महाव्याधिमा बढे मानसिक रोगी

नारी संवाददाता

असार ५, २०७८

डा. गंगा पाठक, मनोविद्

 

हिजोआज धेरैको मुखबाट अनुत्तरित प्रश्नहरू सुनिन्छ– कहिलेसम्म हो यो मानसिक तनाव ? अझै के–के भोग्नुपर्ने हो ? यसको उत्तर कसैसँग छैन । प्रश्नलाई सम्बोधन गर्ने निकाय पनि प्रायः निष्क्रिय छ । तर एउटा तीतो सत्य चाहिँ के हो भने–यस्ता प्रश्नले संसारलाई नै झस्काइरहेको छ । नेपालको सन्दर्भमा, नेपाली धेरै नै प्रताडित छन् । झन्डै १० मध्ये ८ जनाले आफूहरू चिन्ता, तनाव र डरको स्थितिमा रहेको गुनासो गरेका छन् ।

एक शिक्षित महिलाले ३० वर्षको आफ्नो वैवाहिक जीवन कोभिडकै कारण अन्त्य गरिदिएको पीडा सुनाएकी छन् । दुई छोराछोरी विवाह गरी विदेश गएका र श्रीमान् लकडाउन भरी अन्य केटीका साथमा बसी रात नै बाहिर बिताउन थालेपछि मनमा साह्रै चोट लागेर आफूले सम्बन्ध विच्छेद गरेको ती महिलाले बताइन् । त्यसपछि एक्लै कोठामा थुनिएर बस्दा मनमा विभिन्न कुरा खेलाउँदा–खेलाउँदै डिप्रेसन भएको पत्तै नभएको उनले गुनासो गरिन् ।

यसैगरी, एक किशोरीले ब्लेडले नाडी काटेर आत्महत्याको प्रयास गरिछन् । उनको पीडा भने अर्कै छ । आठ कक्षा पढ्दादेखि नै एक किशोरको प्रेममा रहिछन् । लकडाउनले सम्बन्ध टाढियो । बल्ल–बल्ल ११ कक्षामा कलेज भर्ना भएर बिग्रेको सम्बन्ध बनाउने क्रममा पुनः लकडाउन भए पनि दुवैजना आफ्नो प्रेममय जीवन सँगै बिताउने सोचले घरबाट भागेछन् । तर, घरका सदस्यले खोजेर फिर्ता ल्याएपछि किशोरी कडा निगरानीभित्र अनेकौं गाली एवं उपदेशसँगै प्रेमको पीडा खप्न नसकेर जीवन त्याग्ने सोचले नाडी काटिछिन् ।

एक वर्षयता आत्महत्याका घटना धेरै बढेका छन् । तीमध्येमा पनि महिला बढी छन् । घरमा पति–पत्नीबीच कलह, वैमनस्यता, आर्थिक एवं घरायसी जिम्मेवारीको बोझले आफ्नै करियर शंकटमा परेको छ । नियमित रूपमा चलिरहेको व्यापार–व्यवसाय ठप्प हुनु, भविष्य अन्योल र अनिश्चित भई मानसिक तनाव एवं चिन्ता बढ्दै जाँदा विभिन्न घटना/दुर्घटनामा वृद्धि भएको पाइन्छ । कतिपय महिला सन्तानसहित नदीमा हाम हालेर मृत्युवरण गरेको, कतिपयले केटाकेटीलाई विष खुवाएर आफै आत्महत्या गरेका घटनाहरू सुनिएका छन् । सन् २०२० को युएनडीपीको अध्ययनले पनि प्रत्येक चारजनामा एकजना डिप्रेसनबाट पीडित हुने गरेको तथ्य बाहिर ल्याएको छ । मनोपरामर्शमा आउने अधिकतम महिला दिक्क लागिरहने, टाउको दुःख्ने, रिस उठ्ने, छटपटी हुने र कसैसँग कुरा गर्न मन नलाग्ने समस्या सुनाउँछन् । केही समयअघि मात्रै विवाह गरेकी एउटी युवतीले आफूमा यति डर बढ्दै गयो कि पतिसँग अंगालो मार्न र पतिले चुम्बन गर्दा पनि डरले त्यसै–त्यसै शरीर फुलेर आउने र आँसु झर्ने गरेको सुनाइन् । नव वैवाहिक जीवनको खुसी त कता–कता पति बाहिर काममा गइरहने र घर आउँदा कोरोना लिएर आएको होला भनेर नजिक पर्नासाथ ‘प्यानिक एट्याक’ नै आउन थालेको सुनाइन् । त्यसैगरी, ७ महिनाकी गर्भवती महिलालाई आफूलाई कोरोना सर्ला भन्ने डरले कोठामा एक्लै थुनिएर बस्ने गरेको र बढी नै असुरक्षित महसुस गर्दागर्दै ‘चिन्ता’ रोग लागेको सुनाइन् ।

एकजना स्मार्ट महिला सेयर मार्केटमा काम गर्ने साथी आफ्नो होटल व्यवसाय चलाएर बसेकी थिइन् । पछिल्लो समय आफूले केही गर्न नसक्दा डर, चिन्ता एवं शंका लाग्ने गरेको बताउँछिन् । उनी भन्छिन्–‘कति जनाको हौसला बढाएँ, हिम्मत बाँधें । अहिले आफै धेरै कमजोर भएर विदेशमा रहेका पतिसँग फोनमा कुरा गर्न पनि मन लाग्दैन ।’ अझ छोराछोरीलाई पनि देख्नै नसक्ने, रिस मात्र उठ्ने गरेको र तिनै छोराछोरीले काउन्सिलिङमा पठाएको घटना सुनाइन् । डिप्रेसन, चिन्ता, निद्रा नलाग्नु, शंका र डर लाग्नु, टाउको दुख्ने समस्या अधिकतम स्वास्थ्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि छ । अध्ययनले समेत पुष्टि गरिसकेको छ–६४ प्रतिशत स्वास्थ्यकर्मी ‘गर्नु कि मर्नु’ अवस्थाबाट गुज्रिरहेका छन् । उनीहरूसँगै परिवारमा पनि मानसिक विचलन बढ्दै गएको पाइन्छ । एकमात्र छोरी हस्पिटलबाट घर नआएको २० दिन भइसकेको ती महिलाले बताइन् । अब त फोनमा कुरा गर्ने क्रम पनि घट्दै जाँदा एकल महिला तिनलाई ‘प्यानिक एट्याक’ आउँछ । एकजना महिला आफू निकै असुरक्षित वातावरणमा काम गर्नुपर्ने भएकाले पाँच पटकसम्म पीसीआर जाँच गराएको बताइन् । काम छोडूँ माम खानै पाइँदैन, काम गरूँ न रात निद्रा त दिनमा भोकको अवस्थामा मन गह्रुंगो भइरहने, श्वासप्रश्वास रोकिएलाजस्तो हुने, टाउको दुख्नेआदि समस्याले ग्रसित पारेको गुनासो गर्छिन् । उनको यो समस्या अघिल्लो वर्षदेखि निरन्तर छ । अब त निद्रामा झस्कने, डरले पसिना–पसिना हुने र बढी असुरक्षित भई मर्छु कि भन्ने डर लाग्न थालेको सुनाइन् । यस्तो समस्यालाई ‘पोस्टट्रम्याटिक स्ट्रेस डिसअर्डर’ भनिन्छ । यो गम्भीर प्रकारको मानसिक पीडा हो ।

कोरोना भाइरसले मानव जीवनको रमाइलोपनलाई खोसेको छ । परस्परमानिसबीचको दूरी बढ्दै जाँदा नितान्त एक्लोपन, निराशजनक परिस्थितिमा लामो समय बस्दा धैरै जना ‘मानसिक रोग’ को चपेटामा परेका छन् । यो अत्यन्तै तनावको अवस्था हो । तनावपूर्ण जीवनबाट मानिसले सन्तुष्टि प्राप्त गर्न सक्दैन । फेरि सकारात्मक परिवर्तनको आशा गर्दागर्दै पनि धेरैको मानसिक स्थितिमा नकारात्मकता बढेको छ । त्यसैले समयमै सचेत हुनु जरुरी छ ।

अब पनि मानसिक स्वास्थ्यप्रति ध्यान नदिने हो भने भोलिको समाज रोगी नहोला भन्न सकिँदैन । एकजना व्यक्तिले आत्महत्या गर्दा १५० जनामा त्यसले नकारात्मक असर पुर्‍याउँछ । त्यसरी नै परिवारका एक महिलामा मानसिक रोग लाग्दा पूरै परिवार त्यसबाट प्रत्यक्ष रूपमा प्रभावित भएको हुन्छ । कोरोनाको संक्रमणसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर व्यापक जनचेतना बढाउने, मानसिक स्वास्थ्यमा काम गर्ने नर्स, काउन्सिलर, चिकित्सक र समाजसेवी मनोविमर्शकर्ताहरूको आवश्यकतालाई महसुस गरी मानसिक स्वास्थ्योपचारमा परिचालन गर्नु नितान्त आवश्यक छ । मानिसको जीवन छ तर मानसिक रूपले स्वस्थ छैन भने त्यस्तो जीवनको अर्थ के होला ? तसर्थ सरकारी पक्षबाट मानसिक स्वास्थ्यप्रति विशेष चासो राखी समयमै आवश्यक कदम उठाउनु बुद्धिमानी हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>