बेवारिसेकी सारथी सपना 

लक्ष्मी भण्डारी

माघ ४, २०७७ धुम्म परेको चिसो दिन । उनको मन पनि उस्तै धमिलो र चिसो.... । भक्तपुरबाट ल्याइएको १७ वर्षीया बेवारिसे किशोरीको शवमा १७ वर्षकै सपना रोका मगरले दागबत्ती दिँदै गर्दाको अवस्था थियो, त्यो । उतिबेला सपनाको सपना त्यही धमिलो आकाशमा रडगिएको धूवाँको घुर्मैलो मुस्लोसँगै अदृश्यमा उड्दै थियो । उनी उदास थिइन् । सोच्दै थिइन्, ‘बिचरा तिनका कति सपना थिए होलान्, जीवन यत्तिकै सकियो । म पनि त्यही सडकमा मरेकी भएँ, यही हालत हुन्थ्यो होला मेरो पनि ।’

सन् २०२० को ‘बीबीसी हन्ड्रेड महिला’ मा पर्न सफल म्याग्दीकी सपना अहिले चर्चाको शिखरमा छिन् । बेवारिसे शव व्यस्थापनमा काम गरेवापत उनी यो सूचीमा परेकी हुन् । सानैदेखि उनी अरूलाई केही सहयोग गर्ने कुरामा रुचि राख्थिन् । कृषिमा निर्भर उनको परिवार हुनेखानेमा नदरिए पनि म्याग्दीको गाउँमा भएको जग्गाजमिनबाट परिवारले प्रशस्त अन्न फलाउँथ्यो । स्कुल पढ्दा सपना खाजा खान भनेर आमासँग पैसा माग्थिन् र त्यही पैसा गरिब–बेसहारालाई बाँड्थिन् । स्कुले जीवनदेखि नै अनाथ, बेसहारा एवं गरिबहरूको सेवा गर्दै आएकी उनले प्रवेशिका परीक्षापछि म्याग्दी छाडिन् । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले उनी पोखरा पुगिन् । सबैसँग छिट्टै घुलमिल हुने स्वभावकी सपना भन्छिन्, ‘पोखरा बसाइमा सामाजिक सञ्जाल र अन्य माध्यमबाट पनि धेरै किसिमका मान्छेसँग मेरो संगत भयो । त्यही क्रममा थप अध्ययनका लागि जापान जाने सोच आयो । सलिना दिदीले विनयजंग बुवासँग चिनजान गराउनुभयो । जसको माध्यमबाटै म बेवारिसे शव व्यवस्थापनसम्म पुगेकी हुँ ।’ 

त्यसैबीच, उनको जीवनमा एउटा अर्को घटना हुन पुग्यो  । उनी पोखरामा छँदै फेसबुकबाट चिनजान भएका एक जनासँग केही समयमै घनिष्ठ मित्र बन्न पुगिन् । सबैलाई सहयोग गर्ने र सेवाभावका कारण उनी आफैं दलदलमा फसिन् । उसलाई अप्ठ्यारोबाट निकाल्न खोज्दा उनी आफैं कठिन समयसँग जुध्न बाध्य भइन् । उसैका लागि उनी बुटवल पुगिन् । ‘कसैको दुःख देख्न नसक्ने र देखिहालेमा त्यसबाट पार लगाइदिन खोज्ने स्वभावका कारण म आफैंले त्यो दुःख पाएँ । चार महिना त म सडकमै रात बिताएँ,’ सपना भन्छिन्, ‘ममाथि जुनसुकै प्रकारको हिंसा हुन सक्थ्यो, त्यही डरले म प्रहरी बिटको नजिक गएर रात बिताउँथें, कथंकदाचित् केही परिहाले हारगुहार गर्न सकूँ र प्रहरी आएर मलाई सहायता दिन सकून् ।’ 

कलिलै उमेरमा जीवनको एउटा अत्यासलाग्दो कालखण्ड पार गरेकी सपना यी सबै कुराले आफूलाई थप बलियो र आत्मविश्वासी बनाएको बताउँछिन् । ‘तब त मलाई अहिले कुनै कुरासँग डर नै लाग्दैन’ उनले भनिन्, ‘मानिस बलियो हुने भनेको भोगाइले रहेछ, उमेर त संख्या मात्रै हो, जुन दिन गन्दैमा बितेर जान्छ । यदि हाम्रा दिनहरू खाली बितेर गए जीवनको सार्थकता के ?’

सपनासँग अन्तर–संवाद

एक्कासि पाएको चर्चाले कस्तो अनुभव हुँदैछ ?

अझ धेरै जिम्मेवारी थपिएको महसुस हुँदैछ । राज्य र सरकारसमक्ष बेवारिसे शवको मुद्दा पुगेको छ । भर्खरै अर्थ मन्त्रीसँगको भेटमा मुलुकको सम्पूर्ण बेवारिसे शवको निःशुल्क व्यवस्थापन गर्ने विषय  लगभग निष्कर्षमा पुगेको छ । त्यसबाहेक विदेशबाट नेपाल भित्र्याइने शवको पनि अब पैसा तिर्न नपर्ने भएको छ । 

डर के हो ?

डर भनेको आफूभित्रको मनोबल कमजोर हुनु हो । 

तपाईंलाई सबैभन्दा बढी डर केबाट लाग्छ ?

सबैलाई मृत्युसँग डर लाग्छ भन्छन्, तर मलाई मूर्दाघरमा बस्दा–बस्दा बानी परिसक्यो । अब मलाई मृत्युसँग पनि डर लाग्दैन । तर मलाई अरूले मप्रति गरेको विश्वासमा डगमगाउँछु कि भन्नेमा असाध्यै डर लाग्छ । 

सबैभन्दा खुसी भएको क्षण ?

म म्याग्दीमै थिएँ जब मेरो नाम ‘बीबीसी हन्ड्रेड’ मा परेको खबर सुनेर मेरा आमाबुवाको अनुहारमा जुन खुसी देखें त्यस्तो खुसी मैले उहाँहरूको अनुहारमा त्यसअघि कहिल्यै देखेकी थिइनँ । त्यो खुसीले म पनि धेरै खुसी भएँ । 

आजसम्मको जीवनको उपलब्धि के हो जस्तो लाग्छ ?

मैले गरेको कामले ल्याएको खुसी र सन्तुष्टि नै आजसम्मको मेरो जीवनको उपलब्धि हो जस्तो लाग्छ । 

समाजका लागि के योगदान गरेजस्तो लाग्छ ?

म भर्खर १८ वर्ष पुग्दैछु । यो उमेर भनेको साथीहरूसँग घुम्ने, डुल्ने र रमाउन मन लाग्ने उमेर हो । तर, म अहिले आर्यघाटमा बवेवारिसे मानिसहरूको शव पोलिरहेकी हुन्छु । एउटा शव व्यवस्थापन गर्न कम्तीमा १२ हजार रुपैंयाँ लाग्छ, मैले मेरो मोबाइल बन्धकी राखेर पनि कुनै बेला शव जलाएकी छु । सायद यही नै होला मैले आजसम्म गर्न सकेको योगदान । 

तपाईंको नजिकको व्यक्ति ?

मेरा आमाबुवा ।

सपनाको अबको सपना ?

ठूलो घर, आलिसान बंगला, महंगा गाडी, चैनको जिन्दगी मेरो सपना होइन । राम्रो तवरले बेवारिसे शवको व्यवस्थापन गर्दै जाने मेरो अबको सपना हो । म वास्तविक रूपमा सेवा गर्न चाहन्छु । मनैदेखि मलाई म र मेरो कामलाई माया गर्नेहरू होऊन्, यही नै मेरो सपना हो । 

युवाका लागि केही सन्देश ?

केही दिनअघि एयरपोर्ट पुग्दा टर्मिनलमा हातमा पासपोर्ट बोकेर विदेसिन लागेका युवाको ताँती देखें । युवाका लागि राज्य÷ सरकार चुकेको देखेर मन कटक्क खायो । ती युवालाई शिक्षा र सीपमूलक तालिम दिएर मुलुक बनाउन किन रोक्न सक्दैन सरकार ? के युवाले बनाउने होइन र यो देश ? मुलुक बनाउने त युवा नै हुन् । अर्को कुरा युवा स्वयं पनि आफ्नै देशभित्र काम गर्न लजाउनु भएन । राम्रो काम गर्दै जाऊँ कुरा काट्नका लागि त अरु छँदैछन् । 

तस्बिर ः महेश प्रधान

स्थान ः पशुपति क्षेत्र

पहिरन ः रानीज कलेक्सन, बानेश्वर

मेकअप ः अम्बु रुचाल

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>