हिउँचितुवाको गोठालो

लक्ष्मी भण्डारी

जेष्ठ ९, २०७८ उपल्लो मुस्ताङको डी गाउँमा भेंडा–बाख्रा चराउन जाँदा हिउँचितुवासँग कुस्ती खेल्ने ठिटोले पाँच वर्षको उमेरमै टुप्पी काटेर गुफाबाट शिक्षा सुरु गरेका थिए । पोखरामा जिम्बु, खिप, काँचो सिम्रिक बेच्दै हिँड्ने उनी विश्व प्राकृतिक संरक्षणको क्षेत्रमा ‘हिउँचितुवाको गोठालो’ उपनामले प्रख्यात छन् । उनी हुन्,संरक्षणकर्मी तथा डब्ल्युडब्ल्युएफ (प्रकृतिका लागि विश्वव्यापी कोष) का नेपाल प्रतिनिधि घनश्याम गुरुङ । तीन दशकभन्दा बढी समय वातावरण तथा प्रकृति संरक्षणको क्षेत्रमा बिताएका उनको नाम नेपालको सामान्य ज्ञानमा समेत ‘हिउँचितुवाको गोठालो’ भनेर भेटिन्छ ।

घनश्यामले न्युजिल्यान्डबाट पार्कस एण्ड रिक्वेसन म्यानेजमेन्टमा स्नातक र स्नातकोत्तर गरेपछि स्विटजरल्यान्डको युनिभर्सिटी अफ ज्युरिकबाट प्रकृति विज्ञान (नेचुरल साइन्स) मा विद्यावारिधि गरे । अर्काको मुलुकमा दोस्रो दर्जाको नागरिकका रूपमा हेपिएर नबस्ने स्वाभिमानी उनलाई आफ्नो मुलुकमा केही गर्ने हुटहुटीले सताइरहेको थियो, पढाइ पूरा हुनेबित्तिकै उनी नेपाल हान्निए ।

बाल्यकाल

उनको बाल्यकाल पढाइसँगै बाख्रा चराई खेतीपातीको काम गरी रमाइलोसँग बित्यो । सात कक्षामा पढ्दापढ्दै उनकी आमा बितिन् । घर लथालिङ्ग भयो । जेठो छोराको अब विवाह गर्नुपर्छ भन्ने कुरा भयो । तर उनले बुवालाई विवाहका लागि मनाए । आमाकी बहिनी विवाह गराइदिए । परिवारै मेहनती भएकाले खान–लाउन दुःख थिएन । उनी भन्छन्, ‘चौध–पन्ध्र वर्षको उमेरमा पोखरा आएर जिम्मु, टिम्मुर, हिङ, फिटकिरी, काँचो सिम्रिक,खिप, सियो, सिद्रा, नरिवल बेचेको छु त्यो पनि अन्नसँग साटेर । छोरा भएपछि जीवनमा दुःख गर्नुपर्छ भन्ने बाउको मान्यताका कारण मैले त्यो सब गरें ।’ भोटे–टोटे भनेर बाहुनले पानी छुन नदिएको उनी सम्झन्छन् । ‘मैले विभेदका रूपमा त्यसलाई कहिल्यै लिइनँ, अवसरका रूपमा लिएँ’ उनले भने । मुस्ताङको सानो गाउँमा जन्मिएर, लोमानथाङ मुस्ताङे राजाको गाउँमा उनी पढ्न गएँ । तर, त्यहाँ कक्षामा टप हुन थालें । एसएलसीपछि काठमाडौं छिरेका उनी शुद्ध नेपाली र अंग्रेजी बोल्न नजान्दा उस्तै हेपिनु परेको उनले अनुभव सुनाए ।

उपल्लो मुस्ताङका कर्म सम्दुक र कुन्साङ वाङमोका पाँच सन्तानमध्येका घनश्याम बाल्यकालमै फरक सोचका दूरदर्शी थिए । उनका बुवाले ‘छोरा दुःख गरे मात्रै फल पाइन्छ’ भन्ने कुरा दिमागमा हालिदिएका थिए । डी गाउँको हिउँमा घनश्याम भेंडा–बाख्रा, च्याङ्ग्रा खान आएका हिउँचितुवासँग कुस्ती खेल्थे । बुद्धिजम पढ्न गुफा पसेपछि चराचर जगत्का सम्पूर्ण प्राणी र सृष्टिलाई माया गर्नुपर्छ भन्ने ज्ञान पाएँ । त्यसैको प्रभावले उनी आफ्नो मुखमा दूध हालेर मनतातो बनाएर मुखैबाट बाख्राका पाठालाई खुवाउँथे । ‘हिउँचितुवाले बाख्रालाई झ्याप्प समाएर खाँदा कम्ता रिस उठ्दैनथ्यो । त्यसैलाई मारिदिउँ जस्तो लाग्थ्यो । तर न्युजिल्यान्ड र स्विटजरल्यान्डमा पढेपछि त्यो हिउँचितुवा त विश्वमा दुर्लभ हुँदै गरेको र हामीले सक्दो संरक्षण गर्नुपर्ने जनावर पो रहेछ भन्ने कुरा थाहा भयो । अचम्म पनि लाग्यो । अब म नेपाल गएर मध्यएसियाका १२ वटा देशमा मात्र पाइने यो दुर्लभ जनावरको संरक्षणमा लाग्छु भन्नेमा दृढ भएँ ।’ सुरुवाती दिन सम्झिदै उनी भन्छन्–‘भोटको मान्छे बाहुन–क्षत्री जस्तो पढ्न सक्दैन भन्थे, पढेर के गर्ने जागिर पाइँदैन, पाइहाले पनि खान पुग्दैन भन्थे । पहिलाका हाम्रा पुर्खा तिब्बत गएर पढाइद्वारा नै बुद्धत्व प्राप्त गरेर इन्द्रधनुष आउने गरी उड्थे रे, ती उड्न सक्थे भने म पढ्न किन नसक्ने भन्ने सोचें । पढेपछि काम आफैं खोज्दै आउँछ भनेरै तनमन लगाएर पढेको हुँ । आज सम्पूर्ण भोटवासीका लागि भोटेले पनि पढेर संसारमै नाम कमाउन सक्छ भन्ने विश्वास भएको छ ।’

योगदान

वातावरण क्षेत्रमा जीवनको ३० वर्ष बिताएका उनले मुस्ताङमा धर्म–संस्कृति प्रचार–प्रसार तथा पर्यटनका लागि अन्नपूर्ण, मनास्लु कन्जरभेसन एरियालाई संरक्षण क्षेत्र बनाउनेमा नीति–योजना बनाए । उनैको नेतृत्वमा कञ्चनजंघा संरक्षण क्षेत्रभित्रका २ सय ६ जनाले छात्रवृत्ति पाइरहेका छन् । हिउँचितुवाले जनावर खाइहाले कोष खोलिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका लागि कोष खोलिएको छ । डब्ल्युडब्ल्युएफले हालसम्म प्रकृति संरक्षणका क्षेत्रमा थुप्रै काम गरेको छ । जसको योजना तथा नीति बनाउने जस डा. गुरुङलाई जान्छ ।

उपलब्धि

गैंडालाई ऐतिहासिक नम्बरमा ल्याउनुमा, हिउँचितुवा संरक्षण गर्नुमा घनश्यामको ठूलो हात छ । सन् २०११ देखि नेपालमा कुनै पनि गैंडा मरेका छैनन् । राजनीतिक अस्थिरताका बाबजुद पनि वातावरणमा थुप्रै काम गर्न सक्नुलाई उनी उपलब्धि ठान्छन् । उनी भन्छन्–‘अझै हामीले पानीमा काम गर्न बाँकी नै छ । हिमनदी पग्लिरहेको छ । यही क्रम निरन्तर रहने हो भने अबको ५० वर्षमा काठमाडौंमा पानीको हाहाकार हुन्छ तसर्थ अहिलेदेखि कदम चाल्नु जरुरी छ ।’

महिलाको परिभाषा

महिला प्रकृतिद्वारा प्रदत्त शक्तिशाली मानव हुन् भन्ने उनको बुझाइ छ । महिलामा भएको शक्ति, धीरता, साहस र सहनशीलता अरुमा कमै हुने उनले बुझेका छन् । लक्ष्मी, सरस्वती, दुर्गा भवानी भनेर पूजा गर्दागर्दै पनि हाम्रो परम्परा, सामाजिक मान्यता, राष्ट्रको व्यवहारले त्यो अधिकार दिन बाँकी नै छ भन्ने उनको मत छ ।

जीवनमा महिलाको प्रभाव

आमाले सधैं अरूका लागि पढ्नुपर्छ भनेर सिकाएको बचन उनको सफलतामा रामवाण साबित भयो, किन भन्ने प्रश्न गर्दा आमा भन्थिन्–हेर छोरा लामाहरूले धेरै पढेर हाम्रो उपचार गर्छन्, मर्दापर्दा पूजापाठ गर्छन्, देउता मानिन्छ उनीहरूलाई । ती आफ्ना लागि होइन अरूका लागि बाँच्छन् ।’

३७ वर्षकै उमेरमा उनकी आमा बितिन् । घर र जीवनमा शान्ति ल्याउने काम अहिले उनकी श्रीमती अनिता लामाले गरिरहेकी छन् । उनी भन्छन्–‘घरायसी व्यवस्थापन उनकै जिम्मा हो । छोरी मेरो राम्रो एड्भाइजर (सल्लाहकार) भएकी छ । मेरी श्रीमतीले गर्दा म इमान्दार भएको पक्कै हो । म इमान्दार भइराख्नुमा मेरी श्रीमतीको ठूलो हात छ । मेरा बुवा दिलका स्वच्छ भएपनि मुख छुच्चो छ भन्छे मेरी छोरी । उनीहरू मेरा शक्ति र खुसी हुन् ।’ महिला र पुरुष सँगै अघि बढ्नुपर्छ, विकास र सफलता सम्भव छ भन्ने उनी अझ महत्वपूर्ण कुरा महिलाले महिलालाई सहकार्य र सहयोग गर्नुपर्छ अनि मात्र महिला अघि बढ्न सक्छन् भन्ने धारणा व्यक्त गर्छन् । सहकार्यकै कुरा गर्दा घरमा उनी गार्डेनिङ, रेन वाटर हार्भेस्ट गर्छन् । भान्सामा प्रायः उनै छिर्छन्, उनले पकाएको चिकेन करी र टी ममको घरभरि प्रशंसा

हुन्छ ।

महिला र प्रकृति संरक्षण

अहिले धेरै युवा विदेशमा छन् । गाउँघरमा महिला नै प्राकृतिक स्रोतसँग नजिक छन् । यति हुँदाहुँदै पछिल्लो समय धेरै जनाले ग्यास प्रयोग गर्न थालेको, सिमेन्ट र रडको घर बनाउन थालेकाले प्राकृतिक स्रोत दोहन हुनबाट केही हदसम्म वञ्चित भएको उनको तर्क छ । काठको प्रयोग कम छ । ‘भर्खरै मात्र लामो समयसम्म पानी नपरेको र सुख्खाका कारण डढेलो लाग्यो तर हाम्रो संस्कारमै नयाँ पालुवाका लागि आगो लगाउने चलन हो पहाडका जंगलमा’ उनले भने–‘विगतमा भन्दा अहिले हामी प्राकृतिक संरक्षणमा सजग भएका छौं ।’

अबको चुनौती र योजना

ठूलो चुनौती पानीकै हो भन्ने उनको ठम्याइ छ । हिमाल पग्लिएको पग्लिएै छ । भोलि पग्लिन छोडेपनि पानीको अभाव हुन्छ । सबैले फोहोर फाल्ने अर्थात् विसर्जन स्थल पानी (खोला) भएको छ । उनलाई लाग्छ अब जंगल जोगाउनुपर्छ । खण्डीकरणका लागि योजना हुनुपर्छ । व्यापारिक ट्रेड ठूलो कुरा हो । यसलाई निर्मूल पार्न नसके पनि न्यूनीकरण गर्नुपर्छ । अब के गर्ने ? उनको उत्तर यस्तो थियो–‘यसका लागि सरकारसँगको सहकार्यमा हामी यी क्षेत्रमा काम गरिरहेका छौं । प्रत्येक गाउँका ७३५ ठाउँलाई वातावरणमैत्री बनाउन काम गरिरहेका छौं । नेपाललाई प्राकृतिक स्रोत र वन्यजन्तु ओसारपसारको जिरो ट्रान्जिट बनाउने काम भइरहेको छ ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>