नेपाली नारी : विगत र वर्तमान

नारी संवाददाता

जेष्ठ ४, २०७८

अच्युतमान सिंह प्रधान ‘उत्सुक’

 

नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । कुनै एकबिना अर्को चल्न असम्भव छ । एउटा पाङ्ग्राले मात्र रथ गुड्न सक्दैन । त्यस्तै, नारी र पुरुषबिना सृष्टि असम्भव छ । सर्वप्रथम सभ्यताको बीजारोपण गर्ने नारीले नै पुरुषलाई घुमन्ते जीवनबाट गृहस्थी जीवनमा प्रतिस्थापित गर्न समाजको सिजर्ना गरेका हुन् ।

देशको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा नारीले नै ओगटेका छन् । एक पुरुष शिक्षित भए ऊ आफू मात्र शिक्षित हुन्छ भने एउटी नारी शिक्षित भए परिवार नै शिक्षित हुन्छ । यसबाटै प्रस्ट हुन्छ–नारीको महत्व परिवार र समाजमा कति छ ?

नेपाली समाजमा छोरी पहिले बुवाआमाको रेखदेखमा हुर्कन्छिन्, बढ्छिन्, यौवनावस्थामा पतिले अग्नि साक्षी राखी विवाह गरी पवित्र बन्धनमा बाँधी संरक्षण प्रदान गर्छन् । त्यसपछि वृद्धावस्थामा छोराको संरक्षण, रेखदेखमा जीवनको बाँकी समय बिताउँछिन् । पछिल्लो समय यसमा आमूल परिवर्तन आइसकेको छ । छोरीले पनि बाल्यावस्थादेखि नै शिक्षा, स्वास्थ्यमा छोरा समान अवसर पाइरहेका छन् । हुर्की–बढेपछि परिवारको आर्थिक क्षेत्रमा सहयोग गर्ने, आफ्ना भाइ–बहिनी, बाबुआमा पाल्नुका साथै आफ्ना श्रीमान्को हरेक कुरामा सहयोग गर्छिन् ।

हाम्रो समाज पुरुष प्रधान भएकाले नारीको स्थान पुरुषपछि नै छ । परिवारमा प्रत्येक निर्णयमा पुरुषकै प्रमुख भूमिका हुन्छ । पछिल्लो समय समाजको यो सोचमा पनि परिवर्तन भइसकेको छ । नारीले परिवारमा अग्रणी भूमिका खेलिरहेको पाइन्छ । परिवारमा हुने प्रत्येक निर्णयमा दुवै समान भूमिकामा रहेको पनि पाइन्छ । कानुनले पनि नारी–पुरुषलाई समान हक–अधिकार दिएको छ । शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिकलगायतका सबै क्षेत्रमा दुवैको समान अवसर छ । रोजगारका क्षेत्रमा पनि महिलालाई विशेष अवसर प्रदान गरिएको छ । सरकारी पदहरूमा त महिलालाई छुट्टै कोटाको पनि व्यवस्था छ । यसले गर्दा सरकारी कार्यालयहरूमा महिला कर्मचारीको संख्या पहिले भन्दा वृद्धि भएको पाइन्छ ।

विधवा विवाहलाई कानुनले मान्यता दिएको छ । समाजले पनि विधवा विवाहलाई स्वीकृति दिइसकेको छ । यो खुसीको कुरा हो । यसमा नारीकै इच्छा, स्वीकृतिको खाँचो छ । सरकारले एकल महिला तथा विधवालाई मासिक भत्ताको व्यवस्था पनि गरेको छ । विश्वले प्रत्येक मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवस मानेको छ । नेपालमा सरकारले उक्त दिवसमा सार्वजनिक बिदा दिने गरेको छ ।

धार्मिक दृष्टिले हेर्ने हो भने काली, भगवती, लक्ष्मी, सरस्वती, जीवित देवी कुमारीलगायत सबै नारीकै अवतार हुन् । हिन्दू, बौद्ध धर्ममा पनि यी देवीहरूलाई पूजा गरिन्छ । हामी नारीलाई घरकी लक्ष्मीका रूपमा आदर गर्छौं । नेपाली समाजमा ‘जुन घरमा नारीको सम्मान हुन्छ, इज्जत गरिन्छ, त्यस घरमा देवताको बास हुन्छ’ भन्ने मान्यता पनि प्रचलनमा छ । देवीका रूपमा कुमारी, पञ्चकन्या, लक्ष्मी, भगवती र सरस्वतीको पूजा गरिन्छ । यहाँसम्म कि राष्ट्रियतालाई पनि नारी बोधक सम्बोधन ‘नेपाल आमा’ भनेर श्रद्धा प्रकट गरिन्छ ।

हाम्रो देशका कतिपय जिल्लामा अविवाहित छोरीलाई देवतालाई चढाउने नाममा झुमा प्रथा, देउकी प्रथा, वादी प्रथा, छाउपडी प्रथा अझ पनि फाटफुट प्रचलनमा छन् । यस्ता सामाजिक्, धार्मिक कुसंस्कारहरूले नारी वर्गको शोषण मात्र होइन, अपमान पनि भइरहेको छ । यस्ता प्रथाहरू समाजबाट पूर्णरूपमा हटाउनुपर्छ । एकातिर देवीका रूपमा पूजा गर्ने र अर्कातिर नारीलाई श्रमयुक्त जीवनमा बाँच्नुपर्ने वातावरण समाजको अँध्यारो पक्षले फैलाउँदै ल्याएको छ । यसतर्फ समयमै सचेत भई उचित कदम चाल्नुपर्छ ।

त्यस्तै, बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, हिंसा, तिरस्कार, बालिका हत्या, बलात्कार, जबर्जस्ती करणी, वैवाहिक करणी, दाइजोका कारण जलाउने, एसिड आक्रमण, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, बोक्सीको आरोप, अपहरण, तस्करी, बेचबिखन आदि महिला हिंसा समाजबाट पूर्णरूपमा हटेका छैनन् । महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुर्व्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् । तर पनि दिनहुँजसो यस्ता घटनाबारे समाचार रेडियो, टेलिभिजन, अखबारमा प्रसारण एवं प्रकाशित भइरहेकै छन् । यो अवश्य पनि दुःखद् एवं लज्जास्पद कुरा हो ।

समयमै यसलाई जरैदेखि उखेल्न नसके यसले पछि विकराल रूप लिन सक्छ । यसर्थ यसलाई निर्मूल पार्न अझ कडा कानुनको व्यवस्था गर्नुपर्छ । विश्वका विकसित मुलुकहरूमा महिलाको औसत आयु पुरुषको तुलनामा बढी पाइन्छ भने नेपालमा यसको ठीक उल्टो महिलाको आयु कम छ । नेपालमा महिलाको औसत आयु कम हुनुको प्रमुख कारण गरिबी, कुपोषण, कम उमेरमा विवाह हुनु र उच्च प्रजनन् दर नै हुन् ।

नेपाली महिला मानसिक रूपमा मात्र नभै शारीरिक रूपमा पनि पुरुषजत्तिकै समान हुन्छन् भन्ने कुरा स्वर्गीय पासाङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा टेकेर प्रमाणित गरिसकेकी छन् । त्यस्तै, खेलकुद क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विभिन्न पदकहरू ल्याई त्यसलाई प्रमाणित गरिदिएका छन् । यस्ता धेरै उदाहरण छन् । नेपाली नारीहरू पुरुषको तुलनामा बढी काम गर्छन् । अझ ग्रामीण परिवेशमा घरायसी महिलाहरू बिहानीको झिसमिसे उज्यालोदेखि राति नसुतुन्जेलसम्म झन्डै १७ देखि १८ घण्टा काम गर्छन् । त्यति मात्र होइन उनीहरू घरको कामकाजबाहेक खेतीपाती अनि गाइवस्तुका साथै आफ्ना बालबालिकाहरूको स्याहार पनि गर्छन् । तर खानपानका साथै स्वास्थ्यमा खासै ध्यान दिएको पाइँदैन ।

नेपालको जनगणाना ०६८ अनुसार नेपाली महिलाको जनसंख्या ५१ दशमलव ५ प्रतिशत छ । महिलाको साक्षरता प्रतिशत ५६ दशमलव ४ प्रतिशत, महिलाको नाममा जग्गा तथा अन्य सम्पत्ति हुनेमा १९ दशमलव ७१ प्रतिशत रहेको छ । त्यसैगरी, २५ दशमलव ७३ प्रतिशत महिला घरपरिवारको मूलीका रूपमा रहेका छन् । १५औं योजनाको आधारपत्रमा मातृ मृत्युदर २३८ प्रतिलाख रहेको उल्लेख छ । नेपाली महिलाको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको यसले पुष्टि गर्छ ।

नेपालको संविधान २०७२ जारी भएपछि देशका महत्वपूर्ण तीन संवैधानिक निकायको प्रमुख पदमा महिला उपस्थिति रह्यो । वर्तमान संघीय संसद्मा पनि समानुपातिक पद्धतिबाट महिलाको उपस्थिति सम्मानजनक छ । स्थानीय तहको निवार्चन २०७४ ले त नेपाली महिलाहरूको सशक्तीकरणमा एक नयाँ मोडल नै विकसित गरेको छ । जसको कारणले आजका दिनमा स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४ दशमलव ५ प्रतिशत तथा संघीय संसद्मा ३३ दशमलव ५ प्रतिशत महिला सहभागिता छ ।

केही वर्षयता राजनीतिक चेतनाको विकाससँगै नेपाली महिलाहरू राजनीति क्षेत्रमा धेरै अघि बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिदिएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था छ । यसले महिलामा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

नारी र पुरुष समान हुन् भन्ने भावनाको विकास भइसकेको छ । एकले अर्काको सहयोग गर्ने परिपाटीको विकास भएको छ । नारी र पुरुष हरेक क्षेत्रमा काँधमा काँध मिलाई परिवार, समाज अनि देशको विकासमा अग्रसर भइरहेका छन् ।

(लेखक समाजशास्त्री हुन्)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>