कम्प्लिट गाइड फर अ ब्राइड
यदि विवाहको समय छ महिना बाँकी छ भने आफ्नो विवाहभन्दा करिब ६ महिना पहिलेदेखि नै तयारी गर्ने हो भने विवाहको दिन आफू कस्ती देखिन्छु भन्ने कुरामा द्विविधा राख्नुपर्ने स्थिति रहँदैन ।

गर्मीमा छोटा र हल्का पहिरन खोज्नेहरू जाडो सुरु भएसँगै न्याना र बाक्ला पहिरनको जोहो गर्नतर्फ लाग्छन् । मौसमअनुकूल पहिरनको खोजीले फेसन बजारलाई चलायमान बनाइराख्छ । यतिबेला वायुमण्डलमा चिसो हावा चल्न थालेको छ । मौसमी तापमान ओह्रालो लाग्दैछ । र, मौसमसँग तालमेल मिलाउनका लागि शरीरमा न्यानो लुगा थपिँदैछ । जाडो याममा बाहिरी वातावरणसँग शारीरिक तापमानको सन्तुलन मिलाउन बाक्ला तथा पूरा शरीर ढाक्ने पहिरन जरुरी हुन्छ । खासगरी जाडो यामसँगै पहिरनको आकार–प्रकार र रंगमा पनि परिवर्तन देखिन्छ ।
जाडोमा लगाइने लुगा बाक्ला र पूरा शरीर ढाक्ने हुनुपर्छ । रंग भने गाढा वा कालो उपयुक्त मानिन्छ । यद्यपि कतिपय डिजाइनरको भने यसमा फरक मत छ । ‘दि सियो धागो’ की डिजाइनर रेश्मा श्रेष्ठ भन्छिन्, ‘धेरैले जाडोमा गाढा रंगका पहिरन लगाउने भएपनि यतिबेला रंगीचंगी पहिरन बढी उपयुक्त हुन्छन् ।’ यसमा उनको तर्क छ,जाडोको बेला अनुहारको छाला रुखो एवं फिका देखिन्छ । यस्तो अवस्थामा पहिरन पनि कालो वा गाढा कलरको लगाउने हो भने मान्छेको सौन्दर्य खुल्दैन । रेश्मा थप्छिन्, ‘त्यसैले जाडोमा अनुहार फिका र रुखो देखिएपनि रंगीचंगी वा उज्यालो पहिरन लगाउनुपर्छ । यसले ताजा देखिन्छ र समग्र व्यक्तित्वमा चमक पनि आउँछ ।’
यद्यपि धेरैजसो डिजाइनर भने उनको तर्कमा सहमत देखिँदैनन् । जाडो याममा कालो वा गाढा रंग नै बढी उचित हुने उनीहरूको जोड छ । यसका पछाडि उनीहरूको केही बलियो तर्क छ । जस्तो कि, जाडो याममा मौसम उजाड हुन्छ । जताततै रुखो देखिन्छ । आफ्नो पहिरनलाई पनि मौसमअनुकूल बनाउन गाढा वा कालो रंग उचित हुन्छ, जसरी वर्षायाममा रंगीचंगी पहिरन उपयुक्त मानिन्छ । यो भन्दा पनि महत्वपूर्ण के छ भने जाडो याममा शरीरलाई न्यानो राख्न पनि गाढा वा कालो रंगको पहिरन जरुरी हुन्छ । यस्तो रंगले घामको किरण परावर्तन नगरी आफैमा सोस्ने भएकाले घामको न्यानो अनुभव गर्न सकिन्छ । त्यसैले जाडो याममा कालो वा गाढा रंग नै उपयुक्त हुन्छ ।
जाडो यामसँगै ज्याकेट, आउटर, कोट, स्वेटर, कार्डिगन, ओभरकोटजस्ता बाक्ला पहिरन लगाउने गरिन्छ । यसैगरी मफलर, टोपी, पन्जा, मोजा पनि लगाइन्छ । यसरी सम्पूर्ण शरीर ढाक्ने लुगा लगाउँदा चिसो लाग्दैन । तर फेसनेबल पुस्तालाई के लाग्न सक्छ भने सम्पूर्ण शरीर ढाक्ने पहिरन लगाउँदा आफ्नो सौन्दर्य खुल्दैन । जबकि शरीर ढाक्ने लामो र बाक्लो पहिरनमा पनि आफूलाई स्टाइलिस देखाउन सकिने फेसन डिजाइनरहरू बताउँछन् । डिजाइनर रेश्मा भन्छिन्, ‘राम्ररी कम्बिनेसन मिलाएर लगाउने हो भने पूरै शरीर ढाक्ने पहिरनमा पनि आफूलाई आकर्षक देखाउन सकिन्छ ।’ तर, स्टाइलिस देखिने चक्करमा अरूको नक्कल गर्नुभन्दा पनि आफ्नो शारीरिक बनोट एवं रूपरंगअनुसार मिल्दो पहिरन रोज्नुपर्ने उनको सुझाव छ । ‘सबै मान्छेलाई एकै किसिमको पहिरन सुहाउँदैन’ उनको बुझाइ छ, ‘शरीरको ढाँचा एवं रूपरंगअनुसार पनि फरक–फरक पहिरन रोज्नुपर्ने हुन्छ ।’ अग्लो कद भएका व्यक्तिलाई ओभरकोट सुहाउँछ भने होचो कद भएकालाई फिटिङ ज्याकेट वा स्वेटर राम्रो देखिन्छ ।
जाडो याममा मफलर, टोपी र पञ्जाले शरीरको सुरक्षा गर्ने मात्र नभई फेसनेबल पनि देखाउने बताइन्छ । ‘मफलर, टोपी आदिको कम्बिनेसन मिलाएर लगाउने हो भने फेसनेबल देखिन्छ’ डिजाइनर राधा आचार्य भन्छिन् ।
विन्टर एसेसरिज जरुरी
पहिरनसँग कम्बिनेसन मिलाएर पन्जा, टोपी, मफलर, स्कार्फ, वार्मर, लेग वार्मर, मोजा, ऊलन ह्याट लगाउन सकिन्छ । ब्राइट कलर र आकर्षक डिजाइनमा आउने यस्ता एसेसरिजले परिधानमा थप निखार ल्याउँछन् ।
ड्रपिङको नयाँ स्टाइलले स्कार्फजस्तो परम्परागत पहिरनलाई युवा पुस्ताले रुचाएको छ । नयाँ स्टाइलको कारण यो जुनसुकै पहिरनसँग मिलाएर लगाउन सकिन्छ ।
लङ ज्याकेट र वुलन ड्रेस
लेगिन्स, जिन्स र टाउजरमा लामो ज्याकेट निकै सुहाउँछ । अहिले बजारमा राम्रो डिजाइनका केही वुलन ड्रेस उपलब्ध छन् । लङ ज्याकेटलाई साडी वा सुटसँग लगाउन सकिन्छ । यदि तपाईं हाई हिल लगाउनुहुन्छ भने लङ ज्याकेटका साथ हाई हिल्स वा हिल्स भएको बुट पनि लगाउन सक्नुहुन्छ ।
स्कार्फ र स्टोल
यो मौसममा जाडोबाट बच्नका लागि स्कार्फ, टोपी लगाउनसकिन्छ तर यो अब स्टाइल स्टेटमेन्ट पनि भएको छ । केही बहुरंगी, कालो र सेतो आदि रंगका स्टोल र टोपी पनि पहिरनमा सामेल गर्न सकिन्छ । स्कार्फ त सधै फेसनेबल देखिन्छ ।
लङ बुट
जाडोमा जुत्ता पनि उपयुक्त हुनु जरुरी छ । खासगरी लङ बुटले जाडोको फेसनमा फरक लुक्स दिन्छ । जिन्सका साथै वुलन स्कर्टसँग लङ बुट निकै सुहाउँछ । जुत्ताको छनोट गरिररहँदा आफूलाई सहज हुने कुरामा पनि ध्यान दिनु जरुरी छ ।
डिजाइनरको सुझाव