परालको आगो

नारी संवाददाता

जेष्ठ १२, २०७८

सुषमा पौडेल

 

बूढापाकाले भन्ने गर्थे, ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो । छिनमै सल्किने, छिनमै निभ्ने ।’ तर, हाम्रो सन्दर्भमा यो भनाइ झूटो ठहर्‍यो । हाम्रो झगडा परालको आगो रहेन । यो त वन–जंगलको डढेलोजस्तै सल्कियो, सबै ध्वस्त पार्ने गरी । जसरी एउटा मूढोमा लागेको आगो, मूढो खरानी नहुन्जेल बलिरहन्छ, त्यसरी नै हाम्रो सम्बन्ध खरानी नहुन्जेल धपधपी बलिरह्यो । यसमा मेरा कयौं सपना मात्र जलेनन्, हजारौं इच्छा पनि खरानी भए ।

कुरो चार वर्षअघिको हो । चट्ट मिलेको जिउडाल, काठमाडौंको घर र बैंकको जागिर । यी तीनै कुराले मोहित पारेको थियो बालाई । त्यसैले त बिनामञ्जुरी नै मेरो विवाह तय गरिदिए । लगन जुराए अनि लगनगाँठो कसिदिए । बिचरा π बालाई के थाहा, यसरी कसेको लगनगाँठो चाँडै फुक्दै जानेछ । कुनै कसर नराखी बाले धुमधामसँग विवाह गरिदिएका थिए । विवाहपछिका केही पल त रमाइलोमै बिते । आफन्तसँगको भेटघाट, नयाँ–नयाँ मान्छेहरू, नयाँ ठाउँहरू, मलाई रमाइलो लागिरहेको थियो । देख्ने जतिले हामीलाई ‘पर्फेक्ट कपल’ को संज्ञा दिन्थे । त्यसको केही अन्तरालमै हामी एक–अर्काका लागि ‘इम्पर्फेक्ट’ भइसकेका थियौं । जब मैले मेरा श्रीमान्को सुन्दर मुहारभित्रको कुरूपतालाई नजिकैबाट नियाल्ने मौका पाएँ । उनलाई दुईटा कुरामा खुब घमण्ड थियो, एक–उनको सम्पत्ति, जसका अगाडि मेरा बाले खाइनखाई जोगाएर दिएको दाइजो उनलाई झिनो लाग्थ्यो । श्रीमान्लाई हाम्रो विवाहमा पाएको दाइजो अपुग भएको थियो । बाहिर त उनी ‘दाइजो लिनु अपराध हो’ भनी भाषण गर्दै हिँड्थे । घरभित्र भने त्यसैको निहुँमा अत्याचार गर्थे । अनि अर्को–उनको जागिर । कुरा छिन्ने दिन नै ससुराले भनेका थिए, ‘तिम्रो शरीर ढाक्ने गरी सुन–चाँदी र तिमीलाई चाहिने धन–सम्पत्ति सबै छोराले पुर्‍याइदिन्छ । त्यसैले तिमीले अब घर सम्हाल्नू, जागिर छोडिदिनू ।’ मेरा बाआमाले पनि जागिर छोड्न दबाब दिन थाले । मैले दुःखसँग खाएको गैरसरकारी अन्तर्राष्ट्रिय संस्था (आइएनजीओ) को जागिरबाट भोलिपल्टै राजीनामा दिएँ । उता बाआमा मख्ख थिए, कुनै कमी हुन नदिई मेरी छोरीलाई त्यत्रो सम्पत्तिको मालिक्नी बनाएर राख्ने भए भनेर ।

श्रीमान्को बचनवाण त दिनानुदिन सहनु नै थियो, कहिलेकाहीँ उनको कुटाइ पनि खानुपर्थ्यो मैले । सरसामान लिन बजार जाँदा मेरो पाखुराको डाम हेरेर धेरैले अनेकौं प्रश्न गर्थे, म हाँसेरै सबै टारिदिन्थें । किनभने मलाई मेरा बाआमा र सासू–ससुरा मिलेर घर सम्हाल्ने जिम्मा सुम्पिदिएका थिए । आफ्नो घरलाई सधैं स्वर्ग बनाउँछु भन्ने मेरो सपना थियो । त्यसैले त श्रीमान्का हरेक कर्कश बचन र त्यसले मेरो मनमा पर्ने चोटहरूलाई सहर्ष स्वीकार गरिदिन्थें मैले । श्रीमान्लाई खुसी बनाउन बिहान भाले बास्नु अगावै उठ्थें, घरको सरसफाइ भ्याएर उनलाई मन पर्ने खाना पकाउँथें, अफिस जाँदा लगाउने पहिरन तयार गरिदिन्थें । विभिन्न परिकार बनाएर राखिदिन्थें र शुभ दिनको कामनासहित बिदा पनि गर्थें । दिनभरि घरको काम गर्दा दुखेको ढाड सोझ्याउन नपाउँदै श्रीमान् घर फर्किने बेला हुन्थ्यो । फेरि पनि उनकै सेवामा लागिपर्थें म । दिन–रात नभनी श्रीमान्को सेवामा खटिँदा पनि उनलाई म बेरोजगार र दरिद्र लाग्थें । उनी अफिसबाट ढिलो फर्किंदा वा साथीहरूसँग बाहिर खाएर आउँदा, म कति रात भोकै सुत्थें । तर, उनलाई यसको कुनै परवाह थिएन । उनलाई त मेरो माइतीको दरिद्रताले मप्रतिको घृणाभाव जगाइसकेको थियो । हुँदाहुँदै उनी कार्यालयको बैठक भन्दै राति १–२ बजे घर फर्किन थाले, त्यो पनि नशाको मातमा । एकदिन सदाझैं उनी मलाई र मेरो माइतीलाई गाली गर्दै लरबरिएका खुट्टाले लडिएलाझैं गरी भित्र पसे र खाटमा डङरङ्ग लडे । लगत्तै उनको मोबाइल बज्यो । सपना भन्ने नामबाट आएको सन्देशमा मेरा नजर परे, लेखिएको थियो–‘ड्राइभ सेफ बेबी, आज तिमी धेरै ड्रङ्क छौ । भोलि घरबाट बिदा लिएर आउनू, नाइट स्टेका लागि नगरकोट जाउँला । आई लभ यु ।’ मलाई ठूलो पहाडले

थिचेजस्तै भयो, म निस्सासिएँ र लामो सुस्केरा हाल्दै भुइँमा बसें । सन्देश पढेको चाल पाएर रिसले मुर्मुरिँदै उनी जुरूक्क उठे । ‘मेरी प्रेमिकाको गोप्य म्यासेज तैंले हेर्ने आँट कसरी गरिस्’ भन्दै मेरो चुल्ठो समाते अनि लात्तीले मेरो शरीरमा हान्न थाले । चोट सहन नसकेर मैले उनको खुट्टामा चिमोटिदिएँ अनि उनी रन्थनिँदै खाटमा पल्टिए । त्यस दिन मैले मेरो अधिकारका लागि आवाज उठाएँ । जवाफमा उनले भने, ‘तेरो औकात के नै छ र तैंले आफूलाई सपनासँग तुलना गर्ने ? तेरो अनुहार सधैं झरी–बादल लागेजस्तो, सपनालाई देखेकी छस् तैंले कति हँसिली छ ऊ, फुलेको गुलाफजस्तै । उसलाई देख्नेबित्तिकै ऊ मेरो मनमा फक्रक्क फुलेकी थिई । तँलाई त मैले बाआमाको करकापमा विवाह गरेको हुँ । खुट्टाको जुत्ता खुट्टामै सुहाउँछ । तँ नोकर बन्न लायककीले मेरो टाउकोमा चढ्ने प्रयास नगर । म छिट्टै सपनासँग विवाह गर्दैछु ।’

‘धनी मानिसको दरिद्र सोच’ मनमनै भनें मैले । कोठाबाट निस्किँदै गर्दा करूण स्वरमा सोधें, ‘मेरो घर यही हो, अब म कहाँ जाऊँ ? मेरा बाआमाले मेरो हात हजुरको हातमा सुम्पिदिएकै दिनदेखि मैले आफ्नो तन–मन सबै हजुरलाई नै दिएकी छु । हजुरको मुहारमा मुस्कान ल्याउनकै लागि त म दिनरात यही घरमा घोटिइरहन्छु । के यो घरमा मेरो लागि अब ठाउँ छैन ? मैले यो घरका लागि आफ्नो जागिर छोडें, माइती छोडें, आफ्ना सपनाहरू छोडें, मेरा इच्छाहरू दबाएँ, के यही नै हो त मेरो गल्ती ?’

‘गल्ती तेरो होइन, तेरो बाउको हो । तेरो बाउले विवाहमा न गतिलो दाइजो दियो न गतिली छोरी । तँलाई न मैले कहिल्यै श्रीमतीको दर्जा दिएँ न अब दिनेछु । श्रीमती त मैले सपनालाई मात्रै मानेको छु । तँ रहनु वा नरहनु, तँ मर्नु वा बाँच्नुले मलाई केही फरक पार्दैन । तेरो यो बादल मडारिएको जस्तो अनुहार हेर्दा–हेर्दा मेरो जिन्दगी नै नर्क हुन लागिसक्यो । तेरो यो अनुहार आइन्दा मलाई नदेखाउनू’ उनको कर्कश जवाफ मैले परैबाट सुनें ।

यो पीडा मलाई असह्य भयो । आफूलाई बन्द कोठामा सीमित गर्दै भाग्यलाई धिक्कार्दै मन्द बत्तीको उज्यालोमा रातभरि रोएँ । मलाई साह्रै माया गर्ने मेरी हजुरआमा बित्दा पहिलोपल्ट यसरी नै रोएकी थिएँ म । रात रहे अग्राख पलाउँछ रे । त्यसैले मैले अब आउने रातलाई गुमाउन चाहिन । सायद रातभरिको रोदनले ममा ऊर्जा थपिदियो, म आफ्ना लागि सोच्न बाध्य भएँ । लाग्यो मेरा आँसु अब रित्तिए । सँगै बसेर रातदिन रूनुभन्दा सम्बन्ध नै त्यागेर हरदिन खुसीसाथ बिताउने चाहना पलायो ममा । सम्बन्धको फूललाई हरदिन चुँडाउनुभन्दा सम्बन्धलाई नै जरैदेखि उखेलिदिने निधो गरें मैले ।

अन्ततः हामी छुट्टिने भयौं । सँगै मर्ने र सँगै बाँच्ने कसम खाएर सुरू भएको सम्बन्ध एक–अर्काको मृत्युको कामना गर्दै अन्त्य गर्‍यौं हामीले । हामीबीचको द्वन्द्वको आगो ताप्न मानिसहरू भेला भएका थिए । कोही भन्दै थिए, ‘कुकुरलाई घिउ नपच्याजस्तै यसलाई सम्पत्ति पचेन, करोडौंको सम्पत्ति पाएपछि म त रखेल नै भएर पनि बाँच्थें ।’ अरू कोही भन्दै थिए, ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भन्याजस्तै भएछ यसको जीवन, सम्पत्ति देखेर हाम फालेकी थिई आखिरमा दुःख पो पाइछे ।’ हरेक सिक्काका दुई पाटा भएझैं हाम्रो कथामा पनि दुई पाटा छन् । उसको पाटोमा ऊ सही अनि मेरो पाटोमा म सही । जे होस्, आज एउटी चरी पिँजडामुक्त भएकी छ । आफ्नै पखेटाले आकाश चुम्ने उद्देश्यसँगै स्वतन्त्रतामा रमाइरहेकी छ अनि हरदिन सल्किरहने पारिवारिक आगोलाई जरैदेखि निर्मूल पारेकी छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>