वाइन र स्वास्थ्य

नारी संवाददाता

फाल्गुन १४, २०७७

विपिन कार्की, डाइटिसियन

आधुनिक जीवनशैलीमा परिवर्तन आएको छ । योसँगै विभिन्न चाडपर्व, उत्सव एवं समारोहमा वाइनलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ । पश्चिमा संस्कृतिको नक्कल हाम्रो देशमा पनि थालनी भइसकेकाले पार्टीमा वाइन संस्कारको प्रतीक बन्दै गएको छ ।

वाइन शुद्ध प्राकृतिक फरमेन्टसन प्रक्रियाबाट बनाइने पेय पदार्थका रूपमा चिनिन्छ । यो मुख्यतः अंगुर तथा बेरीको जुसबाट प्रशोधित गरिन्छ । अंगुरको वाइन गुणात्मक हिसाबले राम्रो बन्ने हुनाले अंगुरलाई ग्राह्यता दिइन्छ । तर वाइन आल्चा, अम्बा, अनार, जामुन, स्याउ आदिबाट पनि बनाउन सकिन्छ । वाइनमा ८५ देखि ८९ प्रतिशत पानी, १० देखि १५ प्रतिशत अल्कोहल, एक प्रतिशत फ्रुटएसिड र धेरै प्रकारका फ्लेबर र गन्ध हुनुपर्छ ।

वाइन बनाउन अंगुरको छनोटसँगै यसलाई सफा गरी क्रसिङ गरिन्छ र त्यसपछि फरमेन्टेसन १० देखि १५ दिनसम्म एअर टाइट कन्टेनरमा गरिन्छ । फरमेन्टेसनपछि वाइनलाई क्लारिफिकेसन गरी एजिङपछि बोतलमा लेबलिङ गरी बजारमा पठाइन्छ । फरमेन्टेसन प्रक्रियाका लागि मुख्यतः चिनी र इष्टको आवश्यकता पर्छ । इष्ट एक जीवाणु हो, यसले चिनीबाट कार्बनडाइअक्साइड र अल्कोहल बनाउँछ । फरमेन्टेसन प्रक्रियामा तापक्रमको मुख्य भूमिका रहन्छ । वाइनको विशेषता त्यसमा हुने अल्कोहलको मात्राले निर्धारण गर्छ ।

इतिहास

वाइनको विकास भूलवश अंगुर प्राकृतिक तरिकाले कुहेर बनेको भन्ने भनाइ छ । सामाजिक विकासमा वाइनले इतिहासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । वाइन इतिहासकै पुरानो सिर्जना हो र यसको इतिहास खोतल्दा करिब ४५ सय वर्षअगाडि इजिप्टिसियनहरूले थालनी गरेको उल्लेख गरे पनि पहिलो वाइन मिडलइष्ट तथा चीनमा उत्पादन भएको भनाइ छ । वाइनले इतिहासको मुख्य घटनालाई पनि छोएको देखिन्छ । मुख्यतः  क्रिश्चियन धर्मावलम्बीहरूका धर्मगुरु जिसस क्राइष्टले वाइनलाई आफ्नो रगत भनी रातको खानामा समावेश गरेको पाइन्छ । यसैगरी फिजिसियन हिप्फोत्रेट्सले करिब ३५० बिसीमा वाइन स्वास्थ्यका हिसाबले फाइदाजनक हुने अध्ययन गरेका थिए । ग्रीस सभ्यतासँगै यूरोपमा रोमनहरूले करिब १००० बिसीमा अंगुरको विविधता, गुण, रंग र त्यसलाई बनाउने र भण्डारणसम्बन्धी सूचना संकलन गरेको पाइन्छ । रोमनहरूले यूरोपलाई वाइन मेकिङको सेन्टर बनाए ।

कति खाने ?

अमेरिकी निकाय ‘युएसडिए’ को गाइडलाइनअनुसार पुरुषले दैनिक दुई गिलास (२५० मिलिलिटर) र महिलाले एक गिलास (१२५ मिलिलिटर) सम्म वाइन पिउन सक्छन् । महिलाको शरीरमा पुरुषको भन्दा तुलनात्मक रूपमा पानीको मात्रा कम हुनाले एकै मात्राको वाइन सेवन गर्ने महिलाहरू रगतमा पुरुषको भन्दा अल्कोहलको मात्रा उच्च रहने हुनाले महिलाहरूले वाइन पिउँदा गाइडलाइन फलो गर्नुपर्छ । वैज्ञानिक अध्ययनअनुसार दैनिक १२५ देखि २५० मिलिलिटर रेडवाइन पिउँदा मुटु रोगको जोखिम नहुने र खनिज पदार्थ जस्तै क्याल्सियम, फस्फोरस, जिंकको राम्रोसँग अवशोषण हुन मद्दत पुग्छ ।

वाइनका फाइदा

‘युनिभर्सिटी अफ रोम’ को एक अध्ययनका अनुसार शुद्ध प्राकृतिक वाइनको सेवनले रगतमा एसिड अल्डिहाइड’ रासायनिक तत्वलाई कम गराई कलेजोमा जम्मा भएका विकारलाई निष्कासन गर्न मद्दत गर्छ । रेडवाइनमा पाइने ‘एन्टिअक्सिडेन्ट’ ले मुटु रोग, सुगर र मृत्युदरको जोखिमलाई कम गराउने अर्को अनुसन्धानले बताएको छ ।

अंगुरको बोक्रामा पाइने ‘पोलिफेनोल’ रसायन स्वास्थ्यका लागि राम्रो मानिन्छ । रातो अंगुरमा ‘पोलिफेनोल’ को मात्रा सेतो अंगुरको तुलनामा बढी हुनाले स्वास्थ्यको हिसाबले रातो अंगुर फाइदाजनक हुन्छ । त्यस्तै ब्लुबेरी र अंगुरमा रेसभेराट्रोल रसायन पनि पाइन्छ र यसबाट प्रशोधित वाइनको सेवनले रगतमा खराब कोलस्टेरोलको मात्रा कम गराई राम्रो कोलस्टेरोल बढाउने काम गर्छ । यसले मुटु रोगको जोखिम कम हुन्छ ।

 

बेफाइदा

धेरै वाइन सेवनले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ  । यसले स्तन क्यान्सर, माइग्रेन, प्यांक्रियाटाइटिस, मोटोपन, उच्च रक्तचाप तथा बाँझोपन हुनसक्छ ।

निद्रा नपुग्ने : बढी वाइन पिएपछि धेरै मानिसमा सुस्त हुने, रिंगटा लाग्ने, टाउको दुख्ने आदि समस्या देखापर्छन् । यसको मुख्य कारण अल्कोहल पाचन योग्य नहुनाले सानो आन्द्रा हुँदै रक्त प्रवाहमा प्रवेश गर्छ र शरीरका प्रत्येक कोषमा गई सेलुलर गतिविधिलाई वाधा पुर्‍याउने हुनाले निद्रामा असर पुग्छ ।

मोटोपन : वाइन पिउने लत बसेका मानिसले एकैपटकमा एक बोतलसम्म पिउँछन् । एकदेखि दुई गिलास वाइनमा २०० क्यालोरी हुन्छ । एक वैज्ञानिक अनुसन्धानअनुसार पेय पदार्थ बढी सेवन गर्नेहरू खाना बढी खाने र शारीरिक योग कम गर्नाले मोटोपन निम्तिन सक्ने उच्चतम जोखिम हुन्छ ।

उच्च रक्तचाप : अल्कोहल बढी सेवन गर्नाले रक्तचाप बढ्नुका साथै मुटु रोग तथा स्ट्रोकको जोखिम बढाउँछ ।

प्रजनन क्षमतामा समस्या : गर्भवती महिलाले वाइन तथा मादक पदार्थ सेवन गर्नाले शिशुको तौल कम हुने, जन्मदोष, शारीरिक अपाङ्गताजस्ता समस्या निम्तिन सक्छन् । पुरुषमा पनि बढी अल्कोहल सेवनले गर्दा टेस्टोस्टेरोन हर्मोनको कमी हुँदा शुक्रकीटको गतिविधिलाई असर पारी बाँझोपन निम्तिन सक्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>