कोरोनाकालका रोलमोडल

लक्ष्मी भण्डारी

असार ५, २०७८ सहज ढंगले बाँच्ने चाहना सबैको हुन्छ । तर, परिस्थितिजन्य अवस्था र प्राकृतिक विपद्ले धेरैको त्यो चाहना पूरा नहुन सक्छ । यसको अर्थ हरेस खाएर बस्ने भन्ने होइन । जीवनमा आउने सबैखाले समस्या र चुनौतीलाई चिर्दै अगाडि बढ्ने हो । जस्तोसुकै कठिन परिस्थितिमा पनि विकल्प खोज्दै अगाडि बढ्नु नै जीवन हो । पछिल्लो समय प्रलयकारी कोरोनाले धेरैको रोजगारी मात्रै गुमेन, उद्यम–व्यवसाय ठप्प भए । आम्दानीको स्रोत गुम्दा धेरै जना डिप्रेसनको सिकार भए । यी सबका बावजुद पनि केही यस्ता निस्किए, जो नयाँ विकल्प सिर्जना गर्दै अघि बढिरहे । तिनीहरूले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई चरितार्थ गर्दै सफल भएका छन् । यो आलेखमा त्यस्तै सफल व्यक्तित्वहरूलाई समेट्ने प्रयास गरिएको छ ।

नेपालमा कोरोना भित्रिएपछि ट्राभल एजेन्टका रूपमा कार्यरत विनीता पोखरेलको जागिर गयो । त्यसपछि घरै बस्न थालिन् । काम गर्ने उनको बानी, घर बस्दा शान्ति भएन । केही न केही गर्नुपर्छ भन्ने सोच आयो । ‘मासुको अचार बनाएर खाने लामो समयदेखिको योजना पूरा गर्ने अवसर यही फुर्सदको समयमा पाएँ । मैले बनाएको अचार घरमा सबैलाई मन पर्‍यो’ आफ्नो उद्यम यात्राको सुरुवाती समयबारे उनले भनिन्, ‘मेरी जेठानी बैंकमा कार्यरत हुनुहुन्छ, उहाँले अफिस लानुभयो सबैले मन पराए छन् ।’ गरे हुने रहेछ भन्ने हौसला मलाई प्राप्त भयो । अचार बनाउन सुरु गरें । सुरुवातका दिनमा दैनिक चार घन्टा सामाजिक सञ्जालमा बिताउँथें’ । ‘अब त्यसको सदुपयोग गर्दै फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत मार्केटिङ गर्न थालें । अपरिचित मानिसहरूलाई समेत सहयोग गरिदिन अनुरोध गरें ।’

विनीता पोखरेल

हिजोआज विनीतासहित उनको परिवार नै यो व्यवसाय सञ्चालनमा लागेको छ । अब त यसैलाई उद्यम बनाउने उनको लक्ष्य छ । उनले भनिन्, ‘पहिलो लकडाउनमा ठूलो पानी परेको बेला रेनकोट ओढेर टाढा–टाढासम्म स्कुटरमा सामान डेलिभरी गर्न हिडेकी थिएँ, सम्पूर्ण स्वास्थ्य सावधानी भने हाम्रो पहिलो सर्त थियो र आज पनि छ । तीन महिनासम्म राख्न मिल्ने यो अचार हामी आफैं डेलिभरी दिन्छौं ।’ आफू अब ट्राभल तथा टुरिजम क्षेत्रमा नफर्किने मनस्थिति बनाएको बताइन् । यसैलाई ब्रान्ड बनाएर अघि बढ्ने उनको सोच छ । उनको अचार ‘बिनिज फुड्जी’ नामले घरेलु र प्यानमा दर्तासमेत भइसकेको छ । अब भेज अचार पनि थप्ने योजनामा छिन्, विनीता । अर्डर आउनेबित्तिकै कस्तो हिसाबले बनाउने भनेर ग्राहकसँगै सोध्छिन् । ओभनमा रोस्ट गरी बनाइने अचारलाई उनी हेल्दी भर्सनको अचार भन्न रुचाउँछिन् ।

अमेरिकामा ठूला व्यवसाय सञ्चालन गरेका ज्ञानेन्द्र खड्का ‘एक्सल ट्रिप’ नामक ट्राभल एजेन्सीका साथ पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने हेतुले नेपाल फर्किए । ठूलो लगानीमा सुरु गरेको ‘एक्सल ट्रिप’ सञ्चालनको केही दिनमै कोरोनाका कारण बन्द भयो । नेपालकै एटीएममार्फत संसारभरका जुनसुकै होटल बुकिङ र एयरलाइन्सका टिकट खरिद गर्न सकिने सेवा बन्द भएपछि उनी खिन्न भए, सँगसँगै उनको विशाल लगानी पनि डुब्यो । तर, नेपाल र नेपालीका लागि केही गरौं भन्ने हुटहुटी उनको मनभित्र छँदै थियो । अघिल्लो लकडाउनको केही दिनमै उनले ग्यापु नामक अनलाइन मार्केट लन्चिङ गरे । ‘समयले जे गर्छ राम्रैका लागि गर्छ भनेर स्वीकार गर्न सकिएन भने अबको समयमा पछि परिन्छ’ उनले भने, ‘लकडाउनका कारण सर्वसाधारणलाई बाहिर हिँडडुल गर्न सकस भयो । बजार जान डर भयो । त्यस्तो अवस्थामा उनीहरूका लागि अत्यावश्यक सरसामान घरमै पुर्‍याउन हामी सफल भयौं । पहिलो लकडाउनमा नेपालमा सञ्चालित अन्य अनलाइन सपिङ प्लेटफर्म बन्द हुँदा पनि हामीले कडा सुरक्षा सावधानी अपनाएर निरन्तर सेवा दिइरह्यौं ।’

ज्ञानेन्द्र खड्का

अहिले ग्यापुमा १ सय १५ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् । एउटा परिवारमा पाँच जनाका दरले हिसाब गर्दा पनि ग्यापुले पाँच सयभन्दा बढी मानिसलाई बचाइरहेको ज्ञानेन्द्रको अनुमान छ । उनले भने, ‘कोरोना महामारीका कारण जागिर गुमाएका वा व्यवसाय बन्द भएका कतिपय मानिस अब केही गर्न सकिँदैन भनेर हरेस खाएको पनि देखें तर म जहिले पनि गोल सेट गरेर हिँड्ने मानिस हुँ । एउटा गोल पूरा भए पनि अर्को सुरुवात गर्छु ।’

 ज्ञानेन्द्रको ग्यापुले अहिले सुरक्षा सावधानी अपनाएर दैनिक आवश्यकतालगायत अन्य विविध सामग्रीको होम डेलिभरी गर्छ । उपत्यकामा मात्रै दैनिक ६ सयभन्दा बढी स्थानमा यसले सामान पुर्‍याउँदै आएको छ । ‘हाम्रा स्टाफहरू सबैले दोस्रो चरणको खोप लगाइसकेका छन् । कोरोना लागिहाल्यो भने उनीहरूलाई हामी आफैं उपचार गरिदिन्छौं । हाम्रा हरेक सामान सेनिटाइज गरेपछि मात्र ग्राहकको घरमा पुग्छन्’ उनले भने । ग्यापुले १ लाख भन्दा बढी मोबाइल एप डाउनलोड गर्न सकिने ग्यापुको प्लेटफर्ममा चार लाख भन्दा बढी प्रोडक्ट उपलब्ध छन् ।

पूनम श्रेष्ठ

यसरी नै ब्युटिसियन पूनम श्रेष्ठ पनि आफूलाई सक्रिय राख्न सफल भएकी छन् । लकडाउनयता उनले भर्चुअल माध्यमबाट सौन्दर्यसम्बन्धी विभिन्न तालिम दिँदै आएकी छन् । यसैलाई माध्यम बनाएर सौन्दर्य सामग्रीको बिक्री–वितरण गर्दै आएकी छन् । यिनका प्रसाधनको माग बढ्न थालेको छ । बानेश्वरस्थित ब्युटी सलुनमा कोरोनाका कारण मान्छे आउन छाडेपछि उनले यो तरिका अपनाएकी हुन् । उनले भनिन्, ‘केही न केही उपाय त निकाल्नैपर्‍यो । यसै बस्दा सिर्जनशीलतामा ह्रास आउने र कमाइको हिसाबले पनि कमजोर भइने हुनाले यो विकल्प खोजेकी हुँ ।’ हिजोआज उनी भर्चुअल क्लासमा व्यस्त हुन्छिन्, सामान मगाउने क्रेतासँग सामाजिक सञ्जालमा कुरा गरिरहेकी हुन्छिन् । ‘यसो गर्दा खाली पनि बस्न नपर्ने, आम्दानी पनि हुने’ पूनमले भनिन्, ‘अलिकति सिर्जनशील र जाँगरिलो भइयो भने यत्तिकै बस्नु पर्दैन । काम आफूलाई खोज्दै आइपुग्छ ।’

कविता श्रेष्ठ

पेसाले शिक्षिका कविता श्रेष्ठलाई पनि नेपालमा कोरोना भित्रिएपछि खाली बस्नुपर्‍यो । उनले भनिन्, ‘काम नगरी दिनभरि घर बस्दा अनेक थरी कुरा मनमा आउँथे । त्यसपछि विकल्प खोज्न थालें ।’ स्कुल पढाउँदाताका नै उनले अलिअलि सेयरमा लगानी गरेकी थिइन् तर त्यसैमा केन्द्रित भने थिइनन्, न त उनमा सेयरको रस नै पसेको थियो । अब के गर्ने भन्दा भन्दै उनले सेयर बजारबारे गहिरिएर अध्ययन गरिन् । मेहनत गरेको खण्डमा घरै बसी आम्दानी गर्न सकिने जानेपछि उनी त्यसैमा तन, मन, धन लगाएर अघि बढिन् । पहिलो लकडाउनपछि विद्यालयहरू पनि खुल्न थाले तर कविता फर्केर फेरि स्कुल पढाउन गइनन् । उनले भनिन्, ‘स्कुलमा धेरै पटक बोलाए तर गइन । ११ बजेदेखि ३ बजेसम्म सेयर मार्केट खुल्छ । दिनको ४ घन्टा दिँदा उता भन्दा यतै राम्रो आम्दानी हुने र घरको काम पनि भ्याइने, यही काममा सहज भएपछि स्कुल जान मन लागेन । अहिले सम्झिँदा वर्षौं विद्यालयमा किन पढाएँछु, बरु यतै लागेको भए अझ राम्रो गर्न सकिने रहेछ भन्ने लाग्छ अहिले त ।’

अहिले कलेजका विद्यार्थी पनि सेयर बजारमा लाग्ने गरेकाले कविताले यस क्षेत्रमा राम्रो स्कोप देख्छिन् । ऋण काढेर होइन, बरु थोरै नै भए पनि आफ्नै पैसाबाट लगानी गर्न सके यो क्षेत्रबाट राम्रो कमाइ हुने उनको अनुभव छ । कविताले भनिन्, ‘हामीले अलिकति आउट अफ बक्स भएर सोच्नैपर्ने रहेछ । सधै कम्फर्ट जोनमा बस्ने होइन केही चुनौती मोल्न पनि तयार हुनुपर्छ । विकल्प हजारौं हुन्छन् । खाली त्यसलाई पहिल्याउन सक्नुपर्छ ।’

बेली डान्सरका रूपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत बेली डान्सको प्रशिक्षण दिएकी छिन् । डान्स जस्तो कला भौतिक रूपमा उपस्थित नभई कसरी सम्भव हुन्छ ? भन्नेहरूले यिनबाट ज्ञान सिकेका छन्–चाह्यो भने हरेक कुरा सम्भव छ । दर्जनौं स्टेज कार्यक्रममा आफ्नो बेली डान्स कला प्रस्तुत गर्दै आएकी बिनुले युवापुस्ताको चाहनानुसार नै अनलाइनमार्फत पहिलो पटक यो नृत्यको प्रशिक्षण दिएको बताइन् । ‘पछिल्लो समय युवापुस्तामा बेली डान्सको क्रेज बढ्दो छ । पैसा तिरेरै भए पनि उल्लेख्य युवा भर्चुअल प्लेटफर्ममा भाग लिन आए ।’ एक साता बेली डान्स सिक्ने प्रशिक्षार्थीले १५ सय रुपैंयाँ शुल्क तिरेको बताउँदै उनले भनिन्, ‘यस्तो बेला युवाहरूलाई के गरौं, कसो गरौं, नयाँ केही सिकौं भन्ने हुन्छ अर्को कुरा उनीहरूसँग समय पनि हुन्छ । अहिलेका युवा टेक्नो–फ्रेन्डली छन् । उनीहरूले यसमा निकै इन्जोय गरेको र धेरै कुरा सिकेको प्रतिक्रिया पाएँ ।

’शमशेर तामाङ

शमशेर तामाङ पहिला ड्राइभिङ गर्थें । कोरोनापछि लकडाउनका कारण उनको जागिर गयो । ४ जनाको परिवार पाल्न धौधौ भयो । सीपद्वारा सञ्चालित उपायमा उनले काम पाए । अहिले घर–घरमा अक्सिजन डेलिभरी गर्छन् । काम गर्दा ट्राफिक पुलिसले समातेको समात्यै गर्छन् । अक्सिजन छोडेर फर्किंदा धेरै समस्या छ । दिनभरी गाडी राखिदिन्छ बेलुकी सात बजे २ सय तिरेपछि छोडिदिन्छ । कार्गो कम्पनीको चिट, आइडी हुँदा पनि छोड्दैनन् । अक्सिजन नपाएर छटपटिएका मान्छे बचाउन हिड्दा पनि सेवा गर्न पनि नपाउनु । म त आम्दानी भन्दा पनि धर्मका लागि हिडेको हो । बालबच्चा सानै छन्, श्रीमती छ उनीहरूको पाल्नु पर्‍यो । सहयोग पनि भयो आफू र परिवार पनि पालिने हेतुले यो जोखिम मोलेर हिडेको हुँ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>