Successfully Copied

‘ज्येष्ठ नागरिकलाई माया र सम्मानको खाँचो’

समग्रमा भन्दा उहाँहरूलाई न्याय दिलाउन सकिएको छैन । ज्येष्ठ नागरिकलाई अपहेलित वर्गकै रूपमा लिएको पाएका छौं ।

आरती पौडेल

अध्यक्ष, सार नेपाल

ज्येष्ठ नागरिकको अवस्था कस्तो छ ?

समग्रमा भन्दा उहाँहरूलाई न्याय दिलाउन सकिएको छैन । ज्येष्ठ नागरिकलाई अपहेलित वर्गकै रूपमा लिएको पाएका छौं । जबसम्म शरीरमा बल र तागत रहन्छ, तबसम्म छोराछोरीका लागि पूजनीय हुन्छन् । शारीरिक रूपले निस्क्रिय भएपछि ‘अब मेरा दिन गए’ भन्ने धारणा पाइन्छ । यो धारणा बदल्न जरुरी छ ।

ज्येष्ठ नागरिकलाई अपहेलना गर्ने, घरबाट निकाल्ने, आश्रममा पुर्‍याउने प्रवृत्ति कस्तो छ ?

आफै स्वयं बुवाआमालाई घरबाटै निकाल्ने वा आश्रममा पुर्‍याउने कम छन् । समाजको डरले पनि यस्ता कार्य धेरैले गर्दैनन् तर घरकै कुनामा राखेको भने पाइन्छ । मानसिक यातना दिने, सम्मान नगर्ने, अपहेलना गर्ने घटना भने देखेकी छु । कतिलाई त सडकबाट उद्धार गरेर पनि ल्याएका छौं ।

कस्ता छोराछोरी/घरपरिवारले आमाबुवालाई दुःख दिएको वा घरबाट निकालेको पाउनुभएको छ ?

ठ्याक्कै यस्तै भन्न सकिँदैन । पढे–लेखेका सन्तानले पनि यस्तो गरेको पाइन्छ, आर्थिक अवस्था कमजोर भएकाहरूले पनि गरेका छन् । माथिल्लो वर्ग हुने–खानेहरूको परिवारकालाई पनि हामीले सडकबाट उद्धार गरेका छौ । राम्रोसँग स्याहार–सुसार नपाएका, पारिवारिक बन्डिङ नभएकाहरू पनि हुँदा रहेछन् । व्यक्ति नैतिकवान् नभएको, सुख–दुःख जे–जस्तो भए पनि सबैजना मिलेर बस्नुपर्छ भन्ने सोच नभएकाहरूबाट यस्ता घटना हुने हुन् । मुख्य कुरा गरीबी र सबै श्रीसम्पत्ति आफ्नो नाममा पारेपछि ‘जतासुकै जाऊन््’ भनेर मतलब नगर्ने धेरै छन् ।

ज्येष्ठ नागरिकमा कस्तो भावनात्मक अवस्था हुन्छ ? उनीहरूको मनोदशा कस्तो हुन्छ ?

धेरैजसोमा अवकाशपछि मनोविज्ञान स्वात्तै घटेको पाइन्छ । धेरैमा आत्मविश्वासमा कमी आएको भेटिन्छ । ज्येष्ठ नागरिकहरूलाई अवकाशपछि आफ्नो कलाकौशल देखाउने ठाउँ छैन । बुढेसकालमा इष्टमित्रसँग बसेर भलाकुसारी गर्ने ठाउँ पनि छैन । यसले गर्दा उहाँहरूमा मनोसामाजिक असर देखिने गरेको छ । कतिपय ज्येष्ठ नागरिक आफ्नो क्षेत्रमा विज्ञ हुनुहुन्छ, उहाँहरूको कार्यलाई सही सदुपयोग गरी सक्रिय राख्न सकिन्छ । पाको उमेरमा छोराछोरीले पनि समय दिन नभ्याउने भएकाले एक्लो महसुस गर्छन् । गृहिणीहरू जो पहिलेदेखि नै आर्थिक रूपमा आत्मनिर्भर छन्, उनीहरूलाई त्यति गाह्रो छैन तर, आफ्नै कमाइ खानेहरूलाई अचानक काम नहुँदा समस्या हुन्छ । जसले आफ्ना छोराछोरीका लागि त्याग–तपस्या गरेर उनीहरूलाई अब्बल बनाए, तिनैले भावना नबुझ््दा ठेस पुग्नु स्वाभाविकै हो । सकारात्मक पाटो भनेको उहाँहरूको धर्मप्रतिको आस्थाका कारण मनोबल उच्च रहेको पाएकी छु । ‘जे गरायो ईश्वरले गरायो’ भन्ने आध्यात्मिक आस्थाका कारण ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनमा आएका दुःखहरूमा सकारात्मक सोच राखेर चित्त बुझाउने गरेका छन् ।

ज्येष्ठ नागरिकलाई सम्मान र माया गर्ने संस्कार कस्तो छ ?

हामीहरू ‘माता–पिता र गुरु पूजनीय हुन’ भन्ने संस्कारबाट आएका हौं । उहाँहरूलाई सम्मान र माया गर्नुपर्छ भन्ने संस्कृति नै छ । सबैले सम्मान नगर्ने होइन, सम्मान दिन त खोजिरहेका हुन्छन् । कतिपय अवस्थामा भने सम्मान दिने तरिका के हो ? भन्ने थाहा पाउँदैनन् । घरभित्रै सबै सुख–सुविधा दिएर राख्ने कि उहाँहरूलाई उचित प्लेटफर्म दिएर घुलमिल गराउने हो । सम्मान दिने शैलीलाई परिमार्जन गर्न जरुरी छ । अलिक फरक ढंगले हेर्नुपर्छ । समय दिई रमाइलोसँग धार्मिक स्थलमा घुमघाम गराउँदा उहाँहरूले मनोसामाजिक न्याय प्राप्त गरेको ठहरिन्छ । यो उमेरमा माया, प्रेम एवं स्नेह पनि उत्तिकै अपरिहार्य हुन्छ ।

 

उहाँहरूले गर्ने खास गुनासाहरू के–के हुन् ?

प्रत्येक ज्येष्ठ नागरिकका आ–आफ्नै भोगाइ र गुनासा हुन्छन् । समग्रमा उहाँहरूको गुनासो नेपाल सरकारसँग बढी रहेको पाएकी छु । विकसित मुलुकहरूमा ज्येष्ठ नागरिकहरूलाई उचित स्याहारमा ध्यान दिएको हुन्छ । रोगबाट ग्रसित भएकाहरूलाई नर्सिङ केयरको सुविधा हुन्छ । उनीहरूको उपचारमा सरकारले नै लगानी गरेको हुन्छ । सरकारबाट यस्ता सुविधा पाएपछि उहाँहरू बुढेसकालमा पनि सुरक्षित महसुस गर्नुहुन्छ । यहाँ भने उपचार खर्च एकदमै खर्चिलो छ । सरकारले उपचारमा केही सहज बनाइदिए बुढेसकालमा अपहेलित भएर बाँच्नुपर्ने बाध्यता हट्थ्यो कि ? भन्ने गुनासो धेरैको हुन्छ ।

शारीरिक र मानसिक रूपमा कमजोरको हेरचाह कसरी गर्ने ?

सबैभन्दा महत्वपूर्ण कुरा उहाँहरूलाई माया र सम्मान दिनु हो । त्यसबाहेक उहाँहरूलाई सक्रिय र फिट राख्ने कोसिस गर्नुपर्छ । उहाँहरूको सुरक्षाको कुरा आउँछ, त्यसमा ध्यान दिनुपर्छ । एक्लोपनबाट बचाउनुपर्छ । कुनै पनि कुरा वा व्यवहारले उहाँहरूलाई ठेस पुग्न सक्छ, विचार पुर्‍याउनुपर्छ ।

 Image