किराँती सितन वाचिपा

सुजाता मुखिया

पुस ८, २०७७  

वाचिपा, किराँतीहरूको पाककला झल्काउने एक परिकार हो । किराँतको चुलोमा पाक्ने मौलिक परिकार वाचिपाको ‘वा’ को अर्थ कुखुरा र ‘चिपा’ को अर्थ भुत्ला हो । यो मासुजन्य परिकार बनाउने विधि भिन्न छ । वाचिपामा नुन, तेल, बेसार, खुर्सानी, लसुनको पोटी, अदुवाको टुक्रा प्रयोग गरिन्छ ।

वाचिपाका लागि लोकल कुखुरा चाहिन्छ । कुखुराको जाँते–कलेजो, खुट्टा, टाउको, घाँटी, पखेटालाई मसिना टुक्रा गरेर एकै ठाउँमा मिसाउनुपर्छ । यो परिकारको खास विशेषता भनेको कुखुराको भुत्ला हो । कुखुराको पखेटा निकालिसकेपछिको भुत्लालाई आगोमा एकसरो डढाइन्छ । उक्त भुत्ला हटाएर फेरि आगोमा डढाउनुपर्छ । यसरी डढाएर निस्किएको भुत्ला धूलो बनाइन्छ ।

अब कराहीमा तेल तलाउनुपर्छ । तेलमा लसुनको पोटी, अदुवाको टुक्रा फुराएर त्यसमा नुन बेसार लगाउनुपर्छ । त्यसपछि मसिनो टुक्रा गरिएको कलेजो, जाँते, घाँटी, खुट्टा, पखेटा हालेर राम्ररी भुट्नुपर्छ । त्यसमा खुर्सानी मिसाउने र राम्ररी भुटिसकेपछि भुत्लाको धूलो राख्नुपर्छ । यसमा थोरै तात्तातो पाकेको भात पनि मिसाउनुपर्छ । यसरी छिटो–छरितो ढंगले वाचिपा तयार हुन्छ ।

तर सबैले यही विधिले वाचिपा बनाउँछन् भन्ने छैन । ठाउँअनुसार वाचिपा बनाउने विधि केही भिन्न हुन सक्छ । भोजपुर, खोटाङ, धरान, इलाम, पाँचथर, ताप्लेजुङ लगायत ठाउँका किराँत बस्तीमा वाचिपा खाइन्छ ।

कस्तो हुन्छ स्वाद ?

वाचिपा तीतो, पिरो, नुनिलो स्वादको सम्मिश्रण हो । कलेजो, जाँते लगायतमा डढाएर धूलो पारिएको भुत्ला मिसाइने भएकाले यसको स्वाद केही तीतो हुन्छ । किराँतीहरूले जाँड, रक्सीजस्ता पेयसँग वाचिपाको सितन खाने गर्छन् ।

वाचिपा र संस्कृति

वाचिपा खासमा पाहुनाहरूलाई चखाउने सितन मात्र होइन । किराँती संस्कृतिसँग पनि यो परिकारको साइनो छ । ‘वाचिपा किराँतहरूको सांस्कृतिक एवं परम्परागत परिकार हो,’ संस्कृतिविद् तीर्थराज मुकारुङ भन्छन्, ‘किराँतीहरूले पितृलाई चढाउनका लागि बनाउँछन् ।’ उनीहरूले वाचिपालाई प्रसादका रूपमा ग्रहण गर्छन् । यो वाचिपा उँधौली पर्वमा प्रसादका रूपमा खाने संस्कार छ । प्रकृतिपूजक किराँतहरूले आफ्नो अन्नबाली पाकेपछि पहिलो पटक आफ्ना पितृलाई चढाउने गर्छन् । यही क्रममा वाचिपा बनाइन्छ ।

वाचिपा अब सहरमा

वाचिपा अहिले किराँतीको भान्सामा मात्र सीमित छैन । यो परिकार अहिले सहरी क्षेत्रमा पनि निकै रुचाउन थालिएको छ । खासगरी धरानलगायत पूर्वी सहरहरूमा वाचिपा निकै लोकप्रिय छ । अहिले काठमाडौंका रेस्टुराँहरूमा पनि वाचिपा पाक्न थालेको छ । जातीय पर्व, मेला–महोत्सव आदिमा समेत प्राथमिकतासाथ वाचिपा तयार गरिन्छ । धरान, इटहरी क्षेत्रमा सम्पन्न फुड फेस्टिभलमा निकै रुचाइएको परिकारमध्येमा एक थियो, वाचिपा ।

ओखती पनि

वाचिपा जिब्रोको तलतल मेट्न मात्र होइन यसको औषधीय महत्त्व पनि छ । खासगरी जीउ दुखेको र चिसो लागेका बेला गाउँघरतिर वाचिपा खाने गरिन्छ । यसले ज्यानलाई तातो पार्छ भन्ने मान्यता छ । सुत्केरीलाई समेत वाचिपा ख्वाउने गरिन्छ । त्यसो त कुखुराको झोलमा समेत वाचिपाका लागि तयार गरिएको भुत्लाको धूलो मिसाउने गरिएको छ । मासु पकाएका बेला धेरै चिल्लो खाने भएकाले वाचिपा बनाएर खाँदा यसले बोसो काट्छ । वाचिपाले पाचकको काम गर्छ ।

कसरी सुरु भयो वाचिपाको प्रचलन ?

वाचिपाका बारेमा खासै चर्चा छैन । किराँत समुदायमाझ चल्तीको सितन भए पनि यसको स्वाद उनीहरूले कसरी पहिचान गरे, कसरी पकाउने विधिको विकास भयो भन्नेमा खास जानकारी छैन । तर खेती–किसानी गरेर जीविकोपार्जन गर्ने किराँतीहरूले परापूर्वकालदेखि नै वाचिपाको स्वाद चाख्न थालेको अनुमान गरिन्छ । प्राचीनकालमा जब मानिसहरू सबै कुरा पोलेर खान्थे त्यतिबेलादेखि नै यो परिकारको सुरुवात भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>