालाई ठीक गर्छ ।

- एउटा अर्को अध्ययनले यसको नियमित प्रयोगले पुरुषहरूको आन्द्राको क्यान्सर ६१ प्रतिशत र महिलाको ५९ प्रतिशतसम्म निको भएको देखाएको छ । कलेजो स्वस्थ राख्न मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट र हेप्टोप्रोटेक्टिव गुण भएकाले कलेजोलाई क्षति हुनबाट जोगाउँछ । छालाको सम्पूर्ण समस्या समाधान गर्छ भने चाउरीपन पनि कम गर्छ । केश झर्न कम हुन्छ ।

कसले प्रयोग हुँदैन ?

यसमा अत्यधिक मात्रामा ओग्जालिक एसिड भएकाले मिर्गौलाका बिरामीले नियमित प्रयोग गर्नु हुँदैन ।

- स्तन ट्युमर भएकाले तोफु सेवन गर्नु हुँदैन ।

- थाइराइड भएकाले पनि यसको नियमित सेवन गर्नु हुँदैन ।

- गर्भावस्थामा बढी सेवन गरेमा भ्रूणलाई क्षति पुर्‍याउन सक्छ ।

- अत्यधिक प्रयोगले रगत जमाउन सक्छ ।

- पुरुषहरूमा स्पर्म (बीर्य) कम उत्पादन गराउन सक्छ ।

 Image