पिंकी गुरुङ

नारी संवाददाता

चैत्र १३, २०७७ नेपालमा हालको अवस्थामा तेस्रोलिङ्गी समुदायलाई कुन स्थानमा पाउनुभएको छ ?

नेपालमा तेस्रो लिङ्गी समुदायको अवस्था प्रगतिशीलतातर्फ उन्मुख छ । हिजो लुकेर बसेको यो समुदाय आज खुलेर आवाज मुखरित गर्न अभिप्रेरित छ । समाजमा स्वीकार्यता र संवेदनशीलता बढ्दै छ भने समुदाय आफै पनि सतर्क हुँदै आएको छ । विभिन्न क्षेत्रमा तेस्रो लिङ्गीहरू अग्रपंक्तिमा आएको पाइएको छ । मोडलिङ क्षेत्रमा अञ्जली लामा, मेकअप आर्टिस्टमा सोफी सुनुवार र व्यवसायीमा मेघना लामा । राज्यले तेस्रालिङ्गीका लागि नागरिकताको हकमा लिङ्गको महलमा ‘अन्य’ भनेर पहिचान दिन सुरु गरिसकेको छ । नागरिकता र पासपोर्ट ‘अन्य’ बाट प्राप्त गर्न सकिन्छ । राज्यले पहिचानको अधिकारलाई सुनिश्चित गरेको छ । पहिचानसँग जोडिएका अन्य अधिकारहरू अझै राज्यबाट प्राप्त हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच बढ्न सकेको छैन । पारिवारिक र समाजिक बहिष्करणका कारण धेरै तेस्रो लिङ्गी जोखिमपूर्ण व्यवहार सहन बाध्य छ । त्यसैले धेरै साथीहरू एचआइभी/एड्सजस्ता रोगको संक्रमणमा छन् । धेरै साथी मानसिक समस्यामा पनि छन् । यो लकडाउनमा १९ जनाले आत्महत्या गरे भने १० जनाले आत्महत्याको प्रयास गरेका छन् ।

यो समुदाय के चाहन्छ ?

माया, सद्भाव, सम्मान, समावेशी, प्रतिनिधि अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार र अवसर चाहन्छ । यो आजको समय र समुदायको आवश्यकता हो ।

तेस्रो लि·ीको राज्यसँगको अपेक्षा के हो ?

हामीले अरुलाई भन्दा बढी अधिकार देऊ भनेको होइन । अरुले जस्तै सहज र सरल तरिकाले बाँच्न देऊ मात्र भनेका हौं । जसरी महिला र पुरुषले नागरिकता प्राप्त गर्न मेडिकल प्रमाण र सिफारिसको आवश्यकता पर्दैन त्यसरी नै सर्वघोषणा र आत्मनिर्णयकै आधारमा नागरिकता प्रदान गरिदिए हुन्थ्यो । राज्यको कानुन र समाजमा जसरी अन्य वर्ग, धर्म, जाति र लिङ्गहरूले मान्यता पाएका छन् त्यसरी नै हाम्रो समुदायले पनि पाउनुपर्छ । अहिलेसम्म जनगणनाले तेस्रो लिङ्गीलाई समेट्न नसक्दा हाम्रो समुदाय तथ्यांकविहीन बनेको छ । जनगणनामा समावेश गराई राष्ट्रिय तथ्यांकका आधारमा अन्य समुदायसरह शिक्षा, स्वास्थ्य, रोजगार र आरक्षणको अधिकार दिनुपर्छ ।

विगतका दिनमा कत्तिको चुनौती सामना गर्नुपर्‍यो ?

आफ्नै लैङ्गिक पहिचान दुनियाँका लागि उपहासको पात्र बन्ने गर्थ्यो । बिहान घरबाट निस्किएपछि राति घर नफर्केसम्म समाजका तिखा नजर, तुच्छ बोली, हेला र तिरष्कार अनि अपमान, हिंसा र कुटपिट हाम्रो नियति नै बनेको थियो । मनका वेदना पोख्ने ठाउँ थिएन । परिवार र समाजको डरले लुकेर बस्नुपर्थ्यो । रत्नपार्कमा प्रहरीले कुटेको, केटाहरूले ब्ल्याकमेल गरेको, सभ्य र नैतिकवान् राजनीतिकर्मीहरूले छम्का र हिजडा आउन बन्द गरौं भन्दै भीडमा अभिव्यक्ति दिएको अझै सम्झन्छु । संकटकालमा माओवादीले आर्मीको मारुनी र आर्मीले माओवादीको सुराकीको शंका गरी पेस्तोल तेर्स्याएका थिए । धेरै साथीहरू सडकमै थिए, त्यहीँ सुत्थे । यौन कर्मबाट कमाइ पनि थोरै थियो ।

तपाईं आफूलाई एकै वाक्यमा व्याख्या गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

आफ्नो र समुदायको अधिकारका लागि लड्ने एउटा जिउँदो र तातो रगत भएको मान्छे ।

तपाईंलाई आत्मादेखि गर्न मन लागेको कुनै काम ?

एक्लै जीवन बिताउन बाध्य वृद्ध समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ ।

तपाईं केका लागि लडिरहनुभएको छ र यसको गन्तव्य के हो ?

म पारिवारिक विभेद, सामाजिक बहिष्करणको अन्त्य, आवाजविहीनहरूको आवाज बुलन्द, समुदायको नेतृत्व र क्षमता विकास गरी आवश्यक नीति, विधि र कानुन परिवर्तन गर्दै भेदभावरहित समाजको निर्माण र तेस्रो लिङ्गीको जीवन स्थापित गराउन लड्दै आएकी छु । समुदायको शिक्षा, स्वास्थ्य, रोजगार तथा राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक क्षेत्रमा कुनै परिवर्तन हुन सकेको छैन । त्यसैले मैले मेरो अन्तिम गन्तव्य अहिले नै निधो गर्न सक्दिन ।

जीवनभरका लागि कुनै एउटा वस्तु छोड्नुपर्‍यो भने के छोड्नुहुन्छ ?

लोभ, मोह र भोक त्याग्न सके मनलाई सुख र शान्ति प्राप्त हुनेछ ।

एकदिनका लागि कुनै चमत्कार गर्न सक्ने शक्ति प्राप्त भए के गर्नुहुन्थ्यो ?

त्यस्तो चमत्कार गर्ने शक्ति प्राप्त भए सबैले सबैलाई माया गर्ने मन र समान देख्ने नजर बनाइदिन्थें ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>