आखिर किन भनिनौ ?

दिनमान गुर्मछान

मंसिर ११, २०७७ काठमाडौंमा चिसो बढ्दै थियो । यो चिसो मौसममा तातो चिया पिउँदै गर्दा मोबाइलको घण्टी बज्यो । चिसोमा तातो चिया पिउँदै गरेको मान्छेलाई अल्छी लाग्नु स्वाभाविक हो । त्यसैले अल्छी लागेर मोबाइल उठाइनँ । तर अर्को पटक पनि मोबाइल बज्न थालेपछि चाहिँ उठाउन करै लाग्यो ।

‘हेलो’ उताबाट महिला आवाज आयो ।

‘हजुर भन्नुस् । मेरो आवाज उता पुग्यो । उसले मलाई ‘नमस्कार’ भनी सम्बोधन गर्दा नगर्दै त्यो आवाज कतै सुनेझैं लाग्यो । यसअघि यो आवाजसँग म चिरपरिचित भएजस्तै लागेर आयो । उसले मसँग भेट्न चाहेको कुरा गर्दा मैले चियाको अन्तिम घुट्को लिँदै थिएँ । यो अन्तिम घुट्कोले मलाई आनन्द दिइरहेको थियो । त्यही आनन्दको मौकामा मैले उसलाई भेट्ने समय दिएको थिएँ । मैले स्वीकृति जनाएको थिएँ ।

‘तपाईंले जहाँ भन्नुहुन्छ म त्यहीँ भेट्न आउँछु ।’ उसले उत्साहित हुँदै भनी ।

‘आज दिउँसो २ बजे भृकुटीमण्डपको चाम्लिङ कफीसपमा आऊ । म त्यहीँ हुन्छु ।’ दिउँसो १२ बजे पर्यटन बोर्डमा एउटा किताबको विमोचन थियो । विमोचनपछि उसलाई भृकुटीमण्डपमै भेट्न सकिने भएकोले मैले त्यहीँ बोलाएँ । उसले ठीक २ बजे आउने वाचा गरेर फोन काटी ।

हाम्रो संवाद सकिएको पाँच मिनेट बितेपछि पनि उसको आवाज मेरो कानमा गुञ्जिरह्यो । यो आवाज मैले पहिले पनि सुनेको महसुस भइरहेको थियो । तर बुढ्यौली लागेको मस्तिष्कले ठम्याउन भने सकिन ।

...

विमोचन कार्यक्रम सकेपछि म सोझै भृकुटीमण्डपतिर लागें ।

भृकुटीमण्डपको चाम्लिङ कफीसपको अगाडि पुग्दा २ बज्न बाँकी नै थियो । म सरासर कफीसपभित्र पसेँ । मेरो रोजाइको टेबल खाली नै थियो । एउटा कफी मगाएँ । मेरो अर्डर लिएर वेटर गयो । ठीक त्यहीबेला ढोकामा एक किशोरीको आगमन भयो ।

चिरपरिचित अनुहार प्रवेश गर्दै थियो ।

यो कसरी हुन सक्छ ? उही अनुहार । उही कदकाठ । उही उमेर । ऊ त हुनै सक्तिन । म उसलाई निर्निमेष हेरिरहें । मेरा आँखा झिमिक्क पनि गरेनन् । ऊ सरासर मेरो टेबलको नजिकै आइसकेकी थिई । अझै पनि म होश हराएझैं उसैलाई हेरिरहेको थिएँ । उसले नमस्कार गरेर आफ्नो परिचय दिई । बिहान मलाई फोन गर्ने उही नै रहिछ ।

ऊ मेरो सामुन्नेको कुर्सीमा बसी । म उसैलाई एकोहोरो हेरिरहेको थिएँ । मैले उसलाई यसरी हेरेको देखेर ऊ बोली, ‘तपाईं नझुक्किनुस् । म प्रतीक्षा होइन । म उहाँकी छोरी हुँ, दिया ।’

उसले रहस्य खोली । एकदम छिटो । उही भाव र उही शैलीमा । उही बोली । म चुपचाप उसले बोलेको सुनेर प्रतीक्षालाई सम्झिन थालेँ । काटीकुटी आफूजस्तै छोरी जन्माएकी रहिछ । उसले अप्ठेरो मानेको थाहा पाएर म बोलें, ‘ए, काटीकुटी प्रतीक्षा नै छौ ।’

‘आमाकी छोरी भएपछि हुँदैन त ?’ उसले हाँस्दै जवाफ दिई । उस्तै चञ्चली । उही हाउभाउ ।

उसका लागि कफी अर्डर गरेँ ।

मलाई भने विगत र वर्तमानले व्याकुल बनाउलाझैं भयो । के बोलौं के नबोलौंको दोसाँधमा अलमलिरहेको बेला उसैले भनी, ‘म तपाईंलाई भेट्न आतुर थिएँ । तपाईंको नाम मैले बेलाबेलामा आमाको डायरीमा देखेकी थिएँ ।’

‘त्यस्तो किन होला ?’ बीचैमा मैले प्रश्न गरेँ ।

‘आमाको तपाईं मिल्ने साथी हुनुहुँदो रहेछ । नाम त मैले डायरीमा पढेकी थिएँ । पछि तपाईंका कथाहरू पत्रपत्रिकामा पढ्न थालेपछि मैले सम्झें तपाईं त आमाको साथी पो । मलाई पनि साहित्यमा रुचि छ । त्यसैले भेट्ने चाहना पलायो ।’ टेबलमा आइसकेको कफी उसले उठाई अनि सुरुप्प पारी र भनी, ‘तपाईंको दंश कथासङ्ग्रह हात पर्‍यो । पढेपछि तपाईंको नम्बर पत्ता लगाएर आज कल गरेकी ।’

 उसले बेलीबिस्तार लगाई । म उही बीस वर्षअघिको समयमा पुगें ।

...

बसपार्कबाट बस चढेँ । म अलि हतारमा थिएँ । बसमा खाली सीट खोज्दै पछाडि पुगेँ । एउटा खाली सीट देखेर बसेको थिएँ । सीटमा पहिलेदेखि कोही बसेको थियो । म बस्नासाथ उसले मलाई हेरी । ठीक त्यहीबेला मैले पनि उसलाई हेर्न पुगेंछु । उसको धपक्क बलेको मुहारले मेरो ध्यान खिच्यो । म घरिघरि उसलाई चोर नजरले हेर्न थालेँ । ऊ त्यही मौकामा बसको झ्यालतिर हेर्न थाली ।

 ओर्लनेबेला म आत्तिएँ । भाडा तिर्न खल्ती छाम्दा थाहा पाएँ वालेट बोक्न बिर्सिएँछु । म लगभग छटपटाउन थालेँ । मेरो हालत देखेर उसले थाहा पाई र सोधी, ‘तपाईं आत्तिएजस्तो लाग्यो । के भयो ?’

‘वालेट बोक्न बिर्सिएँछु ।’ म लजाउँदै र आत्तिँदै बोलें । मेरो पैसा उसैले तिरी । ऊप्रति म कृतज्ञ भएँ ।

मलाई चारदोबाटोमा त्यसै छाडेर ऊ जान लागी । ऊ टाढा नभइदिए हुन्थ्यो जस्तो भयो । तर, म उसलाई कसरी रोक्न सक्थें र ?

‘सहयोगका लागि धन्यवाद ।’ कुरामा अलमलाउन खोज्दै थिएँ ।

मुसुक्क हाँसोको उपहार दिँदै ऊ अघि लागी । उसको नाम सोध्न भुसुक्कै बिर्सेंछु । म हतारिँदै उसलाई पछ्याउन पुगेँ । पछ्याउँदै भनें, ‘माफ पाऊँ, मैले तिम्रो नाम सोध्न बिर्सिएँछु । तिम्रो नाम थाहा पाउन पाए धन्य हुने थिएँ ।’

‘प्रतीक्षा’ जादुको छडीले फु गर्नासाथ आँखा अगाडि फूलको गुच्छा देखापरेझैं म निकै खुसी भएँ । कति मीठो नाम । उसको यो नामलाई मुटुमै राखौं झैं भयो ।

दुई सातापछि हाम्रो भेट फेरि भयो । प्रगति पुस्तक पसलमा किताब किन्न पुगेको थिएँ । ऊ त्यही किताब खोजिरहेकी थिई । उसलाई देखेर म दङ्ग परेँ ।

‘कुन किताब लिएको ?’ उसको नजिक पुगेर सोधेँ । मलाई देखेर ऊ पनि दङ्ग परी । मीठो मुस्कानसँगै जवाफ फर्काई, ‘कथा संग्रह खोज्दै थिएँ ।’

दुवै किताब किनेर पसलबाट बाहिरियौं । बाहिरिँदासम्म मैले उसलाई कफी पिउन आग्रह गरिसकेको थिएँ । मेरो आग्रहलाई उसले सहर्ष स्वीकार गर्न केही समय लागेको थियो । मेरो अनुरोधलाई बल्लतल्ल मानेकी थिई । हामी नजिकै रहेको अरनिको होटलमा पस्यौं ।

कफी पिउँदै निकैबेरसम्म कुरा गर्‍यौं । समय बितेको पत्तै भएन ।

त्यसपछि भने हाम्रो भेट समय–समयमा हुन थाल्यो । नजानिँदो किसिमले हाम्रो मित्रता दरिलो बन्दै गइसकेको थियो । प्रत्येक भेटमा हामी कफीसँगै समय बिताउँथ्यौं । ऊ धेरै बोल्थी । म उसको कुरा सुनिरहने । भेटघाटले हाम्रो सम्बन्ध कतिबेला प्रेममा परिणत भयो हामीलाई पत्तै भएन ।

बेलाबेला किताब लिनेदिने बहानामा हामी भेटिरहन्थ्यौँ । घण्टौंसम्म कुरा गरिरहन्थ्यौं । ऊ भन्थी, ‘जिन्दगी छोटो छ । यही छोटो जिन्दगीमा मान्छेले आफ्ना रहरहरू पूरा गर्नुपर्छ । के थाहा आजको दिन नै अन्तिम हुन सक्छ ।’

यति कुरा ऊ सजिलै भन्थी । मानौं जीवनको मोह छैन । उसको कुराले म भित्रैदेखि दुःखी हुन्थेँ । मलाई ऊसँग जीवन बिताउनु थियो । ऊसँग लामो समय बाँच्नु थियो । त्यसैले म भन्थें, ‘यो अन्तिम भेटको कुरा अबदेखि नगर । तिमीसँग मैले लामो समय बिताउनु छ ।’

त्यसपछि ऊ आँखा चिम्म गर्थी । म उसको हात समाउन पुग्थेँ । हामी एकअर्कामा हराउँथ्यौं ।

‘घरमा मेरो बिहेको कुरा भइरहेको छ ।’ कफी पर्खिदै गर्दा उसले अचानक भनेकी थिई । उसको कुरा सुनेर म स्तब्ध भएँ ।

यति भनेर ऊ चुप लागी । मेरो मन चिसो भएर आयो । मुटु रोकिएलाझैं भयो । आँखा अघिल्तिर धमिलो छायो । तैपनि आफूलाई सम्हाल्दै भनेँ, ‘हामी भागेर विवाह गरौं ।’

ऊ केही नबोली बसी । उसका आँखा रसाउलान् झैं भए । म अब के बोलौं के गरौंको दोसाँधमा थिएँ । मन भतभती पोलिरहेको थियो । कफी टेबलमा आइसकेको थियो । ऊ कफीको बाफ उडिरहेको हेर्दै थिई । म घरि उसलाई त घरि कफीलाई हेर्थें । यो कठिन घडीमा मैले उसलाई के भनी सम्झाउने म अन्यौलमा थिएँ । उसको हात समाउँदै भनें, ‘चिन्ता नलिऊ । पहिले कफी खाऔं अनि कुरा गरौंला ।’

कफी पनि नमीठो लाग्यो । सायद जिन्दगी नै तीतो हुने सम्भावनाले छोपेको थियो । मन अमिलो भएपछि अरु के मीठो हुन्थ्यो र ?

‘तिम्रो घरमा हाम्रो बारेमा कुरा गर्नुपर्ला । हामी एक–अर्काबिना बाँच्न सक्दैनौं । त्यसैले हामी सँगै जिन्दगी गुजार्नका लागि पनि यो आवश्यक छ ।’ मैले हिम्मत जुटाएर उसलाई हौसला दिन चाहेँ । म उसलाई विवाह गरी आफैंसँग राख्न चाहन्थेँ । यसको समाधान यही हो भन्ने लागिरहेको थियो ।

उसका आँखाबाट मुसलधारे वर्षा भयो । उसको बगिरहेको आँसुले मलाई पनि रुवायो । उसको हात समाइरहें । धेरैपछि उसले मुख खोली, ‘म तपाईंबिना बाँच्न सक्तिनँ । तपाईं मेरो सबथोक हो । तर, म आमाबुवालाई रुवाएर आफू खुसी हुन पनि सक्तिन ।’

उसको यो जवाफले मलाई अन्योलको स्थितिमा पुर्‍यायो । अब मैले के भन्नें? ऊसँगको आजीवनको सपना देख्नु मेरा लागि अब कतिसम्मको यथार्थपूर्ण हुनेछ ? म यस्तै अन्योल स्थितिमा चुपचाप थिएँ । उसलाई के भनी आडभरोसा दिने भन्नेसम्मको सुझबुझ अब मभित्र रहेन । ऊ झन् नबोली बसिरही । मलाई यो मौनताले झन् पोल्न थाल्यो ।

उसले आँसु झार्दै अचानक मलाई अंगालोमा कसी । उसको सुँक्कसुँक्क आवाज मेरो कानमा ठोक्किरह्यो । उसले मलाई जोडले अंगालोमा कसेकी थिई । म मूढोझैं हलचल नगरी उसलाई साथ दिइरहेको थिएँ । निकैबेरपछि उसले अंगालो खुकुलो पार्दै भनी, ‘अब जाऔं ।’

मन नहुँदा नहुँदै पनि छुट्टिनुपर्‍यो । ऊ रुँदै गई । पर पुगुञ्जेल उसलाई हेरिरहेँ । ऊ बेलाबेला भन्ने गर्थी, ‘यो अन्तिम भेट पनि हुन सक्छ’ । जब ऊ मदेखि परपर हुँदै गई उसका ती कुरा मेरा कानमा गुञ्जिन थाले । म हारेको अवस्थामा गह्रुङ्गो मन लिएर फर्किएँ । सायद ऊ पनि मझैं गह्रुङ्गो मन लिएर फर्किएकी थिई ।

उसले भनेझैं त्यो भेट हाम्रो अन्तिम भेट भइदियो । उसको बिहे भएको खबर मैले पछि पाएँ । यो खबरले म मर्माहत भएँ । उसको र मेरो अन्तरजातीय प्रेमको जीत हुन सकेन । हाम्रो हार भयो ।

...

अहिले ती दिन सम्झेर मन भारी भएर आयो । अतीत मेरो आँखा सामु थियो । र दिया मेरो सामु बोल्दै थिई । उसले आफ्नो बारेमा बताउन थाली । उसको कुरा बीचैमा काटेर सोधें, ‘तिम्रा बुवा के गर्नुहुन्छ ?’

मेरो प्रश्नले ऊ अलमलिई । उसले अलि अप्ठेरो महसुस गर्दै भनी, ‘बुवा हुनुहुन्न । म जन्मिएकै महिना उहाँ बित्नुभएको रे ।’ कफी सुरुप्प पार्दै खै के सोच्न थाली । एकछिन मौनता छायो । तर उसले आफूलाई सम्हाल्दै बोली, ‘मलाई कथा खुब मन पर्छ । आमालाई पनि मन पर्छ । मैले कथा लेख्ने प्रयास पनि गरेकी छु ।’ ऊ धाराप्रवाह रूपमा बोलिरही ।

उसको कुराले मलाई तान्यो । उसका पनि प्रतीक्षाझैं रहरहरू रहेछन् । मैले कुनैबेला प्रतीक्षालाई भनेको थिएँ, मलाई तिमीबाट छोरी चाहिन्छ । ऊ छोरा मन पराउँथी । ऊ भन्थी, ‘छोरीले दुःख पाउँछे । दुःख दिन छोरी पाउनु हुँदैन ।’ आखिर उसले छोरी पाएकी छ । उसले मलाई त्यतिबेला सम्झियो कि सम्झिएन होला ? आखिर हाम्रो प्रेम किन सफल हुन पाएन ? किन उसले मलाई त्यसै छाडेर गई ? मभित्र प्रश्नका खाकाहरू उम्लिन थाले ।

म प्रतीक्षाकी छोरीसँग थिएँ । त्यसैले मैले आफूलाई सम्हाल्नु जरुरी थियो । बितेका दिन सम्झेर अहिले आवेशमा आउनुको कुनै तुक थिएन । त्यसैले म उसकी छोरीलाई हेर्दै बोल्न थालेँ, ‘तिम्रो इच्छा पूरा गर छोरी । मैले गर्नुपर्ने सहयोग म गर्नेछु ।’ बोल्दाबोल्दै मेरा आँखा उसको आँखीभौंमा पुगे । अघिदेखि मङ्गोलियनझैं लागेका उसका आँखा म नियालिरहेको थिएँ । आँखीभौं मबाट छुटेको थियो । एउटा कोठी आँखीभौंमा थियो । ठीक उस्तै जस्तो मेरो थियो ।

‘तपाईं कता हराउनुभयो ?’ उसले मेरो आँखा अघिल्तिर हात हल्लाएर ध्यान खिच्न चाही । म भने उसलाई देखेर आएको प्रश्नमा अल्झिएको थिएँ । उसको जवाफमा मैले भनेँ, ‘म तिम्री आमालाई सम्झदै थिएँ ।’

‘तपाईंले अहिलेसम्म बिहे नै गर्नु भएन । किन होला ?’ अचानक उसले मलाई सोधी । अचानकको यो प्रश्नले म रन्थनिएँ । तर यसको जवाफ मसँग थिएन । प्रतीक्षासँगको बिछोडले रन्थनिएर म वियोगी भएको थिएँ । बिहेको कुरामा कहिल्यै ध्यान नै गएन । उसको कुराको जवाफ नदिई भनें, ‘मेरो बारेमा धेरै कुरा खोजी गरेछौ ।’

‘एउटा असल पाठकको परिणामस्वरूप यति खोजी त गरिहालिन्छ नि ।’ उसले के–के भनी । आफ्ना बारेमा बखान गरी । त्यता मेरो ध्यान चाहिँ कमै थियो ।

यतिबेला म पुराना कुरामा अल्झिएको थिएँ । प्रतीक्षाले त्यतिबेला आफ्नो महिनावारी बन्द भएको कुरा मलाई सुनाएको सम्झिएँ । यो कुरा मेरो मगजबाट फुत्किएको थियो । ऊसँगको अन्तिम भेटपछि हाम्रो भेट भएन । अर्को महिनामा उसको बिहे भएको सूचना मैले पाएको थिएँ । त्यसैले हामीबीच यस विषयमा धेरै कुरा हुन पाएको थिएन । अन्तिम भेटमा उसले मेरो सामु बलिन्द्र आँसु बगाएको सम्झिएँ । मन भक्कानिएलाझैं भयो । यतिबेला उसको खुब माया लागेर आयो । र, मनमा एउटा प्रश्न उब्जियो, ‘के दिया मेरी छोरी हो ?’

मलाई चाहिँ ऊ मेरी छोरी हो भन्ने पक्का भयो । उसको आँखीभौंमा भएको कोठी, मङ्गोलियनझैं लाग्ने आँखा । जसले मलाई खिचिरहेको थियो । आफ्नोपनको महसुस गराइरहेको थियो । र मलाई विश्वस्त पारेको थियो । आखिर प्रतीक्षाले यति ठूलो निर्णय किन एक्लैले लिई भन्ने प्रश्नले घेर्न थाल्यो ।

‘अंकल । तपाईंको कथा आमाले पढिरहनुहुन्छ । मैले उहाँलाई पढ्न दिने गरेकी छु ।’ यति भनेर ऊ मसँग बिदा हुन चाही । फेरिफेरि भेट्ने कुरा गरेर ऊ कफीसपबाट बाहिरिई । उसले अंकल भनेकोले होला मन भारी भएर आयो । कताकता बिझेझैं भयो । आफैंदेखि रिस पनि उठेर आयो । मनमनै भनें, ‘प्रतीक्षा, के दिया मेरी छोरी हो ? आखिर तिमीले उसको बारेमा मलाई किन भनिनौ?’

दिया ओझेल हुँदै थिई यता अनायासै मेरा आँखा रसाइसके छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>