Successfully Copied

चिल्लो केशको हेरचाह

महिला–पुरुष दुवैमा चिल्लो केश हुनुको प्रमुख कारण भनेको अतिरिक्त ‘सिबम’ बढी उत्पादन हुनु नै हो ।

केशले सौन्दर्य बढाउँछ । लामो, बाक्लो, चम्किलो, बलियो र स्वस्थ केश सबैको रोजाइ हो । तर, चाहना हुँदाहुँदै सबैको स्वस्थ केश हुँदैन । केश झर्नु, रुखो हुनु, हाँगा फाट्नु, चायाँ पर्नु आम समस्या हो । गर्मीमा तैलीय ग्रन्थि धेरै सक्रिय हुने भएकाले केश चिल्लो हुन्छ । चिल्लो केश भएकाहरूलाई गर्मीमा समस्या देखिन सक्छ । चिल्लो केशका कारण चायाँ पर्ने, केश झर्ने, कमजोर हुने जस्ता समस्या आउँछन् । चिल्लो केशको गम्भीर समस्या भनेको अनुहारमा डन्डिफोर आउनु पनि हो । धेरै चिल्लो केश, रसायनको प्रयोग गरिएको केश धेरै सुख्खा र ड्यामेज हुन्छ । चिल्लो केशको सही हेरचाह गरिएन भने धेरै समस्या देखिन सक्छन् । चिल्लो केशका सम्बन्धमा ब्युटी एक्सपर्ट इच्छा कार्कीसँग गरिएको कुराकानी :

किन धेरै चिल्लो हुन्छ केश ?

हर्मोन अनियन्त्रित हुँदा ‘सिबम’ को स्राव अधिक मात्रामा भई केश चिल्लो हुन्छ ।

‘सिबम’ टाउकोको छालामा ‘सिबासियस’ ग्रन्थिले उत्पादन गर्ने पदार्थ हो । महिला–पुरुष दुवैमा चिल्लो केश हुनुको प्रमुख कारण भनेको अतिरिक्त ‘सिबम’ बढी उत्पादन हुनु नै हो । विभिन्न प्रकारका रोगका कारण पनि सिबमको स्राव बढ्न सक्छ । । किशोरावस्थामा हर्मोनको उतारचढावका कारण केश तैलीय हुन्छ । गर्भनिरोधक चक्की र गर्भावस्था पनि एक मुख्य कारण हुनसक्छ । त्यसका साथै अत्यधिक कार्बोहाइड्रेट, बोसोका कारणले पनि चिल्लो केश हुने सम्भवाना बढ्छ । वंशानुगत कारणले पनि यस्तो हुनसक्छ । त्यसबाहेक खराब व्यक्तिगत सरसफाइका कारण पनि चिल्लो केशले सताउन सक्छ । चिन्ता, खानपान, तैलीय खानेकुराको बढी सेवन, पानी कम पिउनु, महिनावारीमा गडबडी, हर्मोनल औषधि सेवनका कारण तैलीय केशको समस्या उत्पन्न हुन्छ ।

हेरचाह कसरी गर्ने ?

केश स्वस्थ बनाउन खानपानको मुख्य भूमिका रहन्छ । तसर्थ सही खानपान गर्नु जरुरी हुन्छ । खानामा फलफूल एवं सागसब्जीको मात्रा बढाउनुपर्छ । धेरै प्रोटिन र रेसादार खानेकुरा खानुपर्छ । दिनमा कम्तीमा आठदेखि दश गिलास पानी पिउनुपर्छ । थोरै मात्रामा तेल निस्कनु केशका लागि लाभदायक मानिन्छ । किनभने केशबाट तेल निस्कनु प्राकृतिक प्रक्रिया हो । सही मात्रामा केशको हेरचाह गर्नु र अधिक तेल निस्किएमा भने नियन्त्रण गर्नु जरुरी हुन्छ ।

केशमा नियमित स्याम्पु गरेर चिल्लो केशलाई नियन्त्रण गर्न खोज्नु हुँदैन ।

स्याम्पुको अधिक प्रयोगले केश बिग्रन सक्छ । माइल्ड स्याम्पुको प्रयोग गर्नुपर्छ । केश मसाजका लागि तोरी, नरिवलको तेल प्रयोग गर्न सकिन्छ । यसैगरी, जैतुनको तेल चिल्लो केशका लागि उत्तम हुन्छ । चिल्लो केश हुनेहरूले धेरै कोर्नु हुँदैन । यसो गर्दा सिवासियस गन्थ्रि सक्रिय हुन्छ र तेल अझ उत्पादन गर्न थाल्छ ।

केश बिग्रने कारण ?

केशलाई राम्रो बनाउन प्रयोग गरिने रसायनयुक्त उत्पादन नै केश बिगार्ने मुख्य कारण हो । कम प्रोटिन भएको खानाले केश कमजोर हुन्छ । हिटको बढी प्रयोग, धेरै ड्रायरको प्रयोग, धेरै आइरन गरेमा पनि केश बिग्रन्छ ।

केश चम्किलो, मुलायम र बलियो बनाउने घरेलु उपाय

- दहीले केश र स्काल्पमा मसाज गरेपछि स्याम्पु गर्ने ।

- गुलाब जललाई कपासमा लिँदै केशको जरामा लगाउनाले तेल कम हुन्छ ।

- दुई वटा केरा, दुईवटा अण्डा, तीन चम्चा मह र जैतुनको तेल मिसाएर स्काल्पमा लगाउने र दुई घण्टापछि स्याम्पु गर्नुपर्छ ।

- अण्डामा जैतुनको तेल मिलाएर केशमा लगाउनुका साथै स्याम्पु गर्नुपर्छ । यसले केश झर्ने समस्याबाट छुटकारा मिल्छ ।

- हाँगा फाट्ने समस्या भए एक चम्चा बदामको तेलमा एउटा अण्डाको सेतो भाग मिसाएर केशको जरामा लगाउने र एक घण्टापछि पखाल्नुपर्छ ।

- कागतीको रसमा नरिवलको तेल मिसाएर मसाज गरी आधा घण्टाजति छोड्नुपर्छ । यसले केश चम्किलो र बलियो बनाउँछ ।

- दूध र मह बराबर मात्रामा मिसाएर केशको मसाज गरी आधा घण्टापछि स्याम्पु गर्नुपर्छ ।

- प्याजलाई पिसेर रस निकाली मह मिसाएर मसाज गरेको एक घण्टापछि स्याम्पु गर्नुपर्छ ।

- अण्डाको सेतो भागमा कागतीको रस केही थोपा मिसाएर चिसै केशमा लगाएर केहीबेरपछि पखाल्नुपर्छ । यसले चिल्लो केशबाट छुटकारा मिल्छ ।

- घिउकुमारीको बीचको भागमा भएको तरल पदार्थ निकाली केशमा लगाएर केहीबेर

राखेपछि पखाल्नुपर्छ ।

- अमला पिसेर पेस्ट बनाई केशमा लगाउन सकिन्छ । सुकेको अमलाको धूलो भिजाएर पनि प्रयोग गर्न सकिन्छ । यसले केशलाई प्राकृतिक रंग दिन्छ ।

 Image