महिला आन्दोलनको ओझेल पाटो

डा. विष्णुराज उप्रेती

वैशाख ७, २०७८ मानव सृष्टि र समाज विकासमा बराबर र अझ भन्ने हो भने प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पुरुषको तुलनामा बढी योगदान गरेका महिलाले वर्षौंदेखि विभेद सहनुपरेको छ । पौराणिक कालमा देवी, चामुण्डा, सरस्वतीको बिम्बद्वारा सम्मानित र नेपालकै परिप्रेक्ष्यमा पनि समाज रूपान्तरणमा अतुलनीय योगदान पुर्‍याउने महिलाबारे पर्याप्त अध्ययन/अनुसन्धान हुन सकेको छैन । महिलाका यी सवाललाई प्राज्ञिक क्षेत्र, राज्यका निकाय र जन–वकालत गर्नेहरूले पनि बेवास्ता गर्दा र कम चासो दिँदा उनीहरूको योगदानको पाटो ओझेलमा परेको एउटा तीतो यथार्थ हो ।

 मैले २९ वर्षअघि समाजशास्त्र स्नातकोत्तरमा ‘विकासमा महिला सहभागिता’ बारे शोधपत्र लेखेको हुँ । महिलाका विभिन्न आयामसम्बन्धी अनुसन्धान गर्ने क्रममा नेपाली महिलाबारे लेखिएका सन्दर्भ सामग्री समीक्षा गर्ने क्रममा अनुभूत गरेको यथार्थ के हो भने समाज रूपान्तरणमा उनीहरूको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक योगदानबारे विश्लेषण गरिएका अनुसन्धानमूलक र प्रामाणिक आलेख तथा रचना दस्तावेजहरू अत्यन्तै कम छन् । सय वर्षअघि नै महिला विदुषी योगमाया न्यौपानेले समाजमा महिलामाथिका विभेदविरुद्ध सुरु गरेको सशक्त विद्रोहपछिको आन्दोलन आजसम्म आउँदा विशिष्टीकृत त भएको छ, तर यो खण्डित र आंशिक पनि बन्दै गएको छ ।

४०–४१ वर्षअघि अर्थशास्त्री डा. मीना आचार्य र डा. लिन वेनेटले नेपाली महिलाको अवस्थाबारे अनुसन्धानमूलक लेखहरूमार्फत उनीहरूको योगदानलाई विकास बहसमा समावेश त गराए । तर, उनीहरूको योगदानको समग्र पक्षको संस्थागत अनुसन्धानले नेपालमा प्राथमिकता पाउन सकेन, यसको अर्थ व्यक्तिगत प्रयत्न नभएको भन्ने चाहिँ होइन ।

नेपाली महिलाबारे विविध पक्षमा लेखिँदा पनि धेरैजसो विदेशीले अत्यन्त सीमित ज्ञानका आधारमा वा कथा सुनेका आधारमा लेखेका वा परामर्शदाताका रूपमा सम्बन्धित पक्षको चासोअनुरूप लेखेका छन् । तर त्यो वास्तविकतासम्म पुग्न सकेन । सतही एकाङ्की प्रतिवेदनहरूका कारण महिलाको संघर्ष र योगदानबारे गहिराइमा गई ऐतिहासिक र समग्र पाटाहरूलाई समेटेर लेखिनुपर्ने सवाल ओझेलमा पर्दै गएको छ ।

विगत २८ वर्षमा मैले एसियाका नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, म्यानमार र लाओस, अमेरिकी प्रायद्वीपका अमेरिका, क्यानाडा र बोलिभिया तथा अफ्रिकी महादेशका रुवान्डा, इथियोपिया, केन्या, मोजाम्बिक र दक्षिण अफ्रिकामा गरेको महिलाको विविध पक्षका योगदानबारे अध्ययन गरेको छु । मेरो अध्ययनको निष्कर्ष के हो भने अझ पनि महिलाले राज्य निर्माण र समाज रूपान्तरणमा पुर्‍याएको योगदानको प्राज्ञिक विश्लेषण, ऐतिहासिक विवेचना र गौरवपूर्ण बलिदानको समग्र अनुसन्धान हुनै सकेको छैन । केही अनुसन्धान गरिए पनि त्यो सम्पन्न देशले अरू देशमा गई त्यहाँको सीमित ज्ञानका आधारमा मात्र गरेको मैले पाएको छु ।

नेपालमा पछिल्लो समय स्थापित महिला नेतृ र विद्वान्हरूले महिलाका विविध योगदानबारे अनुसन्धान र प्रकाशन गर्ने क्रम केही बढे पनि पुरुष लेखक, अनुसन्धानकर्ता र प्राज्ञिकवर्गले उनीहरूको सवालमा केन्द्रित भई अनुसन्धान तथा प्रकाशन भने अत्यन्तै न्यून छ । साथै, ती सबै समाजशास्त्रीय कोणको तुलनामा ‘विकास’ र ‘विकास परियोजना’ को कोणबाट गरिएकाले त्यो महिलाको राज्य निर्माण, समाज परिवर्तनको योगदान बुझ्न पर्याप्त भने छैनन् ।

मेरो ४० वर्षे व्यावसायिक र २५ वर्षे अनुसन्धानात्मक जीवनकालमा महिलाले राजनीति, अर्थतन्त्र, समाज, प्राकृतिक स्रोत र पर्यावरण, स्वास्थ्य, शिक्षा, खाद्य संरक्षणलगायतका व्यापक क्षेत्रमा अतुलनीय योगदान दिएको देखेको छु । यो सन्दर्भमा एक अनुभूति यहाँ उल्लेख गर्न चाहन्छु । ४५ वर्षअघि मेरो गाउँ (दोलखाको पवटी) मा ‘कुन्ती’ नामकी एक महिला थिइन् । उनी कोट लगाई, घोडा चढेर पुरुषसँगै बसेर जुवा खेल्थिन् । सबैले आलोचना गर्थे । मैले पछि मात्र बुझें, यो त उनले तत्कालीन पुरुषप्रधान समाजलाई चुनौती पो दिएकी रहिछन् । मेरै परिवारमा पनि अन्तर्जातीय विवाहका कारण पितृसत्तात्मक सोचबाट निर्देशित विभेदयुक्त धेरै चाडपर्वसम्बन्धी प्रथाहरूमा परिवर्तन आएको छ । हाम्रै परिवारमा सविना केसीले अन्ध संस्कार र अभ्यासलाई चुनौती दिँदै हालै आफ्ना आमा र बुवाको १३ दिनसम्मको क्रिया आफैले गरी पुरुषप्रधान समाजलाई चुनौती दिएको उदाहरण छ । देशभर महिलाहरूले यस्ता समाज रूपान्तरणका पहलहरू धेरै गरेका हुन सक्छन् । तर तिनीहरूको दस्तावेजीकरण, विश्लेषण र प्रचार हुन नसक्दा अरु रूपान्तरणकारी काम गर्न चाहने महिलाले प्रोत्साहन पाउन सकेका छैनन् । अझै पनि महिलाहरूको नेतृत्वलाई पूर्णरूपमा स्वीकार गर्न सकेको देखिँदैन । यसको मूल कारण पुरातनवादी र ढोंगी संस्कार नै हो ।

यसै परिवेशमा नेपालमा महिलाले पुर्‍याएको योगदानलाई थप सशक्त, प्रभावकारी, प्रमाणमा आधारित र परिणाममुखी बनाई नेपाली समाजलाई कविला समाजको जस्तै समानतामा आधारित बनाउन नेपालको ‘रैथाने र मौलिक ज्ञान’ को उपयोग गर्दै नेपाली महिलाहरूले गरेको संघर्ष, बलिदान, उपलब्धि र भोगाइ तथा सिकाइबारे बृहत्, संस्थागत अन्वेषण, विश्लेषण र संश्लेषण गरी व्यापक रूपमा प्रकाशन र प्रसारण गर्नु आवश्यक छ । हालको महिला रूपान्तरण अभियान बढी घटना–केन्द्रित छन् । तर, रूपान्तरणलाई अपेक्षाकृत बनाउन यो पर्याप्त छैन । त्यसैले महिलासँग सम्बन्धित राज्यका निकायहरू, आयोगहरू, प्राज्ञिक संस्थाहरू, गैरसरकारी संस्थाहरू र महिलाको सवालमा काम गरिरहेका सम्पूर्ण संस्था तथा व्यक्तिहरूले समन्वयात्मक रूपमा देशका प्रत्येक कुना–कुनामा रहेर समाज रूपान्तरणमा योगदान दिएका महिला वीराङ्गनाहरूको पहिचान गरी पुरुषप्रधान समाजले छोपेको वा बेवास्ता गरेको उनीहरूको व्यक्तित्व/योगदान उजागर गर्ने, समाजमा सफल भनेर चिनिएका पुरुषहरूको सफलतामा महिलाहरूको भूमिका र योगदानको विश्लेषण र व्याख्या गर्ने, गाउँघरमा रहेका र साधारण भनिएका महिलाहरूको योगदानबारे अनुसन्धान गरी सामग्री प्रकाशन गर्ने कामलाई प्राथमिकता दिनु आवश्यक छ्र । नेपाली समाज र राजनीतिमा स्थापित महिला नेतृहरूले र राज्यका राजनीतिक निर्णयकर्ता, नीति निर्माता, प्रभावशाली व्यक्तिहरूले यो यथार्थलाई आत्मसात् गरी अगाडि बढ्न सके नेपाललाई महिलामैत्री, समतामूलक, समावेशी, सुखी र समृद्ध राष्ट्र बनाउन सकिन्छ । सम्बन्धित सबैको यसतर्फ ध्यान जानु आवश्यक छ ।

(लेखक हाल नीति अनुसन्धान प्रष्ठिानका कार्यकारी अध्यक्ष छन् ।)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>