Successfully Copied

ढकमक्क ‘साकुरा’

अंग्रेजीमा ‘चेरी ब्लसम’ ले चिनिने एक प्रकारको रुख, जसमा फूल फुल्ने बेलाको सौन्दर्यले वातावरण, मानव अनि जीवलाई मन्त्रमुग्ध पार्छ ।

 राजेन्द्र देवकोटा, कृषिविज्ञ

जापनिज नाम ‘साकुरा’ । अंग्रेजीमा ‘चेरी ब्लसम’ ले चिनिने एक प्रकारको रुख, जसमा फूल फुल्ने बेलाको सौन्दर्यले वातावरण, मानव अनि जीवलाई मन्त्रमुग्ध पार्छ । शरद ऋतु समाप्तिसँगै आगमन हुने ‘साकुरा’ वसन्त ऋतुमा ढकमक्क फुल्छ । यो फूलको सौन्दर्य हेर्न हजारौं मानिस जापान पुग्छन् । ‘साकुरा’ जापानमा मात्र सीमित नभई नेपाल, ताइवान, कोरिया, चीन, पाकिस्तान, भारत, इरान, म्यानमार, थाइल्यान्ड, यूरोपलगायत अमेरिकी महादेशसम्म फैलिसकेको छ ।

‘साकुरा’ फूल अनि सौन्दर्यका लागि रोप्ने गरिन्छ । गुलाब फूलको परिवारभित्र पर्ने ‘साकुरा’ को ‘सोमेई योसिनो’ प्रजाति धेरै ठाउँमा रोपिएको र प्रचलित जात पनि हो । यो प्रजातिको ‘साकुरा’ करिब सातासम्म फुल्छ । जापानमा हाल ६०० प्रजातिका साकुरा उपलब्ध छन् । तर, फूलको रंग, पत्रदलको आकार, फूल टिक्ने अवधिमा रहेर यसको गुणस्तर निर्धारण गरिन्छ । जापानले सन् १९९२ देखि मार्च  २७  लाई साकुरा दिवसका रूपमा मनाउँदै आएको छ । विश्वमा अहिले साकुराको फैलावट तीव्र गतिमा भैरहेको छ । प्रायः धेरै सहरका सडक पेटी, पार्क  तथा बगैंचा, भिरालो जमिन, सार्वजनिक भवन, होटेल तथा व्यावसायिक केन्द्रहरूमा साकुरा रोप्ने काम तीव्र रूपमा बढ्दो छ । यसको सौन्दर्य र हरियालीसँगै वातावरणसमेत राम्रो हुने र वन तथा जंगलमा एक किसिमको जैविक विविधतामा समेत ठूलो टेवा दिने हुनाले विश्वका धेरै राष्ट्रले यसको खेती गर्दै आएका छन् । चीन तथा भियतनाममा यसको खेती चिया बगानमा समेत गरी थप सौन्दर्य प्रदान गरिन्छ ।

जापानमा परिवारजन, साथीभाइ तथा प्रेमी–प्रेमिकासँग ‘साकुरा’ को फेदमुनि बसेर मीठा–मीठा परिकार र पेय पदार्थसँगै फूलको सौन्दर्यको आनन्द लिने चलन छ । त्यहाँ साकुरा जापनिज कला, संस्कृति, पर्यटन, वातावरण, उत्सवका  रूपमा समेत जोडेर यसको महत्व र प्रवर्द्धन भैरहेको छ । हाल जापानले विश्वमा शान्ति र भाइचाराको सिद्धान्तस्वरूप धेरै मुलुकलाई ‘साकुरा’ का बिरुवा उपहारस्वरूप दिने गरेको छ ।

बिरुवा तयार

‘साकुरा’ का बिरुवा प्रायः बीउबाट तयार गरिन्छ । बीउ कडा हुने हुँदा हाइड्रोजन पेरोअक्साइडमा राखिन्छ । यसलाई केही दिन फ्रिजमा जम्ने नजम्ने तापक्रममा राखिन्छ र पेपरमा बेरी मिडियामा रोप्ने गरिन्छ । रोपेको करिब दुईदेखि सात सातामा यो उम्रन्छ । कतिपय प्रजाति ढिलोगरी उम्रने हुन्छन् । जापानमा कटिङ तथा ग्राफ्टिङ विधिबाट समेत साकुराका बिरुवा उत्पादन गरिन्छ । यसको बिरुवा जात हेरी तीनदेखि छ मिटरको फरकमा रोपिन्छ ।

रोपिसकेपछि मौसमअनुसार सिंचाइ र मलखाद दिँदै जानुपर्ने हुन्छ भने कीरामा लाहीको संक्रमण अलि बढी देखिन्छ । यसको डाँठमा देखापर्ने एक प्रकारको ढुसी ‘ब्ल्याक नट फंगस’ को संक्रमण केही बढी देखिन्छ । तसर्थ लाही तथा फंगस नियन्त्रणको विधि समयमै गर्नुपर्ने हुन्छ । साकुरा रोपेको चार/पाँच वर्षमै फुल्छ । यसका लागि घाम लाग्ने, पानी नजम्ने जमिन उपयुक्त हुन्छ ।

जापानमा राष्ट्रिय फूलका रूपमा लिइने साकुराको बिस्तार जापानकै पहलमा विश्वका २३ राष्ट्रका ३५ सहरमा भइरहेको छ । काठमाडौंको गोकर्ण राष्ट्रिय सहिद मेमोरियल पार्कमा पनि करिब दुई सय बिरुवा सन् २०१७ मा रोपिएको थियो । हुन त यसअघि पनि नेपालमा साकुरा जापानबाट ल्याएर रोपिएको थियो । साकुरा (जापनिज चेरी) को कलमी बिरूवा उत्पादन यस वर्षदेखि पुष्प विकास केन्द्र, गोदावरीमा समेत सुरू गरिएको छ । सम्भवतः आगामी वर्षदेखि यसका बिरूवा सेवाग्राहीलाई उपलब्ध हुनेछन् । यी बिरुवाहरू सार्वजनिक, निजी भवन, सडक पेटी, भिराला पहाडी भू–भाग, चिया बगान एवं राजमार्गमा रोप्न सके ‘हरियो वन नेपालको धन’ भन्ने उखानले सार्थकता पाउँछ । अतः यो अभियानमा संघ, प्रदेश तथा स्थानीय तहसमेत सक्रिय हुनुपर्ने देखिन्छ ।

 Image