Successfully Copied

नयाँ वर्ष मनाउने मौलिक शैली

चीनमा नयाँ वर्षको अवसरमा राति पैसाको रुख बनाएर त्यसलाई पुरानो सिक्का र फूलहरूले सजाउने चलन छ ।

नव वर्ष नयाँ समयको पर्व मात्र होइन, यो जिजीविषा, सामूहिकता, वैभव, समृद्धिको कामना, संकल्प, नवीनताको उन्मेषको पनि प्रकटीकरण हो । विषादको छायाविरुद्ध नयाँपनको उद्घोष पनि हो । दुःख र निराशालाई एकातिर पन्छ्याउँदै अग्रगमनतर्फ उन्मुख हुने शुभमुर्हूत पनि हो । विभिन्न मुलुकमा फरक मिति र तिथिमा नव वर्ष मनाइन्छ । नव वर्ष मनाउने शैली र परम्परा पनि आ–आफ्नै छन् । नयाँ वर्ष जहिले र जसरी मनाए पनि यसको उद्देश्य खुसी र शुभकामना साटासाट गर्नु तथा सुख, शान्ति र समृद्धिको कामना गर्नु नै हो । नेपालमै पनि फरक–फरक मितिमा नव वर्ष मनाउने चलन छ । चाहे त्यो नयाँ वर्षका रूपमा होस् वा ल्होसार पर्वका रूपमा होस्, जुडशितल/सिरुवा पर्व र माघी पर्वका रूपमा पनि नूतन वर्ष मनाउने परम्परा यहाँ छ । विश्वमा अंग्रेजी महिनाको जनवरी १ लाई आफ्नो नव वर्षका रूपमा मनाउनेहरू धेरै छन् । त्यस्तै वैशाख १ लाई नव वर्ष भनेर मनाउने नेपाली धेरै छन् । यसै दिन कतै सिरुवा वा जुडशीतल त कतै वैशाखी पर्वका रूपमा मनाइन्छ । खासगरी तराई–मधेसमा जुडशीतल र सिरुवा पवनीकै नामले नव वर्षमा शुभकामना साटासाट गरिन्छ । जे भए पनि नव वर्षका नाममा मनाइने पर्वमा विभिन्न मौलिकता भूगोलपिच्छे पाइन्छन् । फरक–फरक मान्यता र परम्पराअनुसार नूतन वर्षको स्वागत र अभिनन्दन गरिन्छ । बधाई र शुभकामना साटासाट गरिन्छ । नव वर्षको स्वागत गर्ने केही अनौठा तथा रोचक परम्पराहरू :

- चीनको स्वशासित क्षेत्र तिब्बतमा नव वर्षको पूर्वसन्ध्यामा युवतीहरूले आफ्नो हातमा मशाल बोकेर आगोमाथि नाङ्गो खुट्टाले नृत्य गर्छन् । त्यही ठाउँका केही क्षेत्रमा युवकहरूले आँखामा पट्टी बाँधी तलबारबाजी गर्छन् । वर्षैभरि धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त हुने मान्यताअनुरूप यसो गर्छन् ।

- बेलायत र अस्ट्रेलियाका केही भूभागमा घरममुलीले नव वर्षका दिन डाइनिङ टेबलमा विशेष प्रकारको तातो पेय पदार्थले भरिएको कचौरा राखिदिन्छन् । परिवारका हरेक सदस्यले त्यो कचौराको तातो पेय पदार्थ एक–एक चम्चा मुखमा हाल्नैपर्ने परम्परा वर्षौंदेखि कायम छ । वर्षभरि स्वास्थ्य र समृद्धिका लागि यसो गरिने मान्यता छ ।

- चीनमा नयाँ वर्षको अवसरमा राति पैसाको रुख बनाएर त्यसलाई पुरानो सिक्का र फूलहरूले सजाउने चलन छ । त्यहाँ यसो गर्नुको कारण पूरै वर्ष आफ्नो घरमा धनको वर्षा हुने जनविश्वास हो ।

- इटालीमा होली पर्वजस्तै नव वर्षका अवसरमा एक–अर्कामाथि पानी छ्याप्ने परम्परा छ । यसो गर्दा वर्षभरि स्वस्थ रहने जनविश्वास छ ।

- कुवेतमा नयाँ वर्षका दिन पूरै परिवारका साथ यात्रा गर्ने परम्परा छ । यो क्रममा पुरुषले चम्किलो र सुन्दर कपडा तथा महिलाहरूले कालो र साधारण परिधान लगाउँछन् । त्यस्तै, पुरुष र महिलाले फरक–फरक रूममा छुट्टाछुट्टै भोजन गर्छन् । सबै जना पारम्परिक उत्सव पेय ‘कहवा’ सेवन गर्छन् । यो दिन ‘दायाँ हात’ को नियम लागू हुन्छ अर्थात् सबै काम दायाँ हातले मात्र गर्ने चलन छ । यसो गर्नुको कारण आगामी दिन राम्रोसँग बितोस् भन्ने मान्यता हो ।

- फ्रान्समा नयाँ वर्षको दिन हावाको दिशाबाट आगामी वर्षका लागि मौसमको भविष्यवाणी गरिन्छ ।

- डेनमार्कमा आफ्नो घरमा वर्षभरि काम नलाग्ने काँचका प्लेटहरू जम्मा गरेर राखिन्छ । नव वर्षको दिन आफन्तजनको ढोकाअगाडि ती प्लेटहरू फोडिन्छ । जसको घरको ढोकाअगाडि जति धेरै टुटेफुटेका प्लेट हुन्छन् उसको त्यति नै धेरै शुभचिन्तक रहेको विश्वास गरिन्छ । साथै भाग्य पनि राम्रो बन्ने मान्यता छ ।

- बैंककमा सयौं मानिस नयाँ वर्षको अवसरमा टाकियो टेम्पलमा गएर अन्तिम संस्कारको एउटा परम्परा निर्वाह गर्दै हातमा फूल लिई केही समयका लागि कफिन (शव बाकस) मा बन्द हुने गर्छन् । त्यसपछि त्यहाँ उपस्थित भिक्षुहरूले कफिनलाई छोपिदिन्छन् । यो परम्परा सुन्दा अनौठो लागे पनि त्यहाँका बासिन्दाका अनुसार यसो गर्दा पुराना वर्षका तीता सम्झना र दुर्भाग्यहरू त्यही बाकसमा रहिरहन्छन् ।

- इक्वाडोरमा नयाँ वर्षको उपलक्ष्यमा पुतला दहनको परम्परा छ । मध्यरातमा कागजबाट बनाइएको पुतला दहन गर्दा पुराना वर्षका खराब कुराहरूको दहन हुने मान्यता छ । साथै, अघिल्लो वर्षको आफ्नो पुरानो फोटो पनि त्यही पुतलासँगै जलाउने परम्परा छ ।

- पोर्चुगलमा नव वर्षको दिन साँढे जुधाएर रमाइलो गरिन्छ । साथै सहरहरूमा धुनी जगाएर आतिसबाजी गरी मनोरञ्जन गर्ने परम्परा छ ।

- फिलिपिन्समा नयाँ वर्षको अवसरमा स्थानीयबासीले सबैकुरा गोलो हेर्न मन पराउँछन् । नयाँ वर्षका दिन खाद्य पदार्थदेखि अन्य सबै वस्तु त्यहाँ गोलो नै पाइन्छ । नव वर्षका दिन जति धेरै गोलो वस्तुको प्रयोग गरिन्छ त्यति धेरै घरमा धन वर्षा हुने जनविश्वास छ ।

- दक्षिण अमेरिकामा नव वर्षका दिन रंगीचंगी अन्डरबियर लगाउने प्रचलन छ । रातो रंगको अन्डरबियर ‘प्रेम’, सेतो रंगको ‘शान्ति’, गोल्डेन ‘पैसा र समृद्धि’ को प्रतीक मानिन्छ । त्यसैले त्यहाँ नव वर्षको स्वागतमा आतिसबाजी र थरीथरीका विशेष परिकारसँगै रंगीचंगी अन्डरबियर लगाइन्छ ।

- जर्मनीमा नव वर्षका दिन पानीले भरिएका धातुका भाँडामा सिक्का खसालेर त्यसको आकृतिका आधारमा भविष्यवक्ताहरूले सर्वसाधारणका बारेमा भविष्यवाणी गर्ने चलन छ ।

 (एजेन्सी)

 Image