Successfully Copied

आँखाको पर्दामा रोग र रोकथामका उपाय

आमाको गर्भमा रहँदा अङ्ग बन्ने क्रममा रेटिनाको केही भाग विकसित नभए पनि शिशु जन्मिन सक्छ । यस्ता आँखामा प्रायः दृष्टि कम हुन्छ । समय अवधि बढ्दै जाँदा रेटिना उप्कन गई समयमै उपचार नभए पूर्णरूपमा दृष्टि बिग्रिन सक्छ ।

डा. रबा थापा

एमडी, पिएचडी, नेत्र तथा रेटिना रोग विशेषज्ञ

आँखाको पर्दा (रेटिना) आँखाको भित्री भागमा रहेको स्नायु तन्तुले बनेको अत्यन्त सम्वेदनशील भाग हो । यसलाई क्यामेराको फिल्मसँग तुलना गर्न सकिन्छ । कुनै वस्तुबाट आएको बाहिरी प्रकाशलाई मस्तिष्कसम्म पुर्‍याई वस्तुको पहिचान गर्ने काममा यसको महत्वपूर्ण भूमिका हुन्छ । नाङ्गो आँखाले रेटिना देख्न सकिँदैन । यसको परीक्षणका लागि विशेष खालको उपकरण ‘लेन्स’ को प्रयोग गर्नुपर्ने हुन्छ । रेटिनासम्बन्धी रोग संसारभर नै अन्धोपनको एक प्रमुख कारण हो । विकसित मुलुकमा पाको उमेरका व्यक्तिको अन्धोपनको प्रमुख कारण रेटिनाका रोगहरू हुन् । त्यस्तै, विकासोन्मुख देशहरूमा रेटिनासम्बन्धी रोग मोतीबिन्दु पछिको दोस्रो कारणको रूपमा रहेको छ । बढ्दो उमेरसँगै रेटिनाको रोग पनि बढ्दै जान्छ । हालै नेपालमा जनसमुदायमा गरिएको एक सर्वेक्षणमा ६० वर्षमाथिका अधिकांशमा कुनै न कुनै प्रकारको रेटिनाको समस्या देखिएको उल्लेख छ । उमेरअनुसार रेटिनामा लाग्ने केही रोगहरू भने फरक–फरक हुन्छन् ।

बालबालिकामा देखापर्ने रेटिनाका रोगहरू

आमाको गर्भमा रहँदा अङ्ग बन्ने क्रममा रेटिनाको केही भाग विकसित नभए पनि शिशु जन्मिन सक्छ । यस्ता आँखामा प्रायः दृष्टि कम हुन्छ । समय अवधि बढ्दै जाँदा रेटिना उप्कन गई समयमै उपचार नभए पूर्णरूपमा दृष्टि बिग्रिन सक्छ ।

दिन नपुगी जन्मने बालबालिकाहरू खासगरी आमाको पेटमा रहेको ३० साताअगावै जन्मने बालबालिका तथा जन्मदा सानो तौल भएका बालबालिकामा रेटिनाको पूर्ण विकास भैसकेको हुँदैन । यस्ता बालबालिकामा नयाँ अनावश्यक रक्त नसाको विकास भई आँखाभित्र रक्तस्राव हुने तथा समयमै लेजर पद्धतिबाट उपचार नगरे रेटिना खुम्चन गई दृष्टि पूर्णरूपमा गुम्न सक्छ । त्यस्तै, गर्भमै रहँदा आमामा विशेष संक्रमण भए रेटिनामा दागसहित बालबालिकाको जन्म हुनसक्छ । यस्तो दाग रेटिनाको मुख्य भागमा हुने हुँदा आँखामा दृष्टि कम हुन्छ ।

खासगरी, वंशानुगत रूपमा देखिने जन्मजात रतन्धो रेटिनासम्बन्धी रोग हो । कमै देखिए पनि रेटिनाको ट्युमर जस्तो ‘रेटिनोब्लास्टो’ पनि बालबालिकाहरूमा हुन्छ ।

वयस्कमा बढी देखिने समस्या

वयस्कमा आँखामा चोटपटक धेरै लाग्ने गरेको पाइन्छ । चोटपटक लागेको आँखामा रेटिनामा रक्तस्राव हुने, दाग बस्ने र रेटिना च्यातिने तथा उप्कने समस्या बढी हुन्छ ।

दृष्टिदोष भएका व्यक्तिहरूमा रेटिना च्यातिने तथा उप्कने समस्या पनि वयस्कमा बढी नै देखिन्छ । खासगरी, ३० वर्षभन्दा माथि उमेरका व्यक्तिमा मधुमेह र उच्च रक्तचाप बढी हुने गरेको पाइन्छ । मधुमेह तथा उच्च रक्तचाप दुवैको असर आँखाको रेटिनामा हुन्छ । खासगरी आँखाका रक्तनसाहरूमा समस्या भई रेटिनामा रक्तस्राव हुने, सुन्निने र खुम्चिने समस्या बढी हुन्छ । दृष्टि बिस्तारै कम हुने र उपचारमा ढिलो भए दृष्टि सधैका लागि गुम्न सक्छ ।

पाको उमेरमा हुने समस्या

खासगरी ५० वर्षमाथिका उमेर समूहका व्यक्तिमा रेटिनाको मध्यभाग (म्याकुला) पातलो हुने, विकारक तत्वहरू जम्मा हुने, रगत र तरल पदार्थ जम्मा हुने समस्या आउन सक्छ । यसलाई ‘एज रिलेटेड म्याकुलर डिजेनेरेसन’ भनिन्छ । यो समस्या विकसित देशमा पाको उमेरका व्यक्तिमा हुने अन्धोपनको प्रमुख कारण हो । अल्प विकसित देशमा पनि बढ्दो उमेरसँगै यो समस्या धेरै देखिन्छ । पाको उमेरमा मधुमेह तथा उच्च रक्तचापजन्य समस्याको धेरै प्रभाव रेटिनामा पर्छ ।

रेटिनामा लाग्ने रोगका लक्षणहरू

रेटिनाका रोगहरूमा धेरै अवस्थामा लक्षणहरू नदेखिन पनि सक्छन् । मुख्य लक्षणहरूमा आँखाअगाडि छाया देखापर्ने, आँखा बिस्तारै धमिलो हुने, आँखा एक्कासि दृष्टिमा कमी हुने, अँध्यारोमा आँखामा उज्यालो झिल्का देखापर्ने, सीधा वस्तुहरू पनि बाङ्गोटिङ्गो देखापर्ने जस्ता समस्याहरू रोगको प्रकृतिअनुसार हुन सक्छन् । तर, धेरैजसो बिरामीमा बाहिरबाट हेर्दा आँखामा कुनै पनि परिवर्तन देखिँदैन ।

रेटिना रोगबाट दृष्टि बचाउने उपाय

- उमेर नपुग्दै जन्मिएका र सानो तौल भएका बालबालिकाहरूको जन्मिएको एक महिनाभित्र रेटिना परीक्षण गराउने ।

- बालबालिकाको आँखा डेडो भएको तथा एउटा आँखा सानो वा ठूलो भएको लागेमा तुरुन्त आँखा जचाउन लैजाने ।

- प्रत्येक बालबालिकालाई स्कुल भर्ना गर्नुपूर्व आँखा परीक्षण गराइदिने ।

- कुनै पनि वस्तु आँखा नजिकै लगी हेर्ने तथा पढ्ने, टेलिभिजन नजिक गएर हेर्ने बालबालिकाहरूमा दृष्टिदोष भएको हुनसक्छ । त्यस्ता बालबालिका तथा व्यक्तिले आँखाको परीक्षण तत्कालै गराउने ।

- आँखामा चोटपटक लाग्नबाट बचाउने र चोटपटक लागिहाले तत्कालै आँखा परीक्षण गराउने ।

- मधुमेह रोग र उच्च रक्तचाप भएका व्यक्तिले रोग पत्ता लाग्नासाथ र कम्तीमा वर्षमा एकपटक तथा रेटिनामा समस्या भएका व्यक्तिले नेत्र विशेषज्ञको सल्लाहअनुसार आँखाको परीक्षण तथा उपचार गराउने ।

- मधुमेह, उच्चरक्तचाप तथा रगतमा चिल्लो पदार्थलाई सधै नियन्त्रणमा राख्ने ।

द्धआँखाअगाडि छाया देखिए, राति उज्यालो झिल्का देखिए, दृष्टि कमजोर भए र सीधा वस्तुहरू बाङ्गोटिङ्गो देखिएमा तुरुन्त आँखा परीक्षण गराउने । खासगरी ५० वर्षमाथिको उमेर समूहका व्यक्तिले नियमित रूपमा आँखा परीक्षण गराउने ।

- हरिया सागपातहरू र फलफूल नियमित रूपमा सेवन गर्ने ।

- धूम्रपानबाट टाढै बस्ने ।

- घाममा निस्कँदा छाता ओढ्ने, घामबाट बच्न विशेष खालका चस्माहरूको प्रयोग गर्ने ।

- जुनसुकै उमेरका व्यक्तिले नियमित आँखा परीक्षण गराए रेटिनालगायत आँखाको दृष्टि बचाउन सहयोग हुन्छ ।

 Image